एमसीसी र उद्वेलित साहित्यिक मनहरू

काठमाडाैं

भनिन्छ, समस्या बाजा बजाएर आउँदैन । तर, नेपालमा अधिकांश समस्या शासक स्वयम्ले योजनावद्ध रूपमा बाजा बजाएर भित्र्याएको देखिन्छ । नेपालमा राष्ट्रघाती शासकहरू र देशभक्त जनताकाबीचमा लामो समयदेखि अन्तरविरोध रहँदै आाएको छ । अहिले त्यो अन्तरविरोध अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ परियोजनामा सङ्केन्द्रीत भइरहेको छ । जब जब देशमा राष्ट्रिय समस्या बढ्दै जान्छ, तब तब शासकहरूको हर्षको मात्रा पनि बढ्दै जाने हुँदोरहेछ । राष्ट्र र राष्ट्रियता सङ्कटमा परेको बेला देशभक्त तथा क्रान्तिकारी साहित्यिक मनहरूमा उद्वेलना बढ्दै जाने हुँदोरहेछ । आज-भोलिका दिनहरू यस्तै-यस्तै उद्वेलनाबाट गुज्रिरहेको छ ।

नेपाल यतिबेला अनेकन् समस्याबाट आक्रान्त छ । त्यही अनेकन् समस्याका बीचमा अमेरिकी सैन्य रणनीति ‘एमसीसी’ विषालु फणा फिँजाउँदै हाम्रोसामु उभिएको छ । राष्ट्रिय हितविरुद्धको यो परियोजना पारित गर्न देशका प्रधानमन्त्री ओली स्वयम् टुप्पीदेखिको बल लगाइरहेका छन् । एमसीसीका विरुद्ध देश  र जनता एक ढिक्का भएर उभिएको छ । जनताले सडकमै उत्रिएर एमसीसीको विरोध गरिरहेका छन् । सत्तारुढ घटककै कतिपय मित्रहरू पनि एमसीसीविरुद्धको अभियानमा सामेल भइरहेका छन् । उता एमसीसीविरुद्धका प्रदर्शनमाथि सत्ताले व्यापक दमन पनि गरिरहेको छ । कोही हिरासतमा छन्, कोही घाइते छन्, कोही कडा निगरानीमा छन् । एमसीसी अमेरिकी सरकारको पूरा स्वामित्व रहेको सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्था हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि यसलाई इन्डो प्यासिफिक स्ट्राटेजीको अङ्ग बनाइएको थियो । अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रका हरेक मुलुकलाई दिने आर्थिक सहायतालाई इन्डो प्यासिफिक स्ट्राटेजीकै हिस्सा बनाउँदै आएको छ ।

एमसीसी राष्ट्रघाती छ भन्ने कुरामा कुनै दुविधा छैन । यसले ४८ वटा देशहरूलाई तहसनहस बनाइसकेको छ । नेपाललाई तहसनहस बनाइने ४९ देशको रूपमा उभ्याइँदै छ । जनता कुनै पनि हालतमा आफ्नो देश तहसनहस भएको टलुटुलु हेरेर बस्ने छैनन् । एमसीसी नेपालको सार्वभौमिकताको खिलाफमा छ । यसले नेपालको राष्ट्रिय हित र स्वतन्त्रतामा खलल पार्नेछ । एमसीसी अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग हुनुका साथै यो अमेरिकी सुरक्षा रणनीति पनि हो । एमसीसीसम्बन्धी सयौँ लेखक, अनुसन्धानकर्ता, शोधकर्ता, विज्ञहरूले हजारौँ लेख तयार पारेका छन् । एमसीसीबारे गरिएका अध्ययन र तिनका निष्कर्षलाई विभिन्न माध्यमबाट जनतामा सम्पेषण पनि गरिरहेका छन् । एमसीसी नयाँ ढङ्गको इस्ट इन्डिया कम्पनीका रूपमा चीन घेर्न ल्याइएको नवउदारवादी परियोजना हो ।

विश्वमा एकल ध्रुवको अन्त्य भएपनि विभिन्न आवरणमा सीआईएले आतङ्क मच्चाउन छाडेको छैन । एमसीसीको परियोजना कुनै पनि देशको समृद्धिको सूचक हुनै सक्तैन । उसले नेपालमा अमेरिकी सैन्य सञ्जाल फिँजाउन चाहिरहेको छ । एमसीसी सम्झौतामा ‘रणनीतिक सडक सञ्जाल र विद्युत् ट्रान्समिसन लाइन’ को सुरक्षाको कुरा यसै उल्लेख गरिएको होइन । एमसीसी नेपालमा जनताका विद्रोह दबाउने कुरासित पनि सम्बन्धित छ । एमसीसी नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमन गर्ने र कम्युनिष्टको बिउ नै सिध्याउने योजनासित पनि सम्बन्धित छ । अमेरिकी सेनाले जुन देशको माटोमा पाइला टेकेको छ, त्यो देशलाई हत्तपत्त छोडेको इतिहास छैन । एमसीसीको निशानामा चीन रहेको कुरामा कुनै शङ्का छैन । एमसीसीले निर्धारण गरेको विद्युत ट्रान्समिसनको लाइन र चीनसँग जोड्ने भनिएको रेललाइनको भूगोल र दिशा बनाइनुले यसको निशानामा चीन रहेको कुरालाई सङ्केत गर्दछ । सडक र विद्युत् ट्रान्समिसन लाइनको सुरक्षाको नाममा नेपालमा बसेर तिब्बतलाई भँड्काउने अमेरिकी योजना सुस्पष्टै छ ।


कुनै पनि देशका नागरिकका लागि आफ्ना देश सबैभन्दा प्रिय हुन्छ । सबैलाई आफ्नो देश, आफ्नो राष्ट्रियताको माया हुन्छ । यद्यपि राष्ट्रियताबारे कैयौँ मानिस भ्रमित र असंवेदनशील रहेको पनि पाइन्छ । यस्ता असंवेदनशीलता विशेषतः सत्तासीनहरूमा अझ बढी देख्न सकिन्छ । कुनै पनि देश तथा जनताका लागि राष्ट्रियता सम्बन्धी आन्दोलन विशेष रहने गरेको छ । यसमा आन्तरिक राष्ट्रियताको कुरा पनि छ । नेपालमा आन्तरिक राष्ट्रियताको कुरा गर्ने बित्तिकै एकथरी मानिस बुरुक्क उफ्रने गर्छन् । राष्ट्रियताबारे लेनिनले भन्नुभएको छ, ‘संसारमा सामन्तवादमाथि पुँजीवादको अन्तिम विजयको काल राष्ट्रिय आन्दोलनहरूसँग सम्बन्धित छ । यी आन्दोलनहरूको आर्थिक आधार कुन तथ्यसँग सम्बन्धित छ भने माल उत्पादनमा पूर्ण विजय प्राप्त गर्नका लागि पुँजीपतिवर्गद्वारा आन्तरिक बजारहरूमाथि कब्जा गरिनु, एउटै भाषा बोल्ने निवासीहरूका राजकीय दृष्टिले एकताबद्ध इलाकाहरू हुनु र भाषाको विकास तथा साहित्यमा त्यसको परिपुष्टिका सबै बाधाहरूलाई हटाउनु आवश्यक हुन्छ ।’ यसै सन्दर्भमा स्तालिनले पनि भन्नुभएको छ, ‘कुनै राष्ट्र एउटा स्थिर समुदाय हो, जसको एक ऐतिहासिक रूपमा विकसित भाषा, सीमा, आर्थिक जीवन र मनोवैज्ञानिक रचना उसको संस्कृतिमा देखापर्दछ ।’

समकालीन विश्वमा राष्ट्रियताको मुद्दा पेचिलो हुँदै आएको छ । पुँजीवादी युगमा जन्मिएको राष्ट्रियतालाई यौद्धिक उपजका रूपमा पनि लिने गरिएको पनि पाइन्छ । राजनीतिक विश्लेषक तथा इतिहासकारहरूका अनुसार सत्रौँ शताब्दीमा युरोपमा चलेको दशकौँको लामो युद्धपछि सन् १६४८ मा भएको जर्मनको वेष्टफेलिया सन्धि राष्ट्रियताको अवधारणाको आधारशिला हो । त्यतिबेला सामन्तवादी युगबाट पुँजीवादी युगमा प्रवेश गर्नु नै राष्ट्रिय जागरणको लागि उपयुक्त भौतिक कारण बन्न पुगेको थियो । राष्ट्रियता सम्बन्धी विमर्शमा हामीले राष्ट्रियताको लामो ऐतिहासिक सन्दर्भलाई पनि स्मरण गर्नुपर्ने हुन्छ, यद्यपि यहाँ त्यस्तो उद्देश्य राखिएको छैन ।

नेपालीहरू स्वाभिमानी छन् । उनीहरू आफ्नो शिरजस्तै राष्ट्रियताको शिर पनि उँचो भएको देख्न चाहन्छन् । नेपालमा राष्ट्रियताको भावना छचल्किएको दुई सय वर्ष नाघिसकेको छ । यो अवधिमा नेपालमा राष्ट्रियताको मामिलामा बलिदानयुक्त र कठोर लम्बेतान सङ्घर्ष पनि भएका छन् । त्यसमा जनताले ठूलो दुःख–कष्ट पनि उठाएका छन् । नेपालमा देशभक्तिको भावना नेपाल–अङ्ग्रेज युद्धसँगै विकसित–विस्तारित हुन थालेको देखिन्छ । त्यतिबेला नेपालीहरू देशप्रेमको भावनाले एकजुट भएर अङ्ग्रेजको विरुद्धमा जीवन–मरणको युद्ध लडेका थिए । दुःखको कुरा, सन् १८१६ को सुगौली सन्धिपछि नेपाल झन् अर्धउपनिवेशमा परिणत हुँदै रक्षात्मक हुन बाध्य भयो । यही सन्धिपछि नेपाल सामाजिक आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक हुन पुगेको थियो । त्यो प्रकरणपछि नेपालमा राष्ट्रियताको स्वर कमजोर हुन पुग्यो । नेपाल–भारतबीचमा भएको सन् १९५०, गोर्खाभर्ती केन्द्र, अपर कर्णाली, अरुण तेस्रो, बिप्पा एवम् अमेरिकासित भएको एमसीसीलगायत अनेकौँ राष्ट्रघाती सन्धि–सम्झौताले नेपालको राष्ट्रियता कमजोर हालतमा पुगेको छ । भारतसित भएका असमान सन्धि–सम्झौताले नेपालको राष्ट्रियतालाई जीर्ण बनाएको छ । नेपाली शासकहरू भारतीय शासकअघि दुर्वल देखिँदै आएका छन् । माक्र्सको भाषामा भन्ने हो भने अङ्ग्रेजको पालामा जङ्गबहादुर ब्रिटिस साम्राज्यवादको चौकीदार थिए । आज नेपाली शासक अर्थात् ओली–प्रचण्डहरू साम्राज्यवादका बफादार चौकीदार बनेका छन् ।

नेपालमा राष्ट्रियतासम्बन्धी बहस विभिन्न माध्यमबाट हुने गरेको छ । यो मामिलामा लेखक–साहित्यकारहरू निकै अगाडि रहेका छन् । यसमा कविहरूले सशक्त र काबिल प्रस्तुति दिएका छन् । लेखक साहित्यकारहरूले यसमा गरेको सक्रिय खबरदारी विशेष महत्वको छ । नेपालको राष्ट्रियतामाथि मूलतः भारतीय साम्राज्यवादबाट चौतर्फी हमला हुँदै आएको छ । नेपालमाथि भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेप र अतिक्रमण बढ्नुको पछाडि नेपाली सत्तासीन लेन्डुपहरूकै हात रहेको छ । पछिल्लो समयमा भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई आफ्नो सीमाभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । यसलाई नेपालका देशभक्त तथा क्रान्तिकारी लेखक–साहित्यकारहरूले सशक्त प्रतिवाद गरेका थिए । नेपाली राष्ट्रियताको रक्षार्थ लेखक–साहित्यकारहरूबाट भएको यो प्रतिवादको ठूलो महत्व छ । भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेप र अतिक्रमण रोक्नको लागि उसका नेपाली दलालविरुद्ध नै सङ्घर्ष केन्द्रीत गर्नुपर्ने भएको छ । नेपालको सत्तामा दलालहरू भरिभराउ छन् । भारतीय साम्राज्यवादका नेपाली दलाललाई पराजित नगरी भारतीय साम्राज्यवादद्वारा नेपालमाथि भइरहेको नाङ्गो नाच रोक्न असम्भव छ । राष्ट्रियताको रक्षार्थ सबै एकजुट भएर साम्राज्यवादी दुश्मनलाई पराजित गर्न सकिनेछ । नेपालका देशभक्त तथा क्रान्तिकारी लेखक–साहित्यकारहरूले निकै पहिलेदेखि आ–आफ्ना सिर्जनामार्फत् राष्ट्रियताको पक्षमा आवाज मुखरित गर्दै आएका छन् । प्रस्तुत छ, केही साक्ष्य :

ज्युँने साधन अन्नपात लुटिएका ए दिवाला उठ
शोषेका अरूले रगत् र पसिना हड्डी र छाला उठ
हुर्मत छोप्न परेर केवल भिरेका जीर्ण टाला उठ
रित्ता वर्तन जागजाग चुहुने नाङ्ला र डाला उठ । (युद्धप्रसाद मिश्र)

 हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक सत्रुको बल लिने नेपालमा शक्ति छ
तेरो तागत छैन कत्ति यसमा, धम्की न दे भारत ! (मेदिनीनाथ सुवेदी)

 एसियाको मुटु हाम्रो पुण्य मातृभूमि
मुटु खाने गिद्धहरू आए विश्व घुमी
पस्यो हाम्रो नेपालमा लडाइँको भोको
बस्यो अब डालरको फुकाएर पोको
जोगाऊ नेपाल हाम्रो भगाऊ साम्राज्यवादीलाई । (गोकुल जोशी)

 काबेरीको ओंठलाई यो देश चुसाएर
आफ्नो ओंठले स्वादिला आइस्क्रिम चुसिरहेका नराधमहरूलाई
हामीहरूले अब आगो नै चुसाइदिए कसो होला ?
राष्ट्र रोइरहेको धुन सनई बजाएर प्रस्तुत गर्दा
सुन्दै नसुन्ने कानका हुलहरूको अखडामा
बारुद पड्काउँदै जनयुद्धकै भयानक गीत गाइदिए कसो होला । (पूर्ण विराम)

 मेरो रगत देशकै लागि बगोस् आमा
म जहाँ मरूँ देशकै लागि मरूँ
मुक्तियुद्धको हवनकुण्डमा
मेरो जीवन पवित्र समिधा बनोस्
मेरो प्राण प्रज्ज्वलित अग्नि बनोस्
, म जैले मरूँ देशकै निक्ति मरूँ । (इच्छुक)

 

यतिबेला नेपाली साहित्यिक मनहरू एमसीसीका विरुद्ध उद्वेलित छन् । स्पेनिस कवि फेदरियो गार्सिया लोर्काले भनेझैँ सिङ्गो संसार डगमगाइदिने यो समयमा कलाकर्मीहरूले सबैसँग हाँस्न र रुन आवश्यक छ । यतिबेला राष्ट्रियताको पक्षमा स्रष्टाहरू जुर्मुराइरहेका छन् । यो जुर्मुराहटले नेपाली क्रान्तिकारी तथा देशभक्त लेखक–साहित्यकारहरू राष्ट्र र राष्ट्रियताका प्रश्नमा कति गम्भीर र संवेदनशील छन् भन्ने कुरा झल्काइरहेको छ । राष्ट्रघाती एमसीसीका विरुद्ध नेपालका देशभक्त तथा क्रान्तिकारी लेखक साहित्यकारहरूले ‘प्रगतिशील सांस्कृतिककर्मीहरूको वैकल्पिक मोर्चा निर्माण अभियान’ को ब्यानरमा सडकमा सशरीर उत्रिँदै छन् । यो अभियानले एमसीसीबारे आफ्नो धारणा स्पष्ट पार्दै एक अपिल पनि जारी गरेको छ । यसले ‘राष्ट्रिय हितविरुद्धको एमसीसी खारेजीका लागि दबाब सिर्जना गरौँ ! असार १४ गते सांस्कृतिककर्मीहरूको अभियानमा सहभागी बनौँ !’ भन्दै देशभरका लेखक तथा साहित्यकारहरूलाई एमसीसीका विरुद्ध उत्रन यसरी विशेष आह्वान पनि गरेको छ ।

‘साम्राज्यवाद अनेक रूप र रङमा विश्वका विकासोन्मुख राष्ट्र र जनता तथा त्यहाँका प्राकृतिक सम्पदाको दोहन गर्न र आफ्नो सामरिक तथा सांस्कृतिक वर्चस्व कायम गर्न उद्यत छ । अमेरिकी साम्राज्यवादले संसारभरि आज यस्तै गरिरहेको छ । मुखले स्वतन्त्रता र मानवअधिकारको कुरा गरे पनि एक वा अर्को नाउँमा संसारको स्रोत कब्जा गर्नु, दलाल पुँजीका माध्यमबाट संसारभर तीव्र आर्थिक शोषण गर्नु तथा आफ्नो सामरिक वर्चस्व कायम गर्न युद्ध थोपर्नु उसको उदाङ्गो चरित्र हो । २०७४ देखि विकासे आवरणमा नेपालमा छिरेको एमसीसी परियोजना त्यस्तै क्रियाकलापमध्येको एउटा गम्भीर परियोजना हो । यसका थुप्रै सर्तहरू र प्रावधानहरू यसरी निर्माण गरिएका छन् जसले कालान्तरमा नेपालको सार्वभौमिकतामाथि नै आघात पुर्याउने र विकासका नाममा नेपालको प्राकृतिक स्रोतसाधनमाथि दलाल पुँजीवादले कब्जा जमाउने तथा नेपाललाई अमेरिका र भारतको सामरिक वर्चस्वमुनि बन्धक बनाउने कानुनी हैसियत प्राप्त गर्नेछ । भविष्यको त्यो दुर्दिन नेपाल र नेपालीको राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि निकै त्रासदीपूर्ण हुनेछ र हामीसँग पश्चाताप गर्नुको विकल्प रहँदैन । त्यसैले हाम्रो राष्ट्रिय हितविरुद्धको घातक एमसीसी परियोजनाका विपक्षमा देशभक्त, प्रगतिशील तथा साम्राज्यवादविरोधी शक्तिहरू एकजुट हुनु र यसको खारेजीका लागि सिर्जनकार्यका साथै सडकमै आएर दबाब सिर्जना गर्नु नितान्त आवश्यक र अपरिहार्य भएको छ । समयको यसै आवश्यकतालाई आत्मसात् गरेर ‘प्रगतिशील सांस्कृतिककर्मीहरूको वैकल्पिक मोर्चा निर्माण अभियान’ ले आगामी असार १४ गते आइतबार दिनको १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनसँगै दबाबसिर्जनाको कार्यक्रमको आयोजना गरेको छ । उक्त दिनको निर्धारित कार्यक्रममा सहभागी भई एमसीसी परियोजना खारेजीका लागि आवाज बुलन्द गर्न यो अभियान सम्पूर्ण प्रगतिशील तथा देशभक्त सांस्कृतिक कर्मीहरूलाई हार्दिक आह्वान गर्दछ । साथै, देशभरि छरिएर रहनुभएका यस अभियानसँग सम्बद्ध सांस्कृतिककर्मीहरूले आ-आफ्ना स्थानमा यस्तै कार्यक्रमको आयोजना गरी एमसीसी खारेजी तथा साम्राज्यवादविरोधी आन्दोलनलाई सशक्त बनाउन पनि हार्दिक अपिल गर्दछौँ ।’

नेपालका क्रान्तिकारी लेखक तथा साहित्यकारहरूको यो पहलको ऐतिहासिक महत्व रहेको छ । यस्तो ऐतिहासिक क्षणमा को कहाँ उभियो भन्ने कुराले जो कोहीको पनि जीवनमा ठूलो अर्थ राख्दछ । कोरोना महामारीको सन्त्रास र लकडाउनको कठोर समय भए पनि सम्भव भएजतिका सबै उपाय लगाएर भए पनि यो अभियानमा सहभागी हुनु सच्चा देशभक्त स्रष्टाको कर्तव्य हो । यसर्थ आउनुहोस्, राष्ट्रिय हितविरुद्धको एमसीसी खारेजीका लागि दबाब सिर्जना गरौँ ! असार १४ गते संस्कृतिकर्मीहरूको अभियानमा सहभागी बनौँ ! अमेरिकी सैन्य रणनीति ‘एमसीसी’ विरुद्धको सङ्घर्षको मोर्चालाई अझै कसिलो बनाऔँ । यी नारालाई समवेत स्वरमा बुलन्द गरौँ :

अम्रिकी मन नै मैलो हो, एमसीसी बिखको थैलो हो
नेपाललाई ध्वस्त बनाउने, कुटिल भाँडभैलो हो !
देशभक्त अघि बढ्ने हो, बैरीको शिरमा चढ्ने हो
हाम्रो स्वाधीनता बचाउन, अन्तिम लडाइँ लड्ने हो !!

यो पनि

तपाईको प्रतिक्रिया