उपसभामुख तामाङले फिर्ता गरिन् नयाँ गाडी र सचिवालय बनाउने निर्णय

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हेटाैडा

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले आफुलाई पाउने सेवा सुविधा नलिने निर्णय गरेकी छिन् । उनले नयाँ गाडी र सचिवालय भवन बनाउन गरेकोे निर्णय फिर्ता गरेकी हुन् ।

कोरोना महामारीको चपेटामा देश गुज्रिरहेको अवस्थामा यो सेवा सुविधा लिन ठिक नहुने बताउँदै उनीले यो निर्णय फिर्ता गरेकी बताइन् । देशमा स्वास्थ्य सामग्रीकै समस्या छ, उपसभामुख तामाङले भनिन्, ‘यस्तो बेला यो सुविधा लिनुभन्दा स्वास्थ्य क्षेत्रलाई सहयोग गर्नु ठुलो ठानेको छु ।’

उपसभामुखसँगको फोन संवादमा रकम त फ्रिज हुन्छ नी ? भन्ने प्रश्नमा यो फ्रिज गएपनि सरकारी कोषमै जाने हो, उनले भनिन् । संकटको बेला सुविधा लिएर देशको अर्थतन्त्रमा असर पार्नुभन्दा सहयोग गर्नु उचित ठानेर निर्णय फिर्ता गरेको उनको भनाइ थियो ।

गत फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले नयाँ सवारीसाधन किन्ने निर्णय गरेको थियो । भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो।


‘उपसभामुख तामाङले पाउने सुविधा बराबरको रकम कोरोना कोषमा नगएपनि सरकारले कोरोना कोषमै तानोस्’ भन्ने चाहना आफ्नो रहेको उनले बताइन्।

उनले प्रयोग गर्दै आएको गाडीमा समस्या देखिएपछि नयाँ गाडी किन्ने प्रस्ताव राखेकी थिइन् । टाटाको स्ट्रोम जिप चढिरहेकी उपसभामुख स्करपियो किन्ने तयारीमा थिइन् ।

तपाईको प्रतिक्रिया