मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँचजना नियन्त्रणमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मेलम्ची

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी (सिएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदूर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन् । कोभिड– १९ को महामारीको बेला २५ जना भन्दा बढी भिड गरी लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आयोजना पीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरी तीन जना सप्लार्यस र दुई जना मजदूर गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदा पनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपूर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रीय माग गर्दै आन्दोलन पुनः सुचारु गरेका हुन् । स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदूर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रूपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया