फ्लोएडको बलिदानमा उठेको अमेरिकी एन्टी फासिस्ट आन्दोलन

काठमाडाैं

लुई चौधौँले ‘म नै राज्य हुँ, राज्य नै मै हुँ’ भनेजस्तै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंले आफैँलाई ‘ल एन्ड अर्डरको राष्ट्रपति’ को घोषणा गर्दै ‘लुईपथ’ पछ्याइरहेका छन् । जर्ज फ्लोएड हत्या-प्रकरणमा विश्वले राष्ट्रपति ट्रम्पको ‘लुईपथ’ देखिरहेका छन् । लेनिनले साम्राज्यवादलाई “माटाका खुट्टा भएको भीमकाय मूर्ति” को संज्ञा दिनुभएको छ । माओले भन्नुभएको छ, “साम्राज्यवाद कागजको बाघ हो । … युद्धको निर्णय एक-दुईवटा नयाँ हात-हतियारले गर्दैन, बरू जनताले गर्छन् ।” माओका महत्वपूर्ण संश्लेषणलाई विश्वमा प्रचार गर्ने पत्रकार अन्ना लुइस स्ट्रोङ पनि अमेरिकी नै थिइन् । समकालीन विश्व-राजनीतिमा, मूलतः अमेरिकी साम्राज्यवादको वर्तमानको कन्तबिजोक अवस्थाले माओको उक्त संश्लेषणलाई शानदार रूपमा प्रमाणित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बङ्करमा लुकेर ज्यान जोगाउनुपर्ने असामान्य अवस्था सिर्जना भएको छ ।

फ्लोएडको हत्या अमेरिकी शासकको जातिवादी तथा रङ्गभेदी नीतिको पराकाष्ठा थियो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौँ पूर्ण बैठकको राजनीतिक प्रस्तावमा ‘अन्तर्राष्ट्रिय वस्तुस्थिति’ बारे यसरी चर्चा गरिएको छ, ‘… यतिबेलाको अन्तर्राष्ट्रिय परिस्थिति विस्फोटक छ । कुनै पनि देशका राजनीतिक मामिलाहरू स्वतन्त्र रहन सक्ने अवस्था छैन भने विवादहरू उठिसकेपछि एक्लै चल्न सक्ने पनि स्थिति छैन । शक्ति राष्ट्रहरूका नयाँ नयाँ मोर्चाबन्दी र ध्रुवीकरण बढ्दै गएका छन् । विश्व आजकै राजनीतिक खिचातानीमा धेरै परसम्म जान सक्ने पनि देखिँदैन । हामीले यस्ता अन्तरविरोधका बीचबाट नेपाली क्रान्तिलाई अगाडि बढाउने राजनीतिक कुशलता प्रदर्शन गर्नुपरेको छ ।’ निश्चय पनि नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दस्तावेजमा लिपिबद्ध गरेको यी विषय निकै महत्वपूर्ण छन् । अहिले विश्वमा अन्तरविरोधका विविध स्वरूप पनि देखिन थालेका छन् । आज अमेरिकी प्रतिक्रियावादीहरू र अमेरिकी जनतामाझमा अन्तरविरोध चुलिएको छ । जर्ज फ्लोएडको हत्यापछि अमेरिकालगायत विश्वभर सिर्जना भएको प्रतिरोधात्मक अवस्था अमेरिकी साम्राज्यवाद र उत्पीडित-श्रमजीवी जनताबिचको अन्तरविरोधको अभिव्यक्ति हो ।

