भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा जोडिएको विवादित क्षेत्रमा तैनाथ भारतीय सेनाको मनोबल उच्च बनाउन शुक्रबार त्यस क्षेत्रको स्थलगत भ्रमण गरेको छ ।
गत महिना लद्दाख क्षेत्रको गलवान उपत्यकामा चिनियाँ सेनासँगको मुठभेडमा २० जना भारतीय सेनाको मृत्यु भएपछि दुबै देशबीच तनाबको अवस्था छ ।
दुई मुलुकबीच लामो समयदेखि विवादको रुपमा रहेको लद्दाखमा ४५ वर्षयता पहिलो पटक सबैभन्दा ठूलो संख्यामा भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त सैन्य मुठभेडका क्रममा केही चिनियाँ सैनिकको पनि मृत्यु भएको भारतले दाबी गरेको छ, तर चीन सरकारले यस बारेमा आधिकारिक केही बताएको छैन ।
भारतीय सेनाका प्रमुख प्रधानसेनापति सहित उक्त क्षेत्रमा पुगेका प्रधानमन्त्री मोदीले दुबै सेनाबीच मुठभेड भएको क्षेत्र नजिकको भारतीय सैन्य अखडामा पुगेर स्थलगत जानकारी लिएको थियो ।
त्यस अवसरमा भारतीय सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘ यस विषम परिस्थितिमा तपाइँहरु भारतीय मातृभूमिका रक्षकहरुका रुपमा खटिनु भएको छ, तपाइँहरु मुलुकको रक्षाकवच हो ।’ उनले अगाडि भने, ‘ भारतीय आमाका दूश्मनहरुले तपाइँहरुको शौर्य पक्कै देखेका होलान् ।’
चीनको नाम नलिई प्रधानमन्त्री मोदीले ‘ विस्तारवादको युग सकिएको’ बताउँदै ‘ विस्तारवादले मानवतालाई कसरी विनाशको अवस्थामा पुर्याउँछ भन्ने इतिहासले देखाइसकेको छ ‘ भने । उनले थपे, ‘भारतले जहिल्यै विश्वमा शान्तिको मार्ग अबलम्बन गरेको तर कमजोर पक्षले कहिल्यै शान्तिप्रतिको अग्रसरता लिन सक्दैन । बहादुरी र साहस शान्तिका लागि अनिवार्य शर्त हुन् ।’
चीन र भारत दुबैबीचको सम्बन्ध विगतदेखि नै त्यति प्रगाढ हुन सकेको छैन । दुबै पक्षले मुठभेडका लागि एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । दुबै देशले यस क्षेत्रमा हजारौं थप सैनिक पठाइसकेका छन् । साथै, दुबै देशबीच सैन्य तहमा धेरै चरणमा वार्ताहरु भइसकेका छन् र झिनो प्रगतिमात्र भएको छ । सामाजिक संजालमा एकअर्का मुलुकविरुद्ध गालीगलौज हुन थालेपछि भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ ।
यी प्रतिबन्धहरु खासगरी प्रविधि र पूर्वाधार निर्माणका क्षेत्रतर्फ लक्षित छन् । भारतले निकै लोकप्रिय टिकटक समेत चीन प्रतिबन्धित ५९ वटा चिनिया मोबाइल एप्स भारतीय सुरक्षामा खतरा भन्दै भारतमा चल्न नसक्ने गरी बन्द गरिदिएको छ । चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन् ।
भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनिया निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्रको विषयलाई लिएर भारतमा उत्पन्न परिस्थितिका बारेमा चीनले सूक्ष्म रुपमा विश्लेषण गरिरहेको बताए ।