आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा गरिएको छ । ‘कोञ्ज्योसोमलाई चिनौ र चिनानौं, आन्तरिक पर्यटनको प्रवर्द्धन गरौं’ भन्ने नारा बोकेर पदयात्रामा पत्रकार, स्वास्थ्यकर्मी लगायत सहभागी भएका थिए ।
कोञ्ज्योसोम क्षेत्र विकास समितिद्धारा आयोजित र गाउँपालिकाको सहयोगमा यात्रा गरिएको संयोजक मिनबहादुर तामाङले जानकारी दिए ।
राजधानीबाट नजिक रहेर पनि बत्तीमूनिको अँध्यारो जस्तै रहेकाले यसको समृद्धका लागि पदयात्रा गरेको गाउँपालिका अध्यक्ष गोपाल सिङ्तानले बताए ।
भारदेउ, नल्लु, चौघरे, शंखु र दल्चोकी मिलेर बनेको कोञ्ज्योसोममा पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि पदयात्रा गरिएको अध्यक्ष सिङ्तानले जनाएको छ । तामाङको बाहुल्यता रहेकाले नै तामाङ भाषामा नामांकन गरिएको उनले प्रष्ट पारे ।
कोञ्ज्योसोमको सबै वडामा गुरु योजनाका कार्यक्रमहरु निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । उनले यी सबै गाउँपालिकको समृद्धीका आधार रहेको बताइन् ।
वडा नं. ४ बाट सुरु भएको पदयात्रा वडा नं. ५ मा समापन भएको थियो । पदयात्राका क्रममा वडा नं. ४ स्थित नल्लुमा रहेको पाथीभरा मन्दिर, वडा नं. ३ दल्चोकीमा मनकामना मन्दिर, निर्माणाधिन भ्युटावर, वडा नं. २ स्थित शंखुमा कृष्णप्रणामी मन्दिर, दुध संकलन, कृषि क्षेत्र, तामाङ संग्रहालय, निर्मणाधिन छ्योर्तेन लगायतका स्थानहरु अवलोकन गरेका थिए ।
त्यसैगरी वडा नं. १ स्थित चौघरेमा निर्माणाधिन रंगशाला, वडा नं. ५ मा रहेको गाउँपालिकाको नामाकरणसँग जोडिएको बुद्धको तीन वटा प्रतिमा स्थापना गर्न लागेको स्थान र १७ झ्याले घर, गुप्तेश्वर महादेवको अवलोकन गरिएको थियो ।
कोञ्ज्योसोममा अर्गानिक कृषि उत्पादन वस्तु, ट्राउट माछा, होमस्टे, उपत्यकालाई नियाल्न सकिने भ्युटावर लगायत पर्यटकका आकर्षकका विन्दुहरु हुन् ।
अवलोकनमा वडाध्यक्षहरुले आ–आफ्नो वडाको बारेमा जानकारी गराएका थिए । पदयात्रामा प्रहरी प्रशासन, पालिकाका कर्मचारी लगायत स्थानीयले सहयोग गरेका थिए ।