जापानमा कोरोना भाइरसबाट थप ९२० संक्रमित भएका छन् । बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी दिए ।
जापानमा दैनिक संक्रमित हुने कोभिड-१९ बिरामीको संख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताए । जापानका विभिन्न ६ क्षेत्रमा पछिल्ला केही दिनदेखि संक्रमण दर बढ्दो अवस्थामा रहेको छ । यसअघि डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना संक्रमित भेटिएबाहेक एकै दिन यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलोपटक हो ।
पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप संक्रमित भएको जनाएको छ । टोकियोमा पनि एकै दिन तीन सयभन्दा बढी व्यक्ति संक्रमित भेटिएको यो नै पहिलो पटक हो । टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड-१९ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै संक्रमित हुने ओसाका क्षेत्रमा १०४ र टाकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति संक्रमित भेटिएका छन् ।
जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा संक्रमणपछि मृत्यु भएका थिए । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका संक्रमित रहेका छन्,भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।