राष्ट्रिय जनगणना २०७८ मा भाषाभाषिकासम्बन्धी चुनौती र समाधानका उपायहरू

काठमाडाैं


Half the languages of the world are likely to die out during this century-David Crytal

१. पृष्ठभूमि

नेपालमा जनणनाको औपचारिक थालनी सन् १९११ बाट भएको हो । त्यसपछि प्रत्येक दश वर्षको अन्तरमा जनगणना हुँदै सन् २०११ को एघारौँ जनगणना हो । नेपालमा अहिले बाह्रौँ जनणनाको पूर्व गणना कार्यको थालनी भएको छ । यसका लागि केन्द्रीय तथ्याङ्क विभागबाट पूर्वतयारी भइरहँदा अघिल्लो जनगणना (वि.सं.२०६८) को पुनरावलोकन गरेर अगाडि बढ्न सकेमा जनगणनालाई विश्वसनीय, यथार्थपरक र व्यवहारिक बनाउन सकिन्छ ।

जनगणना (वि.सं.२०६८) काअनुसार नेपालमा १२५ जाति र १२३ भाषाहरू पहिचान गरिएका छन् । तथापि नेपालको जनणनाको इतिहासलाई हेर्ने हो भने नेपालको शासकीय व्यवस्थाको परिवर्तनको प्रभाव जनगणनामा परेको देख्न सकिन्छ । एकतन्त्रात्मक शासकीय व्यवस्था कायम हुँदा जाति र भाषाको सङ्ख्या घटेको छ भने खुला प्रजातान्त्रिक व्यवस्था कायम हुँदा जाति र जनसङ्ख्या बढेको देखिन्छ । यसको दृष्टान्त देहायको जनगणनागत भाषिक तथ्यांकलाई लिन सकिन्छ :


उल्लेखित तालिकाको आधारमा भाषाहरुको संख्यामा अत्याधिक वृद्धिको कारकतत्वमा लोकतान्त्रिक जागरणका साथै भाषा, जातीय र सांस्कृतिक पहिचान प्रमुख आधार हुन् (यादव, वि.सं.२०७४, पृ.३३२) । यसरी अनुदार एकात्मक शासकीय व्यवस्था र लोककल्याणकारी प्रजातान्त्रिक व्यवस्थामा गरिएको जनगणनामा जाति भाषाको सङ्ख्या घटबढ हुने गरेको तथ्य पुष्टि हुन्छ ।

२. भाषा/भाषिका परिचय तथा प्रकार

भाषा र भाषिकाको परिभाषाका साथै यिनीहरूबीचको भिन्नतालाई देहायअनुसार अलगअलग शीर्षकमा चर्चा गरिएको छ :

२.१ भाषा र जाति अन्तरसम्बन्ध

गुरुङले भाषा भाषिकासम्बन्धी लेख (हर्क गुरुङ विषय विविध, पृष्ठ ११९) मा जात भन्नाले वर्णाश्रम समूहअन्तर्गतका शासक समूह र स्त्री लिङ्गी जनाउने जाति शब्दले समतामूलक आदिवासी समूह अर्थमा लिने गरेको उल्लेख गरेका छन् । उनकाअनुसार जात भन्नाले ठूला साना समूहमा वर्गीकृत समूहलाई जनाउँछ भने जाति (Ethnicity) ले क्षेत्रगत रूपमा फरकफरक समूहलाई जनाउने देखिन्छ । साथै उनले मातृभाषालाई नै जात र जाति चिनाउने गहकिलो आधार भनेका छन् । उनले विभिन्न जातिको एउटै भाषा हुन सक्ने जस्तो ब्राह्मण, क्षेत्री, दलितको नेपाली मातृभाषा तर जाति समूहको भने प्रत्येक जातिको आफ्नै मातृभाषा हुन सक्ने हुँदा उनीहरूको पहिचानको मूल आधार नै उनीहरुले बोल्ने मातृभाषा हुन् भनेको पाइन्छ ।

यादव (सन् २००३, २०१३) काअनुसार नेपालको भाषिक स्थिति भनेको जाति र भाषाबीचको पारस्परिक अन्तरक्रियाबाट सिर्जित जातिभाषिक द्विपक्षीय संरचना हो । उनले एकअर्कामा सञ्चारका दृष्टिले नेपालको जाति, भाषिक तथा धार्मिक संरचना निम्नानुसार रहेको देखाइएको छ :

क) एक जाति व जाति समूह : एक भाषा बोलिने राजवंशी जातिले राजवंशी भाषा बोल्ने ।
ख) एक जाति वा जाति समूह : धेरै भाषाहरू यादव जातिले मैथिली, भोजपुरी, अवधि आदि भाषा बोल्ने ।
ग) धेरै जाति वा जाति समूह : एक भाषा बोल्ने जस्तो : ब्राह्मण, क्षेत्री, कामी, ठकुरी, सार्की, सन्यासी आदिले नेपाली भाषा बोल्ने ।

२.२ भाषा

नेपाल बृहत् शब्दकोश (नेपाल प्रज्ञा प्रतिष्ठान, वि.संं.२०४०,पृ.९५३) काअनुसार मनका भाव या विचार अरुछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह, आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनि समूह भाषा वाणी वा बोलीलाई भाषा भनिएको पाइन्छ । त्यसैगरी कम्प्रेहेन्सिप डिक्सनरी इङ्लिस इङ्लिस नेपाली (श्रेष्ठ, पृष्ठ ६५६) काअनुसार Language  means of conveying speech of communicating ideas especially speech, human speech, written characters, signs or speech. यसको नेपाली अर्थ भाषा वा कुरा, वाङमय, बोली, अभिव्यक्ति शैली कम्प्युटर लेखनका नियम वा संकेतसम्बन्धी प्रणाली वा सञ्चार वा अभिव्यक्तिको विधि ।

२.३ भाषिका र भाषिकाको प्रकार

A dialect is a way of talking that belongs to a particular part of a  country. It uses local words and Phrases, and often these are well known in other parts of a country (Crytal, Accents and dialects, 2010, page 71) .

नेपाल बृहत् शब्दकोश (नेपाल प्रज्ञा प्रतिष्ठान, वि.संं.२०४०, पृ.९५३) ले कुनै एक भाषिक समुदायभित्र ध्वनि, उच्चारण र संरचनागत क्षेत्रीय विभेदका आधारमा देखिने भेदउपभेद, कुनै पनि भाषाको क्षेत्रीय भेद । त्यसैगरी कम्प्रेहेन्सिप डिक्सनरी इङ्लिस इङ्लिस नेपाली (श्रेष्ठ, पृष्ठ ३२३) काअनुसार अंग्रेजी शब्दको Dialect : A form of language used in part of country or by a class of people नेपाली अर्थमा स्थानीय वा क्षेत्रीय भेद उल्लेख गरिएको पाइन्छ । तिम्सिना (वि.संं.२०६४) काअनुसार भाषिकका प्रकार निम्नअनुसार छन् :

क) ऐतिहासिक भाषिका : एउटै ठाउँमा बोलिने भाषा भए पनि समय र वक्ताको प्रभावले देखिने भेद । जस्तो वैदिक र लौकिक संस्कृत भाषा ।
ख) व्यक्ति भाषिका : एक व्यक्तिले बोल्ने भाषा वा व्यक्तिबोली नै व्यक्ति भाषिका, भाषाको लघुतम एकाइ नै व्यक्ति बोली हो । जस्तोः ए राता मकै, मुखा हानु जस्तो थेगाहरू ।
ग) प्रयोजनपरक भाषिका : कामविशेष खास प्रयोजनका लागि प्रयोग गरिने भाषिका जस्तोः शिक्षा, कानुन, कृषि, विज्ञानका क्षेत्रमा प्रयोग हुने ।
घ) स्तरीय भाषिका : भाषाको लेख्य रूपसँग सम्बद्ध भाषिका वा भाषिका नभनेर भाषा भन्ने चलन रहेको ।
ड) भौगोलिक भाषिकाः एउटा भाषाका विभिन्न क्षेत्रमा बोलिने भाषिक भेद नै भौगोलिक भाषिका हो । जस्तोः जुम्ली, हुम्ली, जाजरकोटे आदि ।

३. भाषा र भाषिकाबीचको भिन्नताका आधारहरू

भाषाबाट भाषिका र भाषिकाबाट भाषा बन्ने क्रम निरन्तर चलिरहन्छ । भाषा र भाषिका छुट्याउने मुख्य आधार देहायअनुसार छन् (तिम्सिना, वि.सं.२०६४ पृ.२)

क) समय, स्थान र प्रयोगकर्ता
ख) संस्कृति र राष्ट्रिय सन्दर्भ
ग) राजनीतिक सीमा र निर्णय : मैथिली नेपालमा राष्ट्रिय भाषा तर भारतमा हिन्दीको भाषिका । कुमाउनी भारतको छुट्टै भाषा हो भने डोटेली नेपालको भाषिका ।
घ) भौगोलिक दुरी, समयको अन्तराल, यातायात, बसाइसराइँ
ड) बोधगम्यता : कुनै क्षेत्रका भाषिकाबीच बोधगम्यता रहँदासम्म भाषिक रहन्छ तर बोधगम्यता टुटेपछि भाषा बन्छ ।

४. भाषा/भाषिकासम्बन्धी विद्यमान अवस्था

नेपालको बोलिने भाषाहरुको अवस्थालाई देहायअनुसार अलगअलग शीर्षकमा प्रस्तुत गरिएको छ :

४.१ नेपालमा बोलिने विभिन्न भाषापरिवारअन्तर्गतका भाषाहरू

४.२ जनगणना २०६८ काअनुसार भाषाको सङ्ख्या र अवस्था

भाषिक वक्ताको आधारमा नेपालका भाषाहरूको वर्गीकरण गरिएको छ :

५. नेपालको अघिल्लो जनगणना (वि.सं.२०६८) प्रक्रियाः

हाम्रो सन्दर्भमा विगतको जनगणनामा भाषाको सन्दर्भमा दुईवटा प्रश्न समाविष्ट थिए भने आगामी जनगणना २०७८ को लागि एक प्रश्न थप गरी तीनवटा कायम गरिएको छ :

(क) पुर्ख्याैली भाषा  कुन हो ?
ख) मातृभाषा कुन हो ?
(ग) दोस्रो भाषा कुन हो ?

५. जनगणनासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास

अन्तर्राष्ट्रियस्तरमा जनगणनाअन्तर्गत भाषिक गणनाको प्रश्नावली निर्माण र प्रयोगको नमुना देहायअनुसार प्रस्तुत गरिएको छ :

दुवीनन्द ढकालकाअनुसार जनणनामा भाषाका प्रश्न (कान्तिपुर दैनिक, २०७६ साउन ३१ गते) मा विश्वका केही राष्ट्रमा विगतमा प्रयोग गरिएका प्रश्नहरू निम्नअनुसार छन् :

(क) वक्ताले नियमित कुन भाषा प्रयोग गर्छ ? (अस्ट्रेलियाको जनगणना, १९७६) ।
(ख) वक्ताले घरमा अङ्ग्रेजीबाहेकको भाषा प्रयोग गर्छ कि गर्दैन ? गर्ने भए कुन भाषा प्रयोग गर्छ ? (अस्ट्रेलियाको जनगणना १९७६, अमेरिका १९६० पछिका जनगणनामा प्रयोग भएको प्रश्न) ।
(ग) वक्ताले घरमा नियमित कुन भाषा प्रयोग गर्छ ? (क्यानडाको, जनगणना १९९६) ।
(घ) वक्ताले घरमा यो (अङ्ग्रेजी) बाहेक अर्को भाषा नियमित रूपमा प्रयोग गर्छ कि गर्दैन ? (अस्ट्रेलियाको जनगणना, २००१)
(ङ) तपाईंको मूल भाषा कुन हो ? (इंग्ल्यान्ड र वेल्स २०११) 

कतिपय देशको जनगणनामा कुनै भाषिक समूह ‘आदिवासी’ हो वा होइन भन्ने प्रश्नमै समावेश गरिन्छ । क्यानडाको सर्वेक्षणमा चाहिँ घरबाहिर कुन भाषा प्रयोग गरिन्छ भन्ने प्रश्नसमेत समावेश छ । केही सर्वेक्षणमा चाहिँ आफ्नो पुर्ख्याैली भाषाको दक्षता मापनसमेत समावेश हुन्छ ।(न्युजिल्यान्ड २०१३) ।

५. भाषा/भाषिकासम्बन्धी चुनौतीहरू

भाषा र भाषिकासम्बन्धी चुनौतीहरूलाई देहायअनुसार प्रस्तुत गरिएको छ :

५.१ भाषागत समस्या र चुनौतीहरू

५.१.१ जनगणनामा पहिचान हुन नसकेका भाषाहरू (Non identified language in Census) : केवरत, खवास भाषा, प्रदेश नं. १ को गोष्ठीमा प्रस्तुत गरेको ।

