कोरोना कोषमा काँग्रेसको दुई लाख

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दमौली

तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले दुई लाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम काँग्रेस भानु नगर समितिले मङ्गलबार भानु नगरपालिकालाई रु दुई लाख एक हजार १३ सहयोग गरेको हो ।

भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गरेको छ । उक्त रकममध्ये ३० हजार रुपैयाँ नेपाली काँग्रेस जिल्ला समितिले उपलब्ध गराएको हो भने बाँकी १ लाख ७१ हजार १३ रुपैयाँ नगर समितिले शुभेच्छुकहरुबाट सङ्कलन गरेको हो । नेपाली काँग्रेस सुखदुःखमा सधँै जनताको साथमा रहेको भन्दै आचार्यले स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले कोरोना नियन्त्रण गर्ने अभियानमा नेपाली काँग्रेसको तर्फबाट गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । नगरपालिकाले खडा गरेको कोरोना कोषमा सहयोग गर्न सङ्घसंस्था तथा व्यक्तिलाई नगरप्रमुख गौलीले आह्वान गरे । जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ । काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न स्थानीय तहमा सहयोग गरिरहेका छन् ।

शुक्लागण्डकीको कोषमा २७ लाख सङ्कलन


तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २६ लाख ९३ हजार ९२३ रुपैयाँ सङ्कलन भएको छ । नगरपालिकाको कोषमा प्रदेश सरकारलगायत सङ्घसंस्था र उद्योगी व्यवसायीले सहयोग गरेका छन् ।

उक्त कोषमा गण्डकी प्रदेश सरकारको तर्फबाट प्राप्त १० लाख रुपैयाँ, शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित सूर्य नेपाल प्रालिको तर्फबाट १० लाख रुपैयाँ, नगरपालिकाका कर्मचारीको तर्फबाट २ लाख ५२ हजार ६०५ रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी दुलेगौडा उपशाखाको तर्फबाट १ लाख ५१ हजार १५१ रुपैयाँ, गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घको तर्फबाट रु एक लाख प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया