राजनीतिक एवं सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उनको फिदिम नगरपालिका-१२ स्थित निवासमा निधन भएको हो ।
अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिए पनि रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उनलाई निजी निवास ल्याइएको थियो । उनको मंगलबार अन्त्येष्टि गरिने उनका भतिजा मनरथले जानकारी दिए । दिवंगत चापागाईंका दुई श्रीमती, सात छोरा र पाँच छोरी छन् ।
विसं २००८ जेठ १६ गते जन्मनुभएका चापागाईँ पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई एकपटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिएको थियो । यस्तै २०५४ को स्थानीय निर्वाचनमा उनले नांगीन गाविस अध्यक्ष निर्वाचित भएको थियो । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक चापागाईँको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । गत स्थानीय तह निर्वाचनमा उहाँ तत्कालीन नेकपा (एमाले)बाट फिदिम नगरपालिकाको प्रमुखको आकांक्षी समेत थियोे ।
जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उन तत्कालीन नेकपा (एमाले) पाँचथरको उपसचिवमा निर्वाचित भएको थियो । स्वास्थ्यमा समस्या भई पछिल्लो पटक सक्रिय राजनीतिबाट बाहिर रहेका चापागाईँ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ प्रदेश सल्लाहकार परिषद् सदस्य रहेको थियो । उन सामुदायिक विद्युतीकरण जिल्ला सहकारी संघ पाँचथरको अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्था नेतृत्वमा समेत रहेको थियो ।