साउदीमा आज पनि २६ सय संक्रमित उपचारपछि घर फर्के

कोरोना निको हुनेको कुल संख्या एक लाख २४ हजार ७५५

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा आइतबार २ हजार ६२७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । उक्त संख्यामा निको भएको यहाँ दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिएको हो ।

प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म एक लाख २४ हजार ७५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यसैगरी आज साउदीमा ३ हजार ९८९ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार साउदीभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको संख्या एक लाख ८२ हजार ४९३ पुगेका छन् । साउदीका विभिन्न अस्पतालहरुमा ५६ हजार १८७ जना कोरोना बिरामीको बिशेष उपचार भइरहेको डा. अब्दुलीले जानकारी दिए ।

आइतबारको अपडेटअनुसार कोरोना उपचारपछि निको हुनेको संख्याभन्दा नयाँ संक्रमित १ हजार ३६२ बढी छन् ।


यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ४० जनाले आज ज्यान गुमाएका छन् । साउदीभर कुल मृत्यु हुनेको संख्या १ हजार ५५१ जना पुगेको डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार विभिन्न अस्पतालमा कोरोनाको उपचार गरिरहेकामध्ये २ हजार २७७ जना गम्भीर अवस्था रहेका छन् ।

हालसम्म साउदीको राजधानी रियादमा सबैभन्दा धेरै कोरोना संक्रमित ११ हजार २८४ पुगेका छन् । त्यस्तै यहाँको ठुला शहरहरु मक्कामा ५ हजार ३८५, दमाम ५ हजार ३००, जेद्दा ३ हजार ९३०, अल कातिफ ३ हजार ५०, खोबार २ हजार ५८०, हफुफ ३ हजार १०, तैफ २ हजार १५९, मदिना १ हजार ८५७, खमिस मुसायत १ हजार ६७५, अल मुबराज १ हजार ३३३, दहराइन १ हजार १३७ र आभामा १ हजार ८६ जना रहेका छन् । अन्य शहरहरुमा भने कोरोना संक्रमित हजारभन्दा तल रहेको जनाइएको छ ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी साउदी सरकारले कोरोना भाइरस कारणले बहिर्गमन भीसा ( देश छोड्न अनुमति) पुनः प्रवेश भिसा (Re-entry Visa) भिजिट र पर्यटक भिसा लिएकाहरुले स्वदेश फर्न चाहेमा शुल्क नलाग्ने साउदी सरकारले बताइएको छ । साउदी सरकारका अनुसार भिसाको म्याद समाप्त भएकाहरुले समेत शुल्क वा जरिवाना नतिरी जान सक्नेछन् ।

थप यो पनि

साउदीमा कोरोना निको हुनेको संख्या ६४ हजार, सार्वजनिक यातायात सुचारु

साउदीमा एक लाख १३ हजार संक्रमित निको, छुट्टी गएकालाई कोरोना सकेपछि फर्काउने

साउदीमा ७० प्रतिशतले जिते कोरोना, स्वदेश फर्कन चाहेमा शुल्क नलाग्ने

साउदीमा कोरोना निको हुनेको संख्या एक लाख बीस हजार नाघ्यो

तपाईको प्रतिक्रिया