पाकिस्तानका अधिकारीहरूले पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेका छन्। जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएलएनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो।
उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो। अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेका छन्।
प्रतिशोध
अघिल्लो महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई झुठ्ठा बैंक खाता सम्बन्धी आरोपलाई लिएर गिरफ्तार गरिएको थियो। विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउने गरेका छन्।
भुट्टोको हत्याका आरोपित भिडिओमा देखिए ब्युरोको १२ सदस्यीय टोलीले अब्बासीलाई पक्राउ गरेको थियो।
पाकिस्तानी समाचार च्यानल डन न्यूज टिभीका अनुसार पत्रकार सम्मेलन गर्न निक्लिएका बेला उनलाई गिरफ्तार गरिएको थियो। शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए।
कानुनी प्रक्रिया अनुसार शुक्रवार उनलाई अदालतमा पेश गरिनेछ। अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए।