नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हेटाैडा, मकवानपुर

हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गरेको कोरोना (कोभिड-१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ ।

डा.दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताएको छ । सो प्रतिवेदन भित्रका मापदण्डहरु पूरागर्ने लामो प्रक्रियाको कारण तयारीमा केही समय लागेको डा.दासले बताए ।

प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेको जस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उनको भनाई छ । डा.दासका अनुसार आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरु लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधी तयार गरेका हुन् । उनले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागि समेत मुखबाट सेवन गर्न मिल्ने औषधी गरी दुबै औषधीको नमूना नै तयार भएको दाबी समेत गरेको छ । साथै उनले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधीको समेत नमूना तयार भइसकेको र यी सबै औषधीको परीक्षणको लागि प्रतिक्षामा रहेको दाबी गरे ।

आफुले तयार गरेको औषधी शतप्रतिसत सफल हुने दाबी गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिबेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा.दासको भनाई छ । उनले हाल नमूनाको रुपमा औषधी तयार रहेको र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधी बनाउन पनि समस्या नरहेको बताए । विगत २२ वर्षदेखी अनुसन्धान तथा अध्यापन गर्दै आएका उनले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गरेको हो । यसअघि जेठ २२ गते उनले सार्वजनिक गरेको कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो ।


तपाईको प्रतिक्रिया

पत्रपत्रिका