धनकुटाको छथर जोरपाटी गाउँपालिका-५का दोर्जी शेर्पा तरकारी बेचेरै वार्षिक लाखौं आम्दानी लिदै आइरहेको छ । शेर्पाले २०५२ सालबाट तरकारी खेती गर्न सुरु गरेका थिए । आफू सुकुम्बासी भएका कारण जग्गा भाँडामा लिएर ९ मुरी आलुबाट तरकारी खेती गरेका हुन् । `पौरख गरे आफ्नै देशमा पनि केही गर्न सकिन्नछ´ भन्ने उदाहरण बनेको छ, शेर्पा ।
५८ वर्षीय शेर्पाले अहिले बन्दाकोपी बेचेर वार्षिक ३० देखि ३५ लाख आम्दानी गर्दै आएको बताउँछन् । २०५२ सालभन्दा अगाडि मकै खेती, बाख्रा पालन जीविकोपार्जन गर्दै आएका शेर्पा जगाको भाडा तिर्न पनि मुस्किल परेको सुनाउछन् । भाडाको जग्गामा आलूसँगै २० ग्राम बन्दाकोपीको बिउ व्याड राखेर एक हल मेलोको बारीमा रोपेको बन्दाको बिउबाट एक सय मेट्रिकटन उत्पादन गरेर ४० हजार आम्दानी लिन सफल भएपछि तरकारी खेती तर्फ शेर्पा आकर्षित भएको बताए ।
२४ वर्षको अन्तरालमा तरकारी खेतीबाट शेर्पाको जीवन फेरिएको छ । निरन्तर तरकारी खेतीमा रहेका शेर्पाले हाल ६० रोपनी जग्गा, गाडी, घर जोडेका छन् । यसवर्ष पनि सय मेट्रिकटन बन्दा उत्पादन हुने शेर्पाको अनुमान छ । तरकारी खेतीबाट मनग्ये कमाउन थालेका शेर्पाका परिवारनै खेतीमा आवद्ध छन् । २०५२, ५३ सालतिर धनकुटाबाट सुनसरीको धरानसम्म बोकेर बेचेको सुनाउछन् । त्यसबेला अहिले जस्तो तरकारी व्यवसायहरू नपाउने गरेको सुनाउछन् । अहिले भने बारीमै व्यापारी आउने हुँदा पहिलाको जस्तो दुख नहुने शेर्पाले बताए ।
यहाँका बन्दाकोपी धरान, इटहरी, विराटनगर विर्तामोड र भारत हुँदै तेस्रो मुलुक बंगलादेश, पाकिस्तान, भुटान लगायतका देशहरुमा निर्यात हुने गरेको शेर्पाको भनाई छ । किसानहरुले अर्गानिक खेतीमा निर्भर हुने किसानहरू आलोपालो गरी फार्मकोमा तरकारी रोप्नेदेखि टिप्नेसम्म गर्छन् । एक आपसको साथ सहयोग गर्दै काम गर्ने भएकाले खेताला नपाउने समस्या नरहेको शेर्पाले बताए ।
मूल्य स्थिरता नहुँदा किसानहरू मारमा पर्ने गरेको र सधैं एकै किसिमको बजार मूल्यको व्यवस्था भएको भए किसानलाई सहज हुने शेर्पाका छोरा लाक्पा शेर्पा बताउँछन् ।