वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको  छ । ढाडको नसासम्बन्धी समस्याबाट पीडित थापाको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

थापा ‘ठट्टैमा यो बैंस जान लाग्यो ’, घुम्तीमा नआउ है, ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौं गाउँछौंं वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ ’ आदि सयौंं लोकप्रिय गीतका रचनाकार हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीतसंगीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए । उनका श्रीमती र दुई छोरा छन् । नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै थापाप्रति श्रञ्द्धाजलि व्यक्त गरे ।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिए । विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन चक्कामा रेकर्डिङ गराएको स्मरण गरे । त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए ।


रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवसंगीतकार, प्रेमध्वज प्रधान आदि लोकप्रिय गायकले सहकार्य गरेको थियो । थापा काठमाडौंको कमलपोखरीमा बस्दै आएको थियो ।  कोरोना भाइरसको परीक्षण गरेपछि उनको अन्त्येष्टि गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया