कुहियो स्याउ, कुँडियो मन

गागा, दार्चुला

दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन ।

विगतमा स्याउ लिन आउने भारतीय व्यापारी यसपालि आएनन् । नेपाली बजार दार्चुलामा स्याउ बिक्री गर्न लैजाने हो भने खच्चरको भाडा जोड्दा मूल्यभन्दा दोब्बर लागत पर्ने देखियो । त्यसैले उनले गते असोज÷कात्तिक महिनाभरि व्यापारीको बाटो कुरे तर कोही नआएपछि उनले मन कुँड्याउँदै स्याउ घरभित्रै पोको पारेर राख्न बाध्य भए ।

सकेसम्म नकुहियोस् भनेर घरमा भएका डेक्ची, खँड्कुलो, प्याष्टिकका भाँडा, बोरालगायत घरमा भेटेसम्मको भाँडाकुँडामा टम्म पारेर स्याउ कोच्यमएको थियो । यसरी कोच्नु उनको बाध्यता थियो, किनकि जाडोले हिउँ जमेर गाउँमा बस्न सक्ने अवस्था नभएपछि नबिकेको स्याउ घरभित्र छाडेर गएको कात्तिकमा उनको परिवार दार्चुला झर्नुपर्छ । जाडोले गाउँमा ६ महिनामात्रै बस्न सकिन्छ ।

जाडो छल्न जानेहरु अघिपछि सामान्यतः चैतमा घर फिर्छन् । तर यसपालि कोरोनाको सङ्क्रमणका कारण भएको बन्दाबन्दीले असर ग¥यो । उहाँलाई पनि त्यसले छोयो ।


छाङरु आउनलाई भारतको बाटो भएर आउनुपर्छ । नेपालबाट बाटो छैन । दार्चुलाबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छाङरुमा हिँडेर आउन झण्डै पाँच दिन लाग्छ । यसपालि कोभिड- १९ सङ्क्रमणका कारण भारतले बाटो प्रयोग गर्न दिएन । सबै गाउँले अड्किए । उहाँ गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुग्नुभयो । उहाँकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ ।

घर पुग्न नपाउँदै शुरुमा घरमा राखेको स्याउको अवस्था के छ भनेर उनले हेरे । विडम्बना सबै खान नहुने गरी कुहिएको फेला प¥यो । ‘अघिपछि चिसोमा बिग्रिँदैनथ्यो, यसपालि आउन ढिला भयो, त्यसैले बिग्रिएछ, ठूलै घाटा लाग्यो’, मन खिन्न पार्दै उनले भने ।

छाङरुमा उनको तीन रोपनी जग्गा छ । यहाँ स्याउका ६०० बोट छ । अर्काे एक भूभू भन्ने स्थानमा ८०० बोट स्याउ छ । उनका अनुसार वर्षमा २० देखि ३० क्विन्टलसम्म स्याउ फल्छ । गाउँका ११५ घरमध्ये सबैभन्दा धेरै स्याउ फलाउने उनी हुन् । अन्य व्यक्तिको बारीमा दुई÷चार बोटका दरले स्याउ छ ।

अघिल्लो वर्ष प्रतिकिलो भारु ७० मा बिक्री भएको स्याउ किन्न यसपालि भारतीय व्यापारी नआउँदा त्यसै थन्किएको हो । सीमा जोडिएकाले नजिक नेपाली बजार नहँुदा सबै उत्पादनको बिक्री केन्द्र भारत हो । गएको वर्ष ती भारतीय व्यापारी स्याउ किन्न आएनन् । उनीहरुले अन्य ठाउँबाटै स्याउ लगेको उनी बताउँछन् ।

आफ््नै क्षमताले दार्चुला पुर्याउन बाटो नभएको र खच्चडलाई बोकाएर लैजाँदा महँगो हुने भएकाले दार्चुला लैजान नसकिएको उनले बताए । ‘यसपालि सबै खेर गयो, के गर्नु नेपालमा बाटो भइदिएको भए बजार लगेर बेच्नुहुन्थ्यो’, कुहिएको स्याउ देखाउँदै उनले भने ।

आलु, बन्दा पनि बिग्रियो

स्याउमात्रै होइन आलु उम्रिएर बोराभरि लामालामा टुसा भइसकेछ । कतिपय आलु कुहिएको फेला प¥यो । केही आलु खान हुनेखालको पनि भेटियो । दलिनमा झुण्ड्याएर राखिएको बन्दा लगभग खान नमिल्ने गरी सुकिसकेको छ । फर्सी पनि कुहिएको भेटियो ।

झण्डै २० क्विन्टल आलु पनि घरभित्रै त्यसै थन्किएर बसेको छ । नबिकेको फलफूल र तरकारी राखेर जाडो छल्न बेँसी झरेको थियो उनकोे परिवार । यसपालि तरकारी फलफूल गरेर झण्डै तीन लाख भारु घाटा लागेको उनी अनुमान गर्छन् ।

उनले दुई वर्षअघि २५ क्विन्टल आलु, २० क्विन्टल स्याउ र पाँच क्विन्टल बन्दागोपी, फर्सी (कद्दु) बिक्री गर्नुभएको थियो । त्यो बेला रु पाँच लाखभन्दा बढी नाफा भएको थियो । त्यो सबै अहिले खेर गएको भन्दै उनले दुखेसो पोखे ।

श्रीमती सुधा बोहराको साथमा उनी आफ्नो कृषि कर्ममा खटिनुहुन्छ । उनीहरु तरकारी उत्पादनसँगै व्यापार पनि गर्छन् । चाइनाबाट तयारी सामग्री ल्याएर भारतको धार्चुलालगायत विभिन्न मेलामा लगेर बेच्नुहुन्छ । बाँकी समय आफ्नै गाउँमा कृषिकर्म गरेर रमाउँछन् ।
नेपालमा दैनिक लाखौँको तरकारी फलफूल भारतबाट आउँदै गर्दा यसरी नेपालमै उत्पादन गरेको फलफूल तथा तरकारी गाउँमै सुक्ने गरेको यो एउटा उदाहरणमात्रै हो ।

बाटोघाटोको सहज आवागमन नहुँदा र बजारको व्यवस्थापन नहुँदा यसैगरी नेपाली अर्गानिक उत्पादन धेरै जिल्लामा खेर गइरहेको छ ।

तपाईको प्रतिक्रिया