कतै पढेको थिएँ- राष्ट्रपतिमा निर्वाचित भएपछि अब्राहम लिङ्कन पहिलो भाषणका लागि सिनेटमा उभिएका मात्र के थिए, तत्काल एक सिनेटरले लिङ्कनलाई उडाउँदै भनेका थिए रे, “मिस्टर लिङ्कन याद रहोस्, तिम्रो पिता मेरो र मेरो परिवारको जुत्ता बनाउँथे ।” लिङ्कनले मुस्कुराउँदै प्रत्युत्तरमा भनेका थिए रे, “मलाई थाहा छ कि म एक मोचीको छोरा हुँ । तपाईंको मात्र हैन, यहाँ बस्ने अधिकांश सिनेटरको जुत्ता सायद मेरै पिताले बनाइदिएको हो । उहाँ पूरा मन लगाएर जुत्ता सिलाउनुहुन्थ्यो । आजसम्म कसैले पनि उहाँले बनाएको जुत्ताप्रति प्रश्न गरेका छैनन् । के तपाईंलाई मेरो पिताले बनाएको जुत्ताप्रति शङ्का छ ? उहाँको छोरो हुनुको नाताले म पनि जुत्ता राम्रो सिलाउँछु । यदि मेरो पिताले बनाएको जुत्ताबारे केही समस्या छ भने म त्यसलाई बनाइदिन्छु । म मोचीको छोरो हुनुमा गर्व गर्छु ।” यसबाट अमेरिकामा जातीय अहङ्कारको सइन कति गहिरो र पुरानो रहेछ भन्ने बुझ्न सकिन्छ । जर्ज फ्लोएडको हत्या पनि त्यही सइनको कारकतत्व हो । भनिन्छ, त्यसपछि अमेरिकामा पेसालाई थर बनाउने चलन तीव्र बनेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नो दोस्रो कार्यकालका लागि हुने चुनावी अभियानको थालनी गर्ने सुरसार गर्दैगर्दा कोरोना ‘कोभिड १९’ को महामारी आइदियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार राष्ट्रपति ट्रम्पकै खेलाँचीका कारण कोरोनाबाट अमेरिका सर्वाधिक प्रभावित राष्ट्र बन्न पुगेको हो । एके ४७ लिएर अमेरिकनहरूले लकडाउनको उल्लङ्घन गरेर सडकमा निस्कँदा त्यसको समर्थन गर्ने पनि उनै राष्ट्रपति ट्रम्प हुन् । अमेरिका कोरोनासित जुधिरहँदाकै अवस्थामा अर्थात् २५ मई, २०२० मा अमेरिकाको मिनिएपोलिस सहरमा ४६ वर्षीय अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोएडको ड्युटीमा रहेको अमेरिकन प्रहरीद्वारा निर्ममतापूर्वक हत्या गरियो । यसको प्रतिवादका रूपमा अमेरिकाभर हिंसात्मक झडप सिर्जना भयो । झडपमा अन्य दर्जन नागरिक पनि मारिए । फ्लोएडको हत्या अमेरिकी शासकको जातिवादी तथा रङ्गभेदी नीतिको पराकाष्ठा थियो । अन्ततः यो हत्या प्रकरणले अमेरिका र अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष गम्भीर प्रभाव पारेको छ । अहिले अमेरिका र अमेरिकी शासकीय संरचना र नीतिमाथि गम्भीर प्रश्न मात्र उठेको छैन, जातीय तथा नश्लीय व्यवहारका विरूद्ध अमेरिका अब उही ठाउँमा उसैगरी उभिनै नमिल्ने र नसक्ने अवस्थामा पुगेको छ ।


राष्ट्रपति ट्रम्प अन्ध-राष्ट्रवादको आवरणमा विजयी भएका थिए । ‘अमेरिकी फस्र्ट’ को नारालाई जिब्रोमै झुन्ड्याउने आज उनी आफ्नै निवासको बङ्करभित्र लुक्न बाध्य भएका छन् । अमेरिका मुट्ठीभर पुँजीपतिको नियन्त्रणमा रहेको युद्धपिपासु देश हो । युद्ध र हत्या अमेरिकाको प्राण हो । अमेरिका उन्माद र आतङ्कको पर्याय हो । विन लादेनदेखि सद्दाम हुसेनसम्म आफैँ जन्माउने र आफैँ हत्या गर्ने पनि उही अमेरिका हो । इराक, अफगानिस्तान, सिरिया ध्वस्त पार्ने पनि उही अमेरिका हो । अमेरिकाले अहिले चीनलाई घेराबन्दीमा पार्न एमसीसीका नाममा नेपालमा आफ्नो सेना उतार्न खोजिरहेको छ । अमेरिका मानवतालाई चिन्दै चिन्दैन । ऊ मानवलाई वस्तुसिवाय अरू केही मान्दैन । युद्ध र हतियार अमेरिकाको अर्को परिचय हो । छालाको रङ कालो हुँदैमा मर्नुपर्ने देश हो अमेरिका । जम्मा बीस डलरको कारण अमेरिकन प्रहरीले घुँडाले घाँटी थिचेर फ्लोएडको हत्या गरेपछि ट्रम्प प्रशासनकै टाउको बेस्सरी दुख्नेगरी आन्दोलन छेडिएको छ । ‘एन्टिफा’ नाम दिइएको यो आन्दोलन रङ्गभेदविरूद्ध एवम् न्याय, जनताको नैसर्गिक अधिकार, स्वतन्त्रता र समानताका पक्षमा परिलक्षित छ । जनता जागेपछि नसोचेको, कल्पना नै नगरेको कुरा हुन थाल्दछ । अहिले अमेरिकी जनता जागेका छन् । दिनदिनै उत्पीडित तथा श्रमजीवी जनता सडकमा ओइरिएर प्रहरीसित भिडन्त गरिरहेका छन् । राष्ट्रपतिको प्रशासनिक कार्यालय ह्वाइट-हाउससमेत पटक-पटक प्रदर्शनकारीहरूको घेराबन्दीमा परेको छ । राष्ट्रपति ट्रम्प सेनाको घेराभित्र रहेको, उनलाई ह्वाइट-हाउसभित्रको बङ्करमा लगिएको, जनप्रदर्शन नियन्त्रणबाहिर जान थालेको, नेसनल गार्डलाई विरोध प्रदर्शन नियन्त्रण गर्नका लागि सडकमा ओरालिएको, कफ्र्यु लगाएर विद्रोह नियन्त्रण गर्न खोजिए पनि अमेरिकी जनताको आक्रोश अझ तीव्र बन्दै गएको जस्ता समाचारहरू आइरहेका छन् ।

अमेरिकामा निकै लामो समयदेखि कालाजातिका श्रमजीवी नागरिकहरू गोराजातिबाट पीडित हुँदै आएको पाइन्छ । अमेरिकामा उनीहरूमाथि दोस्रो दर्जाको व्यवहार हुँदै आएको छ । अमेरिकामा कालाहरू कफी पिइरहेको रेस्टुरेन्टमा गोराहरू हत्तपत्त पस्दैनन् । केही समयअघि बीबीसीले अमेरिका प्रहरी हिरासतमा अश्वेत जातिको गैर-न्यायिक हत्या हुने देश भएको र त्यहाँ झण्डै पच्चीस लाख बढी बन्दी रहेको कुरा समाचार प्रसारण गरेको थियो । जातीय, सामाजिक तथा सांस्कृतिक उत्पीडनविरूद्धको प्रतिरोधको निरन्तरतामा आज अमेरिकी सडकमा आँसु, पीडा, आक्रोश र विद्रोह एकैसाथ अभिव्यक्त भइरहेको छ । फ्लोएडलाई चौभिन नामका प्रहरीले भुईंमा पछारी घुँडाले घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेर मारेका थिए । फ्लोएडले “मलाई सास फेर्न गाह्रो भयो” भनेर प्रहरीसँग भनेको भिडियो पनि सामाजिक सञ्जालमा प्रसारण भइरहेको छ । यसलाई विभिन्न देशका टेलिभिजन च्यानलहरूले प्रसारण पनि गरेका थिए ।

“साम्राज्यवाद कागजको बाघ हो । … युद्धको निर्णय एक–दुईवटा नयाँ हात–हतियारले गर्दैन, बरु जनताले गर्छन् ।”

राज्यबाट उत्पीडित र किनारीकृत नागरिकहरू अन्य कुराबाट पनि उत्पीडनमा पर्नु पर्दोरहेछ । आन्तरिक हेजोमोनी कति हृदयविदारक हुन्छ भन्ने कुरा आज अमेरिकामा देखिँदैछ । अमेरिकामा कोरोनाबाट प्रभावित हुनेहरूमा अश्वेत नै बढी देखिएका छन् । यतिबेला राष्ट्रपति ट्रम्प भनिरहेका छन्, “केही मानिसको जीवनको मूल्यमा पुरै अमेरिकी अर्थतन्त्रको बलिदान गर्न सकिन्न ।” के यो राष्ट्रपतिको तहबाट सोच्न र बोल्न मिल्ने कुरा हो ? बिल्कुल होइन । हुन त राष्ट्रपति ट्रम्पलाई गोराबाहेक अरू मरून् कि बाँचून्, के मतलव ! उनले प्रदर्शनकारीहरूलाई सेनाको बलमा कुल्चिदिने धम्की यसै दिएका होइनन् । ट्रम्पले टेलिभिजनबाट सडकमा उत्रिएका नागरिकलाई अपराधीको संज्ञा दिइरहेका छन् । अहिलेको अमेरिकाको प्रदर्शनलाई ५२ वर्षअघि मार्टिन लुथरको हत्यापछि भएको प्रदर्शनसँग दाँजिँदैछ । आज जातीय अहङ्कार एवम् रङ्गभेदका विरूद्ध अमेरिकी जनताको प्रदर्शनलाई ऐक्यबद्धता जनाउँदै विश्वभर विशाल प्रदर्शनहरू भइरहेकाछन् ।

ट्रम्पले ‘आप्रवासीलाई अमेरिकाबाट निकालिनेछ’ भन्ने नाराका साथ चुनाव जितेका थिए । खासमा अमेरिका आप्रवासीहरूको देश हो तर ट्रम्प यो कुरा स्वीकार्न तयार छैनन् । क्रूर हत्याका विरूद्ध नागरिक आक्रोशित हुँदै सडकमा निस्कनु स्वाभाविक कुरा हो । यो शोषण र अन्यायमा आधारित शासन व्यवस्थाविरूद्धको कुरा पनि हो । यो अमेरिका र अमेरिकी साम्राज्यवादमाथिको सङ्गीन प्रश्न पनि हो । फ्लोएड हत्या प्रकरणबारे अमेरिकाको भविष्यप्रति सङ्केत गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका छन्, “जर्ज फ्लोएडको हत्या र विभेदपूर्ण न्याय प्रणालीलाई लिएर यति बेला अमेरिकाका लाखौँ मानिस सडकमा ओर्लिएका छन् । यसलाई कसरी वास्तविक र दिगो परिवर्तनको संवाहकमा रूपान्तरण गर्न सकिएला भन्दै थुप्रैले आकाङ्क्षा प्रकट गर्न थालेका छन् । यो जनउभार अन्ततः अभियन्ताहरूको नयाँ पुस्ताकै हातमा पुग्नेछ, जसले भावी रणनीतिलाई आकार प्रदान गर्नेछ ।”

अमेरिकी नागरिकहरू तिरस्कार भाषामा भन्न थालेका छन्- अब ट्रम्प हाम्रा राष्ट्रपति रहिरहेनन् । जनताको आधारभूत तहबाट आएको यो टिप्पणी अमेरिकी राष्ट्रपति ट्रम्पका लागि असामान्य अवस्था हो । यतिखेर राष्ट्रपति ट्रम्पको दिनचर्या बनेको छ– गल्फ खेल्नु, टिभी हेर्नु, ट्विट गर्नु र पत्रकारलाई गाली गर्नु । राष्ट्रपति ट्रम्प आत्मकेन्द्री व्यक्तिवादको गर्तमा नराम्ररी डुबेका छन्, जहाँ ‘म’ र ‘मेरो’ लाई मात्र स्थान हुन्छ, ‘हामी’ र ‘हाम्रो’ लाई कुनै स्थान हुन्न । शासकहरूको यो प्रवृत्ति सबैतिर सारतः उही रूपमा प्रकट भइरहेको हुन्छ । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएड र नेपालमा दलित युवा नवराजहरूको हत्याको मूल शासकीय प्रवृत्ति एउटै हो । जातीय अहङ्कारको गर्भमा छिपेर जातव्यवस्था, धार्मिक एवम् सांस्कृतिक रूढीवादले जबरजस्ती शासनको जाँतो घुमाइरहेको हुन्छ । त्यो जाँतोमा फ्लोएड र नवराजहरू पटक-पटक र निरन्तर पिसिन बाध्य छन् । हामीले हाम्रो चेतनालाई वैज्ञानिक र चिन्तनलाई उदात्त बनाउन सकेनौँ भने, हामीले हामीलाई पिस्ने जाँतोलाई उखेलेर सदाका लागि फाल्न सकेनौँ भने फेरि पनि हामी मानवीयता, सामाजिक संस्कार र संवदेनाको मलामी बन्न बाध्य भइरहनेछौँ । जर्ज फ्लोएडको हत्या मानव–सभ्यताकै भयानक उपहास हो । फ्लोएड प्रकरण अमेरिकाका लागि नयाँ नभएर उच्च जातीय अहङ्कारवादको चरम अभिव्यक्तिको निरन्तरता हो । आज सबैतिरबाट फ्लोएडलाई ‘महान् फ्लोएड’ का रूपमा स्मरण गरिएको छ । उनको मृत्युलाई ‘जातिवादको महामारी’ को संज्ञा दिइएको छ । यतिबेला विभिन्न क्षेत्रका अभियन्ताहरूले भनिरहेका छन्, “घाँटीबाट तिम्रो खुट्टा झिक, अब हामी रोकिँदैनौँ, अब हामी सहँदैनौँ ।” यो अमेरिकी शासक र अमेरिकी व्यवस्थाको अस्वीकृतिको एकीकृत आवाज हो ।

अमेरिकामा जर्ज फ्लोएड मारिएपछि ‘ब्लाक लाइभ्स म्याटर’ पुनर्जागृत भएको छ । कालाजातिलाई दास बनाउने, व्यापार गर्ने, शोषण र विभेद गर्नेका सालिकहरू पनि निशाना पर्न थालेका छन् । आदिबासीमाथि अत्याचार गरेको आरोपमा अमेरिका पत्ता लगाउने कोलम्बसको शालिक ढालिएको छ । काला जातिप्रति असहिष्णु स्काउटका संस्थापक बाडेन पावेल र जमैकामा सयौँ अफ्रिकी दास राखेको आरोपमा रबर्ट मिलिगनको शालिक निशानामा परेका छन् । कालाभन्दा भारतीयहरू माथिल्लो दर्जाका मानिस हुन् भनी लबिङ गरेको आरोपमा महात्मा गान्धी र रङ्गभेदी विचारधारका कारण विस्टन चर्चिलको शालिक पनि निशानामा परेका छन् । बेलायती दास व्यापारी एडवार्ड कोल्सटनको विशाल मूर्ति पनि ढालिएको छ । यतिसम्म कि सेतो छाला भएको मान्छेले अपराध गरेमा कालो छाला भएको प्रहरीलाई पक्राउ अनुमति हुन्नथ्यो । अब सेता छालाको सर्वोच्चताको युग समाप्त भएको छ ।

साम्राज्यवादी-प्रतिक्रियावादीहरूबारे माओले गर्नुभएको संश्लेषण निकै महत्वपूर्ण छन् । विश्व बहुध्रुवमा गएको र साम्राज्यवाद मरणासन्न अवस्थामा पुगेको यतिबेला हाम्रा अगाडि माओका भनाइहरू तरोताजा भएर उभिएका छन्, “सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् । बाहिरबाट हेर्दा प्रतिक्रियावादी डरलाग्दा देखिन्छन् तर वास्तवमा तिनीहरू उति शक्तिशाली हुँदैनन् । दीर्घकालीन दृष्टिबाट हेर्दा प्रतिक्रियावादीहरू होइन, जनता नै वास्तविकरूपमा शक्तिशाली हुन्छन् । रूसमा सन् १९१७ को फेब्रुअरी क्रान्तिअघि कुन पक्ष साँच्ची नै बलियो थियो ? बाहिरबाट हेर्दा जार बलियो थियो तर फेब्रुअरी क्रान्तिको हावाको एक झोक्काले नै उसलाई उडाइदियो । अन्तिम विश्लेषणमा, रूसमा मजदुर, किसान र सिपाहीहरूका शक्ति सोभियतहरूको पक्षमा थियो । जार त कागजी बाघ मात्र थियो । एकताका हिटलरलाई ज्यादै शक्तिशाली मानिँदैनथ्यो ? तर, इतिहासले उसलाई कागजी बाघ सिद्ध गर्यो । मुसोलिनी पनि त्यस्तै थियो, जापानी साम्राज्यवाद पनि त्यस्तै थियो । यसको विपरीत सोभियत सङ्घ तथा सारा मुलुकका जनवाद र स्वतन्त्रताप्रेमी जनता सोचेभन्दा कता हो कता शक्तिशाली सावित भए ।”

कुनै बेला विश्वको दुईतिहाइ भू-भागलाई समाजवादी क्रान्तिले लपेटेको थियो । फेरि पनि विश्वको दुईतिहाइ भू-भागमा समाजवादी क्रान्तिको लहर छाउने निश्चित छ । यो सम्भावनालाई कोरोनाको विश्व-कहरले थप अनुकूल बनाइदिएको छ । फेरि पनि हामीले एकपटक जनताको अजेय शक्ति प्रमाणित गरेर देखाइदिनु छ । जनक्रान्तिको आत्मगत तथा वस्तुगत अनुकूलताले विश्व सर्वहारा-कम्युनिस्टहरूमा थप उत्साह पैदा गरेको छ । विश्वमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका आधारहरू सुदृढ बन्दै गएका छन् । जर्ज फ्लोएडको बलिदानमा उठेको अमेरिकी एन्टी फासिस्ट आन्दोलनले यही कुराको इङ्गित गरेको छ ।

तपाईको प्रतिक्रिया