कुन्चिप्वाकलबाट बतासिँदै शान्तिधाम

माधव घिमिरे ‘अटल’ नियात्राकार

पढ्नै थियो तारकेश्वर नगरपालिकाको भूगोल ।

पढ्नु थियो– अनेक धामका किस्सा र परम्परा; घना जङ्गलका एमानका रूख, पुलपुलिएका पोथ्रा र अनवरत उकालिने ऊर्जा बोकेका अगणित लतिका । सन्दर्भ थियो- समयले सिर्जिएको सकसलाई चिर्ने । चहार्नु थियो- रनवन । र, सुन्नु थियो- चिसा रूखका जादुमयी गुञ्जन । बसाइँ सोही भूगोलमा भएकाले हुनसक्छ, त्यो विशाल पुस्तक पढ्ने निक्र्यौल त भयो मनमनै, किन्तु मूर्तरूप दिनु थियो यथासमयमा । मूलतः यो नगरपालिकासँग अनेकानेक पौराणिक कथनहरूसमेत जोडिएकाले हुनसक्छ हुटहुटी आफैँमा प्रखर बनेर आयो । यो विशाल पुस्तक पढ्ने कामना÷कल्पना त गरेँ किन्तु मूर्तरूप दिने कसरी ? कहाँबाट कहिले सुरु गर्ने ? मलाई यिनै प्रश्नहरूले रङमङ्याइरहेको थिए ।

यसै पृष्टभूमिमा तानपाको उपल्लो थलोमा रहेको एउटा मनोरम तामाङ बस्ती कुन्चिप्वाकल विचरण गर्ने प्रस्ताव राखे आख्यानकार तथा रेडियोकर्मी दीपक लोहनीले । उनको प्रस्तावमा निर्निमेष लालमोहर लगाए नियात्राकार राजेन्द्रमान डङ्गोलले ।
यसरी तय भयो कुन्चिप्वाकल डुलफिर ।

२०७७ असार २० गते ।


भर्खरै नेटो काटेको थियो पन्द्र असारले । ठुलाठालूले गमलामा रोपाइँ गरेका दृश्य दूरदर्शनदेखि सामाजिक सञ्जालका भित्तामा छ्याप्छ्याप्ती थिए । रोपाइँ गर्न आफ्ना कुनै जिउला त के सुर्कामुर्कासमेत थिएनन् । फुर्सदको समय सदुपयोगको सवाल पनि थियो उत्निखेर ।
सहर बजारमा कोरोना सन्त्रासले ढपक्कै ढाके पनि बत्ती मुनिका अँध्यारा बस्ती भने सधैँझैँ गुलजार नै थिए । कोरोनाको अफवाहसँगै जिउने हिम्मत बटुलेको थियो यो भूगोलले पनि र त लागि परेका थिए मानो खाएर मुरी उब्जाउने सङ्घर्षमा किसानहरू ।

आराम लिँदै गर्दा एउटा सवालले किञ्चित बिझाइरह्यो मस्तिष्क ।
त्यहीँ तल्तिर साङ्ला, अनि अलिक माथ्लापट्टि किन चुनी साङ्ला ?

प्रश्नको पेटारो खोल्न नभ्याउँदै कपडा नापजाँच गर्दाको व्यस्तता बिथोलेर एक रूप्सिली अधबैँसे महिलाले मुहारबाट मुस्कान छर्दै चोरी औंलाले औंल्याएर भनिन्– ‘उः त्यहीँनिरको चुनीदेवीको मन्दिरका कारण चुनी साङ्ला भनिएको हो ।’  कुरैकुरामा बालकुमारी विद्यालयमा विद्यावारिधि गर्ने शिक्षकको सङ्ख्या उल्लेख्य रहेको पनि थप्न भ्याइन् उनले । ज्ञानको यस्तै देवलमा रम्दारम्दै मुजा परेको ललाट, गरा परेका गाला र कपासे कपाल दर्पणमा ठोक्किएका नजरले सङ्केत गर्दा पो झल्याँस्स भएँ म ।

