हराएको पासवर्ड

378 Shares
मुम्बई

वसन्त भिडियो पार्लरको मालिक केटो दुर्घटनामा परेर मरेको लगभग एक महिनापछि पनि दोकानमा ताल्चा नै मारिएको छ। गरिबी रेखादेखि मुनिको परिवारको मुखिया वसन्तको इहलीला सकिएपछि हातमुख गाँस्न पनि धौधौ पर्नथाल्यो उर्मिलाकी छोरी उदीप्तिलाई।

उर्मिला वसन्तकी स्वास्नी थिई। एघारौँ पढ़्दा-पढ़्दै एकदिन विद्यालयभित्रै बेथाले छट्पटिई। अस्पताल पुऱ्याउनसाथ एउटी छोरी जन्माई। कसकी छोरी हो कुन्नि तर वसन्तले जिम्मा लियो समाजको अघि अनि नधकाई भन्यो, ‘हनरेट पर्सन नभए पनि ट्वेन्टी पर्सन त मेरै हो। अरूभन्दा म दुइ पाइलाअगाड़ि नै छु। जिम्मा लिन्छु।’

कुरा मिल्नमा ४५ मिनट पनि लागेन किनभने पन्चेत गर्नुपरेन। माइला बाजे बाठे भएर अघि सरेथे, सजिलै छिनाफाना भयो। बाजेको पनि कालो करतुत सबै जान्दथे। फेरि परिबन्द पनि मिलेको थियो। वसन्तलाई स्वास्नी नभई नहुने, उर्मिलालाई शरीरमा उम्रिरहेको जीवको स्वामी चाहिने। दुवैतिर अभाव – एकतिर समाधान। दुवैजनाका साखा-सन्तान धेर नभएका अनि भएकाहरू पनि सबै एकै ड्याङका। वसन्तका एकमात्र अभिभावक साइँला मामा ढलाइ मास्टर। उर्मिलाकी टाढ़ाकी छ्यामा कैयाँको दोकानमा भाँड़ा मस्काउने र नजिककी फुपू कहिलेकाहिँ मात्र गाउँमा देखिइने, त्यो पनि कि त अर्द्धनग्न कि चाहिँ लर्बराउँदै हिँड्ने अवस्थामा।

वसन्त र उर्मिलाको बिहे पनि गरिदिए गाउँलेहरूले नै – जम्मा नौ सय रुपियाँ बाँकी लाग्यो बेहुलालाई। छोरीको नौरान र बिहेभोज एकै दिन मनाए। बाहुन पनि चाहिएन, जन्ती पनि परेन। वसन्तका दुइजना साथीहरू नन्दे र पुरन रातभरि नाचे। माइला बाजे पनि उर्मिलाकी फुपूसँगसँगै दाँज्जिएर उफ्रे। साइँला मामा ढिलो भएर कर्नीसँगै पसे बिहेघरभित्र अनि छोरीको नाम राखिदिए ‘लु, एसको नाम दीप्ति’ भनेर। वसन्तले विरोध गऱ्यो, ‘पर्दैन तेस्तो नाम। म अर्को राख्छु खै। म सबैभन्दा दुइ पाइलाअगाड़ि हुन्छु सधैँ भनेर थाहा छैन तिमेरूलाई…?’

साइँला मामाले कड़ा आपत्तीसहित लाजमर्दो पारिदिए वसन्तलाई, ‘साला गधा, दसोटा धाराको जुठो पानी खाने भँड़ुवी जिम्मा लिइस्…। साला नाम राख्न तम्सिन्छस्…। नाम त आफ्नोले पो राख्छ त…। तँ त कान्छा बाउ होस्…। मेरै नाम ठिक छ…. दीप्ति..।’

भत्तेर सिद्धियो। नौरान सकियो। सुत्केरी तँग्रिन थाली।

पाँच वर्ष मिलिक्कै बित्यो। वसन्त अब टिभी क्याबलको कामबाट वाक्कैदिक्कै भएको थियो र दोबाटाको किनारमा वार्ड पार्षद्लाई भनेर आठ बाई चारको सानु फुटपाथ ओगटी सिडी पार्लर चलाउने भएथ्यो – ‘वसन्त भिडियो पार्लर’।

आज – बिहेको १५ सालपछि। स्कुटी दुर्घटनामा परेर उसको मृत्यु भएको एक महिना बित्दैछ। 15 वर्षीया छोरी नितान्त टुहुरी नै भई। वसन्त मरेको पन्ध्र दिनमा छोरीलाई छोड़ेर उर्मिला नन्देसित भागी घरका सामान-तुमल भिरेर।

छोरीको नाम उदीप्ति भएको छ।

‘साला गधा मामा … तेस्की माका ….। अर्काकी छोरीको नाम राख्छ…। खुप बाउ नै जस्तो भएर…। माका.. साला…। पर्दैन यसको नाम दीप्ति होइन…. म अरूभन्दा दुइ कदम छिटो छु…. यसको नाम उदीप्ति…।’

यसरी तत्काल संशोधन गरेर अर्को नाम दिएथ्यो वसन्तले त्यसै दिन बिहेको भोजमा रक्सी मात्रै सोँड्क्याएर मामा फर्केपछि…।

अनि दुवैले मिलेर उदीप्तिलाई हुर्काए, पोलियो खुवाए, सुई हनाए। क्याबल अपरेटर वसन्तलाई तर महिनाको आठ सयले पोसाएन। उर्मिलाले पनि नोकियाको मोबाइल खेलाउने मन गरी। पढ़ेकी केटी हो एघारसम्म भए पनि। घरमा एउटै मात्र सेल छ वसन्तको। कहिलेकाहिँ लाइनको काममा पारि गाउँतिर पुग्नुपर्छ। उतै बास हुन्छ। उर्मिलालाई ‘आउँदिनँ’ भन्नलाई कुमुद भैयाको दोकानमा फोन गर्नुपर्छ। कुमुदले छप्परबाट कराएर ‘ओई उर्मिला, तेरो खबर छ आइज’ भनेर घरैमा बोलाएर समाचार दिन्थ्यो। छप्परबाटै उसले ‘आज वसन्त आउँदैन अरे’ कहिल्यै भनेन गाउँघरले सुन्ने गरी।

एकदिन उर्मिला वसन्त नभएको बेला अबेर राति कुमुदको धराप खोलेर निस्किएको नन्देले देखेपछि कति ठुलो भद्रगोल भएथ्यो। नन्देले आँखा लगाएर कुमुदबाट ‘जारीकल’ भन्दै १६ सौ बुक्यायो र त्यसैबाट उर्मिलालाई सेकेन्ड ह्यान्डको मोबाइल किनिदियो। वसन्तले थाहै पाएन।

यसरी चल्दै गयो। वसन्त क्याबलको लाइनमेनबाट पार्लरको मालिक भयो। जीवन स्तर पनि बढ्यो। उदीप्तिलाई गाउँकै मोन्टेसरीमा हाले, उर्मिला जिन्स लगाउने भई, वसन्त स्कुटीमा कुद्ने भयो।

दिनदिनै वसन्तको धन्दा राम्रो चल्न थाल्यो। बिहे गर्दाको रिन नौ सय पनि नन्देहरूलाई तिऱ्यो। नन्देले त ‘पर्दैन, घरकै कुरा हो’ भन्दैथ्यो। छोरी पनि पढ्नमा अब्बल निस्की। आठौँमा पुग्दा उसले स्कुलबाट पारितोषिक पाई एउटा ल्यापटप। फटाफट सिकी। हिउँदे छुट्टीमा त ऊ बेसिक र हार्डवेयर सिक्नथाली सामाजिक संस्थाको निशुल्क तालिम केन्द्रमा। वसन्तको दोकानको कम्प्युटरमा भाइरस पस्यो भने त क्याबिनेट खोलेर हेर्ने, ऱ्याम सफा गर्ने, साउन्ड कार्ड फेर्ने काम पनि सक्ने भई।

दिनभरि वसन्त पार्लरमा सिडी क्यासेट बिक्री गर्थ्यो वा किराइमा दिन्थ्यो। गीतहरू डाउनलोड गरिदिन्थ्यो ग्राहकहरूको। उसका मुख्य-मुख्य ग्राहकहरूको सूची बनाएथ्यो एउटा सानु खातामा। हिसाब त्यसैमा लेख्थ्यो। उठ्नुपर्ने बाँकी थुप्रो थियो अचानक उ खस्दा।

आज वसन्त छैन। उर्मिला कता छे पत्तो छैन। उदीप्तिले थानामा सूचनासम्म दिई आमा हराएको। थानालाई पनि थाहा छ नन्देसित भागेकी।

एक महिनापछि वसन्त पार्लरको धराप खोलियो ग..ड़…ड़…. गरेर। छेउछाउका दोकानेहरू छक्कै परे।

‘तिमी त वसन्तकी छोरी होइन?’
‘स्कुल पढ्दैछौ है?’
‘आमा पनि कोसित भागी भन्छ हो?’
‘अब बाउको धन्दा आफै चलाउने?’
‘सारो छ है यो बेपार। सपलाई हातमा राखेर काम गर्नुपर्छ।’
पहिलो दिन ग्राहक आएन। वसन्तले तान्ने बाकसमा छोड़िराखेको आठ सय तीस रुपियाँ उदीप्तिले गन्ती गरी। घरतिर लाग्दा सौदापात पनि लिएर गई।

सोमबारदेखि स्कुल खोलिने। दोकान पनि खोल्नुपर्ने। उदीप्तिको दोमन भयो। के गर्ने, कसो गर्ने? स्कुल जाँदा खान नपाइने, दोकान खोल्दा दुइचार पैसाको मेसो हुने दोधारमा उसले पेटलाई नै चुनी।

फुटपाथमाथिको दोकान पुगेर दुइवटा सिन्के धुप बाली भजनको सिडी बजाई, ‘तेरे मन में बसे है राम…’। बिस्तारै अरू दोकानपाट पनि खोलिए।

‘साबले भनेको यो सिडी दिनू अरे’ भनेर एकजना उर्दी लगाएको होमगार्डले उदीप्तिलाई एउटा पर्ची थमाउँदा ऊ तरङ्गै तर्सी। पर्ची खोलेर ‘मिडनाइट प्लेजर’ पढ़ी।

‘अङ्कल, बाबाले कताकता राख्नुभएको छ। मलाई ऐले सप्पै था भैसकेको छैन। एकछिन आउनुहोस् न हेर्दिराख्छु’ उसले भन्दा ‘अब्बुई बुढ़ोले मार्छ खाली हात गयो भने…। खै तिम्रो बाउ?’ भनेर सोध्यो सिपाहीले।

सबैले थाहा पाइसकेका छैन रहेछन् कि कसो वसन्तको घटना। उदीप्तिले आँखाभरि आँसु छचल्काउँदै बताई र सिपाही एक घन्टापछि आई लिएर जाने भयो।

उसले पहिला वसन्तको कम्प्युटर खोल्ने कोसिस गरी। बत्ती थिएन र सिडीहरू मिलाएर सजाउने काम गर्दै ‘मिडनाइट प्लेजर’ पनि खोज्न थालेकी उदीप्तिले वसन्तले हिफाजतसित राखेको एउटा पुरानो रजिस्टर भेट्टाई जसमा नियमित ग्राहकहरूको छोटकरी नाम र उठ्नुपर्ने बाँकी हिसाब लेखिएको रहेछ। त्यो सूचीमा उठ्नुपर्ने पैसा एकजना पीके भन्ने अङ्कलको नाममा धेर रहेछ। उसको फोन नम्बर पनि भेट्टाई। फोनमा बात गरी उसले बाँकी मागी। वसन्तको सिमबाट फोन आउँदा तर्सिएका पीके अङ्कललाई उदीप्तिले सजिलै आश्वस्त पारी र पैसा पाउने पनि भई।

गल्ली-गल्छेँड़ामै हुर्किए पनि, बजारको हावाले भेट्टाएको भए पनि उदीप्ति बोलीचालीमा दक्ष थिई। शीलस्वभावकी केटी थिई। बाध्यताले पढ़ाइबाट धन्दामा डोऱ्याएको कारण उसले भरपुर कोसिस गर्नथाली ग्राहकहरूलाई रिझाउन, पुरानो बाँकी उठाउन।

यसरी दुइचार दिन दोकान खोलेपछि अब पुराना ग्राहकहरूले थाहा पाउन थालेछन् र वसन्त पार्लरमा बिस्तारै-बिस्तारै बितेको रौनक फर्कन थाल्यो। तर एउटा समस्याले भने उदीप्तिलाई सताउन थालेको थियो। वसन्तको कम्प्युटर खोल्न उसलाई निक्कै गारो पऱ्यो किनभने त्यो मिसिन चल्नसाथ to proceed further you need password भन्ने डायलग बक्स आउँथ्यो। उसले पहिलो दिन ‘basant’ लेख्दा ‘password not matched’ भन्यो। फेरि ‘urmila’ हिर्काउँदा त्यही दोहोरियो। अझै एकपल्ट ‘udipti’ हान्दा त ‘computer is locked for 24 hours for want of correct password’ भन्यो।

उदीप्तिले आफ्नो व्यक्तिगत ल्यापटप घरबाट ल्याएर पनि दोकानमा चलाउन त थाली तर स्कुले केटाकेटीहरू अडियो र भिडियो अनि गीतका ट्र्याकहरू डाउनलोड गर्न आउँथे। गीतहरू भने सबै सायद पुरानै कम्प्युटरमा थाक लागेको थियो जो वसन्तले चलाउँथ्यो। ग्राहकहरू पनि पुरानै सिडी खोज्ने धेर आउन थाले। ‘साबले पठाको’, ‘सरले भनेको’, ‘म्याडमलाई चाहियो अरे’ भन्दै जुन सिडीको नाम लिन्थे त्यो सिडी पार्लरमा छ कि, कसैले किराइमा पो लगेको छ त्यसको जानकारी कम्प्युटरमै हुनुपर्ने। फेरि भएन ग्राहकहरूबाट पाउनुपर्ने हिसाप-किताबको विवरण त अवश्यै कम्प्युटरमै हुन्छ भन्ने उसलाई लाग्यो। तर उदीप्तिलाई पासवर्डबिनाको कम्प्युटरले दिनदिनै सताउन थाल्यो।

एकतिर बिस्तारै-बिस्तारै उसको दोकानमा आउन थालेका ग्राहकहरू मुन्टो बटारेर पल्लोपट्टिको ‘डेभिल भिडियो’ -तिर फर्किन थालेका थिए भने अर्कोतिर दोकान चलाएको हप्ता दस दिनभित्र नभनेको पनि सत्ताइस सौ रुपियाँ उदीप्तिको हातमा आएथ्यो।

खाना खाएर कोठामा एक्लै सुत्दा ऊ रातभरि पासवर्डकै धुनमा हुन्थी। मान्छेले पासवर्डको आधार के-केलाई बनाउँछ त्यो सब उसले अज्माइसकेकी थिई। प्रेमिकाको नाम, पत्नीको नाम, छोरीको नाम, गाउँघरको ठेगाना, जन्मदिनको तारिख यस्ता सबै कोसिस नाकाम भएको थियो।

बिहान उठेर, घरबाट छिट्टै दोकान पुगेर कम्प्युटर खोल्थी तर पासवर्ड नमिल्दा 24 घन्टाको लागि उसको बेपार ठप्पप्रायः नै बन्थ्यो। अब त ग्राहकहरू आएर ‘पासवर्ड मिल्यो?’ भन्ने प्रश्न गरेर फर्किने भएका थिए।

एकपल्ट उदीप्तिले त्यो पुरानो रजिस्टर पल्टाई ध्यान दिएर हेरी वसन्तको हातले लेखेको किरिङमिरिङ अक्षरहरू। त्यहाँ उसले एउटा पातामा धेरै चाहिँदा र कामलाग्दा सूचनाहरू पाई। जस्तै – सबैभन्दा धेर उठ्नुपर्ने बाँकी आर्मी अफसरको नाम, पाँचवटा सिडी लाने हेडमास्टरको नाम, मेडम एस-को नाममा चारसौ पच्चीस र तीनवटा जापानी पिक्चर रहेछ। यस्तै स्कुले केटाकेटीको नाम, कलेजका जवानहरूका फोन नम्बरहरू देख्दादेख्दै उसको नजर पऱ्यो रजिस्टरको एक कुनामा जहाँ लेखिएको थियो – computor pasword = udipti

‘वसन्त पार्लर हो?’ फोन बज्यो उदीप्तिको।
‘हो’ भनी।
‘म इंस्पेक्टर सुशान्त बोलेको, नानी।’
‘गुड इभनिङ सर।’
‘गुड इभनिङ नानी। अँ, साबले एउटा सिडी भन्नुभएको थियो अरे नि निकै दिनअघि। मान्छे पनि पठाउनुभएको थियो अरे। आज चै जसरी भए पनि चाहिन्छ अरे हौ। म मान्छे पठाउँदैछु ल….?’
‘अङ्कल कुन सिडी?’
‘त्यो अस्तिदेखि खोज्दैछ नि हौ… साबले कत्तिपल्ट मान्छे पठाइसक्यो अरे नि फिल्मको नाम पनि लिएर…।’
‘अङ्कल त्यो सिडी त…’
‘रेड्डी राख्नू ल…। मान्छे आउँदैछ..। साबको हुकुम हो..। ऐले मेमसाब पनि आको छ… पर्सितिर फर्किने होला। फिल्म हेर्न पाएनन् भने त सारो पर्छ नि हाम्लाई.. ’ भनेर फोन बन्द गरेको आवाज आयो।

नभन्दै खाकीको उर्दीमा कंस्टेबल टुप्लुक्कै दैलामा उभियो।

‘अङ्कल, त्यो तपाईँको साबले खोजेको सिडी त कति खोज्दा पनि पाइनँ हौ। बाबाले सिडीहरू कसकसकोमा कुनकुन गएको छ, हिसाप-किताप कति-कति बाँकी छ सब कम्प्युटरमा लेख्नुभाको छ होला तर कम्प्टुयरको पासवर्ड हराएर खोलिएकै छैन अङ्कल। प्लिज ट्राई टु अन्डरस्ट्यान्ड।’

कंस्टेबलले पनि आफ्नो समस्या सुनायो। आज सिडी नपुगे उसको सरुवासम्म हुनसक्ने भन्यो। कुरा नमिल्दा कंस्टेबलले फेरि अर्का साबलाई फोन गरेर सबै परिस्थिति बतायो। अर्का साब रिसले आगो भएर उदीप्तिलाई तथानाम बक्नथाले, ‘आजु एक दिन साबलाई ढाँटिदिन्छु दोकान बन्द रैछ भनेर, भोलि बिहान मेरो टेबलमा ११ बजी त्यो सिडी आइपुगेन भने तेरो म जानेको छु। तँलाई म अश्लील फिल्मको सन्जाल फैलाएको केसमा डुबाइदिन्छु बुझिस्?’

उदीप्तिलाई घर फर्केपछि दुइवटा कारणले सतायो। वसन्तले त अश्लील सिडी बेचेर घर चलाएको रहेछ भन्ने जब उसले बुझी अनि इंस्पेक्टरको धम्की भोलि पुरा नभए के हुने हो भन्ने त्रास। एउटी केटीमाथि ग्राहकहरूले यसरी सताउने गरेको घटनाबाट उसले थाहा पाई वसन्तले त झन् कत्ति र केके सहनुपर्थ्यो होला भन्ने। वसन्तको कुरा त बितेर गयो-गयो, उसलाई त भोलि त्यो साबलाई के जवाब दिने भन्ने भविष्यले नै मनै कस्तो-कस्तो बनाइदियो। भागेर कतै जाने कि भन्ने पनि सोची। कसैलाई मद्दत माग्न पनि सकिन उसले किनभने यस्तो कुरा कसरी सबैलाई भन्ने भन्ने सोच उम्र्यो।

यतिकै तनाउबिच उसले खाना पनि खाइन। ऊ एकदमै डराउन थाली। भोलि त्यो सिडी पुगेन भने अश्लील फिल्मको मुद्दामा साँच्ची नै जाक्किने तय भयो। अघि अफिसरले धम्की दिँदा हावाको दग्दी भन्दैथिई मनमा, तर जतिजति समय सकिन लाग्यो उसलाई त्यो धम्की त अदालतको आदेश लाग्न थाल्यो। रातभरि उसले घरका कागतपत्र खोतल्न थाली। वसन्तको डायरी, नोटबुक, रजिस्टर सब पल्टाई। रातभरिमा पासवर्ड पत्तो लाग्यो भने त सिडीको ठेगाना निस्किहाल्ने हो। सिडी मात्रै होइन, बाँकीहरू पनि उठ्ने। त्यसपछि यो धन्दा सधैँको लागि बन्द गरेर, दोकान पनि सलामीमा दिएर त्यो पैसाले आफ्नो पढ़ाइ पुरा गर्ने उसले सोच बनाई। तर अहिले त सबैभन्दा ठुलो समस्या छ भोलिको बिहानी जो ठुलो आपत लिएर उसको नजिक आइरहेथ्यो। त्यसको समाधान केही छैन सिवाय त्यो हराएको पासवर्ड।

यस्तै सोचेर निदाउन खोज्ने उदीप्तिको आँखाको क्यानभासमा pasword, udipti, cd, xxx, ss, captan, head sir, police uncal, student, boy, girls, medam officer, midnite plazure इत्यादि लिपिहरू नाचिरहे… नाचिरहेका थिए। निदाउन खोज्ने सङ्घर्षमाझ उसले एकपल्ट वसन्तलाई याद गरी। एकप्रकारले झन्नै घृणा गर्न थालेकी वसन्तप्रति माया जागेर आयो। उसले आफ्नै परिवारको लागि त त्यति ठुलो जोखिम उठायो। उदीप्तिलाई पनि थाहा भइसकेको थियो वसन्त उसैको बाबु थिएन। वसन्त चाहन्थ्यो त्यो गल्लीभरिमा उसकी छोरी सबैभन्दा पहिलो म्याट्रिक पास बनोस्, काम पाओस्। वसन्त के देखाउन चाहन्थ्यो गाउँ-समाज सबैलाई भने उ सबैभन्दा दुइ पाइलाअघि छ अनि उ भनिरहन्थ्यो, ‘म सबैभन्दा दुइ कदमअघि छु बुझ्यौ तिमेरूले?’

यति गम्दागम्दै उदीप्ति अचानक जुरुक्क उठेर खान बसी। वसन्तको दुइ पाइलाअघिको कुँजी सायद उसले बुझिसकेकी थिई। थान्कोमुन्को गरेर आरामले सुती, निद्रा पनि लाग्यो।

अर्को दिन बिहान सधैँभन्दा दुइ घन्टाअघि उठेर ऊ कालीमन्दिर गई अनि पुजा गरेर सरासरी दोकानको धराप खोल्न पुगी। कम्प्युटरको स्विच खोलेर insert password -को प्रतीक्षा गरेको पल उसलाई युगौँ बितेजस्तो लाग्यो। किबोर्डको एएसडीएफजी र सेमिकोलोन एलकेजेएचमा रुँगेर बसेका औँलाहरूले बिस्तारै टाइप गरेका छवटा ताराहरूभित्र गुप्तअक्षरहरू लुकेका थिए wfkrvk.

त्यसपछि सबै समस्याको समाधान भयो जब उसले कम्प्युटरको पर्दामा उठ्नुपर्ने बाँकीको हिसाब देखी, भलाद्मीहरूको नाम-नम्बर-ठेगाना देखी अनि आफ्नो सुन्दर भविष्य देखी …..

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका