यात्राको पाइलाः एक दृष्टि

काठमाडाैं

विषय प्रवेश

शब्दहरुको संयोजनबाट सुन्दर तस्विर निर्माण गर्ने साहित्यकार बहुआयामिक चित्रकार हो । प्रकृति र प्राणी जगतको सहकार्य र अन्तरक्रियाबाट आर्जित अनुभूतिहरुलाई साहित्यकारले अक्षर र शब्दहरुको संयोजनबाट विशिष्ठ कलात्मक ग्रन्थ–चित्र तयार गर्दछ । यसरी तयार पारिएको चित्रमा प्रकृति र प्राणी जगतको वास्तविक अनुहार र चरित्रको पारख गर्न सकिन्छ । ग्रन्थको रुपमा तयार हुन आउने यस्ता चित्रहरुले प्रकृति र प्राणी जगतको सर्वश्रेष्ठ प्राणी मानव जातिको विगत, वर्तमान र भविष्य केन्द्रित विषयमा समाविष्ट भएका उच्च कोटीका ज्ञान प्रवाहित गर्दै आइरहेका छन् । यिनै ज्ञानहरुले सिंचित भएर मानव सभ्यताको चुली निरन्तर आकासिंदै आइरहेको छ ।

प्रकृति, प्राणी जगत र स्वयम् मानव समाज र व्यवहारसँग निरन्तर अन्तरक्रिया र सहकार्य गर्दै मानव जातिले निर्माण गरेका विपुल सभ्यता र यस सभ्यताको अन्तरवस्तुको रुपमा रहेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक आयामहरुलाई साहित्यकारहरुले विभिन्न साहित्यिक विधाहरुमार्फत प्रस्तुत गर्दै आइरहेका छन् । यिनै साहित्यिक विधाहरुमा अभिव्यक्त विचार र दृष्टिकोण मानव-जाति र समाजको निम्ति मार्ग निर्देशक तत्वको रुपमा सर्वाधिक प्रभावकारी रहँदै आएका छन् । वास्तवमा मानव जातिले निरन्तर बेहोर्दै आएको सुखान्त, दुखान्त र त्रासदीपूर्ण विगत र वर्तमानका हरेक पहलुहरुलाई केवल साहित्यकारका हृदयले सतत अनुभव गर्न सक्छ भने त्यस अनुभवलाई विधागत शिल्पले कलात्मक अभिव्यक्ति दिन सक्छ ।

तसर्थ मानव, जाति र मानव सभ्यतासँग मात्र अन्योन्याश्रित रहेका प्राचीन र अवार्चिन परिघटना र दशाहरुमा मात्र हैन सिङ्गो पृथ्वी र सम्पूर्ण चराचरको अस्तित्व रक्षाको निम्ति सुन्दर जीवन र सुरक्षित भविष्यको आकांक्षाले द्रविभूत भएर साहित्यकारहरुले कालजयी कृतिहरुको निर्माण गर्दै आइरहेका छन् । यी कृतिहरुबाट प्रवाहित ज्ञान-रस सागरमा गोता लगाउँदै मानव सुशिक्षित, दीक्षित र सुस्वप्न अन्वेषी हुँदै आइरहेको छ । मानव जातिको निम्ति एकसाथ प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रकाबारेमा यथार्थ ज्ञान र दृष्टि प्रवाहित गर्नको निम्ति वर्तमानका साहित्यिक विधाहरुमध्ये नियात्रा विधा सर्वाधिक प्रभावशाली मानिंदै आएको छ । अंग्रेजीमा ट्राभेलग (Travellogue) भनिने यात्रा सस्मरणलाई यात्रा विवरण (Travel Account) पनि भनिएको पाइन्छ भने नेपालमा चाहिँ यसलाई ‘नियात्रा” भन्न थालिएको छ । नेपाली साहित्यको भण्डारमा वर्षेनी नयाँनयाँ नियात्रा कृतिहरु थ्पिंदै आइरहेका छन् । नेपालकै प्राकृतिक छटा-छविमा विचरण गर्दै प्रकृति, प्राणी जगत र मानव समाजसँग संसर्ग (अन्तरक्रिया र सहकार्य) गर्दै साहित्यिक ग्रन्थ-कृति निर्माण गर्ने अभियानमा वि. सं. २०७६ मा प्रकाशित ‘‘यात्राका पाइला” नामक नियात्रा कृति लिएर सामेल हुन आइपुगेका छन्- राजेन्द्रमान डङ्गोल ।

यात्राका पाइला कृतिबारे

२०२६ साल, विदुर–२, नुवाकोटमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका राजेन्द्रमान डङ्गोल पर्यटन व्यवशायलाई आप्mनो जीविकाको माध्यम बनाउँदै आएका व्यक्ति हुन् । साहित्यानुरागी र साहित्यिक शिल्प रुचीका कारण त्रिशूली वाङ्मय प्रतिष्ठानजस्तो साहित्यिक संस्थामा आवद्ध रहँदै आएका डङ्गोलको ‘‘यात्राका पाइला” को प्रकाशक पनि संयोगले त्रिशूली वाङ्मय प्रतिष्ठान नै रहेको छ । कूल १९१ पृष्ठमा पूर्णाकार प्राप्त ‘‘यात्राका पाइला” को १८० पृष्ठ १० वटा यात्रा शीर्षकमा विभक्त हुन पुगेको छ । मानौं ‘यात्राका पाइला” एउटा सुन्दर घर र यस घरभित्र ‘दिग्भ्रमित पलहरु’, ‘कञ्चनजङ्घामा छाडेका पाइला’, ‘यात्रामा भूकम्पीय त्रासदी’, ‘संयोगको भेट’, ‘स्मृतिमा सुदुर पश्चिम’, ‘डेल्फिनसँग ‘थोरङ् ला’मा’, ‘यार्तुङ्का अनुभूतिहरु’, ‘यादगार अपि यात्रा’, ‘जेठो हिमालसँगको सहवास’ र ‘सगरमाथा सुम्सुम्याउँदा’जस्ता शीर्षक रुपी रोमाञ्चकारी १० वटा कोठाहरु छन् र ती कोठाहरुले आ–आफ्नो वैशिष्ठ्यतासहित यथोचित सुगन्धित सुन्दरता प्राप्त गरेका छन् । मूल्य रु. २५० अङ्कित गरिएको यस कृतिको वास्तविक मूल्यबोध नेपाली सामाजिक जीवनका विभिन्न क्षेत्रमा विशिष्ठ दखल हासिल गरेका ५ जना महानुभावहरुबाट छोटो टिप्पणीमार्फत गराइएको छ ।

कृतिको अन्तर-वस्तुबारे

नियात्राकार राजेन्द्रमान डङ्गोल ‘‘यात्राका पाइला’ मेरा यात्राका नितान्त निजी अनुभूतिहरुको सङ्गालो हो” भन्छन् । वास्तवमा ‘समाज र प्रकृतिसँगको संसर्गबाट निस्तृत तथ्यपूर्ण अनुभूतिहरुको कलात्मक अभिव्यक्ति नै यात्रा संस्मरण/नियात्रा हो । ‘यात्राका पाइला’ नियात्रा कृति पनि नियात्राकारको प्रकृति र समाजसँगको संसर्गबाट निस्तृत तथ्यपूर्ण अनुभूतिहरुको कलात्मक अभिव्यक्ति हो । यस कृतिमा नियात्राकार डङ्गोलले त्रिकाल (विगत, वतमान र भविष्य) को विभिन्न सन्दर्भ र परिवेशमा आधारित भएर कलात्मक अभिव्यक्ति सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । ५ वटा कवितांश र ८ वटा गीतांशको सितारा लगाइएको यस कृतिमा हुनआएको दार्शनिक, कलात्मक, पौराणिक, मिथकीय, ऐतिहासिक, काव्यात्मक, समाजशास्त्रीय, सामाजिक-द्वन्द्वात्मक, भविष्यमुखी, प्रेमिल, राजनीतिक तथा राष्ट्रवादी अभिव्यक्तिले डङ्गोलको बहुआयामिक चेतनाका विस्तारित क्षितिजलाई स्पष्ट अनुबोध गर्न सकिन्छ । पहिलो शीर्षकमा रहेको र ४० पृष्ठमा विचरण गर्नुपर्ने ‘दिग्भ्रमित पलहरु’ सबैभन्दा लामो यात्रा हो भने सबैभन्दा छोटो शीर्षक-क्रमले पनि ४ र ४ पृष्ठकै विचरणमा सम्पन्न गर्न सकिने यात्रा ‘संयोगको भेट’ हो । सन् २००५ को नोभेम्बरदेखि सन् २०१९ को जनवरीसम्म- करिब १४ वर्षको अवधिमा पूर्ण वय प्राप्त गर्न सफल यस कृतिको अन्तिम शीर्षकमा रहेको ‘सगरमाथा सुम्सुम्याउँदा’ ले ९ पृष्ठमा विस्तृती प्राप्त गरेको छ ।

विषय-वस्तुका आयामबारे

‘यात्राका पाइला” सिङ्गो नेपालको यावत् विषयवस्तुलाई सलल प्रवाह गरिएको बहुआयामिक दृष्टिकोणको पुञ्ज हो । जीवन व्यवहारका कठिनतम भोगाइ, उच्च साहित्यिक चेत र कलात्मक अभिव्यक्ति क्षमतालेयुक्त डङ्गोलले यस कृतिमा प्राकृतिक लय, मानव चेतना, चिन्तन र व्यवहारलाई सुक्ष्म किसिमले केलाउने प्रयास गरेका छन् । पर्यटन व्यवशाय, मूलतः पदयात्रा व्यवशायमा आफ्नो जीवन–वृत्तको रुपरेखा तयार गर्दै आएका डङ्गोलको पाइताले नटेकेका, आँखाले नदेखेका र आत्मीय भावनाले नसुम्सुम्याएका नेपालका कुनै पनि उच्च सौन्दर्यशाली प्राकृतिक छटा-छवि र मानव समाज बाँकी छैन होला अनि उनको आँखाले नचुमेका नेपालका कुनै ऐतिहासिक-सम्पदाका धरोहर र झाँकीहरु बाँकी छैनन् होला । यिनै सकल अनुभव र अनुभूतिको कुन्दाले खोपेर उनी ‘यात्राका पाइला”लाई गन्तव्यसम्म पुर्याउन सफल भएका छन् ।

संसारमा प्रचलित साहित्यिक विधाहरुमध्ये नियात्रा÷यात्रा सस्मरणलाई पनि एक ऐतिहासिक महत्वको प्राचीन विधा मानिन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक क्षेत्रका ऐतिहासिक पहलुहरुबारे निक्र्योलमा पुग्नको निम्ति विभिन्न समयका पथिकहरुले रचना गरेका नियात्रा/यात्रा संस्मरणलाई पनि एक महत्वपूर्ण सन्दर्भ–स्रोतको रुपमा लिंदै आइएको छ । यस दृष्टिले हेर्दा ‘‘यात्राका पाइला”मा नियात्राकार डङ्गोल त्रिकाल (विगत, वर्तमान र वर्तमान) वेत्ताको रुपमा देखा परेका छन् ।

जीवित प्राणीको अस्तित्वको निम्ति अत्यावश्यक पहलुलाई आफ्नै जीवन चर्याको पिरामिडमा उभिएर अनुभूत गर्दै ‘आफैंमा यात्रा हो मानिसको जीवन’ (पृष्ठ ६९, संयोगको भेट) भन्ने उनी मानव चोलाको सिमिततालाई पारख गर्दै ‘आखिर परिस्थितिको दाश न हो मान्छे’ (पृष्ठ १४९, जेठो हिमालसँग सहवास) भनेर दार्शनिक चेत प्रवाह गर्छन् । ‘शिल्पकारी कालिगढले बनाएको कलात्मक झ्यालजस्तै लाग्थ्यो, विशाल पहाडको फेदमा रहेका ढुङ्गेओडारको प्वाल’ (पृष्ठ १२९, यादगार अपि यात्रा) मार्फत आफ्नो कलात्मक अभिव्यक्ति शैलीसँग उनी ‘उत्ताउलो वतासको झोक्कासँगै बयली खेलिरहेका बादलका टुक्राहरु’ (पृष्ठ ६२, यात्रामा भूकम्पीय त्रासदी) मा लय मिलाउन पुग्छन् र ‘वसन्तको पल्लवी मौसममा मुस्कुराउने फूलहरु आपैमा मनमोहक’ (पृष्ठ ७७, स्मृतिमा सुदुर पश्चिम) मार्फत उच्च प्राकृतिक सौन्दर्य चेत प्रवाह गर्छन् र ‘महाभारत पर्वत शृङ्खलाका छातीमा कोरिएका पक्की सडकका धर्सामा गुड्दै उकालियौं नाचन्थली (२७०० मिटर) सम्म’ (पृष्ठ ११८, यादगार अपि यात्रा) भन्दै कलात्मक अभिव्यक्तिको शिखरमा पुग्छन् ।

नेपाली समाज अनेकन पौराणिक कथा र उपकथाहरुले सिङ्गो व्रह्माण्ड र प्राणी जगतको उद्भव, विकास, निरन्तरता र विनासबारे आश्चर्यपूर्ण किसिमले प्रभावित बन्दै आएको छ । यही समाजको एउटा स्वभाविक मानव–प्राणी भएको कारणले डङ्गोल आपूmमा सङ्ग्रहित पौराणिक घटनाको गहिरो स्मृतिलाई ‘श्रीमदभागवत देवी पुराणको षष्टम स्कन्द अध्याय १६ देखि २३ सम्म उल्लेख भए अनुसार समुद्र मन्थन गर्दा उत्पन्न भएको उच्चैश्रवा घोडा चढेर रेमन्त नामक सूर्यपुत्र भगवान विष्णुकहाँ गएका थिए रे !’ (पृष्ठ ७९, स्मृतिमा सुदुर पश्चिम) भनी उजागार गर्छन् र ‘हाम्रो संस्कारमा देउताको शिरमा खुट्टा राख्नु महा पाप हो’ (पृष्ठ १७३, सगरमाथा सुम्सुम्याउँदा) भन्दै धर्म-संस्कारप्रति सम्मानभाव व्यक्त गर्छन् र आफू नेपाली धर्म संस्कृतिबाट कतिधेरै प्रभावित छु भन्ने कुरा ‘मन्दीरमा बजेको भक्ति संगीतको सुमधुर ताल भने मेरो मनमा गुञ्जायमान भइरहेको थियो’ (पृष्ठ ११९, यादगार अपि यात्रा) भन्ने प्रसङ्गले प्रष्ट्याउँछन् ।

बहुजाती, बहुभाषी, बहुसांस्कृतिक देश नेपालका विभिन्न पुराकथा र मिथकहरुले अविराम अस्तित्वशील रहँदै आएको आदिम सभ्यताको अस्तित्वलाई वर्तमासम्म कायम राख्दै आएका छन् । यिनै विभिन्न मिथकहरुप्रतिको गहिरो रुचीले गर्दा डङ्गोल ‘‘यात्राका पाइला” मा उत्साहपूर्वक ‘यार्तुङ् भनेकै घोडा कुदाउने त हो’ (पृष्ठ १०९, यार्तुङ्का अनुभूति) भनी मिथकीय अभिव्यक्ति दिन्छन् र ‘म जान्न चाहन्थें के होला त गत्लाङ्को अर्थ’ (पृष्ठ २१, दिग्भ्रमित पलहरु) भन्दै अाफ्नो गवेषणमुखी स्वभावलाई अनावरण गर्छन् । नेपालको मानव समाजको विकासबारे पनि गहिरो रुची राख्ने उनी ‘पाँच दशक अघिदेखि मानव वस्तीको सुरुवाती भएको रे नाम्चेमा । म पहिलोपटक सन् १९९९ मा आउँदा यत्तिको चहलपहल थिएन’ (पृष्ठ १७७, सगरमाथा सुम्सुम्याउँदा) भन्दै उनी नाम्चेमा मानव वस्ती–विकासको ऐतिहासिक दलिल प्रस्तुत गर्छन् र ‘गलामा पोते लगाएका नाकमा बुलाकी र कानमा ढुङ्ग्रीले सजिएका महिलाहरु बडेमानका घाँसका भारी बोकेर ओर्लंदै थिए’ (पृष्ठ १२२, यादगार अपि यात्रा) समाजशास्त्रीय अभिव्यक्तिमा कसी लगाउँछन् । इतिहासबिनाको वर्तमान र वर्तमानबिनाको भविष्यको कुनै अस्तित्व नहुने ठहर गर्दै उनी ‘दिग्भ्रमित पलहरु’मा ऐतिहासिक अभ्यिव्यक्ति स्थापित गर्न पुग्छन्— ‘क्यान्जिन गुम्बा ८ औं शताब्दीमा बौद्ध तान्त्रिक गुरु पद्मसंभवले अमरत्व प्राप्त गरेको ठाउँ ।’ (पृष्ठ ४६, दिग्भ्रमित पलहरु) र आफूले आर्जेको ऐतिहासिक ज्ञानलाई ‘वि. सं. १८७७ मा सेती नदीको नारीदाङमा गोर्खाली फौजसँग डोटेली फौजको हार भएको थियो ।’ (पृष्ठ ८३, स्मृतिमा सुदुर पश्चिम) भनी आफूभित्रको ऐतिहासिक ज्ञान-क्षितिजको आयाम उजागार गर्छन् ।

सफल साहित्यकार हुनको निम्ति उच्च काव्यात्मक चेतना हुनुलाई शुभलक्षण मानिन्छ । ‘दिग्भ्रमित पलहरु’ मै डङ्गोल आफ्नो काव्यात्मक चेतको दैलो सुटुक्क उघारर्छन्—

‘‘स्याब्रुको कोख छेडेर बेगिने
लाङ्टाङ खोला र भोटेकोशी होस वा
स्वागतमा क्यान्जिन रिको बुर्जाबाट
लुङ्दरले हल्लाएको हात‘ (पृष्ठ ४८, दिग्भ्रमित पलहरु)” ।

नेपाली समाजभित्र वर्तमानसम्म पनि जीवितै रहेको हेपाहा र उत्पीडनकारी मनोवृत्तिलाई फिटिक्कै मननपराउने डङ्गोल सामाजिक–द्वन्द्वात्मक परिस्थितिको कुटु चित्रणद्वारा ‘पदयात्राको सिलसिलामा विदेशीका सहयोगी बनेर गएका नेपालीले ठाउँठाउँमा होटलवालाहरुको अपमानको लप्का सहँनै पर्छ’ (पृष्ठ ९७, डेल्फिनसँग ‘थोरङ्ला’मा) भण्डाफोर गर्छन् र न्यापूर्ण तथा समतामूलक मानवीय व्यवहारको अपेक्षा राख्दै उनी ‘पदमार्गका होटलहरुमा नेपाली मजदुरले खाने खानाको गुणस्तरमा सुधार कहिले आउला ?’ (पृष्ठ १५९, जेठो हिमालसँगको सहवास) भन्छन् । असहिष्णुताको दाग मस्तिष्कमा अली बढी नै बोकेका मानिसहरु संसारको हरेक समाज र देशको परिधिभित्र रहेका हुन्छन् भन्ने कुराको मार्मिक दृष्टान्त ‘मार्टिनको गोरो अनुहारमा संवेदनाहीनताको कुरुपता प्रष्ट देखिन्थ्यो । यत्तिको मानवीय समवेदनाहीन विदेशी मैले जीवनमा विरलै देखेको थिएँ’ (पृष्ठ १३९, यादगार अपि यात्रा) भन्दै प्रस्तुत गर्छन् ।

‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी अथवा आफूलाई जन्ममाउने आमा र आपूm जन्मिएको भूमि स्वर्गभन्दा पनि ठूलो हुन्छ’ भन्ने नैतिक दृष्टान्तले दीक्षित भएका डङ्गोल नेपालको सुदुर पश्चिम क्षेत्रको सीमावर्ती भूभागहरुमा विचरण गर्न पुगेको बखत उनको मनमा उच्च राष्ट्र-प्रेमको भावना तरङ्गित हुन आइपुग्छ र ठाउँकोठावै अभिव्यक्त गर्छन्- ‘शारदा ब्यारेजको डिलमा बसेर महाकालीलाई हेरुन्जेलको हरेक पल ममाथि पराधीन पहिरोले थिचेको महसुस भइरह्यो’ (पृष्ठ ८२, स्मृतिमा सुदुर पश्चिम) । अर्कोतर्पm देशको राजनीतिक इतिहास र गहिरिंदै गएको अन्योलपूर्व वर्तमानको गर्तलाई नजिकबाट नियालिरहेका डङ्गोलभित्र अवचेतन अवस्थामा रहेको राजनीतिक चेतना प्रस्फुटित हुनपुग्छ र भन्छन्- ‘खम्बोचेतलाई आधुनिकताले गाँजेको छैन, न त राजनीतिले नै । गणतन्त्र आएको छ भन्ने आभास समेत छैन कसैमा’ (पृष्ठ ५४, कञ्चनजङ्घामा छाडिएका पाइला) । अनपेक्षित अन्योलग्रस्त वर्तमान र अनिश्चित भविष्यको अँध्यारो गर्तबाट देशलाई बाहिर निकाल्न र निमुखा श्रमजीवी जनताहरुको जीवनमा सुख र खुशीका बिहान झुल्काउन उच्च मनोबलकासाथ डङ्गोल ‘नेपालजस्तो अपार सांस्कृतिक सम्पदाले भरिएको देशमा सांस्कृतिक मूल्य र मान्यता जोगाउनकै लागि पनि कम्तिमा सांस्कृतिक राजाको अपरिहार्यता महसुस हुँदो रहेछ’ (पृष्ठ ११४, यार्तुङ्का अनुभूति) भन्ने निष्कर्ष निकाल्छन् ।


नियात्राकार डङ्गोल विगत र वर्तमानका अवाञ्छित घटना, परिवेश, सामाजिक, आर्थिक तथा राजनीतिक बेलगाव र वेथितिले निर्धारित गरिदिएको सामाजिक स्थितिबाट उन्मुक्ति पाउनको निम्ति भविष्यप्रति आशावादी देखिएका छन् र ‘२८०० मिटरको उचाइमा रहेको पार्वती कुण्ड, पालुङ टासी छोङ छोली गुम्बाले स्वदेशी/विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सक्छ । र, यिनै आकर्षणले गत्लाङ सबैका लागि सपनाका गाउँ बन्न सक्छ ।’ (पृष्ठ २२, दिग्भ्रमित पलहरु) भन्छन् र ‘तान्द्रुङ, घान्द्रुङ, धम्पुस र मत्क्युसम्म गाडी पुगिसकेको छ । पुग्नबाँकी घोडेपानी, छाम्रोङ र सिनुवासम्म हो । अब यो ठाउँमा पदयात्रा कत्तिनै चल्ला र !’ (पृृष्ठ १४९, जेठो हिमालसँगको सहवास) भनी अप्रिय भविष्यको छनक उडाउँछन । यो कुटील वर्तमानमा कारुणिक जीवन बाँचिरहेका निर्दोष ग्रामीण नारीहरुको दिनचर्याबाट द्रवीभूत भएका डङ्गोल ‘यदि यो ठाउँमा पर्यटकहरुको आगमन भैदिएको भए सायद उनीहरु यतिखेर आतिथ्य सत्कारमा व्यस्त भइरहेका हुन्थे होलान् ।’ (पृष्ठ १२३, आदगार अपि यात्रा) भन्दै वर्तमानको सुन्दर क्यानभासमा भविष्यका कल्पनाशील चित्र कुशलतापूर्वक तयार गर्न सफल देखिन्छन् । प्रेम र आकर्षण, प्राप्ति र समर्पण, मिलन र बिछोड, विश्वास र धोका, आँशु र हाँसो मानव जीवनका सहज परिवृत्त हुन् । प्रेमको प्राप्तिमा मानिस कति धेरै पुलकित हुन्छ भन्ने कुरा प्रेमिल अभिव्यक्ति शिल्पमा निपूर्ण डङ्गोल ‘उनको गालाको डिम्पलको झझल्को आइरहेको थियो मेरो आँखामा ।’ (पृष्ठ १०८, सगरमाथा सुम्सुम्याउँदा) भन्दै नोस्टाल्जिक बन्न पुग्छन् र ‘आफैमा एउटा उचाइमा पुगिसकेको पवित्र प्रेमलाई नयाँ उचाइमा पु¥याउँदै थियौं हामी, क्यान्जिन रिको शिरसम्म ।’ (पृष्ठ ४७, दिग्भ्रमित पलहरु) भन्दै उनी पवित्र प्रेमको उचाइलाई अभिव्यक्त गर्दछन् । यसरी बहुआयामिक शिल्प-शैलीले निपूर्ण देखिएका उनी नेपाली साहित्याकाशमा उज्ज्वल नक्षेत्रका रुपमा देखा परेका छन् ।

निष्कर्ष

सिङ्गो नेपालको प्रतिछायाँ सुन्दर ढङ्गले कुंदिएको यस कृतिमा प्रयुक्त भाषाः झर्रो नेपाली, मानक नेपाली, अंग्रेजी, हिन्दी र स्थानीय शब्दहरुको उचित संयोजन सहित वर्णनात्मक र संवादात्मक अभिव्यक्ति शैलीले पाठकलाई निरन्तर आकर्षित गरिरहने क्षमता प्रदर्शित गरेका छन् । व्याकरणीय तथा भाषाशास्त्रीय दृष्टिकोणले मात्र यस कृतिलाई हेर्दा ओठ लेब्य्राउनुपर्ने, औंलो तेस्र्याउनुपर्ने र निधार खुम्च्याउनुपर्ने छिद्रहरु यदाकदा देखापर्न सक्ने भए पनि साहित्यिक सिर्जनशील क्षमता र कौशलताको दृष्टिले ‘‘यात्राका पाइला” अब्बल स्तरको कृति हो । नियात्राकार राजेन्द्रमान डङ्गोलको साहित्यिक–सिर्जनशील यात्रा त्रिशूलीको बेगझैनिरन्तर गतिशील बनिरहोस्- सँधैको निम्ति यही सुभेच्क्षा ।
अस्तु ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका