राज्यसत्ता, कम्युनिष्ट र आजका श्यामकर्णहरू

काठमाडाैं

पुरातन राज्यसत्ता शोषण, अन्याय र अत्याचारको कारखाना हो । त्यसलाई ध्वस्त गरेर न्याय, समानता र विश्व-मानवतावादमा आधारित नूतन राज्यसत्ताको स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामीले पाएको प्रशिक्षण यस्तै यस्तै हो । पुरातन राज्यसत्तालाई नूतन बनाउने वा नूतन राज्यसत्तालाई पुरातनमै फर्काउने प्रक्रियाअन्तर्गत विश्वमा ठुल-ठुला सङ्घर्ष भएका छन् । हामीलाई थाहा छ, नूतन राज्यसत्ता प्राप्त गर्ने क्रान्तिकारी प्रक्रियामा बलिदान अनिवार्य हुन्छ । तिनमा आ-आफ्ना समयका महान् स्पार्टाकसहरूले बलिदानको अपूर्व कीर्तिमान कायम गर्दै आएका छन् । स्पार्टाकसहरू तिनै श्यामकर्ण हुन्, जहाँ लाखौँले महान् बलिदानको कोटा चुक्ता गरेका थिए ।

जनयुद्धकालमा प्रचण्डको सेतो घोडाको चर्चा सुनिन्थ्यो, जसलाई पछिसम्म पनि मिडियाले पछ्याइहे । कुनै बेला प्रचण्डलाई ‘प्रचण्ड’ वा ‘अध्यक्ष’ भन्नु अपराध मानिन्थ्यो, ‘सीएम’ भन्नुपर्दथ्यो । ‘प्रचण्डपथ’ को व्याख्याताहरूको चुरीफुरीको के कुरा गर्नू ! त्यतिबेला ‘म त प्रचण्डको दाहिने हात’ भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । प्रचण्डको तस्बिर नछापिएको प्रकाशन सायदै थिए । कार्यकर्ता त्यो पनि कम्युनिस्ट पार्टीको, जसलाई हामी योद्धा, सहयोद्धा भन्न मन पराउँछौँ, त्यसमा पनि नेपालको, हैट यो भयानक विषय हो ! प्रचण्डहरूले श्यामकर्णी योद्धा–कार्यकर्तालाई मनमौजी तरिकाले अग्निकुण्डमा होमिदिएका थिए । श्यामकर्ण सम्पूर्ण शरीर सेतो तर कानचाहिँ कालो भएको उत्तम जातको घोडा हो । सांस्कृृतिक आवेगमा मानवजातिले त्यही श्यामकर्ण घोडा बन्ने चक्करमा हजारौँ वर्ष बिताएको छ । अश्वमेघ यज्ञको निमित्त राम्रो मानिने उत्तम जातको घोडा महाभारतकालीन राजा परिक्षितपछि कसैले अश्वमेघ गरेको कथ्य वा लेख्य भेटिँदैन । अश्वमेघ यज्ञ गरिने घोडाको प्रजाति नै सिद्धिएकोले त्यसपछि सो यज्ञ हुन नसकेको अनुमान लगाउन सकिन्छ । महाभारतको कथाअनुसार जम्मा आठसय श्यामकर्ण घोडा जन्मिएका थिए । तिनै श्यामकर्णहरू विभिन्न महाराजाका अश्वमेघ यज्ञमा मारिए ।

यो दल र उ दलको के कुरा । यो नेता र ऊ नेताको पनि के कुरा । संसदीय फाँटका अधिकांशको एउटै मनसुवा देखिन्छ– आफ्ना कार्यकर्ताले बिजुलीको चम्काइ र आँखा झिम्क्याइमा काम फत्ते गरून् । सोच्नुपर्नेहरूले सोच्दैनन् कि कुनै दिन श्यामकर्णीहरूले हात उठाए के होला ? जनता र नेता जोड्ने कार्यकर्तारूपी श्यामकर्णी पुल भाँच्चिए के होला ? के राजनीति एकाध मान्छेलाई अमिर बनाउने अभियान हो र ? हुँदा खाने र हुने खानेका बिचको यो विश्व–लडाइँको भोक, शोक र शोखका बिचको आयतन कति होला ? नेपाली समाजमा आज पनि एउटा द्वन्द्व छ– जनयुद्ध लडेको वा नलडेको भन्ने । जनयुद्ध लडेकोले आफूलाई अब्बल ठान्दछ र नलडेकोलाई हेप्छ । जनयुद्ध नलडेकोले पनि आफूलाई अब्बल ठान्दछ र लडेर आएकोलाई कम आँक्दछ । आज पनि माओवादीवृत्तमा यो मनोयुद्ध चलिरहेको छ । अन्तर्घुलन, सम्मिलन र भावनात्मक एकतामा गम्भीर समस्याका कारण माओवादीमा गुट-उपगुट संस्थागत हुँदै पटक-पटक विभाजनबाट गुज्रनुपर्यो । माओवादी आन्दोलन सच्चा कम्युनिस्ट र नयाँ मान्छे बनाउने प्रक्रिया पनि थियो । तर आज कतिपय अवस्थामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको कुरा गर्न पनि अनपयुक्तजस्तो हुन थालेपछि कसरी नयाँ मान्छे र सच्चा कम्युनिस्ट बन्नू ! कसरी नयाँ मान्छे र सच्चा कम्युनिस्ट बनाउनू !

सामन्तले कानुन मिचेर लुट्छ, पुँजीवादले कानुन समातेर लुट्छ, कुरा यत्ति न हो । भनिन्छ– मरेको सपना नजन्मेका सपनाभन्दा खतरनाक हुन्छ, त्यो कुहिँदैन, गन्हाउँदैन तर शूल भएर गहिरो गरी दुखिरहन्छ ।

नेपाल यस्तो देश हो, जहाँ सङ्कटको घडीमा कालोबजारी उद्योगपतिहरूलाई सरकारद्वारा पाँचतारे सुविधा दिइन्छ तर निर्दोष उत्पीडित तथा श्रमजीवीहरूलाई झुट्टा मुद्दा लगाए जेल-हिरासतमा कोचिन्छ । यहाँ विभिन्न नाममा लिटरेचर फेस्टिभल चलाइन्छ, जहाँ प्रगतिशीलताको आबरणमा प्रगतिशीलताकै हुर्मत लिइन्छ । बालुवाटारमा बसेर देशको कार्यकारी प्रमुख भ्रष्टाचारविरुद्ध कविता लेख्छन् तर उनैले आफूवरिपरि छताछुल्ल भएको भ्रष्टाचारीको संरक्षण गर्छन् । यहाँ बाँकावीरदेखि भट्टेडाँडा आक्रमणको तस्बिर लिने वरिष्ठ फोटो पत्रकार अरुणदत्त पन्तहरू गुमनाम हुन्छन् । हामी फेसबुक हेर्न मरिहत्ते गरिरहेका हुन्छौँ तर त्यही फेसबुकले विश्वभरिका क्रान्तिकारी र साम्राज्यवादविरोधीहरूको साझा आवाजको संवाहक माओइस्ट रोडलाई ब्लक गरेको छ, उसले नेपाललगायत विश्वका क्रान्तिकारीहरूका समसामयिक गतिविधिलाई महत्वका साथ स्थान दिँदै आएको थियो । फेरि, नेपालका शासकहरू कत्तिसम्म उत्ताउला भने राजनीतिक विश्लेषक आहुतिले भनेजस्तै भर्खर भर्खर कराँते सिक्न लागेको सिकारुले मकैको पातमा किक हान्दै हिंडेजस्तो । आजका श्यामकर्णहरू संसदीय दलका तिनै नेताले मकैको पातमा किक हानेको हेरेर भरपुर मनोरञ्जन लिइरहेका छन् ।


भनिन्छ, मौनतामा ठूलो शक्ति हुन्छ, कतिपय प्रश्नको उत्तर पनि मौनतामा नै हुन्छ । जनता समकालीन व्यवस्थाको अस्वीकृतिको मौनभावमा छन् । दोस्रो विश्वयुद्धपछिको सर्वाधिक चुनौतीपूर्ण कोरोनापछि विश्वको आर्थिक केन्द्र फेरिँदै चीनको प्रभाव बढ्ने अनुमान गरिँदै छ । शासकहरू गुट-उपगुट बदलेर आफ्नो फासिवादी सत्ताको आयु लम्ब्याउन चाहन्छन्, जनता सिङ्गै व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छन् । ओली–प्रचण्डको नौटङ्की देखेर एकदिन चीन पनि हैरान हुनेछ । हुन त चीन र डबल नेकपा एकले अर्कोलाई उपयोग गर्ने नीतिमा देखिन्छन् । समकालीन विश्वमा भारतीय शासककोे राजनीति बेइमानीपूर्ण, कपटपूर्ण र नौटङ्कीपूर्ण देखिन्छ । राजनीतिक विश्लेषकहरूले भनेको सुनिन्छ- तत्कालीन एमालेको विभाजनबाट तत्कालीन माओवादीले लिएजस्तै विप्लवहरूले अहिलेको सत्तासीनहरूको अकर्मण्यताबाट राजनीतिक फाइदा लिन सक्नुपर्दछ । हामीले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको नयाँ शिराको विकास गर्नैपर्दछ । शासकहरूका विभिन्न प्रवृत्तिगत धारा भए पनि तिनका सत्ता उत्पीडित तथा श्रमजीवी जनताको धैर्यतामाथि नै टिकिरहेको छ । श्यामकर्णहरू जुर्मुराएको दिन शासकहरूको नवउदावादी विश्वव्यवस्थाको क्रूर साम्राज्यवादी जुवा धुजाधुजा हुनेछ ! बेइमानीहरूको जङ्गलमा केही समय मौन रहनु बेग्लै कुरा हो ।

जनगायक जीवन शर्माको एउटा चर्चित गीत छ- ‘हिउँ फुटे हिमनदी, जनता जुटे जनसागर ।’ एकदिन त्यही जनसागरले जनताको रगत र हड्डी चुस्ने पुँजीवादी इन्जिनलाई सदाका लागि बन्द गरिदिनेछ । विश्वका अधिकांश देशले कोरोना कहरमा आफ्ना नागरिकलाई राहत बाँडिरहँदा नेपालले जनता बँचाउन केही पनि नगरेपछि मानिसहरू भन्न थालेका छन्- जनताले आफ्नो सुरक्षा आफैँ गर्नुहोला, सरकारले बचाउने भनेको कुर्सी मात्र हो । अहिले कतिपय नेताहरू कोरोनाबाट बँच्न जन्तर-मन्तर गर्न थालेका छन् । देशमा क्रिस्चियानिटीकरण बढ्दो छ । टोल्स्टोय भनेका थिए, ‘कुनै देशलाई बर्बाद पार्नु छ भने जनतालाई धर्मको नाममा लडाउनू ।’ नेपालमा धर्मका नाममा जनताभन्दा बढी नेता लड्छन् । होलीवाइन बबन्डर सबैलाई थाहा छ । सामन्तले कानुन मिचेर लुट्छ, पुँजीवादले कानुन समातेर लुट्छ, कुरा यत्ति न हो । भनिन्छ– मरेको सपना नजन्मेका सपनाभन्दा खतरनाक हुन्छ, त्यो कुहिँदैन, गन्हाउँदैन तर शूल भएर गहिरो गरी दुखिरहन्छ । नेपालमा राष्ट्रवादको नारा जनतालाई ठग्ने सुनको कमन्डलु बन्दै आएको छ । आजका श्यामकर्णहरूको काँधमा वैज्ञानिक समाजवादी सामाजिक प्रणाली बनाउने कार्यभार छ ।

नेपालमा पटक–पटक सत्ता हस्तान्तरण हुँदै आए पनि सारतः त्यो ‘काला गए, गोरा आए’ जस्तो मात्रै थियो । देश र जनताले नयाँ पार्टी र नयाँ नेता पाए तर रूपान्तरित नेता र पार्टी पाएनन् । अहिले डबल नेकपालाई दलाल संसदीय फासिवादी मात लागिरहेको छ । समकालीन नेपाली समाजमा कुशासन, भ्रष्टाचार, अमानवीयता र संवेदनाहीनताको कुनै सीमा नै रहेन । अमरसिंह थापाले दुश्मनको रगतले लतपतिएको सतलजमा पखालेको खुकुरी आज पनि आलै छ । सडकमा ओली सरकारविरुद्ध ‘इनफ इनफ’ को नारा लाग्न थालेको छ । ‘फूल फुल्ने बारम्बार मान्छे फुल्ने एकबार’ भनेझैँ ओली यतिबेला एन्टी इन्डियन सेन्टीमेन्टको क्याक्टस फूल फुलाउन जति मरिमेटेर लागे पनि अन्ततः उनी ‘श्रीमान् भूपति’ को चक्करमा रहेको कुरामा कुनै शङ्का छैन । ओलीसित विद्रोही किशोर–युवाहरू, हातभरि ठेला उठेका परिवर्तनप्रेमी श्रमजीवीहरू, स्वतन्त्रताप्रेमी बुद्धिजीवीहरू र सामाजिक क्रान्ति एवम् रूपान्तरणप्रेमी नारी समुदायको पक्षमा कुनै अग्रगामी परिकल्पना नै छैन । इतिहासको यस घडीमा ओली आजका श्यामकर्णहरूलाई घोडा बनाउने र बली चढाउने दिवासपना देखिरहेका छन् ।

कम्युनिष्टलार्इ कम्युनिस्टीकरण र क्रान्तिलाई क्रान्तिकारीकरण गर्नु आजको आवश्यकता हो । कम्युनिस्ट पार्टीमा श्यामकर्णजस्ता अब्बल गुणले सम्पन्न योद्धा-कार्यकर्ताहरू रहँदासम्म क्रान्तिको सम्भावना जतिखेर पनि रहिरहन्छ ।

विश्लेषकहरू भन्छन्– नेपालमा निकै लामो समयदेखि राजनीतिक म्याच फिक्सिङ हुँदै आएको छ । अहिले ओली–प्रचण्ड त्यही प्रक्रियामा छन् । यता नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपालका विशेषतः राजनीतिक नेतृत्वलाई बिरालो र मुसा बनाएर खेलिरहँदा उता अमेरिकाबिनाको संसारको परिकल्पना गर्न थालिएको छ । अमेरिकामै ट्रम्पलाई अस्वीकार गर्न थालिएको छ । भारत नेपाललाई हिन्दूकरण, राजतन्त्रीकरण र भुटानीकरण गर्ने योजनमा छ । यता ओली ‘इन्डिया भाइरस’, ‘चाइनिज भाइरस’, ‘देवसभा’ र ‘बेसार’ प्रवचनमै दिन कटाइरहेका छन् । जसले जति शब्दजाल बुने पनि भेन्टिलेटरमा रहेको पुँजीवादलाई अब कसैले पनि बचाउन सक्तैन ! आजका श्यामकर्णहरू आफूविरुद्धको व्यवस्थाका लागि बलिदान दिन तयार छैनन्, अब उनीहरू लड्ने भनेको आफ्नै वर्गका लागि मात्र हो, आफ्नै लागि मात्र हो ।

कतै पढेको थिएँ– जनयुद्ध परिचालन गर्न भारतीय गुप्तचर संस्था ‘रअ’ का तत्कालीन प्रमुख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय इन्डियन टिमलाई सहयोग गर्न, २०६२ जेठमा दिल्लीमा बसेर श्यामशरणको इन्डियन टोलीसँग जनयुद्ध विर्सजन गर्न र १२ बुँदे सहमतिको रूपरेखा बनाउन डा.बाबुराम भट्टराईको मुख्य भूमिका थियो । अपेक्षा छ, यसबारे यथाशीघ्र डा.भट्टराईले सत्य तथ्य सार्वजनिक गर्नुहुनेछ । यतिबेला जनताले भन्न थालेका छन्– कमरेड विप्लव प्रतिबन्ध र जेल–हिरासत तोडेर आऊ । अग्रज राजनीतिज्ञहरू बेला बेला ठट्टा गर्छन्– नेपालमा अब जद्रा पानवाला र मिठा पानवाला राजनीतिको कुनै औचित्य छैन ! नेता सामन्त बन्दै जाने र जनताले उनैको देवत्वकरण गर्दै जाँदा कहाँ पुगिएला ? क्रान्तिबिना क्रान्तिको परिकल्पना गर्ने आजका बुद्धिजीवीहरू यथार्थ धरातलमा कहिले उभिने ? महाभारतको युद्धमा दुर्योधन तलाउमा लुकेकैं जर्ज फ्लोइडको हत्या प्रकरणमा अमेरिकी राष्ट्रपति ट्रम्प बङ्करमा लुकेझैँ ओली-प्रचण्डहरू पनि लुक्ने दिन त्यति टाढा छैन ।

रुकुममा नवराजलगायत छ जना युवाहरूको हत्या प्रकरण शासकीय एवम् जातीय अहङ्कारका कारण श्यामकर्णहरूमाथि हुँदै आएको पछिल्लो बर्बरता हो । नेपालमा यस्तै यस्तै बर्बर संस्कृति र सौन्दर्य मौलाउँदो छ । नेपालमा जनयुद्धले जात व्यवस्थामा आधारित सामन्ती व्यवस्थालाई एक चरण हल्लाए पनि त्यसलाई ढाल्न सकेन, बरू उल्टै प्रचण्ड-बाबुरामहरू आफैँ धर्मराउँदै ढले । डा.बाबुराम भट्टराईको हातबाट जनताका वास्तविक प्रतिनिधिहरू रहेको पहिलो संविधानसभाको विघटन भयो । अहिले प्रचण्ड-बाबुरामहरू उही जनविरोधी व्यवस्थाको रक्षक बनेर उभिएका छन् । कुनै पनि संविधान एउटाको चिहानमा जन्मिन्छ र अर्को चिहानमा मर्छ । निगम पुँजीवादले विभिन्न देशका लागि विभिन्न संविधान बनाइदिएका हुन्छन् । उसले विश्वभरका समकालीन संसदीय व्यवस्था, राजनीतिक दल र तिनका नेतालाई सञ्चालन गरिरहेको छ । अन्यायमा टिकेको व्यवस्थाले न्याय दिनै सक्तैन, न्याय नदिने व्यवस्थाबाट शान्तिको कल्पनै गर्न सकिन्न । त्यसैले अबका श्यामकर्णहरू लालझन्डा बोकेपछि सबै खत माफ दिने पक्षमा छैनन् ।

विश्वले देखेको छ– कम्युनिस्ट पार्टीको हबेलीबाट चाउचेस्कु, गोर्वाचोभ र प्रचण्डहरू कसरी जन्मिन्छन् भन्ने कुरा ! यसकारण पनि राजनीतिक आन्दोलनसँगै सांस्कृतिक आन्दोलन र सांस्कृतिक आन्दोलनसँगै सांस्कृतिक रूपान्तरणको आवधिक खाका अनिवार्य हुनुपर्ने देखियो । समकालीन समाजमा अर्थतन्त्र, राजनीतिक पहिचान र सांस्कृतिक-सामाजिक परिचयका आधारमा हैसियत निर्माण गरिँदै आएको पाइन्छ । यही हैसियतले प्रत्येक घरमा अशान्ति मच्चाउँदै छ । यस्ता अशान्त घरहरू केको राजनीतिक पाठशाला बन्नू ! सात जनाको हातमा विश्वको आधा सम्पत्ति रहेको यतिबेला निजी सम्पत्ति उन्मूलन गर्दै समुदायलाई मालिक बनाउने कार्य कठीन त छ नै, तर असम्भव छैन । पुँजीवादी भूमण्डलीकरणका विरुद्ध समाजवादी भूमण्डलीकृत क्रान्ति अवश्यम्भावी बन्दै छ । निर्णायक क्रान्ति तब हुन्छ, जब शान्तिका सबै मार्ग बन्द हुन्छन् । यो कुरा आजका श्यामकर्णहरूलाई राम्ररी थाहा छ ।

यतिबेला पुँजीवादले हरेकलाई बजारीकरण गरिरहेछ । समाजमा धृष्टराष्ट्र र शकुनीहरू मात्र छैनन्, नयाँ नयाँ जुडासहरू पनि थपिएका छ । यतिबेला पुँजीवादको सारथि कमजोर बन्दै गएको त छ, तर समाजवादीहरूको पनि गतिलो सारथि देखिन्न । कुशल सारथिबिना कसरी युद्ध जितिएला र ! नेपालमा कम्युनिस्टले कम्युनिस्टलाई सबैभन्दा बढी दुःख दिइरहेका हुन्छन् । यिनका बिचमा रिस, डाहा, इष्र्या पनि बढी नै हुन्छ । यिनमा सकेसम्म एकले अर्कोलाई सिध्याउनेसम्मको खेल पनि हुन्छ । यहाँ आफ्नो गुटको रहेछ भने उसको हजार अपराध पनि माफी हुन्छ । भनिन्छ नि आफ्नाले दिएको घाउ गहिरो हुन्छ । जस्तो कि फलामले फलाम पिट्दा ठूलो आवाज आउँछ । यद्यपि क्रान्तिकारीहरूका लागि क्रान्तिको घाउ पारितोषिक हुन्छ, जसले निर्णायक क्रान्ति गरेर विजयी बन्न प्रेरित गर्दछ । भोका जनतालाई सुनको थाली बाँड्ने आश्वासनको के औचित्य ? के समुद्र मन्थन गर्दा अमृत मात्र निस्केको थियो र ? आज श्यामकर्णहरू आह्वान् गरिरहेछन्– संसदीय भासमा जकडिएको कथित कम्युनिस्ट पार्टीरूपी प्रालिको सेल्सम्यान बन्नबाट विद्रोह गर ।

वर्गसङ्घर्ष रूपान्तरणको अर्को नाम हो । वर्ग सङ्घर्ष सच्चा कम्युनिस्टको जीवन हो । यही कारण सच्चा कम्युनिस्टहरूमा भाइब्रेसन भइरहेको हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न धारका कम्युनिस्ट पार्टी र तिनका विभिन्न नेताका सकारात्मक-नकारात्मक बिम्ब पनि छन् । राजनीतिक विश्लेषकहरू भन्छन्– नेपालमा ‘महेन्द्रीय टाट्ना’ को रजगज बढ्दो छ । नेपालमा दूध नबिक्दा किसान सडकमा दूध पोख्छ तर सङ्घर्ष गर्दैन । नेपालमा ओलीजस्ता असक्षम र निर्लज्ज शासकहरूले आफूमाथि शासन थोपरिरहँदा पनि जनता उठ्दैनन् । नेपालमा दिनभर ओलीको विरोध गर्छन्, साँझ–बिहान उनै ओलीको दर्शन गर्न लाइनमा बस्छन् । दिउँसो चर्कोचर्को स्वरमा सामन्तवादको विरोध गर्छन्, रातमा लुकीलुकी छिमेकीको साँध मिच्छन् । नेपालका ‘कम्युनिस्ट’ बोलीमा किसान-मजदुरको कुरा गर्छन्, व्यवहारमा आफैँ पुँजीवादी बन्नतिर मरिहत्ते गर्छन् ।

कम्युनिष्टलार्इ कम्युनिस्टीकरण र क्रान्तिलाई क्रान्तिकारीकरण गर्नु आजको आवश्यकता हो । कम्युनिस्ट पार्टीमा श्यामकर्णजस्ता अब्बल गुणले सम्पन्न योद्धा-कार्यकर्ताहरू रहँदासम्म क्रान्तिको सम्भावना जतिखेर पनि रहिरहन्छ । हिजो अरूको प्रख्यातीका लागि बलिदान दिन तयार श्यामकर्णहरू आज आफ्नै लागि बलिदान दिन तयार छन् । हिजो आफूहरू भर्याङ भएर अरूलाई सत्तामा पुर्याउन बलिदान दिने श्यामकर्णहरू आज आफू र आफ्नो वर्गलाई सत्तामा पु¥याउन बलिदानी भावनाद्वारा ओतप्रोत भएर जनक्रान्तिको महान् अभियानमा लामबद्ध छन् । यो नै आजका श्यामकर्णहरूको सर्वोच्च क्रान्तिकारी गुणधर्मिता, स्पष्ट वर्ग-पक्षधरता र क्रान्तिप्रतिको अटुट विश्वास हो ।

लेखकबाट थप

तपाईको प्रतिक्रिया