घरविदा जान तयारी कृष्णबहादुरको साउदीमै अन्त्येष्टि

नवराज तामाङ
नवराज तामाङ संवाददाता
जेद्दा, साउदी

साउदी अरेबियामा रोजगारीका लागी आइपुगेको कृष्णबहादुर प्रधानको उपचारका क्रममा निधन भएको छ । प्रधानको निधन जेद्दास्थित अस्पतालमा भएको विवेकशील दलका सदस्य तथा नेपाली साझा मंच साउदीका उपसंयोजक अकल प्रधानले जानकारी दिए ।

उपसंयोजक प्रधानका अनुसार अस्पतालमा भर्ना भएको २६ दिनपछि कृष्णबहादुरको निधन भएको हो । जुन २९ तारिख अस्पताल भर्ना भएको कृष्णबहादुर उपचारका क्रममा जुलाई २४ तारिख बिहान् ३.१५ बजे निधन भएको उनको कम्पनीको कफिल साहुले उपसंयोजक प्रधानलाई जानकारी दिएका हुन् ।

उप संयोजक प्रधान भन्छन् ‘ उहाँ (मृतक) अस्पताल जाने दिनसम्म सम्पर्कमा हुनुहुन्थ्यो, त्यसपछि सम्पर्क हुन छोडेको र उनको कफिलसँग स्वास्थ्यस्थितिका बारेमा जानकारी लिइरहेको थियो,’ उपसंयोजक प्रधानले भने,’ अचानक जुलाई २४ तारिख दिउँसो २.०० बजेतिर कृष्णको साहुले उनको निधन भएको खबर सुनाउदा छाँगाबाट खसेझै भयो ।’ हामी साउदी अलगअलग शहरमा रहेपनि नेपालमा एकै गाउँपालिका हो, उनले भने ।

मृतक कृष्णबहादुर जेद्दाको आभास्थित मुहासासा नुजाहा अल जुन कम्पनीमा कार्यरत थियो । उनको मृत्यु कोभिड-१९ बाट भएको कारणले नेपाल पठाउन नसक्ने जेद्दास्थित महावाणिज्यदूत रेवती रमण पौडेलले बताए । उनका अनुसार मृतकको कफिलसँग आवश्यक कागजपत्रका लागि सम्पर्क गरिरहेका छन् ।


शव नेपाल नआउने थाहा पाएपछि मृतक कृष्णबहादुरका परिवारले हिन्दु धर्मअनुसार १३ दिने कर्मकाण्ड समेत गरिसकेको उपसंयोजक प्रधानले बताए । उपसंयोजक प्रधानलाई मृतकको कागजात जुटाउन राज प्रधान र दुर्योधन प्रधानले सहयोग गरेको थियो ।

सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका-१,लिस्तीका मृतक कृष्णबहादुर चार वर्षअघि साउदी आएका थिए । मृतक घरबिदाको तयारीमा समेत रहेको प्रधानले बताए । मृतकको श्रीमतीसँगै १३ र ११ वर्षीय छोरी छिन् ।

साउदीमा नेपालीहरु कोरोनाबाट कति संक्रमित वा निको भएको तथ्यांक दूतावाससँग समेत नभएको बताउँछन् । दूतावासका अनुसार दैनिक जस्तो निको हुने र संक्रमित हुने भएकोले संख्या यकिन गर्न कठिनाइ भएका हुन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने झन्डै तीन दर्जन रहेको दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया