प्रकाश ! प्रकाश !! प्रकाश !! अर्थात् त्रिनेत्र

काठमाडाैं

प्रकाश सूर्यको ज्योति हो
अन्धकारको समाधिस्थ हो
प्रकाश वि.पी. पुत्र हो
प्रकाश गणेशमान पुत्र हो
प्रकाश प्रचण्ड पुत्र पनि हो !
समग्रमा भन्दा
प्रकाश ! प्रकाश ! प्रकाश ! त्रिनेत्र हो ।
बम्हा, विष्णु र महेश्वर पुत्र हो !
यो एक संयोग होईन
युगको आवश्यकता हो
समयको भिन्न भिन्न रूप हो ।
यिनको आफ्नै औंचित्यता छ ।
आफ्नै दर्शन, आफ्नै भुगोल छ
आफ्नै प्रकारको राजनीतिक प्रभाव छ ।

वि.पी. प्रकाश सँग
शूर र अशूरको झुण्ड छ
यूगिन समयचक्रमा फसि
तानाशाह को पृष्ठपोषक बनी
परिवर्तनलाई निस्तेज गर्न सक्ने
खुफिया बम्हास्त्र छ ।
महाराजको सपना सँगै जोडिएको
फगत एकतन्त्रीय निरंकुशता
श्रद्धा र भक्तिको दास छ ।
महाराजको मन्त्री मण्डलमा मन्त्री बनेर
देश हिडाउने साहस छ ।
चतुर्वाहु बाम्हा कै कला र सीप झैं
यिनको आफ्नै राजनीतिक जोड–घटाउ छ ।
त्रिनेत्र मध्ये जेठो ब्रह्मको पुत्र
हुनुको सौभाग्यमा
वि.पी. को ब्याज खाने
अवसर यिनलाई प्राप्त छ ।
त्यसकारण यिनी सँग
एक्काइसौं शताब्दीको
सचेत चेतना रोक्ने
अनन्त जादुमय अहंकार छ ।
देख्दा तुच्छ लागे पनि
परिवर्तन माथि धावा बोल्ने
यिनलाई पुरापुर अधिकार छ ।

गणेशमान प्रकाश सँग
भष्टाचारी चण्ड मूण्डको झुण्ड छ ।
लोकतन्त्र र समाजबादको
लोकप्रिय नाराभित्र बसी
अस्वस्थ प्रतिस्पर्धाको
झिना झमेलामा फसी
यथास्थितिलाई निरन्तरता दिन सक्ने
अखण्ड टुनामुना छ
टुट फुटको राजनीतिसँग जोडिएको
फगत राष्ट्रियता, लोकतन्त्र, समाजवाद
हात्तीको देखाउने दाह्रा छ
अलौंकिक शव्दजालमा देश हिडाउने शक्ति छ ।
मोहनीरूप बिष्णुकै चलाखी जाल झैँ
जनता झुक्याउने
यिनको आफ्नै राजनीतिक दृष्टिकोण छ
त्रिनेत्र मध्ये लौह पुरूष गणेशमान को पुत्र
हुनुको सौभाग्यमा
पिताजीको ब्याज खाने
अवसर यिनलाई प्राप्त छ ।
त्यसकारण यिनी सँग
अन्तर्राष्ट्रिय दाताहरूलाई
सम्मोहन पार्ने
अत्यधिक मोहनी रूप छ ।
देख्दा कुरी–कुरी लागेपनि
अग्रगमनलाई बारले छेक्ने
यथास्थितिलाई लम्ब्याउने
यिनलाई पूरा पुर अधिकार छ ।

प्रचण्ड प्रकाशसँग
वाईसीएल र युवा तातो रगत छ
आधुनिक साम्यवादको नारामा पसी
जनताको सुनौलो भविष्यको लागि
जनता लाई नै लुट्न पाउने
परिवर्तनगामी महान जनयुद्ध छ ।
जनताको सपना संग जोडिएको
फगत माओवाद र प्रचण्डपथ
प्रलय र भष्मासुरको दास छ ।
डर, धम्कीको पुरूषार्थमा
देश हिडाउने कला छ ।
विनाश महारूद्र रूप महादेव कैं
प्रज्ज्वालित नेत्र झैं
यिनको आफ्नै काटमारको राजनीति छ ।
त्रिनेत्र मध्ये अन्तिम नेत्र
जनयुद्धको जन्मदाता प्रचण्ड पुत्र
हुनुको सौभाग्यमा
पिताजीको ब्याज खाने अवसर
यिनलाई प्राप्त छ ।
त्यसकारण यिनीसँग
एक्काइसौं शताब्दीको
लोकतन्त्र अपहरण गर्ने
साम्यवादलाई प्रतिस्थापन गर्ने
राज्य पूनःसंरचना मार्फत
जनयुद्धलाई संस्थागत गर्ने
मृगमरिचिकाको बिज छ ।
देख्दा दिगमिग लागे पनि
राज्यसत्ता कब्जा गर्ने
यिनलाई पुरापुर अधिकार छ ।

(लेखकको ‘गोलघर प्रेरणा’ कविता संग्रहमा संग्रहित कविता-२०६४।११।२६)

तपाईको प्रतिक्रिया