बाँझो बारी हरियाली

नुवाकोट

कोरोनाको त्रासले नेपालमा शहर केन्द्रित भई बसोबास गर्ने र वैदेशिक रोजगारमा गएका मानिस गाउँमा आएर पाखा र बाँझो खेतबारीमा खेती गरी जग्गा जमिन हरियो र हराभरा बनाउन थालेका छन् ।

पहिलो चरणको लकडाउन अगाडि र लकडाउनपछि वैदेशिक रोजगारमा गएका र राजधानी केन्द्रित व्यापार, व्यवसाय गर्न र पढ्न गएका विद्यार्थी, जागिर खाएर बसेका नुवाकोटका मानिस कोरोनाको डरले आफ्नो गाउँ फर्किएका छन् । नुवाकोटका १२ स्थानीय तहका वैदेशिक रोजगार र शहरमा काम गरी बसेका नागरिक अहिले आफ्नो बाँझो रहेको खेतबारीमा बर्खे बाली लगाई जमिन हरियाली बनाएका छन् । पखेरा र पाँखाबारीमा कसैले मकै, कसैले बदाम, घैया छर्नुका साथै खेतमा धान रोपेका छन् ।

गाउँमा आएपछि खाली हात बस्नुको साटो आफ्ना खेतबारीमा काम गरी आय-आर्जनमा वृद्धि हुनुका साथै परिवार पाल्नसमेत सहज हुने तारकेश्वर गाउँपालिका–४ कोलाचौरका केशव वस्तीले बताए । उनका दुई छोरा केही वर्षदेखि भारतमा मजदुरीका लागि गएका थिए । कोरोनाको हल्लाखल्ला भएपछि उनले आफ्ना दुई छोरालाई घर बोलाएको हो ।

उनले भने, “कोरोनाको डरले अहिले गाउँका सबै युवा गाउँ आएका छन् । गाउँमा बरालीनुको साटो आफ्नो खेतिपातीमा काम गरे खेती पनि फस्टाउने, बाँझो खेतबारी पनि मलिलो हुने फाइदै फाइदा छ ।” बुधसिंहमा उनको मात्र हैन धेरै अभिभावकका छोरा वैदेशिक रोजगारीका लागि खाडी मुलुक र भारतमा गएका छन् । सोही स्थानका अर्जुन रिमालका छोरा पनि भारत कामको लागि गएका थिए भने हाल तीन छोरा गाउँमै खेतिपातीको काम सघाएर बसेको रिमालले जानकारी दिए । उनका अनुसार छोरा काम गर्न भारत गएपछि आफ्नो खेतिपाती गर्ने बारी बाँझो रहेको थियो । आफ्नो घर नजिक रहेको बारीमा जसोतसो खेती गर्ने गरेपनि टाढाको खेतबारी बाँझै रहेको र अहिले काम सघाउने मान्छे भएपछि वर्षाैंदेखिको बाजो खेतबारीमा बाली लगाई हराभरा बनाएको उनले जानकारी दिए ।


विदुर नगरपालिका–५ स्थित पिपलटारका सक्रे कुमालका छोरा वैदेशिक रोजगारीका लागि विगत तीन वर्षदेखि युएइ (दुवाइ) मा काम थियो । कोरोना बढेपछि उनको छोराले काम गरिरहेको कम्पनीले नेपाल फिर्ता पठाइदियो । दुई हप्ता जिल्लाको क्वारेन्टिनमा बसेपछि उनी घर फर्किएको थियो ।

कुमाल भन्छन्, “पिपलटारको सम्म बारी मात्र भएर के गर्नु काम गर्ने मान्छे घरमा नभएपछि बारीमा न मकै न कोदो न बदाम केही बाली नै लगाएको थिएन । अब काम गर्न र सहयोगका लागि मान्छे घरमा थपिएपछि किन आफ्नो बारी बाँझै राख्नु त भनेर यसपाली वैशाखमा मकै छरदिएको छु ।”

नुवाकोटमा अहिले प्रत्येक गाउँघरका पाखाँबारीमा मकैले धानचमरा हालिसकेको छ । खेतमा एकबाली असारे धान भित्राएसँगै अहिले धान रोपाइँको किसानलाई चटारो भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । उनका अनुसार कोरोनाले विश्वव्यापी सन्त्रास फैलाए तापनि गाउँका वस्तीमा भने छुट्टै तरिकाको उर्बरा शक्ति पैदा गरेको छ । उनले भने, “अहिलेका युवा काम गर्न खाडीमुलुक केन्द्रित भएका थिए । कोरोनाले गर्दा हजारौँ युवायुवती आफ्नो जन्म र कर्मथलो फर्किएका छन् । उनीहरु फर्किएपछि आफ्ना गाउँका खेतबारीमा मौसमअनुसारको बाली लगाई आम्दानीको स्रोत जुटाइरहेका छन् ।”

तपाईको प्रतिक्रिया