रजस्वालाबारे डा. मतिप्रसाद ढकालज्यूको लेख पढिसकेपछि उब्जेका विचार

बेलतोला

डा. मतिप्रसाद ढकालज्यूद्वारा लेखिएको “रजस्वला किन बार्ने ?”(संस्कार चिन्तन–९) शीर्षकको लेख फेसबुकमा उहाँकै पोस्टमा पढिसकेपछि यसबारे केही विमर्श गर्ने इच्छा भयो । अतः रजस्वाला सम्बन्धी केही कुराप्रति ध्यान जान आवश्यक ठानेर यहाँ टिप्पणी गर्ने दृष्टता गर्दैछु –

१. इन्द्रद्वारा आफ्नै मित्र वृत्तासुर वध गरिसकेपछि लागेको ब्रह्महत्यालाई भाग गरेर ‘नारीलाई रजोवती भएर यसरी “नछुने” भईकन इन्द्रको पापलाई आफैले बोक्नु परेको हो’ भन्ने शास्त्रीय कथाको उल्लेख बिर्सनु भएको हो वा लुकाइएको हो यहाँ? (इन्द्रको (पुरुषको) पाप नारीले (स्त्रीले) बोकिदिनु पर्ने शास्त्रको निर्देश) ।

२. आदिम जङ्गली समाजमा पुरुष सिकार खेल्न वा खाद्य सङ्ग्रह गर्न गएका बेला रजोवती वा नवप्रसुता स्त्री ओडारमा एक्लै बस्नु पर्दथ्यो। जैविक रूपमा अशक्त र अस्वस्थ भएका बेलामा बाघ, भालु र जङ्गली जनावरको भय भएका कारण छाउगोठ जस्ता छुट्टै गोठका आदिम स्वरूप – ओडार, अग्ला स्थान आदिमा छुट्टै नारीलाई राखेर परिवारका सदस्य सिकारमा जान्थे रे। रजोवती भएका बेला निस्कने शरीरको तीव्र बास्ना र ताजा रगतको गन्धले ह्रिंसक जनावर सजिलै सुँघ्दै खोज्दै आउने भएकाले गर्दा नारीलाई अलग्गै र विशेष सुरक्षित राख्नु परेको हो भन्ने सामाजिक अध्येताको भनाइ भेटिन्छ ।

३. रजोवती स्त्रीबाट प्रत्येक महिना निसृत हुने रक्त मैला वा फोहोर रगत होइन, बरु सृजन सामर्थ्य बोकेको सफा र ताजा रगत हो भनेर विज्ञानले साक्ष्य दिइसकेको छ । अझ फोहोर र काम नलाग्ने रगतबाट सृजन सम्भव हुनै सक्दैन । यसर्थ नारीको कोखमा उत्पन्न डिम्बले उचित अवसर नपाएर सृजनसामर्थ्यको उपभोग गर्न नसक्दा त्यो रजका रूपमा नारीबाट निसृत भएको हो भन्ने बुझ्न र बुझाउन आवश्यक छ । तर स्त्रीदेहबाट बाहिर निस्केपछि वायुमण्डलमा आइसकेपश्चात् भने उक्त रक्तमा विकार आएर नराम्रो गन्ध भएको र मैला बन्न गएको हो भनेर विज्ञानले भनिसकेको अवस्था छ ।


४. केवल वैदिक धर्ममा रहेका नारीहरूमा पनि विशेष यज्ञोपवितधारी ब्राह्मण समाजमा रजकालका नियम कठोर देखिन्छ । नारीलाई अन्य समाजमा श्रममूलक कार्यमा पुरुष सरह नै सहभागिता भए तापनि उनीहरूलाई ब्राह्मण-समाज इतर समाजमा श्रममूलक काजमा खट्दा यस्तो बारिरहने झन्झट देखिन्न । अझ खाना बनाउन, पूजा गर्न निषेध तर घर-गाउँमा आज पनि घाँस दाउरा गर्न, भारी बोक्न, घरबाहिरका सबै कृषिजन्य काजमा छोरी बुहारीलाई यस्ता बेला खटाइन्छ । तर भान्सा र पूजामा छुत बारिन्छ । डा. ढकालज्यूले माथि उल्लेख गरिए अनुसार नारीलाई श्रममूलक कामबाट पो विश्राम दिनुपर्ने हो नि । होइन र? यसर्थ आफ्नो सुविधा अनुसार छुत बार्दा रजोवतीले विश्राम होइन अझ थप श्रम पो गरिरहेका पाइन्छन् । यो हाम्रै समाजको यथार्थ हो ।

५. रजोवती देवी कामख्याको पूजनलाई विशेष महत्व दिइन्छ । भरखरै अम्बुवासी उत्सव सकियो । भनिन्छ – यसबेला माता कामख्या रजोवती हुन्छिन् । यसबेला विशेष पूजन र उपासना गरिन्छ । यो नारी सृजन शक्तिको उपासना हो । यो मन्दिरका संस्थापक नरकासुर वराह क्षेत्रका राजा हुन् । देवीको योनीलाई यहाँ पूजन गरिन्छ । उनको रजोवतीकालमा धेरै साधक र उपासकले विशेष उपासना अनि साधना गरेर सिद्धि प्राप्त गर्दछन् । तर घरमा भएका आमा, दिदी बहिनी वा पत्नी छोरी भने अछुता हुन्छन् रे । वाह! समाज ।

६. यसबारे विशेष अध्ययनका लागि २ वटा पुस्तक अझ पढ्नुपर्ने देखियो –

क) (एवलिन रिडको पुस्तक २ वटा –a) Is Biology Woman’s Destiny, b) Woman’s Evolution । पारिजातले यसलाई नेपाली भाषामा अनुवाद गराएर प्रकाशित गरिदिएकी छन् । नत्र अङ्ग्रेजीमै पनि पढ्न सकिन्छ ।

ख) स्त्री उपेक्षिता – प्रभा खेतानद्वारा हिन्दीमा अनुवाद गरिएको सिमोन द वोउवा को पुस्तक The Second Sex-को अनुवाद । हाललाई यति पढेर थप जान्न मन लागे मसित अन्य स्रोत सामग्रीबारे सोध्न सकिन्छ । जानेको कुरा सबैतिर साझा गरेकै उचित हुनेछ ।

७. गानोक्रिटिसिजम अर्थात् गर्भाशय सिद्धान्तबारे अध्ययन गरेर सुधी पाठकवर्गलाई पस्कनु पर्ने रहेछ। यसबारे यस लेखमा उल्लेख भेटिएन । फ्रायडको Penis Envy Theory र एलेन शोवाल्टरको Gynocriticism बारे अध्ययनले यस लेखलाई समृद्ध तुल्याउनेछ भन्ने लाग्यो । यी पुस्तकले नारीको रजस्वालाबारे विशेष विमर्शका लागि हामीलाई तयार गराउनेछ ।

रजोवृत्ति नारीको विशिष्ट अनुभव हो । नारीको भोगाई र अनुभवको समानुभूति गरे पनि पूर्णतः पुरुषले कदापी अनुभव गर्न सक्दैनन् । प्रसव पीडा, प्रसवावस्थाको वाक्वाकी, बोझिलोपन, बालबालिका जन्मेपछि शिशुस्याहारमा बितेका ती अनिदा रात, शारीरिक-मानसिक थकान; यी सबैबाट पुरुष अनुभव वञ्चित छन् । रजोवृत्तिताका नारीले भोग्नुपर्ने शारीरिक तथा मानसिक तनाव, अनुभव, पीडा, जस्ता जैविक प्रक्रियासितै सामाजिक यस्ता छुवाछुतको बारनाले नारीलाई अझ जटिलतातिरै जेल्छ । अहिले पो खाट, तोसक आदि दिन थालियो त । नत्र परालमा सुत्नुपर्ने, एकसरो भाङ्ग्राको धोतीमै रजोकाल बिताउनु पर्ने, सेनिटेरि प्याडको अभावमा भुस, खरानी आदि हालेका थाङ्नालाई प्याडको स्थितिमा बेर्नु पर्ने, वा परालमाथि एउटै सारीलाई मुजा बनाएर लगाएर खुम्चेर ४ दिन काट्नु पर्ने अनुभव हुन् । अथवा प्रथम प्रथम रजोवती हुँदा आफन्तकहाँ लगेर गुफा दिनु, घर कटाएर १२-१४ वर्षकी बालिकालाई अर्काको भरमा २१ दिन राख्नु, (त्यहाँ पनि यौन हिंसा कति सहनुपर्ला त्यो अनुमान गर्न सकिन्छ) । अझ नारीलाई उसका यस्ता विशेष दिनमा छाउगोठ जस्ता स्थलमा पठाएर सुरक्षा, पौष्टिक आहारा अनि सामाजिक-मानसिक सहयोगबाट वञ्चित गर्दाको अनुभव कस्तो हुँदो हो? छुवाछुतका नाममा खाना माथिबाट फ्यात्त दिनु, थाल- पानी अलग राखिदिनु, माया गर्ने पिता-भाइ-पति-पुत्रबाट चटक्क चुडाइनु, जस्ता कृत्य नारीले शताब्दियौँदेखि भोग्दै गरेका भोगाइ हुन् ।

वर्तमान समयमा सोसियल डिस्टेन्सिङ वा लकडाउन भनेर पुरुषहरू आफ्ना मित्र अथवा परिवारका अन्य सदस्यसित हेलमेल गर्न नपाउँदा, क्वारेन्टाइनका ती १४ दिन त उनीहरूलाई आपदा लागिरहेको त हामीले सोसियल मिडियामा आएका भनाइ र कृत्यबाट देखिरहेका छौँ । यो केही दिनको बाराना र लकडाउनले पुरुषहरू यति धेरै आत्तिएका छन् । तर नारीहरू त शताब्दियौँदेखि नै क्वारान्टाइन्मा छन् । छुवाछुतको घेरामा उनीहरू यति अभ्यस्त भएका छन् कि अब त बोल्न र सोंच्ने सामर्थ्य नै हराइपठाएका छन् । यसर्थ पुरुषले यस्तै स्थिति भोग्न परे के गर्दा हुन् ? जैविक प्रक्रियाको अनुभवमा हामीलाई हातेमालो गर्न नसके पनि सामाजिक प्रक्रियालाई भने पुरुषले सहकार्य र समानुभूति गरिदिए नारीको जीवनका जटिलता अलि मत्थर हुने थिए भन्ने मलाई लाग्छ ।

अब छुवाछुत नै गर्ने हो भने, बार्ने नै हो भने बलात्कारी पुरुष र यौन हिंसामा लिप्त पुरुषको सामाजिक बहिष्करण सहित परिवारमै आजीवन छुवाछुतको व्यवस्था बनाए कसो होला ??

पूर्वाग्रह रहित भएर एकार्कामा ज्ञानको आदान प्रदान गर्दा हामी स्वयं मात्रै होइन हाम्रो समाजको पनि उन्नति हुन्छ । आफूले जानेका कुरा साझा गर्नु, नजानेका कुरा लिनु पर्छ । पुराना हुन् भन्दैमा सबै त्याज्य र नयाँ सबै आला काँचा हुन् भन्नु दुवै उत्तिकै भूल धारणा हुन् । हामीले पूर्व र पश्चिमको समन्वयद्वारा ज्ञान मन्थन गर्न सके परम्परागत कुप्रथा नास्न अनि सुप्रथा वा संस्कृतिको संस्कार र संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्न अवश्य सक्छौँ । बार्नु-नबार्नु भनेको पनि सापेक्षित हुँदो रहेछ भनेर त हामीले आज गरेको विमर्शले नै प्रस्ट्याएको छ । घरमा काम गर्ने मान्छे नभएका खण्डमा, रोगी-बालबालिका भएको घर र काम टार्ने अर्को मानिस नभएको अवस्थामा यस्तो बार्नु नबार्नुको कुनै महत्त्व हुन्न । अझ गाउँघरमा पो आज पनि छिमेकीले खाना बनाइदिने, भाउज- बुहारी, फुपू-आमाजूले सघाउने हुन्छ । तर सहरिया जीवनमा यो सम्भव छैन, अझ संयुक्त परिवारको विघटन भइसकेको समाजमा यस्तो गर्जो टार्न कोही भेटिँदैन । यस्तो अवस्थामा पनि पुराना रीति थामिरहन सम्भव हुन्न नै । यसर्थ यो सापेक्षित हुँदो रहेछ ।

कामख्या माइको विषयमा भन्नुपर्दा – समाजको दोहोरो मखुन्डो झल्किन्छ । देवी बनाएर एकातिर यसरी रजस्वाला भएको टालोको बुटी बाँध्छन्, किनभने त्यो मूर्ति हो ढुङ्गाको – बोल्न, भन्न र विरोध गर्न सक्दिन । सांकेतिक हो भनेर यसलाई उति वास्ता नगरी मजाले देवीको पुजा गरेर उपासना प्राप्त गरिन्छ । तर त्यही समाज आज जिउँदो नारीलाई छाउ गोठमा बलात्कार गर्दछन्, कोक्रामा बलात्कार गर्दछन्, बागमति-गङ्गामा नुहाउन गएकाको आँखैले बलात्कार गर्दछन् । खेत-अफिस-सडक-घर-गल्ली कहीँ पनि सानो अवसर पाउने बित्तिकै आँखा वा शरीर दुवैद्वारा नारीलाई बलात्कार गर्छन्, नङ्ग्याउँछन्, यौन शोषणको सबै रूपहरूमा उनीहरू उत्रेर आफ्नो स्थानबाट झर्छन् । बरू छुत यस्ता मानिसको गर्नुपर्ने होइन र ? अब देश निकाला गर्नुपर्ने, सामाजिक बहिष्कार गर्नुपर्ने, सामाजिक तालाबन्दीमा पार्नुपर्ने र अझ छुवाछुत गर्नुपर्ने, पानी काढ्नु पर्ने त यस्ता बलात्कारी पुरुषहरू पो हुन् त ।

नारीलाई ‘घर बाहिर ननिस्किनु, तँ सुरक्षित छैनस्’ भनेर छोरीलाई घर थुनुवा पार्नू होइन बरू बलात्कारी, यौन ह्रिंसक तथा उच्छृङ्खल छोरालाई घर थुनुवा पार्नुपर्छ । घर, समाज र देशमै यस्ताहरूलाई छुवाछुत र सोसियल डिस्टेन्सिङद्वारा ठेगान लाउनु पर्छ जस्तो लाग्छ । छोरीको रजोवृत्ति प्रक्रिया त जैविक प्रक्रिया हो । अबला भनेर हेप्ने दिन गए अब । बाहुबली पुरुषले आफूलाई माथिल्लो स्तरमा कुनै कालखण्डमा राखेपनि अब भने नारीहरू बाहुबली कामहरू मेसिनद्वारा, क्रेन तथा अन्य उपकरणद्वारा सजिलै बटन थिचेकै भरमा बलशाली काम गर्न सक्षम छन् । यसर्थ बाहुबलको भरमा पुरुष दम्भ धेरै टिक्दैन । सहकार्य र समानता नै मानवको हितका निम्ति श्रेयस्कर छ । नर र नारीको समन्वय केवल जैविक आवश्यकता हो । त्यस उप्रान्त नारी र पुरुषमाझ प्रकृतिप्रदत्त भूमिका निर्वाहका निम्ति दुवै उत्तिकै तत्पर र उत्तरदायी हुन्छन् । यसले मात्रै जीवनमा सकारात्मकता र सुन्दरता थप्छ र हामी विकसित मानिसका रूपमा सहकार्यमा सहयात्री हुन सम्भव हुनेछ ।

थप यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका