वैदेशिक रोजगार कार्यालय ताहचलले आइतबार ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयले सरकारले घरबिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका आफ्न नागरिकलाई कोरोनाको परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेपछि श्रम स्वीकृति दिएको हो ।
कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयका अनुसार ब्रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक-एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ ।
हवाई टिकट लिएर श्रम स्वीकृति लिन बाँकी रहेकालाई प्राथमिकताका आधारमा स्वीकृति प्रदान गरिएको कार्यालयको भनाइ छ । कोरोना महामारीबाट नेपालका प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित भएपछि गत फागुन २९ गतेबाट वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति बन्द गरेको थियो ।