कृषकलाई एभोकाडोको बिरुवा वितरण

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटाको चौबिसे गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण गरेको छ ।

चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडामा रहेका कृषक समुहलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३ सय एभोकाडोको बिरुवा वितरण गरिएको अध्यक्ष खजिन्द्र राईले बताए । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर सो गाउँपालिका अन्तरगत रहेका वडा नं. १, २, ५, ६ र ८ नम्बर वडाका १९ वटा कृषक समुहलाई एभोकाडोको विरुवा वितरण गरिएको हो, अध्यक्ष राईले भने ।

पछिल्लो समय धनकुटा जिल्लामा नै एभोकाडो खेतीतर्फ कृषकहरु आकर्षित बन्दै गएपछि स्थानीय सरकारहरुले एभोकाडो खेतीमा लगानी गर्दै आएका छन् । फलफुलको राजा मानिने एभोकाडो उत्पादन तथा विक्री वितरणलाई व्यापक र व्यवसायिक बनाउनको निम्ति धनकुटा नगरपालिकाले दुई वर्ष अगाडि नै धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेर अभियानकै रुपमा एभोकाडो खेतीलाई अगाडी बढाएको छ ।

चौबिसे गाउँपालिकाले एभोकाडो खेती विस्तार अभियानलाई चालु आर्थिक वर्षदेखि शुरु गरेसँगै यसको परिणामको आधारमा आगामी बर्ष पनि यो अभियानलाई निरन्तरता दिईने गाउँपालिकाले जनाएको छ ।

तराईको भू–भागदेखि करिब १ हजार ७ सय मीटरसम्मको उचाईमा उत्पादन हुने एभोकाडो प्रतिकेजी दुई सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म विक्री हुदै आएको छ । नेपालमा एभोकाडो उत्पादन हुने क्षेत्रमध्ये धनकुटा पहिलो रहेको छ भने इलाम, म्याग्दी, कास्की लगायतका २६ जिल्लामा पनि यसको खेती शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया