गरे नहुने के रहेछ र ?

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कर्णाली

चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन् । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर पनि छन् । अविरल वर्षाले उनलाई धान भित्र्याउन अवरोध गरिरहेको छ ।

उनले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोप्नुभएको थियो । करिव १२० दिनमा विशेषगरी सुक्खायाममा पाक्ने हर्दिनाथ–३ जातको चैतेधान उनले महोत्तरीको जलेश्वरबाट ल्याएको थियो । करिव २८ वर्ष बजारमा विभिन्न पसल राखेर व्यवसाय गरिएका उनले दूधवंशी कृषि फार्मका खोलेर ५० लाख रुपैयाँको माछापोखरीसमेत उक्त स्थानमा निर्माण गरिएको छ ।

प्रतिघण्टा ३० हजार लिटर पानी दिनसक्ने डिपबोरिङ निर्माण गरी उक्त पोखरीमा अहिले सात लाख लिटर पानी जम्मा गरिएको छ । यसअघि प्रतिकेजी रु ३०० का दरले ४५ क्विन्टल माछा बिक्री वितरण गरिसकेका उनले यही बन्दाबन्दीकै समयमा तीन हजार भुरा माछापालन गरिएको जानकारी दिए ।

बजार व्यवसाय गरेर करिब दुई दर्जन नागरिकलाई रोजगारी दिनुभएका उहाँले मध्यपश्चिम विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेपछि कृषिकर्ममा लाग्ने उत्प्रेरणा मिलेको बताए । ‘जब मैले ग्रामीण विकास शिक्षा हासिल गरे, त्यसपछि मात्र बुझेँ, मानवजीवनको मुख्य बाँच्ने आधार भनेकै कृषि रहेछ’, उनले भने, ‘विश्वमा कृषिमा आत्मनिर्भर देशहरुले नै विकासमा फड्को मारेका छन् । त्यसर्थ राज्यले यो क्षेत्रलाई प्राथमिकता साथ माथि उठाउनुपर्छ ।’


कृषक ढकालले कृषिलाई मूल जीवन ठानेर पहिलोपटक आफैले हर्दिनाथ–३ जातको चैतेधान खेती गरेको बताए । उनले भने, ‘गरे नहुने के रहेछ र ? प्राविधिक सल्लाहबिना नै आफैँले जे होला होला भनेर बन्दाबन्दीमै शुरु गरेँ । बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा मैले राम्रो लाभ लिन पाएँ । आखिर राम्रै भयो । करिव ६० मुरी धान उत्पादन होला भन्ने अपेक्षा गरेको छु ।’

अब अगामी दिनमा यो खेतीलाई विस्तार गर्ने योजना बनाएको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घ सुर्खेतको वाणिज्य उपाध्यक्षसमेत रहनुभएका उहाँले विसं २०४८ देखि फेन्सी, कस्मेटिक, सिसा पसल गर्दै हाल हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याए पनि कृषिलाई उद्यमसँग जोडेर अघि बढाउने उद्देश्य रहेको जनाए । उनका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चैतेधान लहलह झुलेपछि आफूलाई मात्र नभई सबै किसानलाई यो खेती गर्न उत्साहित बनाएको छ । प्रदेश तथा यहाँका स्थानीय सरकारलाई चैतेधान खेती गर्ने किसानलाई विशेष अनुदान सहयोग गर्न उनले आग्रह गरे ।

सबै सरकारले कृषि क्षेत्रमा जोड दिन ग्रामीण विकास शिक्षा हासिल गरेको जनशक्तिलाई परिचालन गर्नुपर्नेमा उनको जोड थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषक ढकालले गरेको चैतेधान खेतीको अवलोकन गरिएको छ । एउटा व्यक्तिले आफ्नै प्रयासमा गरेको काम निकै प्रशंसा गर्न लायक भएको मन्त्री केसीको भनाइ थियो ।

उनले यस व्यवसायलाई प्रवद्र्धन तथा विस्तार गर्न किसानलाई चैतेधानको बीउ वितरण गर्ने बताए । ‘यो धानको उत्पादनले कर्णाली प्रदेशको आत्मनिर्भरतामा सहयोग पुग्ने देखिन्छ’, उनले भने, ‘सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटको तल्लो भागमा यसको उत्पादनमा जोड दिने गरी सरकारले अब कार्यक्रम बनाउँछ ।’

तपाईको प्रतिक्रिया