मारम्हेन्दो

प्रथा कवि
काठमाडाैं

तिमी त,
मेरी ऐँसेलु बुट्यान हौ !

काँडै नभए त फेरि
सुन्दरताको निख्खारै कहाँ रहन्छ र
छपक्कै मन नढाके त फेरि
फैलावटको लहरी नै कहाँ तन्किन्छ र ?
साँच्चै मारम्हेन्दो !
तिमी त्यही वनकी चरी हौ
जसको भागमा उड्ने कुनै वनै छैन
तिमी त्यही श्रमकी आयम हौ
जसको सिर्जनामा पसिनाको कुनै मोलै छैन !

तिमी भीरमा नफुले त
म जिन्दगीलाई कसरी बुझ्न सक्छु र
काँडाबीच नहाँसे त फेरि
म उदास पहाड कसरी जिउन सक्छु र ?
ओ मेरी न्हाङसाल !
तिमी सुगन्धले नफैलिए
म तन्नेरी हाँक कहाँ जुर्मुराउन सकुँला र
तिमी वैंसालु आकाश नखुले
म जुनकिरी देश कहाँ मुस्कुराउन सक्छु र ?

तिमी त,
मेरी गुराँसे भरोसा हौ !

रङै नभए त फेरि
अनुहारको पहिचान नै कहाँ रह्यो र
चुल्ठी धपक्कै नखुले त फेरि
स्वाभिमानको ओज नै कहाँ बच्यो र ?
तिमी त्यही सालमन हौ
जसको समुद्रमा कुनै एक बुंद छैन
तिमी त्यही किन्नरी हौ
जसको पाइला टेक्ने कुनै भूगोल छैन !

तिमी दियालो नसल्के त
म विचारको दोरम्बा कहाँ उठ्न सक्छु र
अनुरागले नपग्लिए त फेरि
म समर्पणको माला कहाँ गाँस्न पाउँछु र ?
ओ मेरी सिन्धुली !
तिमी शार्दूल छन्द नबने
म कवि कुन कविता लेख्न सकुँला र
तिमी कुमारी वयले नछछल्किए
म किशोर हिमाल कुन प्रेमले पग्लि झरुँला र ?

तिमी त,
मेरी आस्थाकी रोशी हौ !

संभ्रन्त चट्टान नगाले त
सङ्घर्षचेतको मानकै कहाँ उठ्छ र
बग्दै नबगे त फेरि
जीवन्तताको बिम्ब नै कहाँ रहन्छ र ?
तिमी त त्यही घडी हौ
जसको फ्रेमभित्र कुनै समय नै छैन
तिमी त्यही शैपाल हौ
जसको शिरमा आफ्नो कुनै उचाई नै छैन !

तिमी डम्फुको धुन नबजे
म च्याङ्बा कुन सेलोमा नाच्न सक्छु र
तिमी खहरे बनी नउर्लिए त
म आदर्शको कुन सरोवर जम्न पाउँछु र ?
ओ मेरी फाल्गुणी !
लाँकुरी छायाँ नफैलिए तिमी
म बटुवा कुन शयँल सुस्ताउन सकुँला र
उर्वर बगर नसुते तिमी
म देश कुन संपन्नताको टाकुरी चढुँला र ?

तिमी त,
मेरी बलेफी जून हौ !

शालिनता नै नभए फेरि
मादकताको रसास्वादन नै कहाँ रह्यो र
जोवनको घुम्टो नओढे त
नोर्बुका लघु दृष्यको अर्थ नै कहाँ बच्यो र ?
तिमी त्यही जलेकी दीप हौ
जसको मुहारमा किरणको कुनै रङ नै छैन
तिमी त त्यही जुहारत हौ
जसको खातामा मूल्यको कुनै अङ्कगणित छैन !

आफैँले तारा हुँ भने
म धर्तीको विशालता कहाँ नाप्न सक्छु र
बादल उघारी नहेरे त फेरि
म रातको कृष्णसागर कहाँ लठ्ठिन सक्छु र ?
साँच्चै मारम्हेन्दो !
सोह्रै श्रृङगार नवान्किए तिमी
म अनुरागी भवँरा कसरी भन्कुँला र
शारदे कोपिला नटुसाए तिमी
म सुनाखरी देश फेरि कसरी फक्रुँला र ?

तपाईको प्रतिक्रिया