१.राना थारू २. नार फु ३. शुम ४. पोइके ५. सेराके (सेके) ६. नुब्रि

मातृभाषा र पुर्ख्याैली भाषाबीचको अन्योल कसरी न्यून गर्ने ? भाषा र जातिबीचको अस्पष्टता कसरी प्रष्ट पार्ने ? जनगणनाको अवधिमा क्षेत्रीय वा जातीय सङ्घसंस्थबाट प्रभावित भएमा कसरी थप जानकारी लिने ? मनाङमा बोलिने नार-फू, गोरखाको नुब्री-चुममा बोलिने नुब्री र चुम भाषा छुटेका छन् । यी त प्रतिनिधि उदाहरण भाषा मात्र हुन् । अर्काेतिर सीमावारपार बोलिने र तुलनात्मक किसिमले कम वक्ता भएका मिजो, कुकीजस्ता भाषाचाहिँ जनगणनामा समाविष्ट छन् । विदेशमा मूल रूपमा बोलिने रुसी, अरबी, स्पेनिसजस्ता भाषासमेत मातृभाषाका रूपमा सजिलै प्रवेश पाएका छन् (ढकाल, जनणनामा भाषाका प्रश्न, कान्तिपुर दैनिक, २०७६ साउन ३१ गते)

५.१.२ जाति र भाषिक वक्ताको सङ्ख्याबीचको अन्तर

विभिन्न अध्ययनमा मृतप्रायः भनिएको दुरा भाषाका वक्ताको सङ्ख्या कसरी २१५६ सूचीकृत हुन पुग्यो ? कुसुन्डा भाषाका २ जना मात्र वक्ता भएको स्थितिमा यस भाषाका वक्ता कसरी २८ हुन पुग्यो ? अत्यन्तै कम भाषा भएको बराम भाषाका वक्ता कसरी १५५ हुन पुग्यो ? यसकारण मातृभाषाको सूचीकरणमा विगतको जनगणनामा यथार्थ सूचना आउन नसक्नुको कारणको विश्लेषण गरी यसका उपाय खोजी गर्नुपर्छ ।

५.१.३ मातृभाषी र दोस्रो भाषीको यकिन तथ्याङ्क नआउनु

यी प्रश्नबाट वक्ताले बोल्ने कम्तीमा दुईवटा भाषा प्रयोगको प्रारम्भिक सूचना अपेक्षित छ । यी प्रश्नले वक्तालाई दुईभन्दा बढी भाषाका दक्षताबारे उत्तर दिन सक्ने अवसरचाहिँ दिँदैन । गत जनगणनामा प्रयोग भएका प्रश्न, प्राप्त तथ्यांक र त्यसको प्रशोधनबाट प्राप्त परिणामलाई निम्नानुसार बुझ्न सकिन्छ । उल्लेखित दुई प्रश्नमध्ये मातृभाषा पहिचानबारे लिइएको तथ्यांकमा ‘मातृभाषा’ के हो ? भन्ने प्रश्नले अपेक्षा गरेको उत्तरमा प्रष्टता नभएको देखिन्छ

५.१.४ भाषिक अपसरणको वास्तविक स्थिति पहिचान नगरिनु

लिङ्गगत र उमेरगत रूपमा भाषिक वक्ताको पहिलो भाषा र दोस्रो भाषाको तथ्याङ्क ननिकालिनु ।

५.१.५ द्विविधिा वा अस्पष्टताका पक्षहरू

५.१.६ अन्तर्राष्ट्रिय भाषाहरू

चिनियाँ, अङ्ग्रेजी, स्पेनिस, रुसी, अरबी, फ्रेन्चजस्ता भाषाहरू अन्तर्राष्ट्रिय भाषा हुन् (यादव, वि.सं.२०७४,पृ.३३५)

५.१.७ सीमा वरपरका भाषा

यादव (वि.सं.२०७४,पृ.३३६) काअनुसार नेपाल र भारतको सीमामा बोलिने कतिपय साझा भाषाहरू निम्नअनुसार छन् :

