जनता समाजवादी पार्टी नै किन ?

काठमाडौं

नेपालको राजनीतिक इतिहासमा थुप्रै पार्टीहरू स्थापना भए र विभिन्न कालखण्डहरूमा विशिष्ट कार्यहरू गरेर आफ्नो कार्यभार पूरा गर्दैरहे । चाहे वि.सं. २००७ साल पछिको प्रजापरिषद् पार्टी होस या २०६२।६३ पछिका तमलोपा, मधेसी जनअधिकार फोरम, राजपा नै किन नहोस ? यी पार्टीहरूले नेपालको परिवर्तनमा सदैव अब्बल सावित गरेका छन् । नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक शक्तिहरूबीच समयसमयमा ध्रुविकरण हुने गरेका छन । यसैको पछिल्लो कडीको रूपमा पहिचान र अधिकारसहितको सङ्घीयताको लागि संङ्घर्षरत र समान विचार राख्ने दुई पार्टी राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीच २०२० अप्रिल २२ का दिन ऐतिहासिक एकीकरण भई जनता समाजबादी पार्टी नेपाल गठन भएको छ ।

आजको लेखमा म तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टी कसरी र किन बन्यो ? नेपाली जनताले यो पार्टीलाई किन रोज्ने ? यो पार्टी ले नेपाली जनतालाई के दिन्छ ? नेपाली राजनीतिक क्षितिजमा लामो इतिहास भएको मुलधारको पार्टीहरू नेपाली काँग्रेस र नेकपा जस्तो ठूलो पार्टीहरू हुँदाहुँदै अर्को नयाँ पार्टीको जरुरत किन पर्यो ? काँग्रेस र नेकपा भन्दा कुन अर्थमा भिन्न छ जनता समाजवादी पार्टी भन्ने यावत जिज्ञासाहरूको जनताले बुझ्ने भाषामा उत्तर केलाउने जमर्को गर्नेछु ।

नेपालमा सन् १९३०, १९५०, १९९० हुँदै विभिन्न सिलसिलेवार आन्दोलन गर्दै जहाँनिया राणाशासन, बहुदलीय व्यवस्था, निर्दलीय पञ्चायती व्यवस्था, पूनः बहुदलीय व्यवस्थाको वहाली, सक्रिय निरङ्कुश राजतन्त्र हुँदै अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा थुप्रै प्रकारको आन्दोलनहरू भए । थुप्रै राजनीतिक दलहरूलाई नेपाली जनताले साथ दिए । पटकपटक सङ्घर्षपछि नेपालीको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भयो । यो परिवर्तनको पछाडि नेपाली काँग्रेस, तत्कालीन वाममोर्चा, नेकपाको विभिन्न घटकहरू, सद्भावना पार्टी, राप्रपा, एमाले, माओवादी, तत्कालीन सातदल, दशवर्षे जनयुद्ध र त्यसपछि भएको मधेस जनविद्रोहको परिणाम स्वरूप २४० बर्षको राजतन्त्रको इतिहास समाप्त भयो । नेपालमा संविधानसभाको निर्वाचन भई सङ्घीय लोकतान्त्रीक गणतन्त्रको स्थापना समेत भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो परिवर्तनमा आदिवासी, जनजाति, शिल्पी दलित, महिला, मुस्लिम, थारू, राई, लिम्बू, नेवार, मगर, खस, पिछडावर्ग, सबैले गरेको संघर्षको परिणाम स्वरूप व्यवस्था परिवर्तन भएको हो ।

नेपालको कथित मूलधार भनिएका नेपाली काँग्रेस, नेकपा, राप्रपा लगायतका दलहरूले परिवर्तन गर्न त धेरथोर योगदान दिए तर नेपाली जनताको अवस्था परिवर्तन गर्न सक्ने हुत्ति देखाएनन् । यी शक्तिहरू यथास्थितिवादी शक्तिमा रूपान्तर भए । नेपाली जनतालाई सपना त बाँडे तर त्यसलाई कार्यन्वयन गरेर जनताको आर्थिक अवस्था मजबुत बनाउन सकेनन् । राज्यको सङ्घीय पुनःसंरचना, शासकीय स्वरूप लगायत कतिपय बिषयहरू आज पनि अपूर्ण नै छन् । यी दलहरूले नेपाली जनतालाई सदैव सत्ताको भ¥याङ जस्तो मात्रै बनाए । नेपाली काँग्रेस र नेकपा पटकपटक सत्ता र शक्तिमा पुगे तर जनताको जीवनस्तर झन झन खस्किदै गयो । यी दलहरूसँग न त जनताप्रति जवाफदेहिता रह्यो न त बिकासको योजना या जनताको आर्थिक अवस्था परिवर्तन गर्न सक्ने क्षमता नै ! सधै आन्तरिक लोकतन्त्रको नाममा पार्टीभित्र गुटबन्दी गरियो । पार्टीको निर्देशक सिद्धान्त, घोषणापत्र, बिधान भन्दा पनि नेता केन्द्रीत गुट उपगुट निर्माण भए । आफ्नो गुटको रक्षाको लागि जे पनि गर्ने प्रवृत्ति हावी भयो । जसले गर्दा भष्ट्राचार, घुषखोरी, कमिसनखोर, कालोवजारी, ठेकेदारी प्रथा, नीजिकरणको नाममा सबै उद्योगधन्दा कलकारखाना, कौडीको भाउमा बिक्री गरे । सत्ता र शक्ति हासिल गर्न जस्तोसुकै प्रकारको मोलाहिजा गर्ने प्रवृत्तिको कारण नेपाली जनताले परिवर्तनको प्रत्याभूति गर्न पाएनन् ।


नेपाली काँग्रेस, नेकपा लगायतको दलहरूसँग न त नेपाली समाजको वहुलता र विभेदबाट मुक्ति सम्वन्धी दृष्टिकोण छ ? न त आर्थिक र सामाजिक न्याय सहितको भावी दिशा नै ? यी दलहरूले अब नेपालमा समाजवादी अर्थ राजनीतिक दिशानिर्देश गरेर नेपाली जनतालाई सम्बृृद्घ देश र सुखी जनता बनाउन नसक्ने भएको पक्कै हो । यी पार्टीहरू भन्दा भिन्न मिसन र भिजन बोकेको पार्टी हो, जनता समाजवादी पार्टी । जातीय वर्चश्व हुने नश्लवादी चरित्रलाई अविष्कार गर्दै राजनीतिक, आर्थिक, जातीय, भाषिक, सांस्कृतिक, शोषण र उत्पीडनमा पारिएका समुदायहरूको जीवनस्तर उकास्दै लैजानेछ । नागरिक सर्वोच्चता, विधिको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्याय प्रणाली, समानता, पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको लागि तराई र मधेस, पहाड र हिमालको जनतालाई संगठित गर्दै जनअधिकारसँगै आर्थिक रूपान्तर गर्न यो पार्टी स्थापना गरिएको हो । यो बैकल्पिक शक्ति हो । अग्रगामी शक्ति हो ।

जसपामा विभिन्न भिजिनरी नेताहरू छन् । सरलता, न्याय र तराई र मधेस, हिमाल तथा पहाड जोड्न सक्ने कडिको रूपमा स्थापित महन्त ठाकुर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मधेस आन्दोलनको चिराग उपेन्द्र यादव, चट्टानी अडान भएको नेता राजेन्द्र महतो, जनजातिको सर्वोच्च नेता अशोक राई रहेका छन् । यसैगरी बिभिन्न कालखण्डमा स्थापित भएका नेताहरू महेन्द्र राय, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा, राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, हिसिला यामी, चन्दा चौधरी जस्ता दर्जनौं नेताहरूले जनताको पार्टी बनेको छ र यो नै आर्थिक क्रान्ति गरेर चमत्कारिक बिकास गर्दै जनताको अनुहारमा खुसिको रंग भर्ने बैकल्पिक पार्टी बन्नेछ ।

जसपाले जनताको आर्थिक अवस्था परिवर्तन गर्ने एजेन्डा प्रमुख रूपमा उठाएको छ । गरिबी, कुपोषण, अस्वस्थकर जीवन, अभाव, शिक्षा, स्वास्थ्य, रोजगार, आधुनिक कृषि, जमिन, जंगल, जल, आवास, सुरक्षा जस्ता जनतासँग सम्वन्धित आधारभूत अधिकार स्थापित गर्दै पितृसत्तात्मक शोषण, लैङ्गिक हिंसा र समग्र बिभेदको अन्त्य गराउन जसपा तल्लीन रहनेछ । त्यसकारण समग्र नेपाली जनताको पार्टी नै जनता समाजवादी पार्टी हो । अस्तु !

(लेखक जनता समाजवादी पार्टीको केन्द्रीय नेता र भाषाशास्त्री, समाजशास्त्री र मानवशास्त्री हुन् ।)

तपाईको प्रतिक्रिया