बदलिएको म्यानमार र नेपाली मुटु

काठमाडौं

यायावर मान्छेको प्रवृत्ति हो । मनिसले ज्ञान हासिल गर्ने विभिन्न माध्यम मध्ये यात्रा पनि यौटा महत्वपूर्ण माध्यम हो । साक्षातीकरण भएको ठाउँ, भाषा, स्थिति, भेषभुषा, प्रचलन, इतिहासको अध्ययन आदि, लेखकका निजात्मकताले निकालेको निचोड नै त हो नियात्रा ।

नेपाली निबन्ध लेखनमा स्थापित निबन्धकार युवराज नयाँघरे पाइतालाभरी संसार घुम्न चाहन्छन् । अवसर पाएको ठाउँलाई साक्षात्कार गरेर आँखा र मनलाई आनन्द मात्र दिँदैनन्-  अक्षर-अक्षरमा टिपेर त्यहाँको अवस्थालाई कलात्मक स्वाद दिदैँ पाठकलाई न्यानो अभिवादन गराउँछन्, जम्काभेट गराउँछन् । नियात्राले पाठकलाई तत् स्थान वा देशको भ्रमण गराएको हुन्छ, अक्षर अक्षरको विमानमा चढाएर । यसरी पाठकलाई शब्दशब्दको विमानद्वारा देश-विदेश घुमाउने सामथ्र्य राख्ने निबन्धकार हुन्, युवराज नयाँघरे ।

पचासको दशकबाट निबन्ध प्रकाशित गरेर स्थापित भइसकेका नयाँघरे अहिलेसम्म यायावरी प्रवृतिमा रमाई–रमाई आनन्द दिइरहेका छन् पाठकलाई । र, पन्ध्रवटा निबन्ध सङ्ग्रह प्रकाशित गरिसकेका नयाँघरे घुमेर थाक्दैनन् जस्तो लाग्छ । हिमाल, पहाड, तराई, देश विदेश, सुगम–दुर्गम, गर्मी-जाडो जहाँ र जहिले पनि यात्रारत । यात्रा रमाइलोका लागि मात्र होइन यो त ज्ञानको अजस्र स्रोत पनि हो ।

भेटेका, देखेका कुराहरूलाई पाठकसम्म पु¥याउन सिपालु निबन्धकार नयाँघरेले भर्खरै नयाँ नियात्रा सङ्ग्रह तनक्खा पाठकसामु ल्याएका छन् । दक्षिण एसियाली मुलुक बर्मा अथवा म्यानमारलाई नजिकबाट नियाल्न, छाम्न र अनुभूत गर्न पाएका निबन्धकारले त्यो अनभूति बर्माको अवस्था, त्यहाँका नेपाली, प्रचलन, जाति, भाषा, संस्कृति, इतिहास प्रेम र सम्झनालाई पुस्तकको गाला बनाएर तनक्खारुपी स्मृतिले उज्यालेका छन् । तनक्खा बर्मेलीहरूले गालामा लगाउने चन्दन जो सौन्दर्यको प्रतीक मानिने रहेछ ।

बाईस दिनको म्यानमार बसाईमा लेखकले एकदिन पनि खेर जान दिएका छैनन् । एक्काईस वटा अध्यायलाई विभाजन गरेर लेखिएको यो नियात्रा क्रमैसँग सलल बगेको छ । भारतको मणिपुर हुँदै टमु पुगेपछि सुरु भएको यो नियात्रा टमु गेट वानबाट प्रारम्भ हुन्छ । बर्मेली नेपाली अमित घिमिरेसँग भेट भएपछि गति लिएको यो यात्राले टमुमा रात बिताएर माण्डलेको यात्रा गर्छ । यात्राभरीका अनेकन सुन्दर दृश्यहरू, चैत्यहरू, पहाड, गाउँ बस्ती–बस्ती हुँदै हुइँकिरहेको यात्राले माण्डलेमा रहेका पचास हजार नेपाली, तिनको जीविका, अतित, वर्तमानको जानकारी गराउँछ । विहार नै विहार, चैत्य, गुम्बाको सुन्दरताले ढाकिएको माण्डलेको ऐतिहासिक कथा वीर नेपाली गोर्खालीको रगत, पसिना र बहादुरीले लेखिएको र त्यसको उचित सम्मानमा शीर ठाडो गरी बाँचेका आफ्नै दाजुभाइहरुलाई भेटन, देख्न र बुझ्न पाउँदा मख्ख छन् ।

ठूलाठूला गुम्बा, चैत्य र वीरताका शिलालेखसामु उभिएको आभाष पाठकलाई गराउँदै- माण्डले पश्चात बाह्रघण्टे बसयात्राको वृत्तान्तमा बाटोको वर्णन गर्छन् । त्यहाँ परेको चीनको प्रभाव, चीनले गरेको हस्तक्षेप, म्यानमाली जाति र शासक बीचको युद्ध । हरेक क्षेत्रमा चीनको दबदबा र नेपाली जनजीवनको विगत र वर्तमान । बाह्रघण्टे यात्रा सकेर यकसक, टाउँजी पुगेका लेखक त्यहाँको प्राकृतिक सौन्दर्य, इतिहास, नेपाली अवस्था र भौगोलिक, राजनैतिक अवस्थाको गम्भीर रुपले अध्ययन गर्छन् । विहार र चैत्यमा प्रार्थना गर्दै सौन्दर्यमा घोरिएर विभिन्न उतारचढावका बीचमा पनि आफ्नै गतिमा रहेको र बदलिइरहेको बर्माको वर्तमान अवस्थाको वर्णन गर्छन् । टाउँजी र मिचिना हुँदै ऐरावती पुगेका लेखक ऐरावतीमा बढी भावुक र बढी आनन्दित देखिन्छन् । बर्माको इतिहाससँग गाँसिएको ऐरावतीसँग गोर्खाको इतिहास र तिनै इतिहासका कथा-व्यथा बोकेर वर्तमान बाँचेको मान्ने लेखक ऐरावतीको किनार, वारिपारि, तलमाथि खुबै रमाएको प्रतीत हुन्छ । उनी मेखा र मलिखा नदीलाई भेट्न र हेर्न जाँदा पनि बारम्बार ऐरावतीमै ठोक्किएका छन् ।

रङ्गुनदेखि म्यानमारको पुरानो राजधानी याङ्गुन पुगेका लेखक याङ्गुनको भौगोलिक अवस्था, जातजातिको समन्वय, चैत्य, गुम्बा र त्यहाँ रहेका नेपालीको अवस्थाबारे सुक्ष्मरुपले वर्णन गर्छन् । याङ्गुनमा पाएको सत्कार, सौन्दर्य र भेटघाटले मायालु याङ्गुन भनी यौटा छुट्टै अध्याय कोर्न बाध्य भएका छन् । याङ्गुन नदीको परिचय, प्रवाह, गन्तव्यको विस्तृतीकरणमा नदीको किनारैकिनार शितल आभाष गर्छन् । प्रसिद्ध भोटठाउँ चैत्य र आङ्साङ सुकीका परिवारको थोरै इतिहास, नोवेल शान्ति पुरस्कार र रोहङ्गियाहरुका घटना सम्झाउन बिर्सँदैनन् पाठकलाई । आइ लब म्यान्मा पिएर, सुन्दरीका ताँतीमा टोलाएर रङ्गिलो याङ्गुनमा रोमान्टिक बनेका लेखक वीरताको समाधिस्थ स्मृति हेर्दा भावुक बन्छन् ।

अंग्रेजलाई जिताउन सफल नेपाली गोर्खा सेनाहरू चार हजारको संयुक्त समाधिस्थल बनाइएको ठाउँमा पुगेर पटक–पटक भावुक बनेका लेखक श्रद्धा, आदर, सम्मानले अमिलो भै सहिदका परिवार सम्झेर दुख्छन् । पटक–पटक आफ्नै नेपाली सहिदहरूका नाम पढेर बिथोलिन्छन् । बेनाम वीरता शीर्षकको अध्याय पढ्दा पाठकको मन पनि अमिलो हुन्छ ।

विश्वयुद्धले संसारलाई कहीँ न कहीँ, कतै न कतैबाट गाँजेको थियो । अंग्रेजलाई जिताउन सफल नेपाली गोर्खा सेनाहरू चार हजारको संयुक्त समाधिस्थल बनाइएको ठाउँमा पुगेर पटक–पटक भावुक बनेका लेखक श्रद्धा, आदर, सम्मानले अमिलो भै सहिदका परिवार सम्झेर दुख्छन् । पटक–पटक आफ्नै नेपाली सहिदहरूका नाम पढेर बिथोलिन्छन् । बेनाम वीरता शीर्षकको अध्याय पढ्दा पाठकको मन पनि अमिलो हुन्छ । त्यही वीरताले आज सम्मानित जीवन जीउन पाएका प्रवासी नेपालीहरू जतिपटक त्यहाँ जालान् उति पटक दःखी होलान् । वीरताले आज पनि सम्मान पाइरहेको याङ्गुनमा शहिदलाई श्रद्धाञ्जली दिँदै लेखक हामीहरूलाई रत्नहरूको बजारमा घुमाउँछन् । रत्नहरूको खानी रहेको याङ्गुन निलम, रुबी, मुगाहरूको उत्खनन, प्रशोधन र विश्वभर हुने व्यापारबारे व्यापारीलाई सोधी–सोधी जानकारी लिन्छन् । धेरै नेपालीहरू रत्नको व्यापार गरेर समृद्ध भएको जानकारी हामीलाई दिन्छन् । तर खानी हेर्ने रहर पुरा नभएकोमा खिन्न छन् ।

कलेम्यो र कले विश्वविद्यालयमा बिताएका दुई दिन रोचक छन् । नेपाली विद्यार्थी पढ्ने कले विश्वविद्यालयमा पुगेर आनन्दित भै त्यहाँका हरेक कुराबाट प्रभावित छन् । कलेम्योमा भेटिएका नेपाली, नेपालीको प्रेम, नेपाली भाषा र संस्कृतिप्रतिको संरक्षण र सम्वद्र्घनमा लागिपरेका नेपालीहरूको काम, कर्तव्य र प्रयासको चर्चा गरिएको यो अध्यायमा विद्यालय र आफ्ना नेपालीहरूलाई मनैमा बोक्दै ज्ञानका पिपासु लेखक टमु फर्किएका छन् । म्यान्मालाई आँखैले छामेर । मनभरी राखेर । हतारमा, दौडादौडमा, कहिल्यै नथाकी । संधै कौतुहलमा, सम्वादभरी, टमु गेट टुबाट विहार, चैत्य र गुम्बाको कलात्मक र धार्मिक सौन्दर्य, प्राकृतिक मुग्धता, वीरताको सम्मान र सम्मानित जीवन, नेपालीहरूका संघर्षपूर्ण अतित, संस्कार, प्रवासी भएर बसेका नेपालीहरुको मुटुमा नेपालको माया र श्रद्धा, व्यापार व्यवसायमा अग्रसर म्यान्मा र थोरैतिनो म्यान्मारको इतिहास, युद्ध र शान्तिलाई तनक्खा बनाएर मनको गालामा आँखाले दल्दै म्यानमारसँग विदा भएका छन् । बाढी होस्, विश्वयुद्ध होस्, गृहक्लेष होस्, आगलागी होस्, जातीय युद्ध होस्, गाईबेरा र व्यापार होस्, तनक्खामा तुलसीको मोठ एककुनामा मौलाएकै छ, पुजिएकै छ ।

तनक्खा नियात्रा निक्कै रोचक र बोधगम्य छ । आफ्ना अनुभूति सरल ढङ्गमा पोख्न खप्पिस नयाँघरे तनक्खामा पनि अब्बल देखिएका छन् । म्यान्मार र म्यान्मारसँग गाँसिएको २०० वर्ष पुरानो नेपाली इतिहास, नेपाली प्रवासीहरूको संघर्ष, जीविका, दुःख र वर्तमानको अवस्थालाई तुलनात्मक रुपले वर्णन गरेर पाठकलाई छर्लङ्ग पार्न सफल तनक्खामा म्यानमारको प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्था, गाउँ सहर नदी र थुम्काको वर्णन रमाइलो पाराले गरिएको छ । यो नियात्रा जिज्ञासा, रोचक, भावपूर्ण, तार्किकता विषयवस्तुको प्रस्तुतिले जीवन्त छ । सरल भाषामा उखान टुक्का जोडेर अझै रसिलो पार्न खप्पिस नयाँघरकोे शैलीमा रमणीयता, अभिव्यक्तिमा गहनता, वस्तुमा कौतुहलता, शब्द संयोजनमा विशिष्टता रहनु नै उनको लेखन शैलीको वैशिष्ट्य हो । आफूले देखेका, भोगेका र अनुभूत गरेका कुराहरू यथार्थपरक तथा सरल रुपमा पाठकसमक्ष प्रस्तुत गर्नु उनको नियात्राको सफलता हो ।

उनले यो नियात्राभरी गरेका अनुभवलाई कलात्मक तरिकाले अभिव्यक्त गरेका छन् । शिल्प र कलाको समन्वय नभइकन साहित्य अरु विधाबाट छुट्टिँदैन । उनका निबन्ध शिल्प, कला र विषयको समन्वयमा बाँधिएका छन् । वास्तविक जीवन र यात्रा साक्षात्कारका अनुभूतिलाई कलात्मक, शिल्पगत बोधगम्य बनाउनु नयाँघरेको आफ्नो मौलिक पहिचान र विशेषता हो ।


मान्छे स्वभावले नै प्राकृतिक र सौन्दर्यको प्रेमी हो । प्रकृति र सौन्दर्य संसारमा छरिएर रहेको धर्तीको उपहार हो । चाहे त्यो देश, समाज, सम्पदा, संस्कृति बनेर छरिएको होस् । लेखक, कलाकार जहाँ जान्छन् यसले केही न केही ग्रहण गर्छ । त्यही ग्रहण गरेको प्रेम सौन्दर्य, भाषा, सद्भाव आदिलाई शुद्ध मनोभावले व्यक्त गर्दा साहित्य बन्छ । नियात्रा साहित्यको उद्देश्य लेखकले गरेको रमणीय अनुभवलाई कलात्मक तरिकाले पाठकसम्म पे्रषित गर्नु नै हो । जसका माध्यमबाट पाठकले त्यो अनुभव आत्मसात् गर्न सकोस् । यस अर्थमा नयाँघरेका निबन्ध पाठकलाई बर्मा आफैँ घुमेको आभाष गराउन बाध्य पार्छन् । कति पटक पाठकलाई म्यानमारमै छु कि भन्ने प्रतीत हुन्छ । पाठकलाई आत्मानुभाव गराउनसक्ने नयाँघरेको नियात्रा लेखनको सफलता र अर्को वैशिष्ट्य हो ।

म्यानमारमा रहेका प्रवासी नेपाली आफ्नो जीवनलाई परिश्रमको बाटो हिँडाउँदै–हिँडाउँदै, पसिना र रगत बगाउँदै नेपाललाई मुटुभरी राखेर बाँचिरहेका छन् । नेपाल भन्यो कि यसै-यसै खुसी भएर मुस्काएका छन् । तनक्खा नियात्रा म्यान्मार र म्यानमारमा रहेका नेपालीहरूको वर्तमान विगत बुझ्ने र ठम्याउने कोसेढुङ्गा हुनेछ भन्ने कुरामा दुई मत छैन । म्यानमारको समाज र संस्कृतिलाई बुझ्ने दस्तावेजका रुपमा रहेको यो नियात्रा सङ्ग्रहणीय रहेको छ, पठनीय छ ।

अन्त्यमा, नियात्राको नाम तनक्खा राखिसकेपछि निबन्धकारले तनक्खाको बारेमा पाठकलाई जानकारी दिन लोभ गरेको आभाष हुन्छ । फाट्टफुट्ट तनक्खा लगाएको कुराले मात्र शिर्षक सार्थकीकरण भएको मान्न सकिन्न । यौटा अध्यायमा तनक्खाको, प्रकार, महत्व, सांस्कृतिक पक्ष, उपयोगिता, निर्माण पक्षको जानकारी दिन निबन्धकार तनक्खाप्रति आकर्षित हुँदाहुदै पनि छुटे भन्ने कुरा मनमा खट्किरहयो । यति राम्रो पुस्तक दिएर नेपाली साहित्यबाट धन्य भएका नियात्राकारलाई शुभकामना दिँदै आउँदा दिनमा पनि निबन्धकार नयाँघरेका कलमबाट नयाँ र रोचक ठाउँ घुम्न पाउने आशा गर्दछु ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका