अतिथि सत्कारको एक साँझ

काठमाडाैं

अक्सर हाम्रो घरमा पाहुना टुट्दैनथ्यो । प्रायः हामी कहाँ आउने पाहुनाहरू आफन्तहरू नै हुन्थे । तर एक साँझ हाम्रो घरमा एक अपरिचत जोडी आएका थिए अतिथि बनेर ।

कुरा २०२९ सालतिरको हो । त्यस्तै चार वर्षको उमेर थियो, मेरो । घरको आँगन नै मेरो संसार थियो । घर नजिकको मुलबाटो, र सेराबेसीसम्म पनि जानेआउने गर्थेँ, म । कपास खोरयिा र नुवाकोटको डाँडासम्म पुग्दा निकै टाढा पुगेको अनुभूति हुन्थ्यो मलाई ।

हिउँदको एक दिन एक्लै घरको आँगनमा खेलिरहेको थिएँ म । घामले धर्तीमा त्यो दिनको अन्तिम पटक लाली छर्दै थियो । गोँधुलीका पत्रहरूले त्यो बुढो घामलाई छोप्दै थिए । बा, आमा, दिदी र दाईहरू सबै खेतमा जानु भएको थियो । उनीहरू आउने बाटोमा आँखा बिच्छयाईरहेको थिएँ म ।

ठिक त्यतिनै खेर मुल बाटोमा पछाडि झोला बोकेका दुई जना मानिस टुप्लुक्किए । उनीहरू दोबाटोमा आइपुगेपछि हाम्रै घरतिर बाटो सोझ्याए । उनीहरू को होलान् र के का लागि आएका होलान् ? भनेर आश्चर्य मान्दै हेरिरहेँ म । निख्खरा गोरो र अग्ला र अपरिचित थिए उनीहरू ।

घरमा म एक्लै भएकोले उनीहरू जतिजति नजिक आउँथे, मलाई त्यत्तिकै डर पनि लाग्थ्यो । र लाग्थ्यो- कतै मलाई केही पो गर्ने हुन् कि !

उनीहरू आएर आँगनको डिलमा झोला बिसाए । तुम्लेटको पानी पिए र, त्यहीँ डिलमा बसे । म पिँढीको डिलमा उभिएर उनीरूलाई हेरिरहेँ । उनीहरूले मलाई ‘हाई’ भने । उनीहरूले ‘हाई’ भन्दा प्रत्युत्तरमा मैले के भन्नु पथ्र्यो, मलाई थाहा थिएन । उनीहरूले मलाई केही कुराहरू सोध,े मेरो नजिक आएर । तर, मैले केही बुझिनँ । उनीहरू घरमा मबाहेक अरूलाई नदेखेकाले मेरा अविभावकहरू कहाँ छन् भनेर सोधेका पनि हुन सक्छन् । अमुक भएर बस्नु बाहेकको बिकल्प मसित थिएन ।

उनीहरू आपसमा कुरा गर्न लागे । नबुझे पनि मैले उनीहरूको सम्वाद भने सुनिरहेँ । थकित मुद्रामा देखिन्थे उनीहरू । झमक्क साँझ परिसकेकोले यही घरमा बास मागौँ भन्दै थिए होलान् सायद उनीहरू । केहीबेरमा घरका सबैजना आईपुग्नु भयो । देख्ने बित्तिकै उनीहरूले सबैलाई नमस्ते भनेर हात पनि जोडे । बा, आमा, दिदी र दाईहरू सबैले नमस्ते भनेर उनीहरूलाई अविभादन फर्काए ।

औलाहरूले भात च्याप्थे तर मुखमा पु¥याउन्जेलसम्म भातका सीटाहरू थालमै खसिसक्थे । र फेरि भातका सीटाहरू औँलाले च्याप्ने प्रयास गर्थे उनीहरू ।

बा’ ले ‘कहाँबाट पाल्नु भएको ?’, ‘कहाँ जाने ?’ जस्ता कुराहरू सोध्नु भयो । तर, उनीहरूले बुझेनन् । बाको कुरा उनीहरूले नबुझ्ने र उनीहरूका कुरा बाले नबुझ्ने भएपछि एकछिन त सबै जना छक्क परे, एकले अर्काको मुखमा हेदैँ । त्यसपछि उनीहरूले हातको इसारा गर्न थाले । एकले अर्कालाई बुझ्न मुखले बोलेका भन्दा साङ्केतिक भाषा नै सजिलो भयो । उनीहरूले गरेको हातको इसाराबाट बास खोजेका रहेछन् भन्ने बुझियो ।

बा बोले ‘ए ! वहाँहरूले बास माग्नु भएका रहेछ ।’साँझमा आएका पाहुना देवता सरह हुन्छ भन्दै बुबाले उनीहरूलाई पिँडीतिर डाक्नु भयो ।
उनीहरू पिँढमा आए । ‘बस्नुस् ! बुबाले भन्नु भयो ।’ ‘थ्याङ्क यु’ भन्दै ती जोडीले पिँढीको डिलमा झोला अड्याए र फलैँचामा बसे ।

नयाँ मान्छेहरू घरमा बसेकाले खुशी थिएँ म । बुवाले हातकै इसारामा केही कुराहरू सोध्नु भयो । जर्मनीबाट आएका उनीहरू काठमाडाैंदेखि नै पैदल आएका रहेछन्, नुवाकोटको साततले दरबार हेर्न भनेर । कहाँकहाँको मान्छेलाई हाम्रो नुवाकोटको साततले दरबार कसरी थाहा भयो होला भनेर हामीलाई अचम्म लाग्यो । नेपाली संस्कारमा अतिथि सत्कारलाई आफ्नो धर्मको सबैभन्दा उच्चरूप मानिन्छ । त्यसमा पनि साँझमा आइपुगेका पाहुनाहरूको सेवा गर्नु भनेको यज्ञ गर्नुजस्तै हो ।

स्वागत त गरियो उनीहरूलाई । तर, उनीहरूका लागि खानपिन र बिस्ताराको बन्दोबस्त गर्ने कुरा त्यति सहज थिएन । किनकि त्यसअघि कहिल्यै पनि कोही विदेशी हाम्रो घरमा पाहुनाको रूपमा आएका थिएनन् । हामीसित सुत्ने खाट थिएन । ओढ्नका लागि गतिलो सिरक र ओच्छयाउने राम्रो डसना थिएन । कसरी सुताउने भन्ने कुरामा चिन्तित आमा हुदै भन्नुभयो, ‘वहाँहरूलाई खानाको बन्दोबस्त त जसोतसो गरौँला तर सुत्न के गर्ने !’ बुबाले भन्नु भयो, ‘यतीका सुकुल गुन्द्रीहरू छदैछन् नि !’

टाढा–टाढाबाट आउने इष्टमित्रहरू त सुकुलको बिच्छ्याउना र पिर्काको सिरानीमा चार प्रहर रात काटेर जान्थे । कतिपय चिने जानेका ब्राह्मण र क्षेत्री थर भएकाहरू त हामीले पकाएको खाँदैनथे । उनीहरू आफै पकाएर खान्थे । उनीहरू के जात हुन्, हामीले पकाएको खान्छन् कि खादँैनन् भन्ने कुरा पनि विचारणीय थियो । बुवाले यी सबै कुराहरू सकेसम्म उनीहरूले बुझ्ने गरी हातको इसाराले गर्नुभयो । उनीहरू हामीले पकाएको खाने रहेछन् । नेपालको जस्तै जातभातको चलन विदेशमा हँुदैन भन्ने कुरा हामीलाई थाहा थिएन ।

घाम अस्ताएपछि बाहिर चिसो बढ्दै थियो । जाडोभरि मझेरीको अगेनामै आगो ताप्थ्यौँ हामी । सँधैझैँ आमाले मझेरीको अगेनामा दाउरा सल्काउनु भयो, हाम्रा लागि आगो ताप्न । ती दुई विदेशीहरू पनि हामीसँगै बसेर आगो तापे । धुवाँले आँखा पिरो हँुदा पनि अगेनाको तातो छाड्न सकेनन् उनीहरूले । उनीहरूसित बोल्न चाहन्थ्यौँ हामी तर भाषाको कारणले दाई र म उनीहरूसित दोहोरो कुरा गर्न सक्थेनौँ । हामीले उनीहरूलाई र उनीहरूले हामीलाई हेर्थ्यौ र मुसुक्क हाँस्थ्यौँ मात्र । हामी बीचको सम्वाद आँखाले मात्र हुन्थ्यो मौनरूपमा ।

आमा खाना पकाउन चुलातिर लागिन् । भान्छाको काममा आमालाई सघाउँदै थिइन् दिदीले । त्यतिखेरसम्म बालीनालीमा देशीमोलको प्रयोग गर्ने चलन थिएन । उब्जनी कम हुने भएकोले वर्षभरीलाई अन्न पु¥याउन धौधौ पथ्र्यो । चलन धेरैजसो ढिँडो मात्र खाने र कहिलेकहीँ आधा ढिँडो र आधा भात खाने थियो । गाउँघरतिर हिउँद महिनामा चाहेजस्तो तीउन तरकारी पनि उतिसारो उपलब्ध हुँदैनथ्यो । तरकारीमा गुन्द्रुक, छुकुनी, चुल्ठे कर्कलो, मुलाको सिन्की र चाना, तरुल, पिँडालु र मासको मस्यौरा, साग आदी खान्थ्यौँ । तरकारीको अभाव हँुदा जङ्गलबाट जलुकी (कर्कलो जस्तै बनस्पति) टिपेर ल्याइन्थ्यो ।

त्यो साँझ आमाले मासको दाल, भात, मकैको ढिँडो, सिमी र आलुको तरकारी र साग पकाउनुभयो । सायद पाहुनाहरू भएकोले होला, त्यो साँझ पाकेका परिकारहरू अलि बढी नै थिए । आमाले खाना पकाउँदै गरेको हेरिरहेका थिए, उनीहरू अचम्भित भएर । लाग्थ्यो– सादा किसिमको खाना बनाएको देखेर सायद आफ्नै घरको भोजन सम्झिरहेका थिए उनीहरू ।

हामीकहाँँ डिनर गर्नुअघि लिने सुप थिएन, ह्वीस्की, वियर वा वाइन र स्न्याँक्स पनि थिएन । सायद ती कुराहरूको अपेक्षा पनि गरेका थिएनन् होला, उनीहरूले । तर, आफ्नो स्वाद भने पक्कै पनि ‘मिस’ गरेका थिए । आमाले उनीहरूलाई कौलाह स्वरूप च्युरा, अण्डा र एक–एक गिलास कोदोको रक्सी दिइन् । रमाइलो मान्दै खाए उनीहरूले । कोदोको रक्सीले सायद ह्वीस्कीको तिर्सना मेटे होलान् । खाना तयार भएपछि हामीलाई आधा ढिँडो र आधा भात र विदेशीहरूलाई भात मात्र पस्किदिनु भयो ।

त्यतिखेरसम्म नुवाकोटमा धान कुट्ने मिल आई सकेको थिएन । ढिकीमा कुटेको चामलको भात रातो हुन्थ्यो । हाम्रो घरमा पाकेको भात रातो देख्दा सायद अचम्मको लागेको थियो होला उनीहरूलाई । उज्यालेको लािग बिजुली बत्ति थिएन हामीसित । बसेर खाना खानका लागि डाईनिङ टेबल र कुर्र्सी थिएन । खाना खाने चम्चा र काँटा पनि थिएनन् । हामीले जे दियो त्यहीँ खानु र जसरी दियो त्यसरी नै खानु बाहेका विकल्प पनि थिएन, उनीहरूसित । विचरा ति विदेशी पाहुनाहरू !

बिजुलीको सट्टा टुकी बत्तीको उज्यालो थियो । कुर्सीको सट्टा पिर्काहरू थिए । खाना खान उनीहरूले पनि हामीले जस्तै पिर्कामा बस्नुको विकल्प नै भएन । पिर्कामा बसेर हातले खाना खानु आफैमा नौलो थियो उनीहरूका लागि । चम्चा र काँटा नभएकाले सुरुका दुई-चार गाँस त उनीहरूले खानै जानेनन् । औलाहरूले भात च्याप्थे तर मुखमा पु¥याउन्जेलसम्म भातका सीटाहरू थालमै खसिसक्थे । र फेरि भातका सीटाहरू औँलाले च्याप्ने प्रयास गर्थे उनीहरू । त्यो दृश्य देख्दा हामीलाई हाँसो उठ्थ्यो । तर बुबाको डरले हाँसो थाम्थेँ म । बुबाले यसरी खानुपर्छ भनेर ‘डेमोन्ट्रेसन’ गरेर देखाइदिनुभयो । त्यसपछि बुवालेजस्तै गरी उनीहरूले पनि खान थाले । ‘मिठो छ’ भन्न चाहीँ जानेका थिए । प्रत्येक गाँसमा उनीहरू ‘मिठो छ’ मात्र भन्थे । पिर्कामा बसेर खाने बानी नभएका उनीहरूलाई निकै अप्ठयारो भइरहेको महसुस हुन्थ्यो । तर पनि खुशी थिए, उनीहरू । सायद त्यो साँझ उनीहरूका लागि पनि अविस्मरणीय भएको हुनुपर्छ । अपरिचत ठाउँको बास र अपरिचितहरूको आतिथ्यता !

हामीले ढिडो खाएको देखेर उनीहरूले पनि ढिडो चाख्ने इच्छा गरे । आमाले अलिकति ढिडो उनीहरूलाई पनि दिनुभयो । बुवाले ढिडो खान पनि सिकाइ दिनुभयो । खाना खाएपछि आमा बुवालाई धन्यवाद पनि दिए । उनीहरू नेपालीमा ‘धन्यवाद’ भन्न पनि जान्दथे । उनीहरूले बोल्न जानेका नेपाली शब्दहरू ‘मिठो छ’ र ‘धन्यवाद’ मात्र थिए । बुवा भन्दै थिए, ‘यिनीहरू आफ्नो घरमा कति मिठो खाना खान्थे होलान् । तर, हाम्रो खाना नमिठै भए पनि मिठै मानेर खाए ।’ पाहुनाहरू खुशी भएको देख्दा बुवा पनि खुशी देखिन्थे । सायद उनीहरूका लागि भोजन भन्दा भोक मिठो भएको हुनुपर्छ । खानापछि उनीहरूको चिया अथवा कफी पिउने बानी थियो होला तर हामी कहाँ त्यतिखेर घरमा चिया पकाएर खाने चलन चलिसकेकै थिएन ।

खानापछि ओढ्ने ओच्छयाउने चिन्ता थियो । तर उनीहरूले स्लीपिङ ब्याग र म्याट्रेस ल्याएका रहेछन् । सुकुल माथि म्याट्रेस ओच्छयाए र स्लीपिङ ब्याग ओढेर सुते । भोलिपल्ट बिहानै बुवा, दिदी र दाइ खेततिर लागे । घरमा आमा र म मात्र थियौँ । ती विदेशीहरू करिब आठ बजेतिर उठे र झोला सहित तल ओर्ले । जाने बेलामा पर्सबाट पैसा निकालेर दिन खोज्दै खोजे । पाहुनासित पैसा लिने चलन थिएन । आमाले पैसा लिन मान्नु भएन । उनीहरूले पैसा दिन पटकपटक प्रयास गरे तर आमा पन्छिरहनु भयो र भन्नुभयो, ‘हामी ब्यपारी होइनौँ । हामी पाहुनासित पैसा लिदैनौँ ।’

सायद उनीहरूले नेपाली संस्कार बुझेछन् कि ! पैसा लिन नमानेपछि उनीहरूले साथमा ल्याएको एक पाउण्ड पाउरोटी दिन खोजे । आमाले त्यो पनि लिन मान्नु भएन । उनीहरूका कुरा हामीले बुझेनौँ । सायद यो चाहिँ लिनैपर्छ भनेका होलान् कि ! आफ्नै भाषामा के–के भन्दै त्यो पाउरोटी अगेना माथिको भारमा राखिदिए उनीहरूले । त्यसपछि उनीहरूले आ–आफ्ना झोला बोके र ‘वाईवाई’ गदैँ बाटो तताए ।


संयोगले म पर्यटन व्यवसायमा सम्लग्न छु । आतिथ्य सत्कारसित सम्बन्धित यो ब्यवसायमा लागेपछि कतिलाई विदाईको हात हल्लाएँ, मैले एकिन नै छैन । तर, उकालो चढुन्जेल उनीहरूले हाम्रो घरतिर फर्कि–फर्कि हेरेको, हामीलाई हातले वाईवाई गरेको अनि हामीले पनि हात हल्लाएर उनीहरूलाई वाईवाई गरेको चाहिँ अझैसम्म पनि याद आइरहन्छ । हाम्रा लागि अचम्मको थियो, त्यो साँझ । कहिल्यै नदेखेको/नचिनेको मान्छेहरू घरमा आएका थिए, अनाहूत बनेर । अरूबेला आउने पाहुनाहरू अरुबेलासम्म बसेर आमा-बुवासित दु:ख-सुखका कुराहरू गर्ने गर्थे । तर, उनीहरूसित त्यस्ता कुराहरू केही पनि भएनन् । मात्र हाँस्थे उनीहरू । उनीहरूका सम्वाद उनीहरूमा मात्र सिमित हुन्थ्यो ।

जुन गन्तब्यमा पुग्नुपर्ने हो, त्यहाँ पुग्न नसकेर सोच्दै नसोचेको ठाउँका बास बस्नु परेकोले सायद त्यो साँझ उनीहरूका लागि पनि स्मरणीय भएको हुनुपर्छ । काठमाडौँ सहरभन्दा बाहिरको नेपालमा पर्यटनको अवधारणा नआइसकेको त्यो अवस्थामा हामीले जे जति ग¥यौँ त्यो पूर्ण त थिएन नै तर, हामीले देखाएको आतिथ्यताले उनीहरू खुसी भएका थिए ।


थप यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका