म एउटी आमा बन्ने सम्भावना लिएर
हुर्काउँदै थिएँ आफ्नो भ्रूण ।
मेरा सपना, कल्पना र बैंस
ढकमक्क फुल्न लागिरहेथ्यो मेरै उदरमा ।
मैले प्रजासूत्र अघि बढाउँदै यस धरामा
प्रकृतिको प्राकृतिकतालाई प्रतिपादन गर्ने
प्रतिष्ठित प्रयास त गरेकी थिएँ ।
के थियो र मेरो भुल? कहाँ म चुकेँ ?
के प्राकृतिक भोक मेटाउन मानव प्रदत्त
त्यो भुइँ कटहर मैले मेरा निर्दोष सुँडले
मेरो पेटको बल्दो क्षुधा मेटाउन
उदरमा उडेल्नु नै भुल हो ?
अथवा
मानिसहरूलाई पनि ईश्वरकै सृष्टि सम्झेर चुक भो ?
मेरो उदरको क्षुधा मेट्न मैले ग्रहण गरेको त्यो आगो
उफ्! मलाई मात्रै होइन मेरो भ्रूण
मेरो मुटु, रगत, मज्जा र सपनाको त्यो सुन्दर सृष्टिलाई
बुम …. पटटटटटट…. ठाँय ….ठाँय….ट्याङ…..ट्याङ…… पट्यास् पट्यास……
कालो मुस्लो अनि……..
आलो रगत…भ्वाल्ल….छताछुल्ल मेरो दोजिया उदर
सखाप तुल्याइदियो एउटै विस्फोटले ।
मेरो आन्द्रा, मुटु, कलेजो, नसा र रगत
छ्याल्ल ….ब्याल्ल… छताछुल्ल जताततैँ ।
मेरो सानो भ्रूणको त्यो अल्पविकसित
मुटु, गिदी, आँखा, आन्ध्रा, सानो पुच्छर
सबै असरल्ल भए… छ्याल्ल ब्याल्ल ।
तिम्रो त्यो एकछिनको प्रमाद र विष्फोटको
त्यो विनाशकारी ज्वालामा ।
मेरो मुटु एकातिर, अर्कातिर मेरो भ्रुण
मेरो गिदी एकातिर, अर्कातिर उसको क्रन्दनको निःशब्द मौनता ।
मेरो छ्याल्ल ब्याल्ल पेट
अनि
साथमा उसका ह्वाल ह्वाल् रगत ।
उफ् कति पीडा ! कति जलन सहेँ मैले-मृत्युअघि ।
के तिमी त्यहीँ कृष्णका सन्तति हौ ?
जसले हात्तीको एउटा क्रन्दनमा
राजसी ठाँटबाट, देवताको त्यो वैभव
सबै बिर्सेर कुदेका थिए गज-उद्धारका निम्ति ।
आफ्ना परिचारिकामाझमा रमेका कृष्ण
कसरी खाली खुट्टा दौडेर एक्लै
भिडेका थिए त्यो गोहीसित ।
अनि
मेरा जिजुबालाई दिएका थिए अभयदान ।
तर तिमी हौँ के त तिनै कृष्णका सन्तति हँ ??
कतै पासोमा पारेर मार्छौ
मेरो एकजोडी दाँतका लागि ।
कतै च्वाट्ट चुडाउँछौ मेरो पुच्छार
तिम्रो रहरको विषाक्त प्यास मेट्न ।
सिंहले त सिकार झम्टन्छ केवल भोक लाग्दा
अनि
मेटेपछि क्षुधा उदरको ….शान्त सिंह
तर किन अशान्त रहन्छ हँ मनुवा
डोको जस्तो पेट र कालकूट हृदय लिएर सदा ??
हृदयमा कालकूट बोकेका ए मनुवा
अब पनि कति सहन गर्नु यस धराले ??
एकातिर आम्फान…..अर्कातिर निसर्ग….
अर्कातिर उल्कापतन ।
एकातिर रोग….शोक….. अनि लामो भोक…
अर्कातिर कोभिडको आतङ्क
धराले दिँदैछिन् है अब
सुध्रने भए सुध्र…
नत्र
नत्र
यो धरा हुनेछ मानव बिहीन ।
बेलतोला