लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । तिनलाई खुलाउन प्रयास अगाडि बढेको जनाइएको छ । पूर्ण सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिसकिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।
वर्षा हुने क्रम सामान्य हुँदै गएपछि अबको बढीमा दुई हप्ताभित्र मुलुकभरिका सबै अवरुद्ध सडक पूर्णमा रूपमा सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको जानकारीसमेत उनले दिए । सडक विभागका अनुसार राजधानीलाई मुलुकका अन्य भूभागसँग जोड्ने मुख्य राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गको जोगीमारा–मौवाखोला खण्डमा रहेको मौवाखोला पुलमा क्षति पु-याउँदा सो राजमार्ग अवरुद्ध भएको छ ।
त्यसैगरी अरनिको राजमार्गको सिरिसे, जम्बु, झ्याले, डाङलाङमा पहिरो र बाढीका कारण सडक भाँसिदा सो राजमार्ग अवरुद्ध भएको छ । ती सडक खुलाउन प्रयास अगाडि बढाइएको सापकोटाले जानकारी दिए।
याे समचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएकाे हाे ।