क) नेपाल र भारतमा बोलिने भाषाहरु देहायअनुसार छन्  : अंगिका, अवधि, बज्जिका, बंगाली, भोजपुरी, ब्यासी, हिन्दी, लाप्चा, लिम्बू, मगर, मैथिली, नेपाली, राजवंशी, राई किराँती भाषाहरू, तामाङ र उर्दू ।
ख) जनगणनामा समेटिएका भाषाहरु : मिजो, नागामेसे, जोङ्खा, आसामी, सिन्धी, ओरिया, पन्जाबी, हरियानी र राजस्थानी ।

५.१.९ साङ्केतिक भाषा

अतिरिक्त भाषासम्बन्धी सूचना सङ्कलन गर्दा यथाशक्य अन्योल पनि हटाउनुपर्ने देखिन्छ । हाम्रो सन्दर्भमा मातृभाषा केलाई भन्ने ? श्रवणशक्ति नभएका र बोल्न असक्षम व्यक्तिको मातृभाषा केलाई मान्ने (ढकाल, जनणनामा भाषाका प्रश्न, कान्तिपुर दैनिक, २०७६ साउन ३१ गते)

५.१.१० नखुलेका भाषाहरू

जनणनामा नखुलेका भाषिक वक्ताको संख्या २१,१८१ रहेको पाइन्छ ।

५.२ जनगणनागत प्राविधिक समस्या र चुनौतीहरू

आगामी जनगणनाको मुख्य चुनौतीहरू देहायअनुसार प्रस्तुत छन्ः

क) जनगणनाको प्रश्नावली (तीन कायम)
ख) जनगणना प्रक्रिया : परिवारगत गणना
ग) गणक र सूचनादाताः प्रशिक्षण वा सचेतना, जिम्मेवारीवहन र इमानदारिताको अभाव देखिएको)
घ) तथ्याङ्कको विश्लेषणको आधार (जाति र भाषिक प्रश्न अन्तरसम्बन्धित गरी विश्लेषण नभएको)
ङ) अनुगमन तथा सम्परीक्षण (सङ्कलित तथ्यको सम्परीक्षण संयन्त्र र नियमन भए व्यवस्था प्रभावकारी कार्यान्वयन नगरिएको) ।

६. भाषा/भाषिकासम्बन्धी समस्या समाधानका उपायहरु

भाषिक विवादको मुख्य कारणमा राजनीतिक पूर्वाग्रह र विद्वता दुई पक्ष हावी भएको पाइन्छ । नेपालको पूर्वीय भाषिक सर्वेक्षणमा अनेक भाषिकलाई भाषामा वर्गीकरण गरेको उदाहरण रहेका छन् । यस प्रकारको भाषिक अतिवादले भाषिक समस्या समाधान नहुने हुँदा राजनैतिक अतिवाद र विद्वत् अतिवाद नभएको भाषिक वर्गीकरण नै आउँदो जनगणनको आवश्यकता हो (हर्क गुरुङ विषय विविध, भाषा/भाषिका सम्बन्धमा, पृ.१२५) । नेपालको सन्दर्भमा आगामी जनगणनामा विषयगत र क्षेत्रगत पक्षलाई सम्बोधन गर्नका लागि देहायको उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ :

समाधानका उपाय १ः जनगणनामा प्रश्नावली थप गर्नुपर्नेः

अ) तपाईको पुर्ख्याैली भाषा कुन हो ? थप गरिएको । 
आ) तपाईको मातृभाषा कुन हो ?
आ) तपाईको दोस्रो भाषा कुन हो ?

समाधानका उपाय २ः

क) पुर्ख्याैली भाषालाई जाति भाषाको रुपमा परिभाषित गरिनुपर्ने ।
ख) मातृभाषाको परिभाषा गर्नुपर्नेः जस्तो पहिलो पटक सिकेको भाषा वा आमाबाट सिकेको भाषा ?
ख) दोस्रो र तेस्रो भाषा पनि गणना गरिनुपर्ने जस्तो भारतमा तेस्रो भाषा पनि गणना गरिएको ।

समाधानका उपाय ३ः सचेतना, प्रशिक्षण र प्रभावकारी अनुगमन

क) जनता, गणकलाई सही सूचना लिन र दिनको लागि सचेतना र प्रशिक्षण गर्ने, गणकका लागि विगतमा अघिल्लो जनगणनामा परेको, छुटेका र पछि पत्ता लगाइएका भाषाको सूची उपलब्ध गराउने, माथि उल्लेखित द्विविधाको क्षेत्रका लागि भाषाविज्ञबाट प्रशिक्षण गराउनुपर्ने,
ख) जनणना निर्देशिकामा अनुगमन संयन्त्र भएकाले संकलनको अनुगमन गरी सही तथ्यांक संकलन गराउन सम्बद्ध निकायलाई जिम्मेवार बनाउने वा जनप्रतिनिधिमार्फत् पनि अनुगमन गराउने,
ग) तथ्याङ्कको व्याख्या तथा विश्लेषण गर्दा विषयगत रुपमा उमेर र लिङ्गीय समूहको वर्गीकृत तथ्याङ्क निकाल्नुपर्ने, जस्तोः पहिलो पुस्ता (बाजे), दोस्रो पुस्ता (आमाबाबु) र तेस्रो पुस्ता (नाति पुस्तामा) भाषिक वंशान्तरण) लाई समेट्नुपर्ने, व्याख्यामा भाषिक अपसरण पनि निकालिनुपर्ने,
घ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषाको अलगअलग सूची तयार गर्नुपर्ने, त्यसो गर्दा सबै भाषा राष्ट्रिय भाषा भनी गोलमटोल घोषणामा पर्न जाने । साथै भाषाको उद्गम स्रोत स्वदेशी र विदेशी स्रोत खुलाउनुपर्ने,
ङ) सांकेतिक भाषाको सन्दर्भमा थप परिभाषा गर्नुपर्ने जस्तो एकै प्रकारको हुने वा नहुने
च) भाषासम्बन्धी प्रश्नावलीमा भाषिकाको प्रश्न नभएकाले भाषिकालाई तथ्याङ्कको विश्लेषण गर्दा भन्न सकिने अवस्था छैन । तसर्थ प्रश्न राख्ने वा नराख्ने ? निर्क्याैल गर्नु पर्दछ ।
छ) नखुलेको भाषालाई पहिचानका लागि विशेष व्यवस्था गर्नेः गणकले रिक्त राख्न नहुने वा सही तथ्य पत्ता लगाई भर्नुपर्ने व्यवस्था गर्ने ।
ज) सूचनादाता र गणकमा भाषा, जाति, थर, जिल्लाका बारे प्रस्ट हुनुपर्ने, जस्तो राई भाषा नभए पनि अधिकांशले राई भाषा भन्न सक्ने । यसमा कसरी राई समूहको भाषा लिने । तराईमा मैथिली र मगही कसरी छुट्याउने, सूचनादातालाई सचेतना र गणकलाई प्रशिक्षकमार्फत् स्पष्ट पार्ने ।

७. निष्कर्ष

टोनी हेगन (वि.सं.२०१२,पृ.७८) काअनुसार स्वीजरल्यान्डमा सरकारी कामकाजका लागि चारवटा भाषाहरू समानान्तर रूपमा प्रयोग गरेर समान मान्यता दिँदै सांस्कृतिक बहुलतालाई अङ्गीकार गरी अल्पसङ्ख्यकको लागि सही सम्बोधन गरिँदै आएको पाइन्छ । जसमा रोमन कुल जनसंख्याको १ प्रतिशत भन्दा कमले बोल्छन्, इटालियन कुल जनसङ्ख्याको ७ प्रतिशले मात्र बोल्छन्, फ्रेन्च भाषा २० प्रतिशतले बोल्छन् । जर्मनी भाषा ६४ प्रतिशतले बोल्छन् जसलाई सरकारमा सात सिटमध्ये चार सिट प्रदान गरिएको छ ।

नेपालको परिवर्तित सन्दर्भमा सबै जातजाति र भाषाभाषीले जातीय, भाषिक, सांस्कृतिक पहिचान, प्रतिनिधित्वसहितको समावेशिताको आशा र अपेक्षा गरेको हुँदा सोका लागि नीति, योजना र कार्यक्रम तय गर्नका लागि जनसांख्यिक तथ्याङ्कको जरुरत पर्दछ । तसर्थ आगामी जनगणनामा विगतबाट पाठ सिकी वास्तविक तथ्य संकलन गरिनु अपरिहार्य छ ।

(केन्द्रीय तथ्याङक विभागमा भाषाभाषिकासम्बन्धी अवस्था, चुनौती र समाधान विषयक कार्यपत्रका रूपमा प्रस्तुत गोष्ठीपत्रको संपादित अंश)

(लेखक बहुभाषिक शिक्षामा विद्यावारिधि र अध्येता हुन् )

यो पनि

तपाईको प्रतिक्रिया