सरसफाईमा विदेशी नै खटिएपछि

काठमाडाैं

मुखमा मास्क, हातमा पन्जा साथमा डोको, कुचो र बेल्चा बोकेर एकाबिहानै केही नेपाली र केही विदेशी पर्यटकसहितको समूह ठमेलका गल्लीहरूमा निस्किएका थिए । हेर्दा लाग्थ्यो, उनीहरू बर्सात्को समयमा कतै टोली बनाएरै खेतीपाती गोडमेल गर्न निस्कँदै छन् । तर, त्यसो होइन, उनीहरू बर्सात्को समयमा सडकमा थुप्रिएर ढल जाम गर्ने फोहोर टिप्न हिँडेका थिए ।

एकातिर वर्षाका कारण हिलाम्य सडक, अर्कोतिर फोहोरका कारण हुने ढल जामको सास्तीले नेपाल घुम्न आउने विदेशीसहित आमनेपालीले समेत सडकमा सास्ती भोग्नुपरेकाले सडक र गल्लीमा थुप्रिएका फोहोर सोहोर्न आफूहरू लागिपरेको अभियानका एक अभियन्ता शिव श्रेष्ठले बताए ।

सडकका किनारमा थुप्रेका प्लास्टिक र जथाभावी फ्याँकिने फोहोर बटुल्न २० जना विदेशीसहित इको फाउन्डेसन, होटल योग, ट्राभल किचन होम, परिवर्तन सेवा र ट्राभलर्स कम्युनिटीसहितका संस्थाले सहकार्य गर्दै आएको श्रेष्ठले जानकारी दिए । सरसफाइ अभियानका अर्का अभियन्ता विशाल कपालीले सन् २०१४बाट नै पर्यटकसहितको टोलीले बर्सात्को समयमा ठमेल आसपासका क्षेत्रमा सरसफाइ गर्दै आएको जनाए ।

हाल यस अभियानमा नेपाल घुम्न आएका २० जना विदेशी र २० जना नै नेपाली सहभागिरहेको कपालीले जानकारी दिए ।यसरी टिपेका फोहोरलाई परिवर्तन सेवा नामक संस्थाले व्यवस्थापनको काम गर्दै आइरहेको छ । सो संस्थामा आबद्ध स्विट थापाले विदेशी र स्वदेशीको सडक सरसफाइको चाहनालाई आफूहरूले व्यवस्थापकीय पाटोबाट साथ दिएको जनाए ।

सडक सफाइमा फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया, अमेरिका, जापान र कोरियाका विदेशी पर्यटकहरू आबद्ध रहेको इको फाउन्डेसनका श्रेष्ठले जानकारी दिए ।

सफाइ अभियानमा जुटेका संस्थाले कसैसँग सहयोग रकम भने लिने गरेका छैनन् । उनीहरूले आफ्नो होटलबाट नै ५ प्रतिशत रकम सरसफाइका लागि छुट्याउने गरेका छन् । यस्तै, डोको, कुचो, मास्क, पन्जालगायतका भौतिक सामग्री भने सहयोगीबाट लिने गरेका छन् ।

सोही संस्थाले केही समयभित्रै सडकमा छाडा छोडिएका कुकुरलाई भ्याक्सिन दिने तयारीसमेत गरेका छन् । सडकमा छाडिएका कुकुरले टोक्दासमेत आममानिस सुरक्षित रहून् भन्ने उद्देश्यले सो अभियानसमेत छिट्टै सुरु गर्ने योजना रहेको संस्था अभियन्ताहरूले जनाएका हुन् । राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका