हिउँदे चराहरूसँगको यात्रा

जयनाथ भण्डारी नियात्राकार
ललितपुर

हाम्रो यात्रा २०१३ डिसेम्बर २२ मा सुरु भएर २६ मा अन्त्य हुँदै थियो । प्रस्थानका लागि संरक्षण संघको कार्यालय अगाडि बिहान साढे छ बजे पुग्दा सबैजसो साथीहरु जम्मा भई सक्नुभएको रहेछ । हामीलाई बर्दिया र घोडाघोडी आइबिएतिर लैजाने परेली बस प्रतिक्षामा रहेछ ।
परेलीमै गुडे म आइबिए बर्दिया र घोडाघोडीमा मनमनै उडे म, पंखी उठाउने पंक्षी अवलोकनमा ! करिब सात बजे परेली बस हाम्रो यात्राका लागि छुटेको थियो । लैनचौर, कान्तिपथ, रत्नपार्क सहिदगेट त्रिपुरेश्वर कालीमाटी हुँदै कलंकीमा गएर खाजा खानका लागि रोकियो । बिहान जाडोमा कसैले तातो र पिरो मन परेको चिज खाए । कसैले सबेरै सोमरस तान्न पनि भ्याएछन ।

थानकोट कटेपछि विमल थापा र मैले बसको झ्यालबाटै चरा हेर्ने निधो गर्यौँ । हठनजी भने कहिले चरा चिनाउने त कहिले सहयात्रीहरुसँग ठट्टा र हँसिमजाक गर्दै थिए । विमलजी ले ‘उ उ चिवे, अँ…., जुरेली…., रुपीमैना…., खंजरी…..’ भन्दै देखाउनु्भयो । म भित्री सिटमा भएकाले स्विकारोक्ती मात्र जनाइरहेँ । बाटामा थुप्रै किसिमका चराहरु देखिए । बेल्खुमा एकछिन रोकिएर तिलहरी चरा हेर्ने इच्छाले परेलीलाई एकछिन रोकेर ओर्लियौँ, तिलहरीको दर्शन पाउन लालयित सबै जनाले आफूसँग भएको दूरबिनलाई त्रिशूली नदीको किनारतिर सोझ्याउँदै तिलहरीको तृष्णा मेटाउन खोज्यौँ तर तिलहरी भने थिएन । हामी त्यहाँ उसको काया, रुप र सौन्दर्यता हेर्न आउँदै छौँ भन्ने थाहै पाएनछ । पंखी उठाएर उड्ने पंक्षीलाई कहाँ सजिलै देख्न सकिन्छ र ! मनमा केही क्षण तपशिलका पंक्ति गुनगुनाएर चित्त बुझाएँ ।

‘उडी जाने चरी तिमीलाई कहाँ देख्न सकिन्छ र
छाडी जाने माया तिमीलाई कहाँ भेट्न सकिन्छ र ! ’

तिलहरी नदेखेपछि हामी अरु कुनै दिन हेर्ने झिनो आस लिएर गन्तब्य पश्चिमतिर सोझियौँ । धादिङको लमतन्न पृथ्वी राजमार्ग माथि आकाशमा एउटा लघु महाचिल देखिएको थियो । तर हुस्सुले आफ्नो विशाल साम्राज्य फैलाई सकेकोले त्यसैको गर्भमा हरायो ।

पोखरा बर्ड सोसाइटीका मन शन्त, शेषकान्ता लगायत साथीहरू वातावरणलाई रमाईलो बनाईरहेका थिए । म र विमल थापा ढोकाकै सीटमा बसेकोहुँदा त्यहाँबाट छिर्ने पुसमासको सिरेटोले हामीलाई कायल पार्दै थियो, त्यही बेला पोखरातिरका एक हुल साथीहरू गाडिमा पसे ।

उनीहरुले हामी सबैलाई सुन्तला कोसेली टक्य्राए । जाडो नै भए पनि चिसो सुन्तलाको स्वाद लिंदै मुग्लिन कटेर नारायणगढतर्फ लाग्यौं । थुन्सी पुगेपछि चितवनको अर्को हुल भेटियो । विमल थापा र मैले खाना तयार भईन्जेलको समय सदुपयोग गर्याैं । नारायणीको किनारामा केही चराहरु पखेटा फिजाएर न्यानो घामको रापमा आनन्द लिईरहेका थिए, दुरवीनले तानेर हेर्दा तीमध्ये केही चखेवा चखेवीको बथान थियो । नदीको अर्को किनारामा जलेवा, कृष्णकण्ठ गरुडहरुले लामो यात्रा पछिको थकान मेटाउँदै गरेका जस्ता देखिन्थे । हुन पनि उनीहरू अन्यत्रै देशबाट जाडो छल्न पाहुनाका रूपमा नेपाल आएका आगन्तुक चराहरू थिए । सँगै साना जातका चराहरु पनि देखिन्थे । हाम्रा आँखा भने ती ठूला चराका बथानतिरै तानिने गर्दथे र साना चराहरु त्यसै ओझेल पर्दथे ।

खाना खाएर सरर परेलीको गतिमा अगाडि बढ्यौं । दाँयाबायाँका चौपाटा हरियाली फाँट, हरियो वन, लमतन्न परेका गरामा लहलह पहेँलै भएर फुलेको तोरीले त्यत्तिकै मनलाई पुलकित पार्दै थियो । कहिले विशाल बस्तीहरु त कहिले घना जङ्गल, कहिले खोला नाला त कहिले चुरे पहाड अनि कहिले भञ्ज्याङ र गल्छिहरुलाई पार गर्दै अघि बढ्थ्यौँ । यसक्रममा बाटोको बिजुलीका खम्बा, तार, बारी र कान्लामा अनि बाटो वारीपरीका रुखहरुमा केही चराहरु झल्याक्क झुलुक्क त देखिन्थे तर परेली बसको तीब्र गतिका कारण राम्रोसँग देख्न पाईदैनथ्यो । समयाभावले गाडी रोकेर राम्रोसँग हेर्न पनि सकिदैनथ्यो । कुनै बेला वरपरका रैथाने ठेउवा, बकुल्ला, चिवे, काग अनि माटेकोरीले हाम्रो मन जित्न हामीलाई गिज्याई रहेको जस्तो भान हुन्थ्यो ।

हामी बुटवलको तिनाउ तिरमा पुग्दा दिन घर्किन थालिसकेको थियो । तराईको तिरमिराउदा घाम डाँडाबाट ओरालो लाग्दै थियो । तिनाउ कटेपछि रुपन्देही र कपिलबस्तु अर्घाखाँची अनि बाँकेका फाँट, पाखा पखेरा, चुरेभावरका हरिया डाँडाकाँडा, गल्छेडाहरुलाई नागवेली पारेर हामी हुईकियौं । कहिँ फराकिलो त कहिँ साँघुरिएर पश्चिम छिचोल्दै गरेको राजमार्ग देख्दा मभित्र कता कता देश बिकासको समग्र अबस्था र त्यसको चारित्रिक स्वरुप साक्षात्कार भएको महशुस हुँदै थियो । परेली एक्कासी रोकियो । मेरो भावनात्मक बहावसँगै देश बिकासको सादृश्यता र स्वप्निल भागभंगी पनि भंग भयो । गाडीको पछाडीको चक्कामा फलामको धारीलो टुक्रा अड्केर प्वाल पारिदिएछ । चालकलाई तुरून्त थाहा भएछ । अन्यथा हाम्रो बास यहीँ पर्नेरहेछ । धन्य गुरुजी ! तिम्रो सतर्कताले एकलास र निर्जन वनको बीचमा कठ्याङ्ग्रिदो जाडोमा रात काट्न परेन । विमल, सिजन र म अँध्यारो भए पनि बाटो छेउका रुखहरुमा बास बसेका वा रात्रीकालीन चराहरुको संभाव्यता जान्न चाह्यौं । सिजनसँग भएको ६ भोल्टको टर्चको सहाराले ठूल्ठूला रुखहरुमा लाटोकोसेरो भए नभएको हेर्न थाल्यौं । रातमा ठूलो टर्चको प्रकाश चराहरुका आँखामा टल्किने भएकोले रुखका चराहरु र विशेष गरी लाटोकोसेरो सजिलै देख्न सकिन्छ ।

टायर बनाई सकेपछि गाडीले बाँकेको चारकोशे वन छिचोल्दै अम्बासा पुर्यायो । जहाँबाट हामी बाँया मोडिएर ठाकुरद्वार पुगिन्थ्यो । त्यस दिनको हाम्रो गन्तव्य पनि ठाकुरद्वार नै थियो । ठाकुरद्वार बर्दिया राष्ट्रिय निकुञ्जको बफरजोन क्षेत्रभित्र पर्ने ठाउँ हो । जुन एक मुख्य वन्यजन्तु क्षेत्र र पर्यटनका लागि महत्वपूर्ण मानिन्छ ।

मैले त बर्दियामा छ्याप्छ्याप्ती बाघ भेटिन्छ भन्ने सुनेको थिएँ । हठनले त ‘अब बाटोमै बाघ भेटिन्छ । जसले पहिला देख्छ उसले बेलुकाको बार विल तिर्नुपर्ने छ’ भन्दै साथीहरुसँग ठट्टा गर्दै थिए । तर, मेरो मनमा भने साँच्चिकै बाटोमा सहजै बाघ भेटिएला भन्ने विश्वासमा झ्यालबाट बाघ हेर्ने तृष्णा पलाएको थियो । त्यसपछि त मैले हरेक रुखको ठूटा र बुच्काहरुमा चियाउँदा बाघका रुप मात्र देख्न थालेको थिएँ । यसै क्रममा एक पटक एउटा अजङ्गको बाघ आकृति लसक्क म नजिकै आएको भान भयो । मेरो त होस हवास नै हराएको थियो । त्यो त बाघ नभएर केवल मेरो कल्पनामा राज गर्दै गरेको नस्वर भ्रम मात्र रहेछ । बाघ वास्तबमा एक संवेदनशील जनावर हो । घना जङ्गलमा बस्ने जन्तु हाम्रो देख्ने चाहना हुँदैमा घरपलुवाझैं बाटैघाटै कहाँ देखा पथ्र्यो र ! कैयौं दिन लगाएर वनभित्रै यात्रा गर्दा त देखिदैन, सहज देख्न त कि भाग्यमा हुनु पर्यो कि त आफू नै बाघको सन्तान !

हामी मध्येराततिर ठाकुरद्वार पुग्यौँ । खानाको बन्दोबस्त थारुहोममा गरिएको रहेछ । सुत्नको लागि एउटा सामुदायिक लज । को राईनो, लियोपार्ड ब्लकको राईनो कोठामा बन्दोबस्त भयो । लामो यात्राको थकानका कारण खाना खाने बित्तिकै राममणि र म राईनोमा गयौं । विमल जी र हेमु लियोपार्डमा जानुभो । अरु पनि यस्तै यस्तै नाम गरेका कोठामा गए । सयन कक्षलाई जंगली जीवजन्तु र पंक्षीको नामअनुसार नामाकरण गरी प्राकृतिक वस्तुसँग जोडेर प्रकृतिमय वातावरण सृजना गराउनु पनि एक कला रहेछ ।

अघिल्लो दिनको थकाईले एक कोल्टेमै बिउँझिदा बिहान चिया खाने बेला भईसके छ । राममणि र म हतारहतार तयार भएर थारुहोमतिर जाँदा सबैजना जम्मा भईसकेका रहेछन् । त्यो दिनको मूहुर्त एक कालो धनेशले सुरुवात गराई दियो । यस क्रममा वरिपरी फुर्रर फुर्रर गर्दै गरेका कालो टाउके सुनचरी, रानीचरा र चिचिल्कोटे लगायतका थुप्रै पंक्षीहरू देखिए ।

खाजा खाईसकेर हामीहरु बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयतिर लाग्यौं । त्यहाँ पुगेर प्रवेशपत्र लिएपछि हामी सानो सानो समूहमा विभाजित भयौं । हाम्रो अवलोकन कार्य पनि औपचारिक रुपमा सुरुवात भयो । हामीसँग आँखीझ्याल र उज्यालो ९० नेटवर्कका गोकुल र अमृत पत्रकार पनि भएकाले वहाँहरुले हाम्रो क्रियाकलापलाई क्यामरा र कलमका माध्यमले मिडियामा प्रसारणका लागि तयार गर्दै थिए । उहाँहरुले त्यो हाम्रो अवलोकन भ्रमणका महत्वपूर्ण क्रियाकलाप र पक्षलाई समेटर टेलिभिजन, रेडियो, पत्रिकामा प्रसारण र प्रकाशन गर्नुभएको थियो । त्यसका लागि वहाँहरुप्रति आभारी छु ।

त्यस दिनको चरा अवलोकनमा हाम्रो टोलीले अरुकोभन्दा बढी प्रजातीका चराहरु देख्न सफल भएका थियौं । सबै समूहका साथीहरुले त्यो दिन जम्माजम्मी साठी प्रजातीका चराहरु देखेका थिए ।

निकुञ्ज भित्रको अवलोकन भ्रमण सकिए लगत्तै हाम्रो भ्रमणको महत्वको बिषयमा कार्यशाला हुँदै थियो । मध्यान्ह १ बजेपछि निर्धारित समयमै कार्यशाला पनि सुरु भयो । त्यसको संचालन बहिनी मनु गिरीले गर्नु भएको थियो । कार्यशालामा चरा अवलोकन र योगदान सम्बन्धी इतिहास र महत्वमाथि हठन चौधरीले र पर्यावरण पर्यटनका संभावना र चुनौतिका महत्वपूर्ण पक्षका बिषयमा विमल थापाले प्रकाश पार्नु भएको थियो ।
त्यस क्रममा अन्य वक्ताहरूले निकुञ्ज, बफरजोन लगायत क्षेत्रका बस्तुगत अवस्था र वन्यजन्तु संरक्षणमा आईपर्ने चुनौती र संभावना, सरकारले अबलम्बन गरेका सैद्धान्तिक र प्राबिधिक पक्षसँग स्पष्ट नीति तथा कार्यक्रमका व्यवहारिक एवं परियोजनात्मक ढाँचाका बारे सटिक रुपमा प्रस्तुत गर्नुभएको थियो । उहाँहरुको प्रस्तुतिले संरक्षण कार्यमा उब्जिएको शंका र भ्रममाथि बिश्वासको अनुभूती जागृत भयो । तर पनि किन चोरी शिकारीको बिगबिगी बढिरहेको छ ? के सरकार र सम्बन्धित निकायमा रहेका गैर जिम्मेबार व्यक्तिहरु ‘आफैँ बोक्सी, आफैँ धामी’ बन्ने प्रवृतिका कारण संरक्षण कार्य सफल नभएको त हैन ? भन्ने शंका पनि उब्जिन्थ्यो ।

तत्पश्चात पूजा गुरुङको पहलमा विसिएनले प्रवद्र्धन गरेको ‘महिला स्वावलम्बनका लागि सीप अभिवृद्धि कार्यक्रम’ संचालनबाट स्थानीय महिलाहरुका हातबाट सृजना गरिएका हस्तकलाका सामग्रीहरु उपहारका लागि कार्यशाला कक्षामै प्रदर्शनमा राखिएका थिए । बर्दियाको चिनोका लागि मैले रुचाएको सामान चाहिँ बिक्रीका लागि नभएर नमूनाका रुपमा प्रदर्शनीमा राखिएको रहेछ ।

आफूले मन पराएको बर्दियाको चिनो अर्काे पटक जाँदा लिन पाउने आशामा त्यही छोड्नु पर्याे । साँझपख एड्भेन्चर बर्दिया लजको फायर प्लेस वरिपरी बसेर स्वागत सत्कारमा रमायौं । यसै सिलसिलामा सिजनले मेरो ईच्छाशक्ति जान्न र जाँच्न चाहे । म पनि के कम देखाईदिए ईच्छा शक्तिको चमत्कार । उनी मरीमरी हाँसे सोमरसको सुर्कीको सर्को परेको थियो । झण्डै अर्को आपत नपरेको ! कोठामा गएर घुप्लुक्क ढलिएछ ।

कर्णाली नदीमा रैथाने, जलचर र फिरन्ते पर्यटक चराहरु हेर्न त्यो दिन बिहानै चिया खाजा सिध्याएर कर्णालीतिरै लाग्यौं । एउटै मात्र स्तम्भबाट निर्मित कर्णाली पुल तरेर चिसापानी बजारमा कर्णाली नदीको चिसो पानीका माछासँग खाना खाईयो । उत्तरबाट वहने चिसो हावाको झोक्काले मलाई झण्डै कर्णाली नदीमा हुत्याईदिएको थियो । त्यहाँको हावाको प्रकृति जोमसोमकोभन्दा अलि फरक, सफा र धुलोरहित एकनासको झोक्का अनि शून्य नजिकैको तापक्रम, त्यसैले होला त्यस कर्णालीको किनारको बस्तीलाई चिसापानी भनिएको । त्यही चिसो हावाको झोक्कासँग पौठे खेल्दै र कावा खाँदै गरेका केही पखेटा फिँजाएर बसेका मणितुण्डक, जलेवा र चखेवा चखेवीहरुको हुल नजिकै बसेका कलचौडेका जोडीहरुले हामीलाई जीवनभर सँगै मिलेर बाँच्ने पाठ सिकाउँदै गरको जस्तो लग्थ्यो ।

खाना खाई सकेपछि चिसापानी नहर बन्दै गरेको उपल्लो घाटबाट हाम्रो जलयात्रा सुरु भयो । सलल राफ्टमा चढेर चराहरुको बथान भएतिर लम्किदै–बढ्दै जाँदा उनीहरू झन परपर जान्थे । सायद अन्जान यायबरसँग नजिक हुन मन नभएर भएभरका सबै चराहरु भर्रर उडेर अन्यत्रै गए । हामी बयली खेल्दै तल पुग्यौं । लक्ष्मण सारस र हरी हाँसका केही हुल बगर किनार र केही आकाशमा देखिए । सँगसँगै हुटिट्याउँ, टिकटिके, बाज, चिललगायत थुप्रै प्रजातीका चराहरु देखिदै थिए । हामी र हाम्रा राफ्टका चालकहरुमा को अगाडि जाने भन्ने प्रतिस्पर्धा चल्दै थियो । विशाल कर्णाली बिस्तारै भंगालामा धाँजा फाट्दै र पातलिंदै नदीबाट जंघार र खोलाको रुप लिईसकेको थियो । खोलामा पानी पातलिदै गएकाले डुङ्गा ढुङ्गाहरुमा अड्किएर अगाडि बढ्न कठिन भैसकेको थियो ।

अगाडि बढ्दै जाँदा कर्णाली एउटा फलामको जालीमा गएर साँघुरियो । राफ्ट पनि त्यही जालीमा गएर ठोक्कियो । हाम्रो चालक स्मार्ट थिए । हामीलाई नि जोगाए उनी पनि जोगिए । हाम्रो पछिपछि आईरहेको भाइले अरुलाई जोगाए तर उनी जोगिन भने सकेनन् । झ्वाम्म छाँगोमा परे । रहमा झरे । चिसो पानीले निथ्रुक्क भिजे, उनी अर्को डुङ्गामा चढेर चिसो रहमा बाँकाटे हानेर फुत्त राफ्टमा चढे ।

पुस महिनाको घाम अस्ताउन एक जुवा मात्र बाँकी थियो । दिनभरिको खोलाको चिसो राफ्टलाई साँघुरा–पातला जंघारहरुमा तान्दै र घिसार्दै अगाडि लाँदै गर्दा सबै जनालाई थकाइले लखतरान पारेको थियो । चरा देख्दा भने थकाइ हराउँथ्यो तर चराहरु पनि पातलिदै थिए । तै पनि हामी बयली खेल्दै जाँदा तल किनारहरुमा फेरि थुप्रै मणितुण्डकका बथानहरु देखिए । हामीहरु नजिक जान नपाउँदै भरर्र परीझैं उडेर आकाशतर्फ लागिहाले । उनीहरुको संख्या जान्ने चेष्टा पनि हामीमा छँदैथियो ।


कोशी र चितवनतिरका साथीहरु जलचराहरु देख्ने बित्तिकै उ फलानो र ढिस्कानो नामको चरा भनि हाल्थे । हामी भने चराको नाम सुन्दै उनीहरुको गतिविधि देखेरै अलमलमा पथ्र्यौ । मलाई त कता कता लाज पनि लागेर आउँथ्यो, चरा राम्रोसँग चिन्न नसक्दा । मनमनै लाग्थ्यो, पहाड, हिमालतिर होउन न उनीहरूको मेरै चाला न हो ! मनमनै भुत्भुतिन्थेँ ।

त्यो साँझ क्रिसमस इभको साँझ भएकोले थारु सँस्कृति झल्कने नाचगनाका साथ खुब रमाईलो गरी मनाईयो । भोलिपल्ट सबै जना कैलालीको घोडाघोडीतिर लाग्यौं । त्योदिन पनि मणीतुण्डक, ध्वाँसे बकुल्ला, ध्यानी बकुल्ला, टेन्था र वन सुड्सुडिया, सानो धनेशलगायत धेरै प्रजातीका चराहरु देखिएका थिए । बर्दिया र घोडाघोडीमा गरेर हाम्रो टोलीले लगभग डेढसयभन्दा बढी प्रजातीका चराहरुको अबलोकन गर्न सकेको थियो । यात्रा निकै फलदायी रहेकोले सहभागी साथीहरु पनि निकै खुशी देखिन्थे । समग्रमा हाम्रो त्यो क्षेत्रका स्थानीय तथा आगन्तुक हिउँदे चराहरुसँगको यात्रा निकै उपलब्धीमूलक र शिक्षाप्रद रहेको थियो । आजको यस कठीन बन्दाबन्दी र लकडाउनको घडीमा पनि त्यस्ता पाहुना
तथा पर्यटक चराहरूसँगको यात्रा स्मृतिले सदा उत्साहित बनाईरहेको छ ।

तस्विर: लेखकको फेसबुक वालबाट ।

तपाईको प्रतिक्रिया