सैलुङमा महँगियो आलु, किसान खुशी

दोलखा

सैलुङ गाउँपालिका वडा नं. १ का कृषकहरुका आलुले बजारमा राम्रै मुल्य पाएका छन् । कोभिड-१९ रोकथाम एवं नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतबाट आलु आयात कम भएपछि सैलुङका किसानले अघिल्लो बर्षहरुको तुलनामा राम्रै मूल्य पाएका हुन् ।

अहिले सैलुङ वरिपरिका बारीहरूमा आलु, काउली, केरा लागयतका तरकारीजन्य वस्तु प्रशस्त छन् । सडक बिग्रिएको ठाउँमा गाउँपालिकाले बनाएको छ, अध्यक्ष भरत दुलालले भने, ‘अहिले कोरोना भाइरसका कारण लामो लकडाउनले गर्दा भारतबाट आलु नआएको र ६ महिने उमेरका आलु, स्वास्थ्यका हिसाबले पनि मिठो र स्वादिलो भएकाले भाउ बढ्नु र बजारमा माग बढ्नु स्वाभाविक हो ।’

‘आलुको पकेट क्षेत्र मानिने सैलुङ गाउँपालिकाले शीतभण्डार (कोलस्टोर) निर्माण गरिरहेका छौ’, अध्यक्ष दुलालले भने, ‘अब झन किसानले सोचेभन्दा बढी मूल्य पाउनेछ।’

‘मुडेको आलु नाम’ले परिचित आलुले विगत १५ बर्षयताकै यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएको वडाध्यक्ष विर्खबहादुर तामाङले जानकारी दिए ।


दुधपोखरीस्थित घ्योइ, कोलमखान, मेहेले, ताम्चेत, बुट्टे, ढुङ्गे, काँडे लगायतका क्षेत्रमा उत्पादित आलु प्रति धर्नी एक सय रुपैयाँ भन्दा बढी मूल्यमा किसानहरुबाट व्यापारीहरुले किनिरहेका छन् ।

यही सिजनमा वडा नं. १ का किसानहरुले मात्रै करिब ३ देखि ४ करोडसम्मको आलु बेच्ने गरेको वडाध्यक्ष मोक्तानको भनाई छ । ‘सडक कच्ची छ तर ढुवानी गर्न त्यस्तो जटिल समस्या छैन, उनले भने ।

‘सयौं टन आलु काठमाडौंमा नै निर्यात हुन्छ’, सोही वडाका व्यापारी जंगविर तामाङले भने, ‘सडक कच्ची भएपनि हामीले फोरह्वील गाडीमार्फत आलु काठमाडौं पठाउदैछौं ।’

वर्षायामको तीन महिनामा यस भेगका आलु सबैभन्दा बढी निकासी हुन्छ । आलुको भाउ ठेकेदार व्यापारीमार्फत नै बिक्री गरिदै आएको छ । व्यापारी व्यापारीबीच नै आलुको मुल्यमा दैनिक हेरफेर भइरहेको छ । स्वतः त्यसैले पनि यसवर्ष आलुको मूल्य आकाशिएको सोही वडाका अर्का व्यापारी मानबहादुर मोक्तानले बताए ।

अहिले ग्योइ क्षेत्र लगायत माथिल्लो भेगमा केही वर्षदेखि आलु उत्पादनमा कमी आएको छ, वडा नं. १ का कृषक लालकाजी तामाङले जानकारी दिए । यस क्षेत्रको बारीको माटो चिसो र चाँडै नै बर्खामास सुरु भएपछि उत्पादनमा कमी आएको उनको भनाई थियो । उनले भने, ‘किसान हर्षित त छ, तर भाउ बढेसँगै किसानले व्यापारीलाई आलु दिन नसकेको अवस्था छ ।’

यस सिजनमा एक जना किसानले कम्तीमा २ देखि ५ लाखसम्मको आलु बेच्ने गरेको तामाङले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट निर्माण गरिरहेका अवस्थामा किसानहरुको वस्तुले राम्रै मूल्य पाउनु, उनीहरुको श्रम खेर नजानु हो । कृषकहरुको प्रोत्साहनको लागि बजेट र अनुदानका नीति बढाए बारी, खेत बाँझो राख्नको साट्टो उत्पादनमा थप प्रोत्साहित मिल्नेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका