ताओ दर्शन, जसको ग्रन्थ बाइबलपछि सर्वाधिक बिक्री भयो


ताओ ते चिङको मार्गको सुरुवातकर्ता भनेर लाओत्सेलाई मानिन्छ । चिनियाँ भाषामा लाओत्सेको अर्थ हुन्छ- आदि गुरु अर्थात् प्राचीन गुरु । कतिपय विज्ञहरूको मतानुसार उनीभन्दा अगाडिदेखि नै ताओ मार्गको सुरुवात भैसकेको थियो । ई.पू. ६०० वर्षअगाडि लाओत्सेले यो मार्गको सुरुवात गरेको भन्ने मत पनि त्यत्तिकै छ । त्यसो होइन, ई.पू.४०० वर्षअगाडि चौ भन्ने राज्यमा लाओत्से थिए, उनी त्यस समय त्यहाँको एउटा पुस्तकालयको प्रमुख भएर काम गर्थे र त्यही समयमा उनले ताओ चिन्तनधाराको सुरुवात गरेका हुन् भन्ने मत पनि छ । मतहरू जे जे भएपनि लाओत्सेको ताओ ते चिङ चिन्तनधारा संसारभर फैलिएको छ ।

श्लो डाइमनको पतन भएपछि लाओत्से त्यहाँ बस्न रुचाएनन् र पश्चिमी देशमा गए । यसरी देशको सीमामा पुग्ने क्रममा सीमा-रक्षकले उनलाई चिनेकाले तिमीले जानेका कुरा नलेखी जान दिन्न भनेपछि उनले पाँच हजार पिक्टोग्राफ अर्थात् चिनियाँ लिपिमा ताओ ते चिङ ग्रन्थ लेखेका थिए भनिन्छ ।

यो विश्वमा बाइबलपछि सबैभन्दा बढी छापिएको पुस्तक हो । यसमा वस्तुहरूको गुण, स्वभाव, चरित्रको मार्ग के हो भन्ने विषयमा लेखिएको शास्त्र छ । तर यसको वास्तविक अनुवाद भने कसैले गर्नसकेको छैन । हामीले फेला पारेको पनि ई.पू.तीन सय वर्ष पहिलेको बाँसको कप्टेरोमा र यलम्वरमा लेखिएको लिपि भएकाले यो बहुतै पुरानो हो भन्ने साबित हुन्छ ।

यो पुस्तक २५० भन्दा बढी भाषामा अनुवाद गरिएको छ । पुस्तक धेरै ठूलो छैन । यसमा जम्मा एकासी मण्डल अर्थात् श्लोकहरू छन् । यसका पनि आख्यानहरू धेरै छन् ।

ताओ ग्रन्थको ८१ श्लोकमध्ये ३५ श्लोकसम्म ताओ पथको बारेमा र बाँकी प्रकृतिको स्वभावको बारेमा लेखिएको छ । ताओ ते चिङ लेखिएको काल हेर्दा यसको सही व्याख्या गर्न त्यति सजिलो छैन । त्यस कालमा जुन शब्दको जे अर्थ लाग्थ्यो आज त्यही शब्दको अर्थ अर्कै लाग्ने भैसकेको छ । त्यसकारण एउटै मात्र अनुवाद पढेर ताओ शास्त्र यही हो भन्नसकिँदैन ।

द्वन्द्वात्मक भौतिकवादको अध्ययनमा रुचि राख्नेहरूले ताओ चे चिङको अध्ययन गर्ने हो भने अन्य शास्त्र वा दर्शन पढ्दाको भन्दा अलि भिन्नै विचार र आयाम यसमा भेट्न सकिन्छ । धेरै पुरानो भएर पनि प्रकृतिमा द्वन्द्वात्मकताको खोजीकर्तामध्येको एक खोजीकर्ता वा रचयिता हुन्–लाओत्से । द्वन्द्वात्मकताको अध्ययन गर्दा ताओ ते चिङको अध्ययन गरिएन भने त्यो अध्ययन अपुरै हुन्छ । हेगेल त दुई सय वर्षअगाडिका मात्रै हुन् भने यी त पच्चीस–छब्वीस सय वर्ष अगाडिका हुन् ।

भौतिक जगतमाथिको चित्तबुझ्दो जवाफ ताओ दर्शन पढ्दा भेट्न सकिन्छ । त्यसकारण मानव जातिको जीवन यात्रामा आइपर्ने समस्याको समाधानमा लाओत्सेको दृष्टिको अध्ययन गर्न आवश्यक छ ।

आजको सन्दर्भमा ताओ दर्शन
आजको सन्दर्भमा पनि ताओ दर्शनको निकै ठूलो उपयोगिता छ । हामी सुख मात्रै चाहन्छौँ, दुःख कोही चाहँदैनौँ । हामी दिन मन पराउछौँ, रात मन पराउँदैनौँ । राम्रो चाहन्छौँ, नराम्रो चाहदैनौँ । लाओत्से भन्छन्- ‘‘यो असम्भव कुरा गर्दै नगर । यो जीवन र जगत तिमीले खोजेजस्तो छँदै छैन । तिमीले सुखमात्रै खोज्यौ भने त्यो मिल्नेवाला छैन । सुख थाहा पाउन पनि दुःख कस्तो हुन्छ त्यो थाहा पाउनुपर्छ । दुःख थाहा भयो भने मात्र सुखको अनुभूति गर्नसकिन्छ । सुख–दुःख, शुभ–अशुभ यी एउटै एउटै सिक्काका विपरित पाटा हुन् । यिनलाई अलग गर्नै सकिँदैन । शुभ एक छेउ हो भने अशुभ अर्को छेउ हो । यिनको सालनाल गाँसिएको हुन्छ । तिमीले दिन मात्रै खोजेर मिल्दैन; दिनसँग रात गाँसिएको हुन्छ; रात बेगरको दिन हुँदै हुँदैन ।” लाओत्सेको यो कुरा द्वन्द्वात्मक चिन्तनको धेरै राम्रो नमुना हो ।

लाओत्सेका अनुसार हामीले आफ्नो हेर्ने ढंगमा परिवर्तन गर्नुपर्छ । हरेक कुरालाई द्वन्द्ववादी दृष्टिले हेर्नुपर्छ । हामीलाई समृद्धि मनपर्छ, विपन्नता मन पर्दैन । विकास मनपर्छ, विनाश मनपर्दैन । तर हामीलाई मन परे जस्तो हुन सम्भवै छैन । विनाश बिना विकास सम्भव छैन । विपन्नता बिना समृध्दि सम्भव छैन । लाओत्से भन्छन्, “यी कुराहरू आपसमा कहिल्यै नछुट्टिने कुराहरू हुन् र यिनीहरू विपरितमै अन्तर्संवन्धित रहन्छन् । शरीर र मन भनेको दुई विपरित कुराहरू हुन् । यो विपरितहरूको अन्तर्प्रवेश हो । भिन्न छ तर अलग होइन, फरक छ तर बेग्लै होइन ।”

ताओ दर्शन पढेपछि हेराइ गतिशील र यथार्थसम्मत बन्छ । यसबाट उन्नतिको मात्र होइन, अवनतिको समेत ख्याल राख्नसकिन्छ । ताओ दर्शनका अनुसार कुनै पनि कुराको एक पक्ष मात्र खोज्नु गलत हो । सम्पन्नता मात्र खोज्ने, विपन्नता नखोज्ने चिन्तन गैरद्वन्द्ववादी चिन्तन हो । अहिले मानव जातिको सबभन्दा ठूलो समस्या भनेको विकाससँगै आउने विनासको कसरी व्यवस्थापन गर्ने भन्ने हो । यस सन्दर्भमा लाओत्सेले राम्रो उपाय दिएका छन् ।

हाम्रा नेताहरू समृद्धिको कुरा गर्दैछन् । उनीहरूले भने जस्तो समृद्धि कसरी संभव छ ? उदाहरणका लागि अहिले हाम्रा माथिल्ला नेताहरूले विताइरहेको जीवनशैली जस्तो पृथ्वीमा रहेका साँढे सात अरब मानिसको पनि जीवन शैली हुने हो भने साँढे चारवटा पृथ्वी चाहिने कुरा स्वेडनका खोजकर्ताहरूले बताएका छन् ।

मानव समाज निजी सम्पत्तिमा जान थालेको लगभग दश हजार वर्ष भएको छ । यो समयावधिमा मानिसले आर्जन गरेको सम्पत्ति अढाइ लाख अरब डलर बराबर मानिन्छ । यो सम्पत्तिले राजनेता तथा धार्मिक नेताहरूको जस्तो जीवनशैली अपनाउने हो भने पृथ्वीका जम्मा दश प्रतिशत मानिसलाई मात्र पुग्छ । त्यसैले यो जीवनशैली मुताबिकको समृद्धि संभव छैन । मुठ्ठीभरका मान्छेका लागि समृद्धि त दश हजार वर्ष पहिले पनि थियो । यदि बहुसंख्यक मानिसका लागि समृद्धि सोचेको हो भने यो तरिकाले संभव छैन । तर जीवनशैली बदल्ने हो भने सबैको लागि समृद्धि अहिले नै संभव छ । त्यसका लागि सामाजिक क्रान्ति मात्र भएर पुग्दैन, दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनु आवश्यक छ ।

निजी सम्पत्ति थुपारेर यो यात्रा पुरा हुन संभव छैन । त्यसका लागि व्यक्ति होइन, समुदाय पोस्ने अर्थतन्त्र चाहिन्छ । ताओ दर्शनको अध्ययन गर्दा यो समुदायमुखी दृष्टिकोण पाउन सकिन्छ । वर्गीय दुनियाँलाई मेटाउने हो भने ताओको द्वन्द्वात्मकतालाई विश्वभरिका मानवले पढ्न जरुरी छ । क्वाण्टम् फिजिक्स आएपछि यसको सान्दर्भिकता अझ बढेको छ ।

अहिले भैरहेको विकासले मानवको अस्तित्व नै खतरामा पारेको छ । यस विषयमा लाओत्सेको दृष्टि सही थियो । हरेक विषय वा घटनामा विपरित पक्ष सधँै सँगै हुन्छ । यी विपरीत पक्षहरु, अर्थात भौतिकी, काल, गति र अनेक आयामहरु एक–अर्कासँग छुट्टिँदैनन् । विकाससँगै विनास हुन्छ । त्यसकारण विकास गर्दा विनासलाई व्यवस्थापन गर्न विर्सनु हुँदैन । विनास गर्दा विकासलाई लक्ष्यका रुपमा राख्न भुल्नु हुँदैन ।

ताओको दार्शनिक पक्ष
जो बदलिन्छ त्यो ताओ होइन, जुन फेरिँदैन त्यो ताओ हो । जो विकाररहित छ, त्यो ताओ हो । नहिँडिएको बाटो ताओ हो । हिँडिएको बाटो ताओ होइन । यो यस्तो बाटो हो जुन यो भन्दा अगाडि कसैले पनि हिँडेको छैन । ताओ दर्शनको पहिलो श्लोकमा भनिएको छ, “जुन बाटो हिँड्न सकिन्छ त्यो बाटो ताओ होइन, त्यो बाटो धर्म, रीत, पथ होइन ।”

चराहरू आकासमा उड्छन् । त्यहाँ कुनै मार्ग छैन तर पनि आफ्नो गन्तव्यमा पुग्छन् । यानहरू बिना मार्ग अन्तरिक्षमा उड्छन् । त्यहाँ बाहिरबाट हेर्दा मार्ग छैन तर यथार्थमा मार्ग छ । हावामा पनि मार्ग छ, आकासमा पनि मार्ग छ तर देखिँदैन । हो, त्यस्तै नदेखिने मार्ग हो– ताओ मार्ग । त्यो यी सडक वा गोरेटो जस्तो मार्ग होइन । त्यस्तो बाटो हुन्छ कि हुँदैन बहसको विषय हुनसक्छ ।

ताओ फेरिने बाटोलाई पनि मार्ग भन्छन् । जस्तो जुन वस्तुको नाम छ त्यो शास्वत होइन, किनकि त्यो बदलिन्छ वा फेरिन्छ । जस्को नामै छैन, जस्को दाँजो नै छैन, त्यो ताओ हो । फेरिने वा बदलिने कुराहरूबाट उत्पन्न भएको कुरा हो ताओ । भन्न, देख्न, हिँड्न नसकिने परन्तु जस्को गतिमा अरु चिजहरू उत्पन्न हुन्छन्, त्यही ताओ हो ।

हामीले दक्षिण एसियाको कुरा गर्दा निरञ्जन निराकार र रञ्जन साकारको कुरा गछौँ । क्षर र अक्षरको तथा नश्वर र ईश्वरको बारेमा कुरा गछौँ । हामी भेद–अभेद, हद–अनहदको कुरा गछौँ । हद–अनहद, चल–अचल नै ताओ हो । चल या अचल मात्रै ताओ होइन । फेरिने नफेरिने दुबै ताओ हो ।

मानिसको आँखाले देखिने वस्तु यो ब्रम्हाण्डमा चार प्रतिशत पनि छैन । बाँकी के हो हामीलाई थाहा छैन । हामी थाहा पाउन कोसिस गरिरहेका छौँ । वैज्ञानिकहरू त्यसलाई डार्क म्याटर भन्छन् । खाली केही कुरा पनि छैन । खाली भनिएको स्थान पनि खाली छैन, त्यहाँ हावा र धुलाका कणहरू, अझै तीभन्दा सुक्ष्म उज्याला कणहरू छन् । एण्टी प्रोटन, प्रोटन, इलेक्ट्रनदेखि लिएर क्वार्क र बोसनसम्मका थुप्रा कणहरू छन् । यो खाली ठाउँ पनि भरिभराउ छ ।

यो ब्रम्हाण्डमा नफेरिने कुरासँगै फेरिने कुरा पनि छ । बुद्ध भन्छन्, “संसारमा हरेक कुरा अनित्य छ” तर लाओत्से भन्छन्–“त्यसो होइन । संसारमा नित्य पनि छ, अनित्य पनि ।” ताओका समकालीन महावीरका अनुसार पनि “नित्य विना अनित्य कसरी हुन्छ ? अनित्य मात्रै भए नित्य कहाँ गयो त ? शास्वत नभै क्षणभङ्गुर कसरी हुन्छ ?” लाओत्से पनि त्यस्तै साेच राख्छन् ।

पल–पल टिक्ने र पलभर नटिक्ने दुबै अस्तित्वमा हुन्छ । तपाई जन्मेदेखि अहिलेसम्मका सबै क्षण अलग हो ? होइन । सबै अलग भए अहिले तपाईँलाई जन्मेदेखिकै उही मान्छे हो भनेर भन्ने आधार के ? सबै उही हो ? त्यो पनि होइन । उही भए बालकबेलाको तपाईँ र अहिलेको तपाईँ कसरी धेरै फरक हुनुभयो ? त्यसैले केही उही हो, केही फरक हो । केही कुरा छिटो फेरिन्छन्, केही कुरा ढिलोसम्म उही रहन्छन् । लाओत्सेको यो हेराइ नितान्त द्वन्द्वात्मक देखिन्छ । हाम्रो दृष्टिकोण यस्तै द्वन्द्वात्मक हुनुपर्छ ।

लाओत्सेका अनुसार ‘‘जान्नेहरू भन्दैनन्, भन्नेहरूले जान्दैनन् ।’’ जुन कुरा भन्न शब्दै हुँदैन तव के भन्ने ? शब्दहरू संकेत हुन्, यथार्थ वस्तु होइनन् । हामी भौतिकवादीहरू पनि शब्द, छाया, चित्रको प्रयोग गर्छौँ, ती अभौतिक हुन् । भावहरू भौतिक कुरा होइनन्, तर तिनै भावहरूको मद्दतले हामी भौतिक कुराहरूको व्याख्या गर्दछौँ । लाओेत्से भन्छन्, “जुन कुरा भन्न शब्दै छैन, यो सम्झने र अँ, ए भनेर बुझ्ने कुरा हो । जे भैरहेको छ त्यो भन्नै सकिँदैन ।” लाओेत्सेको मान्यताअनुसार तपाईंले दश बज्यो भन्नु नै गलत छ । दश बज्यो तपाईं बुझ्न सक्नुहुन्छ, भन्न सक्नुहुन्न । दश बज्यो भन्दासम्म ढिलो भइसकेको हुन्छ । घडी दशबाट अघि बढिसकेको हुन्छ । हाम्रो ज्ञानेन्द्रिय नै ढिलो छ । देखेका कुरा बुझिरहेको हुँदैन । त्यसो भए केही पनि बुझिँदैन त ? होइन, हामी लगभग बुझ्न त सक्छौँ । तर सबैको देखाइ र बुझाइ फरक–फरक हुनसक्छ । जो जानिन्छ भन्नै गाह्रो छ, सबै बुझ्न सकिने र भन्न सकिने मात्रै छैन । जुन कुराको बारेमा भन्न सकिन्न त्यो भन्न खोज्नु लाओत्सेको पनि मूर्खता हो ।

यथार्थको नजिकमा रहेका दार्शनिक हुन् लाओत्से । उनी भन्छन्, ‘‘जे गरे पनि कहीँ न कहीँ घाटा हुन्छ ।’’ उदाहरणका लागि जनयुद्धमा ऊ शहिद भएकाले त्यो सफल भयो अर्थात फाइदा भयो । तर ऊ मरेर जानुले उसको जिन्दगी सकियो त्यो बेफाइदा भयो । अर्थात नगर्दा पनि बेफाइदा छ, गर्दा पनि नोक्सानी नै ब्यहोर्नुपर्छ ।

लाओत्सेको एउटा शब्द छ–‘उवे’ । उवे भनेको नगरिकन हुन दिने भनेको हो । अर्थात साम्यवाद बनाएर बन्दैन ; बन्न देऊ, आफै बन्छ । बनाउन खोजे बिग्रन्छ ।

विपरितहरूको अन्तरक्रियामा सहयोग गर्ने काम विपरितहरूले नै गर्छन् । केही नगर्ने होइन, क्रियाशील हुने हो । हरेक कुरा दुई पक्षको तानातानमा अगाडि बढ्छ, हामीले गर्दा बिग्रन्छ । जस्तै, देशको संघीयता सम्बन्धी विवादमा लडिरहेका पक्षहरूमध्ये न्युनतम कुरा के हो त्यो भेट्नमा सहयोग गर्ने हो । दुईटै पक्षहरूको सहमतिको बिन्दु खोज्न सहयोग गर्ने हो । उनीहरू आफैले मिलाउँछन् । समस्या हल हुन्छ ।

‘उवे’ अकर्मसहितको कर्म हो । गीताले भनेजस्तो फलको आशा नगरी गर्ने कर्म हो । क्रान्ति गर्दा फल के हुन्छ त्यो हाम्रो वशमा छैन । त्यसैले निराशामा लाओत्सेको दृष्टिकोणले ठूलो मदत गर्छ । आफूलाई शासन, शोषण, उत्पिडन बोध भएर न क्रान्ति गर्ने हो । तर साम्यवादी समाज आउँछ वा आउँदैन वा त्योभन्दा पनि खराब समाज आउँछ, त्यो भन्न सकिँदैन । रूपान्तरण हुन्छ या हुँदैन त्यो हाम्रो वशमा छैन । हामीले कोसिस गर्ने हो, त्यो दिशामा काम गर्ने हो ।

महावीरका अनुसार यो कलम लामो हो भन्न सकिँदैन । यो कलम छोटो हो पनि भन्न सकिँदैन । यो लामो त्यो छोटो त्यो पनि भन्न सकिँदैन । यो लामो छोटो दुवै हो पनि भन्न सकिँदैन । के हो भन्न दाँज्नुपर्छ । सानोसँग दाँज्ने हो भने लामो छ, लामोसँग दाँज्ने हो भने छोटो छ । लामो र छोटो दुबैसँग राखेर हेर्ने हो भने लामो पनि छ र छोटो पनि छ ।

सम्पूर्ण दर्शनहरूमा लाओत्सेको दृष्टि थप्न जरुरी छ । लाओत्सेको दृष्टि हो –जति ग¥यौ उति बिग्रिन्छ । नगरेर पनि हुन्न, गरेर पनि हुन्न, यो द्वन्द्वात्मक भौतिकवाद हो । समृद्धिको कुरा गर्नेले दुर्गतिको कुरा गर्ने कि नगर्ने ? कति गर्ने भन्ने कुरा पनि सोच्नुपर्छ । जति बनाउन खोज्यो त्यति बिग्रन्छ, त्यसैले हुन देऊ भन्ने चिन्तन विपरितहरूको अन्तसंघर्ष वा लाओत्सेको शब्दमा ‘क्ष्लतभचउबिथ’ हो । तर यो चिन्तन कम्युनिष्टहरूले स्वीकार गरेनन् । तर अहिले लाओत्सेको चिन्तन सान्दर्भिक बनेको छ । यसको ऐतिहासिकताको कुरा गर्दा आजभन्दा पहिले चीनको परिवेशलाई हेर्नुप¥यो जति बेला यो दर्शन पैदा भएको थियो । त्यो ऐतिहासिक दृष्टिमा हेर्ने हो भने लाओत्सेको विचारलाई बुझ्नसकिन्छ । त्यति बेलाको समयमा यस्तो विचार राख्नु भनेको बहुत ठूलो कुरा थियो ।

शोषित नभई शोषक हुँदैन । शोषित र शोषककाबीचमा झगडा मात्र होइन, मिल्ती पनि छ । यो बडा अनौठो लाग्नसक्छ । विपरितहरूको एकत्व भनेको विपरितहरू बीचमा मिल्ती छ, संघर्ष भनेको झगडा पनि छ भनेको हो । माया र घृणा सँगसँगै छ ।

शोषक र शोषित दुवै सेट हटाऊ, सदाचार र भ्रष्टाचारको सेटै हटाऊ । एउटा मात्र नराख्ने भनेर मिल्दैन, दुइटै हटाउनुपर्छ । गरिबी हटाउने कुरा छ, शोषक हटाउने कुरा छ तर त्यसरी एउटा मात्रै जाँदैन । त्यसकारण सेटै हटाउनु पर्छ । हरेक वस्तु या घटनामा विपरित तत्वहरू हुन्छन् । लाओत्सेको यो ब्याख्या र हेराइ वस्तुसम्मत छ ।

हामी सबै मुक्तिकामी हौँ । माक्र्स एङ्गेल्सजस्ता विचारकहरूले सबै बन्धनहरूबाट मुक्तिको कुरा गरेका छन् तर लाओत्सेको विचारमा बन्धन बेगर मुक्ति सम्भव हुँदैन भन्ने तर्क छ । इम्यानुएल कान्टले भनेजस्तै “मुक्ति भनेको बन्धनको अभिव्यक्ति हो ।” अर्थात मुक्तिको कुरा स्वतन्त्रतासँग गाँसिएको छ । बन्धन छ र स्वतन्त्रता पनि छ । त्यसैले लाओत्सेको ताओ दर्शनका अनुसार यी दुवैको सेटलाई नै फालिनु पर्छ ।

कसैलाई राम्रो वा कसैलाई नराम्रो भन्ने अधिकार छैन । सबै आफ्नै किसिमले राम्रो छ । राम्रो नराम्रो र नराम्रो राम्रो हुँदैन भन्ने होइन । किनकि अरु नराम्रो नभई कुनै वस्तु राम्रो हुनैसक्दैन । लाओत्सेको हेराइको तरिका नै फरक छ । उनको ग्रन्थमा नमिल्दा कुराहरू पनि छन् । तर पनि उनको हेराइ धेरै हदसम्म द्वन्द्वात्मक छ ।

वर्गीय दुनियाँमा लाओत्सेको विचार लागू गर्न निकै कठिन छ । उनले जान्नेलाई खोजी नगर भनेका छन् । उनका अनुसार “तिमीले विशेषज्ञ तथा बहुमुल्य कुराहरूलाई प्राथमिकता दिने हो भने चोर, डाँकाहरू बढ्छन्, त्यसैले तिनको खोजी नै नगर । आफै चल्छ समाज ।” लाओत्सेले साम्यवादी मानव समाज चक्रमा चल्छ भनेका छन् । त्यसैले यो युगका मानव जातिका लागि लाओत्सेका विचारहरू अनुकरणीय हुनसक्छन् ।
(साभार: एसकाठमाण्ठूबाटा)

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका