प्रतिबन्धित नेकपका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई काठमाडौंको काँडाघारीबाट प्रहरीको विशेष टोलीले मध्यरातमा पक्राउ गरेको हो ।

राति १२ बजेको समयमा लामासँगै अर्का नेता रेशम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा काभ्रे पुगेका थिए । तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन् । पक्राउ पछि उनलाई टेकु पुर्यााइएको छ ।

लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतिक संघका अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।

लामालाई प्रहरीले काठमाडौंमा भएका विभिन्न बम काण्डका योजनाकार रहेको आरोप लगाउँदै आएको छ । गत फागुन १० गते ललितपुरको नख्खुमा भएको विष्फोट, काठमाडौं अनामनगरको घट्टेकुलोको विष्फोट, सुकेधाराको विष्फोटमा ५ जनाले ज्यान गुमाएका छन् ।

विप्लव समूहले विध्वांसक गतिविधि मच्चाएको आरोप लगाउँदै सरकारले विप्लवका गतिविधमा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ ।

फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५ सयभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

को हुन माइला लामा ?

काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष पनि हुन् । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।

२०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि धेरै गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

माओवादी जनयुद्धको क्रममा हातका केही औंलामा क्षति पुगेका लामाका सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ ।
उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् ।

तपाईको प्रतिक्रिया