प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएको छ । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भएपनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीले बताए ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा सोमबार काठमाडौंमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएको हो ।
‘नेपालको भू–बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन्’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताए । ‘जलवायु परिवर्तनकै कारण बालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।’
‘हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेकका उपाय छैनन्’ प्रधानमन्त्री ओलीले भने । सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वाद्को आयोजना गर्न लागिएको जानकारी दिए । ‘त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तु उपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ’ प्रधानमन्त्री ओलीले थपे, ‘आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।’