कोरोना भाइरसले विश्वलाई नै शिथिल बनाइरहेको छ । यसले विश्वको अर्थतन्त्रलाई ह्रासमा ल्याएको छ । यो विषम परिस्थितिमा संघसंस्थाले आफ्ना देश, समुदायका विपन्न, ज्यालादारी, पीडितलाई राहत लगायत सहयोग गरिरहेका छन् । यसले सरकारलाई पनि साथ मिलेको छ ।
यस्तै सहयोग संस्थामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिका पनि एक हो । जसले अमेरिकामा रहेका समुदाय र नेपालमा रहेका राउटे, ज्यालादारी, विपन्नलाई कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको मारमा परेको बेला राहत प्याकेज बनाएर सहयोग गरेका छन् । यही विषयसँग सम्बन्धीत रहेर फिप्नाका अध्यक्ष लोक चेम्जोङसँग सैलुङअनलाइनले गरेका कुराकानीको सम्पादित अंश :
कोरोना भाइरस सङ्क्रमणको बेला फिप्नाले फ्रन्टलाइनमा बसेर के के गर्नुभयो ?
सुरूवातमा हामीले जनचेतनामुलक सूचनाहरू सम्प्रेषण गरे । विभिन्न सामाजिक र राजनीतिक संगठनसँग छलफल र सहकार्य गर्याे । त्यसपछि स्थानीय निकायहरू, न्यूयोर्क सिटीको कार्यालय, विभिन्न जनप्रतिनिधीहरू, नेपाली राजदूतावास वासिङटन डिसी, नेपाली महावाणिज्यदुतावास न्यूयोर्क लगायतसँग परामर्श तथा सहकार्य गर्यो ।
नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाको नेतृत्वमा बैठक बसी यो विषम परिस्थितिमा राहत प्याकेज बनाउने निर्णय गर्यो । नेपाली समुदायमा राहत र उद्दारको लागि सबै सदस्य संघसंस्थासँगको सहकार्यमा यो सफल भएको हो । संस्थाका स्वयमसेवकहरूको टोली आवश्यक परेका व्यक्तिहरूको घरघरमा आवश्यक औषधि, पीपीइ, मास्क साथै ग्रोसरीहरू लगायत मार्च महिनाको अन्त्यदेखि जुन महिनाको अन्त्यसम्म न्यूयोर्कमा सक्रिय रह्यौ ।
त्यसपछि कोरोना भाइरस रोकथामका लागि सरकारले गरेका लकडाउनका कारण रोजगारी गुमेका मजदुर, सीमान्तिकृत समुदाय, विपन्न समुदाय तथा सुकुम्बासी बस्तीहरूमा पुग्यो । रोग र भोकसँग लडिरहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई बचाउने अभियान अन्तर्गत नेपालको विभिन्न ठाउँमा खाद्यन्न राहत वितरण गरिरहेका छौं ।
नेपालमा राहत वितरणको लागि कोरोना बढी प्रभावित स्थान कसरी छुट्याउनुभयो ?
नेपालको राहत वितरण सन्दर्भमा हामीले दाताहरूसँगको रकम संकलन गर्दा र प्रस्तावनामै उल्लेखित भएबमोजिम मजदुर वर्गहरू, सिमान्तकृत समुदाय, विपन्न समुदाय तथा सुकुम्बासी बस्तीहरूमा वितरण गरिने योजना बनायौं । सोही अनुरूप यसको छनौटको लागि नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले विशेष समन्वयात्मक भूमिका निर्वाह गरिएको छ । साथै सामाजिक अभियन्ताहरू, स्थानीय निकायहरू, नेफिनको जिल्ला तथा गाउँ र नगर शाखाहरू र विभिन्न संस्थाहरूसँगको सहकार्यमा छनौट गरिएको हो ।
कोरोना माहमारीको बाबजुद पनि तपाईहरु पीडितहरुको सेवामा अघि बढ्नुभयो ? यसले संस्थाको लक्ष पूरा भयो ?
फिप्ना अमेरिकन नेपाली समुदायको साझा संस्था हो । यसले अमेरिकामा रहेका आदिवासी जनाजतिहरूको भाषा, साहित्य, संस्कार, संस्कृति, कला र पहिचानलाई स्थापित गर्ने र विश्व समुदायलाई हाम्रो मौलिक कला संस्कृति पहिचान परिचित गराएर नेपालप्रति परिचित गराउनु पनि हो । साथै यहाँका रहेका दोस्रो पुस्तामा हाम्रो संस्कृति पुस्तान्तरण गर्नु पनि प्रमुख चुनौती छ । यसको अलावा नेपालको आदिवासी जनजातिहरूलाई राज्यको मूलधारमा स्थापित गराउने, पहिचान स्थापित गराउने र नेपालमा समानुपातिक समावेशीकरणको सिद्घान्तमा जातीय पहिचानको आधारमा राजनीतिक, सांस्कृतिक अधिकार स्थापित गराउने हरेक आन्दोलनप्रति ऐक्यबद्घता जाहेर गर्दै सबै प्रकारका सहयोगी अभियानमा संलग्नता हुनु हो । फिप्ना यहाँको स्थानीय निकायमा दर्ता भएको एक सामाजिक संस्था भएकोले सामाजिक, मानवीय सेवाका कामहरू, आपतकालीन सेवाहरूमा सहयोग गर्दछ । यो कोरोना भाइरसले विश्व नै शिथिल भएको अवस्था छ । त्यसैले हामीले अहिले सम्पूर्ण स्रोत, साधन र शक्ति यसमा खर्चेका छौं ।
विदेशदेखि नेपालसम्म महासंघले सहयोग गर्याे । यसको लागि स्रोत (फण्ड) कसरी जुटाउनुभयो ?
हामीले नेपालमा सहयोग गर्ने प्रस्तावसहित अमेरिकामा रहेका नेपाली समुदायमा सार्वजनिक आव्हन गर्यौ । हाम्रो संस्थाको विगतको काम, समुदायमा विश्वास प्राप्त संगठन र नेतृत्व यी सबै कारण मनकारी हातहरुले स्वेच्छिक सहयोग गर्नुभयो । करिव २० हजार डलर एक हप्तामा संकलन गर्न सफल भयौं । त्यसैबाट अमेरिका रहेका पीडितहरुको घरघर र नेपालका विभिन्न स्थानहरुमा सहयोग गरेका हौं ।
राहत वितरण गर्दा स्थान र व्यक्ति कसरी छनोट गर्नुभयो ?
उपत्यकामा मजदुरहरू, असाहय, अशक्तहरू, बृद्वबृद्वा प्रति हाम्रो छनोट रह्यो । वास्तवमा उनीहरु नै सरकारले पनि अपहेलितामा परेका छन् । अन्य ठाउँमा नेफिन केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरू, स्थानीय निकायको सहकार्यमा योजना गर्याैं । हामीले उपत्यका करिब २५ सय जनालाई खान खुवायौ । उपत्यकाभित्र नै बन्दी सहायता केन्द्र नेपाल, गोकर्णेश्वर नगरपालिकास्थित सोलु बाल कल्याण अनाथलयमा खाद्य सामग्री, साँखुमा रहेका अपाङगता भएका दुई युवाहरुलाई खाद्य सामग्री तथा टेकुको पचली भैरवमा रहेको सत्प्रयास सिद्धिसेवा आश्रममा बृद्धा आमाहरुको औषधि उपचारको लागी नगद र बुढानिलकण्ठस्थित ओमश्री साई नेपाल बाल आश्रममा खाद्यान्न सामाग्री वितरण गरियो ।
दैलेखका ५३ राउटे परिवार, सिराहास्थित ६० मुसहर परिवार, धरानस्थित ४० मजदुर परिवार, मकवानपुरस्थित ६० चेपाङ परिवार, धनकुटास्थित लेउतीबगरका ६९ मजदुर परिवारलाई राहत वितरण गरिसकेको छौं । अब तमोर कोरिडोरका माँझी समुदाय, मधुवन कोशी गाउँपालिकाका उराउ समुदायमा पनि जाँदैछौं । साथै अन्य बाढी पहिरो पीडितहरूसँग पनि पुग्ने हाम्रो लक्ष छ ।
फिप्नाको अध्यक्ष भइसकेपछि तपाईले गुरुयोजनाहरु के के बनाउनुभयो र कुन कुन सफल हुदैछ ?
हाम्रो योजना बृहत नै थियो । तर हामीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण काम गर्न सकिरहेका छैन । हामी नेपाली अमेरीकन समुदायमा स्थापित हाम्रो पहिचानलाई अमेरीकामा पनि स्थापित गराउन चाहन्छांै । यहाँको राज्यले पनि हाम्रो भाषालाई सम्बोधन गराउन हामीले प्रयास गरिरहेका छौं ।
अमेरिकामा मिनि नेपाल देखिने नेपालको ऐतिहासिक पहिचान झल्किने नेपाली आदिवासीहरूको सूचना केन्द्र साथै सङ्ग्रहालय स्थापना गर्ने तयारीमा छौं । नेपाल त्यसैभित्रबाट हेर्न र जान्न सकिने केन्द्रको विकास गर्ने हाम्रो गुरूयोजना छ । साथै नेपालीहरूको पहिचान, आदिवासी ज्ञान सीपलाई विश्व बजारमा समेत ल्याउन सकियो भने नेपाललाई आर्थिक रूपमा सबल बनाउन सकिन्छ । त्यसतर्फ पनि हाम्रो ध्यान केन्द्रीत रहेको छ ।
फिप्नाले अहिलेसम्म गरेका कार्ययोजनाहरु के के हुन् ?
फिप्ना स्थापना भएदेखि अहिलेसम्म नेपालको आदिवासी जनजातिहरूको राजनीतिक, सांस्कृतिक र पहिचानको अधिकारलाई स्थापित गराउन कार्यक्रमहरु गरेका छौं । साथै अमेरिकामा नेपाली कला, भाषा, संस्कृति र पहिचानलाई स्थापित गराउने कार्यहरू निरन्तर गरिरहेका छन् ।
अन्तमा,
कोरोना माहमारीमा हामी पनि बचौ, अरुलाई पनि बचाऔं । घरमै बसौं, सुरक्षित रहौं । नेपालमा यो मात्रै नभई बाढी पहिरो लगायत प्राकृतिक विपतिहरु आइररहन्छ । यसमा सरकारको ध्यान जान जरुरी छ । यस्तो जोखिमहरुबाट बचाउन संघसंस्था भन्दा पनि तीनै तहको सरकारको नजर पुगे पीडितहरुले राहत पाइएला कि !