जापानमा जति मेहनत गर्न सके नेपालमै छ भविष्य

जापान

कामको बोझले शरीर थकित हुन्छ । हप्ताको एक दिन बिदा पाईन्छ । बिदाको दिन कहिलेकहीँ नेपालमा रहनुभएका साथीभाइ अनि आफन्तजनहरुसँग फोनमा कुराकानी हुन्छ । उनीहरु जापानमा वार्किङ्ग भिषा खुल्यो के हो ? वास्ताबिकता भनि सोध्छन् । अधिकांशको प्रश्न भिषा प्रकृया, तलब र लाग्ने खर्चबारे हुन्छन् ।

उनीहरुको यो सोधाई म अस्वभाविक ठान्दिन किनकी नेपालमा बेरोजगारी समस्याका नेपालमा यति विकराल बनेको छ की जो कोही युवाहरु विदेश जान चाहन्छन् । उनीहरुको बुझाईमा जापानमा जसले पनि मासिक दुई लाख रुपैयाँ कमाईन्छ, ऋणधन गरेर जापान गए पछि दुःखै गरेर भए पनि एक वर्षभित्र उकास्न सकिन्छ । तर, वास्ताबिकता उनीहरुको बुझाई भन्दा धेरै भिन्न छ । वास्ताबिकता बुझ्ने कोशिस धेरैले गरेकै छन, नगन्यले मात्र गरेको पाइन्छ ।

जापान विश्वकै महँगी देशको सूचीमा पर्छ । यहाँ विशेष गरी बस्ने कोठाको भाडा, मोबाइल खर्च, रेल भाडा महँगो हुन्छ । काम गर्न थालिएको एक वर्षपछि जापान सरकारको नीति नियमानुसार यहाँकै नागारिकसरह कर र बिमा शुल्क तिर्नुपर्ने हुन्छ ।

नेपालबाट आएर सिधै यहाँको नियम पालना गर्न गाह्रो हुन्छ । आफ्नो भविश्यको सुरक्षाक लागि बिमा र कर नतिरि हुँदैन । कमाउन आएका हामी नेपालीको बाध्यता पैसा कमाएर नेपाल पठाउनै प¥यो ।

केही वर्ष अगाडिसम्म हप्तामा २८ घण्टा भन्दा बढी काम गरे पनि जापानमा भिषाको लागि खासै समस्या थिएन । तर, आजभेलि नेपालीहरु जापानी इमिग्रेशनको निगारानीमा परेको छ । भिषा र कामको समस्याका कारण आजकल धेरै नेपालीहरुको ओठमा हाँसो छैन ।

हप्तामा २८ घण्टाको कामले एक जनाको पेट पाल्ने बाहेक थप केही गर्न सकिदैन । तोकिएको घण्टा भन्दा बढी काम गर्ने वा ओभरटाइम धेरै गर्ने नेपालीहरुलाई इमिग्रेसनले बारम्बर चेतावानी दिने गर्छन् । नमाने अन्ततः नेपाल फिर्ता पठाइदिन्छन् ।

जापानमा बस्ने नेपालीहरु कार्यस्थल, रेल यात्रा, बिभिन्न जमघट र कार्यक्रमहरुमा साथीभाइहरुसँग विशेषत काम र भिषाको समस्याबारे गफगाफ गर्ने गर्दछ । जापानमा अधिकांश नेपालीहरुले भोग्दै आइरहेका समस्याहरु समाधान गर्ने तर्फ नगन्यले मात्र ध्यान दिंएका छन् । उचित समन्वयको अभाव, समयमा सही सूचना प्राप्त हुन नसक्दा जापानमा रहेका नेपालीहरु कुहिरोको काग झैं भैरहेका छन् ।

नेपालीहरुको समस्या उनीहरु आफैले समाधान गर्ने हुन् । त्यसका लागि हेल्पडेक्स र सूचना तथा परामर्श केन्द्र खोलिनु पर्दछ । त्यसका लागि नेपाली संघसंस्थाहरु र जिम्मेवार व्यक्तिहरुले मुख्य जिम्मेवारी बहन गर्न सक्नु पर्दछ ।

अहिले नेपालमा कयौं युवाहरु हल्लाको पछि लागेर वा एजेन्टहरुको प्रलोभनमा परेर जापान जान लाखौ रुपैयाँ खÞर्च गर्न तयार देखिन्छन् । कतिपय नेपाली युवाहरु ‘जापानमा वार्किङ्ग भिषा खुल्यो भन्छन्, भिषा पठाइदिनु, म पनि आउन पर्यो, नेपालमा बसेर के गर्नु ?’ भन्छन् । कसै कसैले ‘जापानमा नेपाली रेस्टुरेन्ट, केयरगिभरमा मान्छे मागिरहेको छ’ बुझ्नु भन्छन् त कसैले ‘टुरिस्ट भिषामा आएर काम गर्नु प¥यो’ भन्छन् ।

उनीहरुले यसो भन्नु अस्वाभाभिक होइन किनकी म पनि अर्को कुनै दुनियाबाट जापान आएको होइन । त्यही धरातल र माटोमा हुर्किएर आएको हुँ । मलाई पनि थाहा छ काम बिहिन भएर नेपाल रहँदाको पिडा । आफ्नो अनि घर, परिवारको सुन्दर भविश्यको सपना देख्नु नराम्रो होइन । मैले पनि नेपाल रहँदा विदेशमा रहेका साथीहरु र आफन्तजनसँग यस्तै चाहना अनि अनुरोध नगरेको होइन, गरेकै हुँ ।

जापानमा बल्लतल्ल आएका विद्यार्थीहरु भिषा, डिपेन्डेन्ट भिषालगायत अन्य भिषामा आएका नेपालीहरु भिषा रिन्यु गर्न नपाउदै फर्कनु पर्ने दुःखद अवस्था धेरैले भोगेका छन् ।

कमाउने सोच राख्नु नराम्रो होइन । तर, आतुर नगर्नुहोस्, पहिला बुझ्नुहोस् । जापानमा पाइला टेकेपछि पालना गर्नुपर्ने नीति, नियम, कर, बिमा, दैनिक हुने खर्च, कलेज खर्च र यहाँको संस्कार, संस्कृति र जीवनशैली अध्ययन गर्नुहोस् । जापान आएर जोखिम मोल्न सकिएन, दुःख र धैर्यता गर्न सकिएन भने पुर्पुरोमा हात राख्नुको विकल्प छैन । अतः तपाईसँग तन, मन र धन छ, त्यसमाथि केही गर्छु भन्ने जोश र जागर छ भने जापानमै आउनु पर्छ भन्ने छैन । नेपालमै प्रचुर सम्भावना छन् । देशमै संघर्ष गरी बाँच्न सिक्नुहोस् । विदेश आएर राम्रो काम गर्न पाइन्छ, धेरै कमाइन्छ भन्ने सोच त्याग्नुहोस् । दुई लाख कमाउन के कति दुःख भोग्नु पर्छ पहिला बुझ्नुहोस् । तपाई मानसिक, शारिरीक हर हिसाबले दुःख गर्न तयार हुनुहन्छ भने मात्र जापान आउनुहोस् । होइन भने यहाँ जति मिहेनत गरे नेपालमै धेरै कमाउन सकिन्छ । सही सम्भावना पहिल्याएर देशमै मिहेनत गर्न सके तपाईंको भविश्य नेपालमै छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका