रानीदहको धुन

प्रथा कवि
कविता

ओहो !
कस्तरी फुलेछ यो वन
मार्साङको जोवन फुलेजस्तै !
साँच्चै !
सपना लहराएका यी फुलहरू
यो वनको बाटो भएर
कुन गाउँको आँगनसम्म पुग्दा हुन् ?

थाहा पायौ त मैच्याङ !
वैँसालु उमेरको झ्याम्के डालीभरि
हरियाली ओर्लिएपछि
थाहै नपाई,
तरुनी मनको धुलो उडाउँदै
कसरी दौडँदोरहेछ
रातमाटे डाँडाको सडकमा
आफ्नै रहरहरूको वायूपङ्खी घोडा ?

समयको चर्खाभित्र
विचारका कति ताराहरू
झुल्किन नपाउँदै अस्ताएर गए होलान् ?
सेतो दरबार ठड्याएपछि
लोप्साङजस्ता कति कालिगढहरू
शासकको सनकले रेटिएर
याम्बुको सिकुवामा बेखबर पुरिए होलान् ?
शरदको आकाश ओढेर
सेलोको धुनसँगै बाँसको कुरुस नचाउँदै
जीवनको भोटो बुनिरहेकी
डाँडामाथिकी घामजस्तै पेम्साङ मामले
त्यो छेर्तेन गुम्बा लिपेर
बोलाएको जूनेली रङ कहाँ हरायो होला ?

आज कहाँ पुगे होलान्
रोशीको किनारै किनार दौडिएर
देशबाट लखेटिएका हुलकाहुल पीपाहरू ?
च्याङ्बाको शिर काटेर
बालुवामा सुकाउने चौतारीयाको छोरो
आजभोलि,
कुन मन्दिरको पुजारी भएको होला ?
मैच्याङको जोवन लुछेर
याम्बु फर्किएको सेनापतिको खलक
आज वर्षौँपछि पनि
मुलुकी ऐनको पाठ घोकाउन
कुन न्यायलयको ठेकेदार बनेको होला ?

भन न,
ओ मेरो गाङवादाइ !
मनको एकलास चुरेपहाडभरि
आफ्नै इन्द्रेणी लर्काएर
अब कहिले फुल्छन्
यो जिन्दगीमा राता टोटला फुलहरू ?

आगोको जङ्गल उमारेर
अब म सेकाउँछु
यो घोरलको ओस्सिएको छाला
र बेस्सरी गाइरहन्छु– वनको हराएको गीत !
ताकि –
रानीदहको चिसो पीँधबाट
फेरी उठ्न सकोस्
आवाजहरूको एउटा अविलम्बित धुन
र म छमछमी नाच्न सकूँ
डम्फुको तालसँगै ल्होछारको आकाशमुनि !

लुङदरको शिर काटेर
तिमीले उहिल्यै तरबार पखालेको
यो नदीको पानी
म आज पनि उस्तै रातो देख्छु !
हो, म–
त्यही नदीमा सन्त्रास बगाएर
तिम्रो शहर छिरेको बहुला सोनाम हूँ !
ढाडको पीचमा गुडाएर
बेलायती गाडीलाई अक्कर उकाल्दै गर्दा
तिमीले गिँडेको पाखुरीबाट
तप ! तप ! चुहिएर
झरेको रगतले लेखिएको छ
मभित्र पनि तमासुकजस्तै विद्रोही इतिहास !

याद रहोस् !
खुकुरीले बिर्सिए पनि
अचानोले त खुकुरी सम्झिरहँदोरहेछ !
हो, काजी साहेब
म त्यही भरिया साम्देन हूँ !
र म सोध्न चाहन्छु
मेरो काटिएको आधा हात
भन कुन म्युजियममा राखेका छौ ?
म आज,
बरूदखाना अगाडि उभिएर
फर्छौट हुन बाँकी रहेको
आफ्नै जिन्दगीको बेरूजु हिसाब हेरिरहेछु !

किन चुपचाप छन्
यी बन्द गरिएका ढोकाहरू
किन विश्वास छैन्
आफैँमाथि यति ठुलो देशलाई
सक्छौ भने खोल
थर्थरी काँपिरहेको तिम्रो सिंहदरबार ?
म मेरो आप्पाका कङ्कालहरू
यो चिहानघारीबाट झिकेर
तिम्रो देशको आयतन नाप्न चाहन्छु !

यो मनको अगेनोमा
आगोको बिऊ
जतनसाथ बचाएर आएको छु !
याद रहोस् सरकार
म त्यही मारिएको लोप्साङ हूँ !
आज बषौँपछि
यो जमिनको चट्टान फोरेर
आफ्नो मृत्युको फैसला सुन्न आएको छु !

थप यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका