लकडाउन खुकुलो हुँदैमा मास्क नखोलौ

ईलाम

आज विश्व कोरोनाको महामारीबाट आतंकित मात्र हैन यसले बिस्तारै बिस्तारै विश्वलाई नै शिथिल बनाउदै लगिरहेको छ । मानवीय क्षति सँगसँगै आर्थिक, सामाजिक क्षति पनि अतुलनीय हुने नै भयो । डिसेम्बरको अन्तिम दिन अर्थात डिसेम्बर ३१, २०१९ । जब चीनको वुहान प्रान्तमा मान्छेहरु कोभिड–१९ को विरुद्धमा लड्दै थिए, हजारौं संख्यामा संक्रमित बढ्दै थियो, सयौंको ज्यान जाँदै थियो, विश्वले कुनै पनि चासो दिएन । पूर्व तयारीमा जुटेन । धेरै देशहरु रमिते बनेर बसे । हाम्रोजस्तो मुलुकको के कुरा गर्नु विश्वको शक्तिशाली राष्ट्र भनाउँदाहरुले बरु उल्टै यसलाई चिनी भाईरसको संज्ञा दिदै मजाक उडाए । कतिपयले त चिनिया खानपानको कारणले फैलिएको भनेर दोषारोपन समेत गरे । भाइरसले आजको रुप लिन्छ भनेर कसैले आँकलन नै गर्न सकेन । अन्ततोगत्वा यो भाईरस विश्वको हरेक कुनाकुना फैलिएर हाम्रो घरदैलोमा समेत आईपुगे । माहामरीको रुप लिए । वर्तमान मानव सभ्यताले नदेखिएको बिकराल प्रकोपको सामना गर्न बाध्य बने ।

आज विश्वभर ८,६६३,१३५ संख्यामा संक्रमित पुगिसकेका छन् ।भने ४६०,००५ जना मृत्युको मुखमा पुगिसकेका छन् । नेपालको सन्दर्भमा ८२७४ संक्रमित साथै २२ जनाले ज्यान गुमाईसकेको अवस्था छ । दिन दुईगुणा रात चौगुणा संक्रमण फैलिरहेको तथ्याङ्क बाहिरिदैंछ ।

संसारलाई एक सेकेन्डमा ध्वस्त बनाउने मिसायल बनाउन सक्ने शक्तिशाली राष्ट्र पनि आज कोरोनाको औषधिको अभावमा घुँडा टेके । आखिर शक्तिशाली भनाउँदा राष्ट्रहरुले पनि मान्छेको विनाश र प्रकृतिको विनाशमा मात्र प्रतिस्पर्धा गर्ने बाहेक अरु के नै पो गर्दोरहेछ र भन्ने छर्लंग देखियो । नत्र विनाशकारी मिसायल बनाउनेहरुले कोरोनाको औषधि पत्ता लगाउन किन सकेनन् रु आज विज्ञानलाई समेत चुनौती भएको छ । औषधिको अभावमा लाखौंलाख मानिस मृत्युको मुखमा पुगे । घरभित्र लुक्न बाध्य बने । को सम्पन्न रु को विपन्न रु को शक्तिशाली रु को शक्तिहिन रु सबैको हैसियत एउटै रह्यो । सबैजना आफ्नो ज्यान जोगाउन घरभित्र लुक्न पर्ने बनायो । आखिर हामी सबैको धरातल एउटै रहेछ भन्ने कुराको साबित भए ।

यसको अरु औषधि छैन । घर बाहिर ननिस्कनु, बेलाबेला साबुन पानीले मिचिमिची हात धुनु, मास्कको उचित प्रयोग, सेनिटाईजरको प्रयोग अनि सामाजिक दुरी कायम राख्नुबाहेक अरु नयाँ विकल्प अहिलेसम्म देखिएको छैन ।

सुरुवातीमा नै ध्यान नदिएको कारणले संक्रमितको संख्या चौतपर्फी बढेको हो । अनियन्त्रित भएको हो । शक्ति सम्पन्न देशहरुले पनि लाखौंको संख्यामा मानवीय क्षति बेहोर्नु परेको हो । यी दृश्यहरु हाम्रो आँखा अगाडि जग जाहेर नै छ । जुन जुन राष्ट्रहरुले संक्रमणको शुरुवातदेखि नै सतर्कता अपनाए, नागरिकलाई न्युनतम आवश्यकताको सामग्रीहरु पुरा गर्दै लकडाउनको पुर्ण पालना गर्न अभिप्रेरित गरे, नागरिकले पनि सरकारले दिएको निर्देशनलाई आफ्नो दायित्व सम्झदै परिपालना गरे । ती देशहरूले अप्रत्यासित घटना बेहोर्नु परेन ।

हाम्रो मुलुकमा न राज्यको भूमिका प्रभावकारी देखियो, न नागरिकको नै । यसैको परिणामस्वरूप आजको यो संक्रमणको गति तीब्र देखिन थालेको छ । यदि यहीँ गतिले निरन्तरता पायो भने हाम्रो मुलुकले उच्च मानवीय क्षति बेहोर्नु पर्नेछ । दुर्भाग्यको यी दिन देख्न अब धेरै दिन कुर्नु पर्दैन ।

अहिलेसम्म कोभिड– १९ को औषधि बनेको छैन । यसलाई फैलिनबाट रोक्ने विकल्प भनेको सामाजिक दुरी कायम राख्नु, बेलाबेला साबुनपानीले मिचीमिची हात धुनु, सेनिटाईजरको प्रयोग गर्नु, मास्कको उचित प्रयोग गर्नु हो भनेर सम्बन्धित विज्ञहरुले सुझाएका छन् ।
हिजो एकजना पनि संक्रमित नदेखिदा नै कडा लकडाउन सुरु गरेको सरकारले आज संक्रमणको तीब्र गतिसँगै लकडाउन खुकुलो गरेको छ । हिजो एक जना संक्रमित हुँदा भागदौड गरेर गाउँ पस्ने, त्रसित भएर घरभित्र बस्ने त्यहीँ जनता आज लकडाउन खुकुलो हुने संकेत पाउन साथ सामाजिक दुरिको त कुरा छोडौ भएको मास्क पनि खोलेर सलबलाउन थालिसकेका छन् । वास्तवमा यो हामी आफ्नै लागि घातक हो ।


हिजो हामी जसरी गम्भीर भएको थियौ, आज हजारौंको संख्यामा संक्रमित बढिरहँदा, मृतको संख्या दिनदिनै थपिदै गर्दा हाम्रो सतर्कता कमजोर हुँदैछ । मानिस सबैभन्दा चेतनाशिल र विवेकी प्राणी भनिन्छ तर हामी किन छोटो मेमोरी भएको प्राणीमा दर्ता हुँदैछौँ रु यो नै गम्भीर चुनौतीको प्रश्न अनुत्तरित छ । त्यसैले लकडाउनको उलंघन गर्दै नगरौं । मास्क खोल्ने दिन आएको छैन । अब चाहिँ झन लगाउने दिन आएको छ । हामी सचेत बनेर सुनौलो दिन रोज्ने कि विपतिपूर्ण दिन रोज्ने हाम्रै हातमा छ । समयमा सचेत हुन सकेनौ भने भोलि पश्चताप गर्ने मौका समेत हुने छैन ।

विपतको घडीमा सरकार र जनता दुबैको भुमिका सराहनीय र सकरात्मक भए मात्र जोगिन सक्छौं । दुबैमध्ये कुनै एकको भुमिका कमजोर भएमा त्यसबाट दुस्परिणाम बाहेक केही हात पर्ने छैन । यसको भागीदार हामी सबै हुनेछौं । यसैले हामी सबैले परिस्थिति अनुसारको आचरण गरौं आफू पनि बचौ, अरुलाई पनि बचाऔं । लकडाउन खुकुलो हुदैमा हामीले सम्बन्धित विज्ञले दिएको सुझाव र सल्लाहालाई नबिर्सिउ ।

सुर्याेदय नगरपालिक – ३
pasang1840@gmail.com

तपाईको प्रतिक्रिया