यात्रा सुरु गरेका थियौँ मोदीबेनीबाट । मुखले बोल्दैनन् जोन र डेभिड । उनीहरूले नै साङ्केतिक भाषा सिकाइदिए मलाई । साङ्केतिक भाषामै उनीहरूसँग सञ्चार गर्न सक्ने भएँ म । मैले हातका औँलाहरू चलाएर सञ्चार गर्न थालेँ, उनीहरूले जस्तैगरी । पहिलो पटक बधिरहरूसँग यात्रा गर्दै थिएँ म ।
० ० ०
आज मार्फा पुग्ने दिन । लामै छलाङ पो मार्नु छ । यात्रा तालिकाअनुसार हिजै लेते पुग्नुपर्ने थियो तर घासासम्म आइपुगेपछि अगाडि बढ्न मानेनन् उकालोले थकित हाम्रा मनहरूले । किचन टोली र अन्य सहयोगीहरूले आठ नबज्दै बाटो तताइसकेका थिए, कुम्लोकुटुरो बोकेर । क्याम्पिङ ट्रेक हो, बेलैमा ठाउँमा पुगेर लन्च तयार पार्नुपर्छ । ढिलो गरे आफैँलाई सास्ती । दुई दिनअघि तातोपानी कुण्डमा डुबुल्की मार्दा फुरुङ्गिएको ज्यान फेरि गरुङ्गिएको थियो मज्जैले । घासा छाड्नुअघि तन्काएथेँ मैले शरीरलाई । तातोपानीमै स्वागत गरेको थियो क नीलगिरि साउथ’ले । अघि ऋषि गण्डकले तप गरेको क्षेत्र हो यो । तीनवटा नीलगिरि छन् यहाँ । नीलगिरि साउथ, नीलगिरि सेन्ट्रल र नीलगिरि नर्थ । हिउँले गुथिएका छन् नीलिम पहाडहरू । सायद त्यसैले भनिएको होला पहाडको नाम ‘नीलगिरि’ भनेर । अड्कल थियो मेरो । एकातिर नजिकिँदै छ नीलगिरि पर्वतमाला, अर्कोतिर क केर स्वागत गर्दै छ, धौलागिरि शृङ्खला । स्वागत गरेका छन्– हिमालहरूले, म्याग्दी र मुस्ताङ जिल्लाका बस्तीले, झरनाले, हरिया पहाडले, खोँचहरूले र कालीगण्डकीले । आतिथ्य पनि कुन–कुनको मात्र ग्रहण गर्नु ! प्रफुल्ल भएका छौँ हामी ।
आँखाअघि घुमिरहेका थिए, अघिल्लो दिनका दृश्यहरू । हाम्रो साथ छोडेको थिएन कालीगण्डकीले । पहाडका प्रत्येक कापले पानीका थोपा तप्काएर हर्हराएको आँतलाई शीतलता दिन कञ्जुस्याईं गरेका थिएनन् । हामी छोपिएका थियौँ कतै अग्ला त कतै होँचा धर्तीका पत्रहरूले । संसारकै सबैभन्दा गहिरो अन्धगल्छी लुकेर बसेको छ दानामा । दुई आठ–हजारी हिमालबीचमा ६,९६७ मिटर गहिराइ छ यसको ।
दानाभन्दा अलिक माथि सबैले देख्नेगरी हाँसिरहेकी थिइन्, नेपालको सबैभन्दा राम्रो रूप्से छहरा । रूप्सेको अर्थ नै सुन्दर । १,८०० मिटर उचाइबाट फाल हालेकी रुप्से आफैँमा जलपरी भएर जोसिएकैं लाग्थिन् । निरन्तर तरङ्ग फिँजाउँदै थिइन्, चट्टानहरूमा अमिट चित्र कोर्दै । रुप्सेको माधुर्यमा पानीचरीकैँ पौडिएको थियो मेरो मन । मैले हेरेँ र हेरिरहेँ रुप्सेको रङ्गढङ्ग । एकातिर रुप्सेको रुन्कन, अर्कोतिर चराहरूको कोमल कलरव । क्या आनन्द थियो त्यो क्षण ! छोएथेँ मैले चञ्चल रुप्सेलाई आल्हादित भएर । विविधतामा एकता गराउने पवित्र रङ हो– रुप्सेको रङ । इन्द्रधनुषको सातै रङ मिल्न आइपुगेका थिए श्वेत रुप्सेमा । रुप्सेको आभूषणमा सजिएको छ प्रकृति । मेरो आँखा अगाडि नाचिरहेको थियो, हिजो रुप्सेमा लागेको सप्तरङ्गी इन्दे्रणी ।
स्याउबाटै बनेको ब्रान्डी(मार्फा) मार्फाको अर्को चिनारी । स्याउ र मार्फा– मुस्ताङको चिनारी । स्याउकै जुस, स्याउकै कचौडी, स्याउकै पकौडा, स्याउकै जाम, र स्याउकै सुकुटी । थरीथरीका परिकार हुन्छन् स्याउका ।
० ० ०
झोलुङ्गे पुल तरेर उक्लेपछि आयो लेते । सघन हरियाली च्यापेको छ लेतेसम्मको धर्तीले । देण्डीले भने– ‘अब हावा लाग्न सुरु हुन्छ । विण्डप्रुफ ज्याकेट भिर्नू है !’ त्यसै गरेँ मैले र गर्ने सङ्केत गरेँ जोन र डेभिडलाई पनि । नेपाली साङ्केतिक भाषा थोरबहुत जानेको भएपनि हामीले गर्ने सङ्केत उनीहरूसँग मिल्दो रहेनछ । सुरुको अवस्थामा त कागजमा लेखेर उनीहरूसँग सम्वाद गरेथेँ । पछि उनीहरूले प्रयोग गर्ने सजिला खालका ‘ह्यान्ड सेप’हरू सिकाइदिए । अङ्ग्रेजी अक्षरहरूलाई सङ्केत गर्ने तरिका पनि सिकाइदिए । औँलाले इसारा गरेर हिज्जे मिलाइदिएपछि त मैले भन्न खोजेका कुराहरू सहजै बुझ्थे उनीहरू । फरक यतिमात्र थियो– उही कुरा उनीहरूले इसारा गर्दा छिटो हुन्थ्यो मैले गर्दा ढिलो ।
० ० ०
अन्नपूर्णा चक्रियमार्ग पदयात्राको थोराङ ला पार गरेर आएका पर्यटकहरू भेटिए बाटैभरि । घामको राप र हिमालको चिसो सिरेटोले डामेर कालै भएको छ, गोराहरूको मुखमण्डल । छोडाएको आलुजस्तै खुइलिसकेको छ, नाकको एकपत्र छाला । बिछट्टै गर्विला देखिन्छन् उनीहरू, युद्ध जितेर आएका सिपाहीजस्ता । विजय हासिल गरेकै त हुन् नि ! ५,४१६ मिटरको उचाइ चुम्नु चानचुने कुरा कहाँ हो र ! मौसमले राम्रै साथ दिएछ भन्ने बुझ्न कठिन थिएन उनीहरूको हंसमुख देख्दा । तैपनि म सोध्थेँ–‘हाउ वाज योर ट्रेक ?’ ‘फ्यान्टास्टिक ! भ्यूज वेर पर्फेक्ट ।’ उही जवाफ पाउथेँ म सबैबाट ।
धौलागिरीले मुहार देखाउने बित्तिकै परिचय गराएँ मैले जोन र डेभिडलाई । बायाँबाट दायाँतर्फ धौलागिरीसँगै उभिएका छन्, धौलागिरीका भाइहरू– धौलागिरि १, २, ५ र ४ । वारि धौलागिरि अर्थात् ‘सेतो पहाड’, पारि अन्नपूर्णा अर्थात् ‘सहकालकी देवी’ । यी दुई गगनचुम्बी पर्वतबीच छन् लेते, कालोपानी, कोखेठाँटी, लार्जुङ, कोवाङ र टुकुचेका बस्तीहरू । हामी हिँडिरहेका छौँ, यिनै बस्तीका छातीहरूमा पाइला टेक्दै । ठोक्किन पुग्छन् मेरा आँखा घरी नीलगिरिमा त घरी धौलागिरीमा । आफ्नै प्रतिविम्ब खोजिरहेछु म यिनै शिखरको दर्पणमा ।
चुनले पोतेको भित्ताजस्तै सुकिलो छ धौलागिरी । ८,१६७ मिटरको उचाइमा खडा भएको संसारकै सातौँ अग्लो हिमाल हो– धौलागिरी । सन् १,८०८ मा यसको उचाइ पत्ता लगाएपछि कञ्चनजङ्घाको उचाइ पत्ता नलगाउन्जेल यसलाई नै संसारकै अग्लो पर्वतको रूपमा लिइन्थ्यो । तर स्थानीय भू–धरातलको अग्लाइको आधारमा धौलागिरीजस्तो अर्को हिमाल संसारमै छैन । कालीगण्डकीको गल्छीदेखि झण्डै ७,००० मिटरमाथि उठेको छ धौलागिरी ।
० ० ०
यतिबेला कालोपानीको बस्तीमा हिँड्दै छौँ हामीहरू । मुस्ताङको तल्लो क्षेत्र हो यो । मुक्तिनाथसम्मकै भूगोललाई थाक उपत्यका बोल्छ । ‘टुकुचेबाट बग्छ थापाखोला । थापाखोला भन्दाभन्दै अपभ्रंश भएर थाकखोला भएको रे । थकाली समुदायको बाहुल्यता रहेकोले ‘थाक सात सय’ नामले पनि चिनिन्छ यो क्षेत्र । तीन हजार वर्षको इतिहास छ हाम्रो ।’ स्थानीय समाजसेवी सोमप्रसाद तुलाचन भन्छन् । उनी थप्छन्– ‘घासादेखि माथि र टुकुचेदेखि तलको कालीगण्डकी किनार वरपरका थाकखोला क्षेत्रमा चार थरीका …चनहरू छन्– शेरचन, तुलाचन, भट्टचन र गौचन । तेह्र गाउँमा तेह्र मुखिया छन् यहाँ । पहिले त चौध गाउँ थियो रे । टुकुचेभन्दा माथिको गाउँ मासिएपछि तेह्रवटा मात्र भएको रे । मुखिया गाउँ–समाजको सर्वोच्च अङ्ग हो । पञ्चायतअघि गाउँलेहरूलाई न्याय निसाफ दिने, बाधाअड्काउ फुकाउने आदि काम मुखियाले नै गर्थे । प्राकृतिक सम्पदा भोगचलनको खटनपटन पनि उनैले गर्थे । पञ्चायतपछि प्रधानपञ्चमा यो अधिकार सरेपनि बाह्रवर्षे मेला(लफेव) र जन्मदेखि मृत्युसम्मको रीतिथितिअनुसार गर्नुपर्ने सम्पूर्ण कर्मकाण्डहरूमा मुखियाकै उपस्थिति हुन्छ ।’
आफ्नो रीति परम्परा तोडेका छैनन् यहाँका मान्छेहरूले । ज्येष्ठ नागरिकप्रतिको सम्मान एवम् सामाजिक र धार्मिक एकताको आधार पनि हो– मुखिया प्रणाली । ‘मियो भएमात्र दाइँ हुन्छ’ भन्नेकुरा बुझेका छन् उनीहरूले । कति राम्रो बुझाइ ! चार…चनका पुर्खाहरू तिब्बतको नोप्चेन भन्ने ठाउँबाट कर्णालीको सिँजा उपत्यकामा आएको इतिहासले बताउँछ ।
त्यहाँ उनीहरूले खेतिपाती र पशुपालनबाट जीविकोपार्जन गर्न थाले । उनीहरूले त्यसै स्थानमा चन्दनको एउटा ठूलो कल्पवृक्षलाई पुज्न थाले । एकपटक उनीहरूलाई डाह गर्ने स्थानीयले रुखको जरा काटिदिएछ । रुख सुक्दै जाँदा उनीहरूको दैनन्दिनी कष्टपूर्ण बन्दै गयो । आफूहरूले पुजेको रुख सुक्दै गएपछि उनीहरू अचम्भित भए । किन सुक्यो त रुख ? भनेर चारै …चनका पुर्खाले एकएकवटा हाँगा काट्दा प्रत्येकले काटेको हाँगाबाट एकएकवटा चरा उत्पत्ति भएछ । कस्तो अचम्म ! गौचनले काटेको हाँगाबाट रातो, तुलाचनकोबाट हरियो शेरचनकोबाट सेतो र भट्टचनकोबाट कालो चरा निस्केछ । रातो, हरियो र सेतो पूर्वतिर र कालो चाहिँ उत्तरतिर उडेछन् । चराहरू क्रमशः पहिले रातो, हरियो, सेतो हुँदै अन्त्यमा कालो उडेछ । उडेका चरा लक्षित गरी खोज्दै जाने क्रममा ती चार पुर्खा थाकखोला प्रवेश गरेका थिए । इतिहास सम्झँदै थिएँ म । चराहरूको रङअनुसारकै ध्वजा र पहिरन छ, …चनहरूको । गौचनको रातो, तुलाचनको हरियो, शेरचनको सेतो र भट्टचनको कालो । लवेदा सुरुवाल, वेस्टकोट र ढाका टोपीमा सजिन्छन् पुरुषहरू । जामा, चोलो, पटुका, टेकी र खास्टोमा महिलाहरू । फेरि नीलगिरि र धौलागिरिजस्तै निश्छल छन् थकाली उपमाले परिचित थाकखोलाबासी ।
० ० ०
पहाडको कुनामा लुकेको छ सानो र सुन्दर थकाली बस्ती । गाउँको नाम– लार्जुङ । नूतन अनुभूति भइरहेको छ– हिमालपारिको बस्तीमा टेक्दा, हिमालपारिका मनलाई भेट्दा र हिमालपारिका अलौकिक प्राकृतिक सौन्दर्यमा डुब्दा । मध्याह्न भइसकेको थियो लार्जुङ पुग्दा । किचन टोलीले तयार पारिसकेका थिए दाल–भात । थकाली बस्तीमा थकालीकै स्वाद सम्झँदै पेट भरेथेँ मैले ।
० ० ०
कालीगण्डकी कहिले वल्लो किनार च्यापेर बग्छे कहिले पल्लो किनार । कहिले दायाँबायाँ बगर थुपारेर बीचबाट बगिरहेकी हुन्छे । बाफ रे ! कालीको प्रभुत्व ! कालीकै स्वामित्वमा छ पूरै उपत्यका । यतिबेला बीचबगरबाट बगिरहेकी छे काली । पैतालाको प्याडल चलाइरहेका छौँ हामी कालीकै बगरमाथि । हावाले पछाडिबाट घचेटिरहेको छ बेस्सरी । हामी थाके पनि रोकिएनन् हाम्रा पयर ।
हिमालहरूले श्वास फेरेको भान हुन्छ हावा चल्दा । बगरभरि परिरहेको छ बालुवाको भुमरी र उडिरहेछ कुहिरोसरि सेताम्य भएर । बैँसे फापर ढलीमली गरिरहेका छन् खेतका गह्राहरूमा । तलाउमा ढुङ्गा हान्दा उठेको तरङ्ग जस्तै लाग्छ त्यो बयेंली देख्दा । झिजो मानेर हावाको दिशामा फर्फराइरहेका छन् भोटे पीपल, आरु र सल्लाका पातहरू । विपरीत दिशामा किनार समातेर बेगिइरहिछे काली । हुन्डरीले पनि केही लछारपाटो लगाउन सक्दोरहेनछ कालीलाई । कालो छ– कालीको रङ । रातो, पहेँलो र नीलोको सङ्गम हो– कालो रङ । राता, काला, नीला र फुस्रा पहाडका कोखा रेटेर बग्छे काली । त्यसैले होला यसको रङ पनि कालै भएको । राम्रो–नराम्रो सबै विलय भएको हुन्छ रे कालोमा । त्यसैले होला कालीमै पाइन्छ शालिग्रामजस्तो पवित्र शिला ।
धौलागिरीको आँगन भएर हिँडिरहेका छौँ हामी । हामी हिँडेको हेरिरहेको छ धौलागिरीले । लार्जुङ छोडेर कोवाङ र खन्ती हुँदै कालीगण्डकीको उबडखाबड बगरमा लर्खराउँदै छिचोलिरहेका छौँ हामी एकपछि अर्को सुन्दर बस्ती । हिमालपारि पुगिसकेका छौँ यतिबेला । उही लयमा चलिरहेको छ बतास । भुइँ छुन खोज्दैछन् स्याउका बोटहरू । हावाकै दिशामा फर्किएका छन् पातहरू ।
‘नमस्ते दाइ ! आइपुग्नु भयो ? बस्नुस् चिया पिएर जानुस् ।’ गाउँ नजिकै पुग्दा रेस्टुरेन्टवाला स्वागतसँगै प्रस्ताव गर्छन् चियाको । उनको मुस्कुराहटले रोकिन्छौँ हामी । सक्नेले ठाउँमै लज खोलेका हुन्छन् । नसक्नेले चिया पसल खोलेर आर्थिक उपार्जनको बाटो खोजेका हुन्छन् । ‘चिया पिउने कि ? जोन र डेभिडलाई सोधेँ ।’ ‘तिमी पिउने हो भने हामी पनि पिउने ।’ सङ्केत गरे जोनले ।
दिगो पर्यटन र सामाजिक आर्थिक सन्तुलनको कुरा पनि त छ । लाग्यो– जिम्मेवार किन नबन्ने ! पर्यटन भनेकै यही त हो । मैले भनेँ– ‘पिऊँ न त ।’
० ० ०
फेरि आइपुग्यो अर्को बस्ती । बोर्डमा लेखिएको थियो–‘टुकुचे, मुस्ताङ ।’ टुकुचे ! अनायासै याद आयो– स्व. कवि भूपी शेरचनको थातथलो पो हो त टुकुचे । याद आयो उनको एउटा कवितांश र गुन्गुनाउँन पुगेँ म–
‘आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छ«े हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर ।’
बेनीबाट खाद्यान्न बोकेर ल्हो–मान्थाङतर्फ लाग्दै गरेका खच्चरका हुलले खुर बजाइरहेका थिए थकाली मनमुटुको सतहमा । अग्ला रूखहरू होचिएर पोथ्रापोथ्रीमा सीमित भएका छन्, पहाडका भित्ताहरूमा ।
र, मैले सलामी दिएँ कवि शेरचनलाई नीलगिरि हिमाल मानेर । प्रकृति र देशप्रेमले ओतप्रोत यस्ता कैयौँ कविताहरू कोरेका थिए उनले । र, त मरेर पनि बाँचेका छन् उनी– म र मजस्तै कैँयन् प्रकृतिप्रेमीका हृदय–हृदयमा । थुपै्र आरोहअवरोह पार गरेका थिए उनले आफ्नो जीवनमा । २०४१ सालतिरको ‘गरिमा’मा पढेको थिएँ उनको एउटा महङ्खवपूर्ण भनाइ– ‘औँसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भुलमा पर्नु र अहिले कर्मनिस्ट हुनु ।’ त्यो बेला त लाग्थ्यो– के भनेका होलान् भनेझैँ । तर अहिले सही लाग्छ उनको त्यही कथन ।
दिनभरि पेटमा चारो हालेर बासस्थान फर्कंदै थिए च्याङ्ग्रा, भेडाका बथान अर्थात् क्याराभान । बेनीबाट खाद्यान्न बोकेर ल्हो–मान्थाङतर्फ लाग्दै गरेका खच्चरका हुलले खुर बजाइरहेका थिए थकाली मनमुटुको सतहमा । अग्ला रूखहरू होचिएर पोथ्रापोथ्रीमा सीमित भएका छन्, पहाडका भित्ताहरूमा । अन्ततः खुइलिइएका पहाडमात्र देखिन्छन् मार्फा नजिकिँदै गर्दा । रहस्यमयी लाग्दै लाग्थे फुङ्ग उडेका ती तमाम फुस्रा थुम्काहरू । मरुभूमिको ‘फ्लेवर’ दिँदोरहेछ मार्फाले ।
भेटियो २,६८० मिटर उचाइमा अवस्थित पहराले काखी च्यापेको रमणीय मार्फा गाउँ । गाउँको छेवैमा छ रिसुङ गुम्बा । मार्फाको संरक्षकको रूपमा श्रद्धा गर्छन् मार्फालीहरू । साँघुरो छ– गाउँ प्रवेश गर्ने गल्ली । गेरुवा रङ पोतिएका कलात्मक झ्याल–ढोका भएका, चाक्लाचाक्ला ढुङ्गाले बनेका परम्परागत शैलीमा निर्मित एकनासे घरहरू छन् । बाहिरबाट हेर्दा स–साना लाग्ने तर भित्र भने फराकिला । प्रत्येक घरका फरफरे लुङ्दा र लुङ्दरहरूले शोभा दिएका छन् । फेरि छुट्टै शोभा बढाएको छ, छानामा थुपारिएका दाउराका चाङले ।
सफा छन् छपनी बिछ्याइएका चोक र गल्ली । धौलागिरि र नीलगिरिकै बान्कीका छन् घरका भित्ताहरू । ठाउँठाउँमा उभ्याइएका छ्योत्र्तेन र मानीवालले थप सौन्दर्य बढाएको छ गाउँको । बस्तीको बीचमा छ– साम्थेलिङ गुम्बा । पाँचवटा गुम्बा छन् गाउँभरिमा । मार्फाको मुस्कानमा लट्ठिएथ्यौँ हामी ।
० ० ०
होटल मार्फा प्यालेसले क्याम्पिङको सुविधा दिएको थियो हामीलाई । होटलका सञ्चालक मोहनसिँह लालचनसँग मार्फाको अर्थ सोधेँ मैले । ‘मार्’को अर्थ मिहिनेती र ‘फा’को अर्थ मानिस । अर्थात् मिहिनेती मानिस बसेका ठाउँ ।’ उनले बताए । प्रसङ्गबस उनले अर्को रोचक कुरा सुनाए– ‘यो क्षेत्रलाई ‘थॉ पनि भनिन्छ । ‘था’को अर्थ किनार वा सीमान्त क्षेत्र । यो पनि थाकखोला र कालीगण्डकीकै किनारमा छ । तल्तिरका थकालीभन्दा अलिक फरक छन् मार्फाली थकाली । यहाँ पनि चारथरी ‘…चन’हरू छन्– लालचन, हिराचन, पन्नाचन र ज्वारचन । पहिलेपहिले त तल्तिरका सित सोलीडोली चल्दैनथ्योे । अचेल चाहिँ चल्न चालेको छ ।’
पहिले नचलेको कुरा चल्दै छ अचेल । मेरो मनले भन्यो– ‘समाज परिवर्तनको द्योतक हो यो ।’ ‘मार्फाली थकालीहरु पहिले धौलागिरि आधार शिविरतिर बस्थे रे । त्यसपछि उनीहरू मार्फामाथि दमाङमा सरेका रहेछन् । त्यसपछि मात्र यहाँ आएका हुन् । दमाङ पुरानो मार्फा हो यहाँका …चनहरूको ।’ प्रसङ्गवस एक जानकारले बताए ।
‘जल, जमिन र जङ्गलप्रति श्रद्धा गर्छन् मार्फालीहरू । योसँगै पिता–पुर्खाको सङ्घर्षमय अतीतप्रतिको सम्मानमा ‘तेर् पूजा’ गर्ने प्रचलन छ उनीहरूको । ‘तेर्’को अर्थ स्थानीय भाषामा ‘अमूल्य वस्तु सुरक्षित गर्ने भाँडो’ हो । ‘तेर् पूजा’मा प्रकृतिलाई अमूल्य वस्तु र खनिज पदार्थ अर्पण गरी पृथ्वीको गर्भमा लुकाइन्छ ।’ अर्का जानकारले बताए । निकै बेर बितायौँ हामीले गाउँ घुमेर । गाउँको दक्षिणमा छ– तिब्बती शरणार्थी शिविर । देब्रे हातमा माला लिएर दाहिने हातले छाइरो गुम्बाको माने घुमाउँदै ‘ॐ मणि पद्मे हुँ’ मन्त्र जप्दै थिए तिब्बतीहरू ।
बिचरा ! सन् १९५० मा चीनले तिब्बत कब्जा गरेपछि दलाइ लामासँगै धेरै तिब्बतीहरूले जन्मभूमि छाड्न बाध्य भए । सन् १९५९ मा यहाँ आएका रहेछन् ती । शिविरमा भेटिए एक शरणार्थी । ताम्लिङ उनको नाम । उनी एघार वर्षको उमेरमा बाउबाजेसँगै भागेर आएका रे । च्याङ्ग्रा–भेडा पनि ल्याएका थिए रे साथमा । ‘तिब्बत छाड्नुको कारण के थियो ?’ प्रश्न तेस्र्याएँ मैले ताम्लिङसँग । ‘हाम्रा बाउबाजेले चिनियाँ थिचोमिचो सहन सकेनन् । हाम्रो धर्म, कर्म र संस्कृतिको जगेर्ना हुन सकेन ।’ उनले भने । जन्मभूमि छाडेपछिका सङ्घर्षका विरहलाग्दा कथा सुनाए ताम्लिङले ।
हुन पनि त्यहीँ पारि आफ्नो त्यति विशाल देशमा अर्कैको साम्राज्य छ, यहाँ यसरी साँघुरिएर बस्न विवश छन् उनीहरू । देशविहीन र पहिचानविहीन हुनुपर्दाको उनीहरूका पीडा महसुस गर्न सक्थेँ म । उनीहरूको विवशता देख्दा कुँडिएको मेरो मनले भन्दै थियो– ‘मेरो प्रश्नले कतै ताम्लिङको खाटा बसेको घाउ त कोट्टिएन ?’ शरणार्थीहरूले अलिकति जग्गा पाएका थिए नेपाल सरकारको तर्फबाट । त्यही भूगोलमा छ उनीहरूको गाँस, बास र कपास । शरणार्थी परिचय–पत्र पनि पाएका छन् उनीहरूले । यति हो, उनीहरूको खास परिचय । कम्तीमा मानवीय धर्म निर्वाह गरेको छ– नेपालले । त्यसैले त अनुगृहीत देखिन्थे ताम्लिङ र भन्थे– ‘नेपालमा कुनै समस्या छैन हामीलाई ।’
उनीहरू आउँदा उनीहरूको सीप, संस्कृति, रहनसहन पनि आयो । भनिन्छ– ‘उनीहरू आएपछि नै नेपालमा मःमको व्यावसायिक विस्तार भएको हो ।’ गलैँचा उद्योग कहाँ थियो र नेपालमा ? यो पनि उनीहरूकै देन न हो । कुनै बेला नेपालकै सबैभन्दा ठूलो उद्योगको रूपमा स्थापित भएको थियो – गलैंचा उद्योग ।
छिटो आइएछ जस्तै लागेको थियो स्याउ बगानका बोटहरूले चिचिला हालेको देख्दा । अक्टोबरतिर आउन पाएको भए मार्फाको ताजा स्याउ चाख्न पाइने थियो । स्याउको त राजधानी हो– मार्फा । स्याउबाटै बनेको ब्रान्डी(मार्फा) मार्फाको अर्को चिनारी । स्याउ र मार्फा– मुस्ताङको चिनारी । स्याउकै जुस, स्याउकै कचौडी, स्याउकै पकौडा, स्याउकै जाम, र स्याउकै सुकुटी । थरीथरीका परिकार हुन्छन् स्याउका । थकाली खानाको लोकप्रियताजस्तै मार्फालाई ‘एप्पल टुरिजम’का रूपमा चिनाउन सके त नै राम्रो हुन्थ्यो होला । सोच्दै थिएँ म ।
० ० ०
सूर्यास्तमा मार्फाको पश्चिम आकाशबाट खसेको गोधूलि र नीलगिरिको शिरमाथि उदाएको जूनले अविस्मरणीय बनाउँदै थियो हाम्रो साँझलाई ।
२००३ मे २२
लेखकबाट थप