ज्ञान चक्षु उघार्न भनी राज्यले सुम्पेको चाबी बोकेको पनि तीन दशक चिप्लिसकेछ । अनवरत बगिरहने समय घर्कन के बेर ! अचानक मोबाइलले गाना गाएपछि टुट्यो एकसुरे ताना । तार पठाएका रहेछन् दीपकले । उनी आइपुगेको जनाउ रहेछ त्यो । उद्यमशील नारीहरूलाई मनमनै सलाम गर्दै तीन भाइ उकालियौँ कुन्चिप्वाकलतिर । हिँड्दाहिँड्दै लाग्यो, उद्यम सानो वा ठूलो भन्ने हुँदैन मेहनती मान्छेहरूका निम्ति । लुटेर, ठगेर र सोसेर खान पल्केका अधमहरूलाई साधना र समर्पणको बलले मान्छे माथि उठ्ने हो भन्ने परोक्ष शिक्षा दिइरहेछन् उनीहरूले ।
ढकमक्क फुलेको छ शिरीष; गुमनामजस्तै छन् गुमपाति । बुढिएका छन्– काम्ले, खरी, मुसेखरी र साल्मे चपाइरहेछन् चर्दै गरेका एक बथान बाख्रा । ठेट्ना ठिगारेहरू ठट्टा गरिरहेछन्, असारे गीतमा रमेका रोपाहारसँग । स्याहार्न हम्मेहम्मे परेको गुन्युमाथि व्यङ्ग्य कस्न भ्याएकै छन् बाउसे र लाठेहरू । हिलाम्मे हलीका हिमानी दन्तलहरबाहेक सर्वाङ्ग दबदबे आवरणमात्र देखिन्छ । तस्बिर कैद गर्न मोबाइल सोझ्याउँछन् राजेन्द्रमान ।

“राम्रो खिच्नुस् है फोटो !” ठट्टाभनवमा उत्रन्छन् रोपाहारहरू ।
ट्वाँ पर्छन् दीपकजी चाहिँ ।

हो, यिनै किसान हुन् जसले बालीनाली र तरकारी उब्जाएर जेनतेन भरथेग गरेका छन् तारकेश्वरवासीलाई । साँझ, बिहान, झरी, बादल केही नभनी उब्जाएको बाली बिचौलियाको कब्जामा पर्दा खिन्न हुँदै फर्केका कैयौं बिहानीहरू छन् र पनि हरेस खाएका छैनन् यिनले किनकि रोजीरोटीको मूल मेलो पनि यही बनेको छ अधिकांश आदिवासीको । ठूलो सङ्ख्याका भूमिपुत्रको कहरिलो जीवन ढुङ्गामाटोमै मितेरी लगाएर तुरिएका दृष्टान्त मनग्गे भेटिन्छन् यहाँ । कृषि उपजमा तल्लीन कर्मवीर मनहरूलाई नमन गरेँ मैले ।

उकालियौँ हामी । कुलोको जस्तै कलकल आवाज आइरहेको छ । कुलोजस्तै खोल्सोको नाम रहेछ– ठूलो खोला । वर्षामा त जवानी देखाउन नसक्ने यो खोलाको हालत हिउँदमा कस्तो होला !  व्यङ्ग्यात्मक झझल्को दिन्छ ठूलो खोलाले– मूर्खहरुको नाम बुद्धिबहादुर, बहिराको नाम कर्णकान्त, दृष्टिविहीनको नाम लोचन कुमारी, मक्खीचुसको नाम दानवीर, र काँतरको नाम वीरमान भनेझैँ ।

ठूलो खोलाकै शिरतिर लागिरहेका छौँ धीमा गतिमा पाइला सार्दै । भिरालो जमिनलाई सम्याएर कित्ताकाट भइसकेको छ । सहरमा ठाउँ नभएपछि डाँडाकाँडा चढ्न थालेछ डोजरले । उर्वर भूमिलाई दारेर आफ्नो दुनो सोझ्याउँन भ्याइसकेछन् भूमाफियाले ।
आइपुग्यो बाँसको झ्याङ । सुल्फा तान्दै थिए तीनभाइ तन्नेरीहरू त्यसैको छेल परेर ।


“भाइहरू यतैको हो?” राजेन्द्रमानले सोधे ।

“हो ।” एउटाले जवाफ दियो ।
“कुन्चिप्वाकल कति टाढा पर्छ ?” फेरि सोधे ।

दाँत ङिच्च पार्दै अर्को बोल्यो– “दाइ, हामी पनि यताका होइनौँ । त्यस्तै एक घण्टा जति लाग्ला कि ।” बित्यास परेछ तिनलाई ।
विनासित्ति पोल खुल्यो बिचराहरूको । संभवतः गाँजा तानिरहेका ती तन्नेरीहरूलाई उनको प्रश्न तीर हानेझैँ भयो कि भन्ने भान भयो मलाई । प्रश्न त फगत् स्थान र समयको जानकारी लिनुमात्र थियो ।  पुगियो बस्तीमा । एउटा घर छेउमा लटरम्मै फलिरहेका थिए आरु । देख्नासाथ खान मन लागेछ राजेन्द्रमानलाई ।

त्यसो त हाम्रो मुख पनि कहाँ नरसाएको हो र ?
पिँढीमा उभिइरहेकी महिलालाई सोधि हाले, “दिदी ! आरु खान पाइन्छ ?”
“पाकेको त छैन खान मन लागेको भए टिपेर खानूस् ।” जवाफ आयो उताबाट ।
आरुधनीको अनुमति पाएपछि तीन वटा आरु टिपे उनले ।
धपेडीमा त्यस्ता आरु पनि अमृत भए हाम्रा लागि भने ।

अचम्म ! आरुको मूल्य लिन ठाडै इन्कारिन् ती महिलाले । लाग्यो, गाउँलेहरूमा अझै पनि भातृत्व मरेको छैन र क्याँटमा बिकेको छैन विवेक ।
ओढिराखेकै थियो कुन्चिप्वाकलले कुहिरोको उपर्ना र आकाशले झारिराखेको थियो जलकण ।  सोधखोज गर्दै गुम्बातिर तेर्सिँदा नजर ठोक्किए एउटा सानो सूचनापाटीमा । टङ्कण गरिएको थियो– ‘कोरोना प्रकृतिको कानुन हो जसले उल्लङ्घन गर्छ, उसले मृत्युदण्ड पाउँछ ।‘
हेर्दा सामान्य लागे पनि सन्देश असामान्य अनुभूत हुने । बन्दाबन्दी उल्लङ्घनकर्तालाई दिइएको शालीन किन्तु गम्भीर चेतावनी । एक निमेष चिस्यायो मेरो अन्तरमनलाई ।

बाटोको बायाँपट्टि एउटा पुरानो टहरा थियो बाँसका कप्टेरा ठड्याएर गिलेवा छापेको । यो नितान्त नौलो दृश्य हो सहरिया नयाँ पुस्ताका निम्ति । दायाँपट्टि भने काँचो इँटाले बनेका पुराना बान्कीका एकाध घर देखिए, हाँसको फौजमा बकुल्लाजस्ता । नेवारको नामनिशान नभए पनि उनीहरुको शैली अद्यापि जीवित थियो त्यहाँ ।

कुरैकुरामा ठाउँको नाउँबारे पनि मन्थन भयो स्थानीयवासीसँग अपितु भरपर्दो जवाफ मिलेन ।

उनीहरूको भनाई अनुसार नेपाल भाषामा ‘कुँ‘को अर्थ कुनाको र ‘छें‘ले घर जनाउँछ । त्यसरी नै ‘प्वाक‘ ले चाहिँ ‘ओखल‘ अथ्र्याउँछ । नेवारी शब्दलाई नेपालीकरण गर्दा ‘पस‘ को पसल,‘ झ्यॉको झ्याल, ‘ज्यास‘को ज्यासल भएझैँ ‘प्वाक‘को प्वाकल हुन्छ । उतिबेला सबैको घरमा ढिकी, जाँतो नहुने र एउटा कुइनेटोमा अवस्थित एउटा घरमा ढिकी भएको हुनसक्ने र ठूलो संख्यामा रहेका छिमेकीले त्यहीँबाट काम चलाउने सिलसिलामा अलिक बढी नै यो शब्द उच्चारित हुँदा यस्तो भनिन गयो कि भन्ने मत तर्कपूर्ण र बलशाली लाग्छ । त्यस्तै ‘कुन्चॉले इनार अथ्र्याउने र ‘प्वाक‘ ले प्वाल पनि सङ्केत गर्ने भएकाले कतै सामूहिक अरघट्टमा पानी उघाउने गर्दागर्दै कालान्तरमा कुन्चिप्वाकल बन्न गयो होला भन्ने मत पनि उतिसारो तथ्यहीन भने लाग्दैन ।

धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरबाहेक अचेल कुन्चिप्वाकलमा नेवार बस्तीको कुनै चिनोबानो छैन ।

स्थानीयसँग गफिँदै पाइला चाल्यौँ हामीले । असरल्ल छन् रोडा र बालुवा बस्तीभित्र । वरिपरि चारैतिर उर्वर खेतवारी देखिन्छन् । धमाधम कित्ताकाट भइरहेको छ अमूल्य अनाज उत्पादन हुने भूमिको । र, दाग लाग्दै गएका छन् सुरूप बस्तीहरू । भूमाफियाको साम्राज्य र राजनीतिसँग कालोधन्दा एकाकार भएको ज्वलन्त दृष्टान्त पाइन्छ यहाँ ।

केही कदम अघि बढेपछि भेटिन्छ एउटा भग्न गुम्बा र सँगै जम्काभेट हुन्छन् चीवरविहीन लामा अर्थात् उनकै शब्दमा गुम्बाका मूल पुरोहित उर्गेनका आफन्त, सखारै थोरै सोमरस सुर्क्याएको अवस्थामा । अनाथ गुम्बाको जीर्ण पर्खाल, मक्किएका काठपात, मझेरीमा राज गरेको वनमाराको मल्को र जुँगा, चमरा छोडेका उन्नत जातका मकै । चार पाँच रोपनी जग्गामा पुननिर्माण गर्न लागिएको टासी देलेक छोलिङ गुम्बाको कन्तबिजोकको एकमात्र साक्षी छ– मल्लकालीन चैत्य ।

किञ्चित अगाडि देखिन्छ भिरालो जमिन ।

सिरू, साल्मे र खरले तयार गरेको छ हरियो चादर । सल्लाका सिन्केपात सुसाइरहेछन् शीत्तल समीरसँगै ।

सिरू, साल्मे र खरले तयार गरेको छ हरियो चादर । सल्लाका सिन्केपात सुसाइरहेछन् शीत्तल समीरसँगै । ढोलको आवाज दबाउन सकिन्थ्यो होला; वीणाको तार भए खुकुल्याउन मिल्थ्यो होला तर चखेवालाई गीत नगा’ भनेर आदेश दिन नसकिएझैं एकोहोरो नाचेका सल्लीपिर हेरेर बस्नुसिवाय के नै सम्भव थियो र ? चाँपको एउटा बुढो वृक्षमात्र साक्षी बसेको देखियो शेष बनेका अशेष मान्छेहरुको । बादलको स्वेत पर्दाले ढपक्कै ढाकेको छ शिवपुरीको सम्मोहक शिर, छङ्छङाइरहेको झोर झर्ना, कठचित्रझैँ लाग्ने कठेरी, सुमुख सल्ले, गड्गडाउँदै बगेको बौडेश्वर र जगात रुङेको जगत् ।

मिलन लामाले लम्बेचौडे बात गर्दै बताए– “हामी त स्रङ्चङ्गम्पोका सन्तान । स्रङ्चङ्गम्पो चर्चित तिब्बती राजा थिए जसले नेपाली मूलकी राजकुमारी भृकुटीलाई पत्नीका रूपमा भित्र्याउँदा बुद्ध धर्म पनि भित्र्याएर र कहलाए प्रथम धर्मंराजा । ३८ औं तिब्बती सम्राट तथा दोस्रो धर्मराजा ठ्रिसोङ डेचेनले व्यापक बनाए महायान बौद्ध धर्मलाई तिब्बती पठारमा । आचार्य शान्त रक्षित, गुरु पद्मसम्भव र पण्डित विमलमित्र लगायतका भारतीय महासिद्ध विद्वान् गुरुहरूलाई तिब्बतमा आमन्त्रण गरेका उनी बौद्धनाथ स्तुप निर्माणसँग पनि सम्बन्धित भएको इतिहास पाइन्छ । उनका सन्तान ल्हो हुन् र हामी पनि । हो, हामी उनैका दरसन्तान हौं ।”

सलहले सखाप पारेका वनस्पति नियाँल्दै थपे उनले, “यही माटोमा समाधिस्थ भए अगणित आफन्त । पत्थरसरि मन बनाएर विदा गरियो तिनलाई । कङ्काल बने यही भीरमा करोडौँ सपना । चित्त बुझायौँ– आखिर हामी सबैको साझा बाटो उही नै त हो भन्ने सम्झेर । उहिले उहिले मुर्दाको ’चि’ हेर्ने चलन थियो । तिथि, मिति र घडी, पलाअनुसार कसलाई कसरी समाधिस्थ गर्ने भन्ने हुन्थ्यो तर आजकल त्यो कहाँ सम्भव छ र ? गिद्धलाई खुवाउनुपर्ने अवस्था आए के गर्ने अहिले ? तसर्थ शव यहीँ दहन गर्ने र अस्तु निकटवर्ती नदीमा सेलाउने ।’ बोल्दाबोल्दै भावुक बने मिलन ।

त्यति नै बेला हठात् भेटिए सोही क्षेत्रका वडा अध्यक्ष विदुर सापकोटा । राजनीतिक मान्छे उनी । उनले होम स्टे बनाउनेदेखि गुम्बा निर्माणसम्मका आफ्ना विकास, निर्माणका योजना सुनाए । ढकालचौरमा राई जनजातिले खरिद गरेको जग्गा र उनीहरुले निर्माण गर्ने उमेद रहेको नमुना बस्तीबारे पनि बोले उनी ।

हामीले घनघटाको आँचलमुनिको सिर्फ त्यो मनोरम भूदृश्य नियाल्यौँ र हात हल्लाउँदै उकालियौँ । बहुचर्चित शान्तिधामलाई गन्तव्य बनाएर ।
बाटामा जम्काभेट भएका शिव देवकोटाले स्थानीय तहमा भएको आफूहरुको हाँकोडाँकोबारे बेलीविस्तार लगाए र आफ्ना पुर्खा वीर गोरखाली भएको बताए । साँघुरो घुम्ती छिचोल्नासाथ देखिए घाँसे डोको र थुन्से बाटामा अड्याएर घाँस काट्न व्यस्त दुईजना महिला । बाटो काट्ने मेलोमा बेतालमै सोधियो– ‘तपाईंहरू देवकोटा होइन र ?’ चकित परे मेरो प्रश्नले मानौँकि हामीले जादु गरेका छौँ । मखलेल भएँ म अँध्यारोमा फ्याँकेका तीरले सिकार गरेकामा । मनोलाप गरेँ– ’सुख कहाँ पो फल्ने रहेछ र बोटमा उसै फल्ने फलझैँ ? यो त पसिना दानाको समष्टि न रहेछ ।’ यसैबीच निर्निमेष दृष्टि पर्यो काँक्राझैँ चिरिएको ढिस्कोमा । कसैको ध्यान पूजामा, कसैको ध्यान भुजामा ! ’जहाँ जङ्गल, त्यहीँ मङ्गल’ भन्ने आहानलाई चुनौती दिइएको थियो त्यहाँ । भैंसीको दूध खाएर राँगाको बुद्धि गर्ने व्यापारिक राजनीतिको नाफाघाटा लेखाजोखाको दुष्परिणाम हो यो भन्ने लख काट्न किञ्चित हम्मे परेन हामीलाई । आ–आफ्ना कोणबाट विषयवस्तु घनीभूत ढङ्गले उठाइए पनि परन्तु समाधान हामी कसैमा थिएन किनकि अख्तियारी हामीमा थिएन । विराट धामको माथमा त यस्तो हविगत छ । जुनसुकै बखत फाल हाल्न सक्छ जबर्जस्त चिथोरिएको जमिन भन्ने अड्कल गर्न गाह्रो थिएन । पुगेसपुगेस आर्थिक हैसियतवालाहरूलाई लक्षित गरी तयार पारिएका यस्ता कमसल घडेरीले जीवनभर पुर्पुरोमा हात राख्न विवश पार्ने निश्चित छ ती विचराहरूलाई । र, पनि बत्ती वरपरका पुतली भइरहेछौं हामी ! उसै अमिलियो मन ।

केही पोज हान्नका निम्ति एक अपरिचित युवालाई अनुरोध गरिसकेपछि ओर्लन्छौं हामी अक्करे भीर । बाटो नामको रेखा त छ परन्तु कदम राख्ने कुनै खुड्किला छैनन् । थोरै समथर जमिन रहेछ त्यहाँ भीरैभीरको बीचमा । शिरीष, टुनी, सल्ला र चिलाउनेको घना जङ्गल छ वरिपरि । पारिपट्टि देखिए शिवपुरीको शिरमा छुनुमुनु गरिरहेछन् कुहिरोका खिरिला चोइटा । घरी सिमसिमे जलवृष्टि, घरी कुहिरोको लुकामारी, घरी अरूणको आभायुक्त अनुहारको दर्शन, घरी वनभोजमा सरिक भीडको नाचगान । मन्दिर धाउने भक्तहरु भक्तिनीको ध्यानमा भएका पक्क पार्ने परिदृश्य ! कतिपय कुरामा त प्रतिवाद गरौँ कि भन्ने पनि लाग्यो एक मन तर अर्को मनले भन्यो– ’धेरै तीतो नहुनू उकेली पठाउँछन् !’ वास्तवमै एउटा उदेकलाग्दो आबहवा । सोह्रखुट्टे र माछापोखरीमा कोरोना सङ्क्रमित ह्वात्तै बढेको समाचार सार्वजनिक हुँदै गर्दा त्यहीँका वासिन्दाको यो तमासा ! बस रिजर्भ गरेर आएका रे । न मुहार छोप्ने मास्क, न हातमा पन्जा, न ह्यान्ड स्यानिटाइजर ।

रुचि अनुसारको परिकार झिक्यो, भकु¥यो । मस्तराम छन् प्रकृतिको मोहपाशमा उनीहरू मानौँकि यो स्थायी वनभोज उद्यान हो र बन्दाबन्दीबारे पूरै बेखबर छन् सबैजना । त्यसो त धार्मिकस्थलका अनेकौँ किंवदन्ती हुन्छन् स्वाभाविक रुपमै । शान्तिधामका पनि दर्जनौं दृष्टान्त छँदैछन् । शान्तिधाम मन्दिरमा सुरक्षित लिखत र अभिलेख अनुसार बदरीनाथ सत्ययुगका देउता हुन् । भित्तामा अभिलिखित ताम्रपत्र भन्छ– उक्त धामको निर्माण सुसम्पन्न २०७४ साल चैत्र ११ गते भएको हो भने समुद्घाटन तथा प्राणप्रतिष्ठा २०७५ वैशाख ६ गते । मूलद्वारको भित्तामा राखिएको ताम्रपत्रमा एकलाख भन्दा बढी दान गर्ने भक्तभागवतको नाम टङ्कण गरिएको छ अर्थात् विपुल द्रव्य दान गर्नेहरू भित्तामा टाँगिने छन् युगानुयुग र सम्पत्तिले साथ नदिने अपितु विशाल हृदय हुनेहरूको परिचय भने अल्पिने छ । अतः दाँतमा ढुङ्गा लागेझैं वर्गविभेद छ्याङ्छ्याङ्ती अनुभूत भयो पवित्र देवलमा पनि ।

धादिङ, गल्छीका किशोर वयका घाघडान गुरु सुदर्शन नेपालले उत्सुक यायावरलाई जिज्ञासा शमन गर्ने सिलसिलामा धाराप्रवाह प्रवचन दिँदै भनेका थिए– ‘पाप र पाखण्डले भरिएको संसारमा मान्छे मनोशान्तिका निम्ति भौंतारिएका छन् । धर्म भनेको स्वयं मनको शान्ति हो । उत्तराखण्डका भगवान् विष्णुको प्रतिरुप नै शान्तिधाम हो । अरु त अरु उता माना गाउँ नामक तामाङ बस्ती छ भने यहाँ पनि कुन्चिप्वाकल । विष्णु पादुकादेखि चार धारासम्म सबै दुरुस्तै छन् । यदि कोही उत्तराखण्डको बदरीनाथ दर्शन गर्न असमर्थ भए शान्तिधाम आउन सक्छन् । सत्य युगका बदरीनाथ, त्रेता युगका रामेश्वरम्, द्वापर युगका द्वारिका र कली युगका जगन्नाथ देवाधिदेव मानिन्छन् र तिनको पूजनले परमार्थ प्राप्ति हुन्छ भलै यी विषयवस्तु भौतिकवादीलाई अपत्यारिलो लाग्न सक्छ ।’

मूल मठाधीश भने खासै खुल्न चाहेनन् हामीसँग । उनलाई लाग्यो होला– यस्ता डुलुवा कति आउँछन् कति । र, त उनको मुखाकृतिबाट कम आँकेको भेउ पाउन हम्मे पर्दैनथ्यो हामीलाई । आधा घण्टा देवभूमिको अनवरत प्रवचन श्रवण गरिसकेपछि र धाम परिसरका दृश्यलाई आ–आफ्ना घुम्ती दूरभाषमा थुनि सकेपछि शनैशनै ओरालियौँ हामी । तर भएछ– जानु थियो आरूबारी, पुग्न गएँ आलुबारीजस्तो । फुयाँलथोकका क्लान्त किशोरले छोटो बाटो बताइदिएपछि बल्ल गन्तव्य भेट्ने मेसो आयो । झण्डै उत्तरको ताक, पूर्वको दौड भइसकेको !

रनभुल्लमा पर्दै गर्दा हामीले ओढेको आकाश भने छर्लङ्ग उघ्रिइसकेको थियो ।

थप यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका