अपराध नियन्त्रणमा सहयोग पुर्याउनेलाई सम्मान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
नुवाकोट

वन पैदावरको संरक्षण र वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा उल्लेख्य योगदान पुर्याउने सामुदायिक वन र संस्थालाई डिभिजन वन कार्यालय नुवाकोटले बुधबार सम्मान गरेको छ ।

जिल्लामा वन्यजन्तुको बास संरक्षणमा योगदान पुर्याएको तथा अपराध नियन्त्रणमा सहयोग पुर्याउने उत्कृष्ट बेलकोटगढी नगरपालिका–५ को थलखर्क सामुदायिक वन पहिलो, विदुर नगरपालिका–७ स्थित महादेवखर्क सामुदायिक वन दोस्रो र म्यागङ गाउँपालिका–६ स्थित मैबल सामुदायिक वन तेस्रो भएको छ । क्रमशः पहिलोलाई १६ हजार रूपैयाँ, दोस्रोलाई ११ हजार रूपैयाँ, र तेस्रोलाई नौ हजार रूपैयाँ,सहित प्रशंसापत्रले सम्मान गरिएको हो । जिल्लाका ३७५ सामुदायिक वनमध्ये उत्कृष्टमा छनोट भएका वनले आफ्नो क्षेत्रभित्र वन्यजन्तु संरक्षणसहित अपराध नियन्त्रणमा नमूनायोग्य भूमिकाप्रति ‘वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो’ को बैठकले सम्मानका लागि सिफारिस गरेको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए ।

कार्यालयले उत्कृष्ट निजी वनतर्फ बेलकोटगढी नगरपालिका–१२ स्थित मदानपुरका विष्णुप्रसाद सिलवाललाई सम्मान गरेको छ । जिल्लाका १८ निजी वनमध्ये पहिलो निजी वन दर्ता गरेर हाल करिब ८० रोपनी क्षेत्रफलमा वन विस्तार गरिएका उनले वन्यजन्तुको संरक्षण र अपराध नियन्त्रणमा पुर्याएको भूमिकाको सम्मानस्वरुप १० हजार रुपैयाँसहित प्रशंसापत्र कार्यक्रमका प्रमुख अतिथि सन्तमान तामाङले प्रदान गरे ।

वन कार्यालयले जिल्लामा वन पैदावर, वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा विशेष सहयोग पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई सम्मान गरेको छ । प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेलाई नगद रु १० हजारसहित प्रशंसापत्रले सम्मान गरिएको हो ।

नुवाकोटमा वन क्षेत्रको विस्तार, लाङटाङ र शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्र एवं जङ्गल क्षेत्रबाट मावन बस्तीतर्फ वन्यजन्तुको आवागमन बढेसँगै वन्यजन्तुको अपराध वृद्धि हुँदै गएपछि त्यसको संरक्षणका लागि सहयोग पु¥याउने उद्देश्यले उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरेर मनोबल उच्च बनाइएको वन कार्यालयका निमित्त प्रमुख सञ्जीव आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका