मुक्तक–१
करोडौं फूल फुले पनि बोट एउटै हुन्छ
रङ्क रैती जो भए नि भोट एउटै हुन्छ
पीडा दिने घाऊ हुन्न दुखाई हुन्छ हजुर
तन मन जहाँ लागे नि चोट एउटै हुन्छ !
मुक्तक–२
प्यासी मन जल छैन कस्तो जिन्दगानी
कर्म गर्दा पाइँन फल कस्तो जिन्दगानी
कसले हर्दछ एक एक पसिनाका थोपा
श्रम गर्यो कौडी मोल कस्तो जिन्दगानी ?
मुक्तक–३
फाटेको मन सिलाउँ भन्थें सियो भाँचिएछ
दुःखको दाइँ थुर्याऊँ भन्थें मियो भाँचिएछ
यता टाल्यो उता भ्वाङ जिन्दगीको सडक
नखेलेकै खेल खेलौं भन्थें वियो भाँचिएछ !
मुक्तक–४
पर्खाइको स्वाद के हो बल्छी थाप्ने टाँगो हेर
गुमाउनुको मोल के हो फल लाग्ने हाँगो हेर
जिन्दगी नै बोझ बनाई जिउँछन् कायरहरू
सहासको अर्थ के हो झर्झर झर्ने छाँगो हेर !
मुक्तक–५
पेरूङ्गोमा माछी छैनन् जाल कसले झिक्यो
हात लाग्ने दाऊ गायव माल कसले झिक्यो
समुद्रको मझधारैमा आज कोल्टिएझैँ भयो
डुङ्गाजस्तो जिन्दगीको पाल कसले झिक्यो ?
मुक्तक–६
जति काट्छौ उति लाग्छु चुलेसीको धार म हुँ
जहाँ घोट्छौ त्यहीँ बज्छु सारङ्गीको तार म हुँ
कहाँ उड्दछ र फूलको रङ पत्रपत्र सुके पनि
जति चुँड्छौ उत्ति बढ्छु विचारको झार म हुँ !
मुक्तक–७
चुनाब आछ गाउँमा हजुर भोट पनि लैजाऊ
घरमा तलो थप्नु पर्ला हजुर नोट पनि लैजाऊ
देशकै लागि सोच्दासोच्दै फुर्सद नमिल्ला कि
चिसो छिर्ला गाथमा हजुर कोट पनि लैजाऊ !
मुक्तक–८
वैँसको हुरीमा वृक्ष ढल्ला टेको दह्रो लगाऊ
नौंनी मन पग्लिएर जाला ठेको दह्रो लगाऊ
भर हुन्न आफ्नै पनि के काम र ताला चावी
दिलमै छिरी चोरी भाग्ला छेको दह्रो लगाऊ !
मुक्तक–९
झुपडीमै छ खुसी हजुर दरवार किन चाहियो
मनकै भर काफी हजुर घरवार किन चाहियो
के नै काम र सम्पतिको मर्दा सँगै लाने होइन
फूलले पनि रेट्छ हजुर तरवार किन चाहियो ?
मुक्तक–१०
हलक्कै छन् लसुनका बोट पोटी कसले खायो
पाडापाडी छन् गोठ एक्लै भोटी कसले खायो
लुटी खाने दाउ छन् अनेक लुटेरा यो संसारमा
श्रम गर्ने श्रमिकहरुको भन रोटी कसले खायो ?
थप यो पनि