एम्बिसन राष्ट्रिय गौरव सम्मानबाट डा. गुरुङ र डा. रुइत सम्मानित

सैलुङअनलाइन सम्वाददाता
0 Shares
काठमाडाैं

एम्बिसन एकेडेमी, बानेश्वरद्वारा शनिवार आयोजित नयाँ विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र वरिष्ठ नेत्रचिकित्सक डा. सन्दुक रुइतलाई ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान- २०७६’ प्रदान गरिएको छ ।

कलेजका प्राचार्य विष्णुकुमार घिमिरेका साथमा नेपालको सातै प्रदेशलाई प्रतिविम्बित गर्ने सप्तकन्याहरूबाट उहाँहरूको विशेष सम्मान गरियो ।

सम्मानित व्यक्तित्वहरुका बारेमा बोल्दै प्राज्ञ डा. देवी नेपालले उपकुलपति डा. गुरुङले नेपाली संस्कृति, संस्कार, नेपालीपनको खोजी र नैतिक मूल्यको स्थापनाका लागि राष्ट्रलाई दिनुभएको योगदान र डा. रुइतले रुइतेक्टोमी प्रविधिका माध्यमबाट विश्वलाई प्रदान गर्नु भएको ज्योतिका कारण दुवैजना नेपाल राष्ट्रका गौरव भएको चर्चा गर्नुभयो ।

‘डा. गुरुङका आधादर्जन भन्दा बढी कृतिहरू र १०० भन्दा बढी अनुसन्धात्मक लेखरचनाहरू नेपाली माटोका अमूल्य निधि हुन् र विभिन्न आधारमा नेपाली समाजमा आपसी सद्भाव भड्किन लागेका बेलामा बौद्धिक तर्क र प्राज्ञिक गतिविधिबाट उहाँले निर्वाह गर्नु भएको संयोजनकारी भूमिकालाई नेपाली माटो कहिल्यै भुल्ने छैन ।’ प्राज्ञ नेपालले भन्नुभयो, ‘डा. रुइतले तिलगङ्गा आँखा केन्द्रको स्थापनाबाट एक लाखभन्दा बढी सेवाग्राहीलाई प्रदान गर्नु भएको आँखाको ज्योति, नेत्रचिकित्सा क्षेत्रमा गर्नुभएको नवीनआविष्कार र निष्काम सेवाभावबाट विश्वको आँखाको ज्योतिबन्न सक्नु देशकै लागि गौरवको विषय हो ।’

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई सम्बोधन गर्दै उपकुलपति डा. गुरुङले अहिले नयाँ पुस्तामा पठन संस्कृति अत्यन्त न्यून देखिन थालेको र प्रविधिका नाममा ज्ञानको गहिराइ कम हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो भने डा. रुइतले निरन्तर समर्पण, अथक मिहिनेत र अनवरत साधना विना कुनै पनि व्यक्ति लक्ष्यमा पुग्न नसक्ने विचार व्यक्त गर्नु भयो ।

राष्ट्रिय नाँचघर जमलको सत्यमोहन जोशी प्रेक्षालयमा आयोजित कार्यक्रममा लोकगायक तुलसी पराजुलीले गीत, हास्यकलाकार राजाराजेन्द्र पोखरेलले हास्यव्यङ्य र एम्बिसन एकेडेमीका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका