बाग्मती प्रदेशसभामा बजेटमाथि छलफल शुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हेटाैडा

बाग्मती प्रदेशसभाको आज बसेको बैठकमा आव २०७७/७८ का लागि वार्षिक राजश्व र व्ययमाथि छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको बजेट छलफलका लागि बैठकमा प्रस्ताव टेबुल गरिएको थियो ।

उनले प्रस्तुत बजेटमा गत आवको तुलनामा यस वर्ष बजेटको आकार वृद्धि भएको भए पनि प्रस्तावित राजश्वको असुली गर्न सन्तुलित एवं पारदर्शी ढङ्गबाट सर्वसाधारण नागरिक र उद्योगपति व्यापारीहरुलाई मर्का नपर्ने गरी राजश्व असुलीको लक्ष्यमा कार्यान्वयन गर्नेतर्फ सरकारको जोड रहेको बताए ।

मन्त्री ढुङ्गेलले बजेटले वर्तमान कोरोना सङ्क्रमणको चुनौतीलाई सामना गर्न तथा कृषि उत्पादन र वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई स्थानीय घरआगनमै प्रत्यक्ष स्वरोजगार उपलब्ध गराउने र विकासको पूर्वाधारलाई आर्थिक क्षेत्रमा आत्मनिर्भर तुल्याउने योजनालाई बढी प्राथमिकता दिइएको उल्लेख गरे । उनले सभासदहरुको थप सुझाव अनुसार बजेटमा छुट भएका योजनाहरुलाई सामावेश गरिनेतर्फ आश्वासन पनि दिए ।

बैठकमा बजेटको सैद्धान्तिक पक्षमा सहभागी हुँदै सत्तारुढ नेकपाका नेताद्वय डा राजेन्द्रमान श्रेष्ठ र राजेन्द्रप्रसाद पाण्डेले सरकारद्वारा प्रस्तुत गरिएको बजेट सम्पूर्ण प्रदेशवासीको भावनालाई समेटिएको बताए । कोरोना सङ्क्रमणबाट पीडितको पहिचान र उपचार उच्चस्तरीय अस्पतालको स्थापना गर्न र स्थानीय निकायमा बेरोजगारको अवस्थामा रहेका विपन्न नागरिक र कृषक र मजदुरहरुलाई दैनिक खानेकुराको व्यवस्था मिलाउनेतर्फ सरकारले छुट्टै राहत प्याकेज घोषणा गरी कार्यान्वय गर्नेतर्फ केन्द्रित हुनुपर्ने उहाँहरुले धारणा व्यक्त गरे ।


सत्तापक्ष अन्य सभासदहरुले मन्त्रिपरिषद्मा रहेका पदाधिकारीको क्षेत्रमा राष्ट्रिय महत्वको योजनाहरु वृद्धि गरिएकामा चिन्ता व्यक्त गर्दै सर्वसाधारण जनताको हितका लागि विकासको पूर्वाधार, स्वास्थ्य उपचार, खानेपानी, विद्युतीकरणको विस्तार र रोजगारीका लागि स्थानीय निकायको प्रत्येक वडामा आर्थिक प्याकेज कार्यक्रम लैजान सकिने खालको बजेटमा थप व्यवस्था गर्न माग गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सस्तो लोकप्रियताका लागि नारामा मात्रै सीमित राख्न नहुने तथ्य औँल्याउँदै अहिले कोरोनाबाट प्रभावित जनतालाई रोगको पहिचान र उपचार गर्न कोरोना अस्पतालको स्थापना गर्ने र भोका जनतालाई खाद्यान्न उपलब्ध गराउनेतर्फ बजेटले उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले सरकारले गत वर्षको प्रस्तुत बजेटमा चालु पूँजीतर्फ करिब २० प्रतिशत मात्रै खर्च भएको र यस वर्ष बजेटको तीव्र आकार वृद्धि गरिएको भए पनि लकडाउनको कारण लक्ष्यअनुसार राजश्व असुली हुन नसक्ने भएकाले बजेट ५१ अर्व रुपैयाँबाट अब ३० अर्ब रुपैयाँमा ल्याउनुपर्ने सल्लाह दिए ।

बैठकमा राप्रपाका रीता माझीले बजेटले निमुखा जनतालाई विकासको पूर्वाधारबाट आत्मनिर्भर हुने र स्वास्थ्य उपचार, रोजगारका लागि बजेट थप समावेश गर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्ने र १३ वटै जिल्लालाई महत्व दिई योजना बाँडफाँट गर्न माग गरे ।

साझा विवेकशील दलका नेता रमेश पौडेलले सरकारले सार्वजनिक गरेको बजेटमा जनताको बृहत् हितका लागि समावेश गर्नुको सट्टा आफ्नो दलको स्वार्थका लागि विभिन्न योजनाहरु समावेश गरिएको भन्दै आपत्ती जनाए । नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाइँले प्रदेश सरकारको बजेट जनमुखी व्यावहारिक नभई प्रचारमुखी भएको आरोप लगाउँँदै बजेटको आकार घटाएर जनतालाई सीमित स्रोतसाधनबाट लाभ पु¥याउने योजनालाई कार्यान्वयन गर्न आग्रह गरे ।

बजेटको विनियोजित शीर्षकमा सभासदहरु दीपक निरौला, डा राजाराम कार्की, पशुपति चौलागाईँ, नरोत्तम वैद्य, शोभा शाक्य, सीता लामा, विराजभक्त श्रेष्ठ, रिना गुरुङ, चेतनाथ सञ्जेल, रचना खड्का, बद्रीप्रसाद मैनाली, गीता वाग्ले, कृष्णलाल भँडेल, केशव स्थापित, मिलनबाबु श्रेष्ठ, जुनेलीमाया श्रेष्ठ, सरस्वती बस्नेत, मैना अछामी र सिर्जना सैँजुले भाग लिएको थियो । यसैगरी राजकाजी महर्जन, निमा लामा, प्रभात तामाङ, बसन्त हुमागाई, इन्द्रमाया गुरुङ, विजया केसीले पनि छलफलमा सहभागी हुनुभई आ–आफ्नो सुझावहरु प्रस्तुत गर्नुभयो । प्रदेशसभाको अर्काे बैठक बुधबार ३ गते दिनको ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया