भाषाको वर्गीकरणहरूमा तामाङ भाषा

काठमाडाैं

भाषाको परिवार हुन्छ भन्ने धेरैलाई थाहा होला तर प्रभाव, आकृति आदिको आधारमा पनि भाषाको वर्गीकरण हुन्छ भन्ने कुरा थोरैले मात्र जानकारी होला । हाल विश्वमा ७,११७ (इथ्नोलग २०२०) जीवित भाषाहरू छन् । यी भाषाहरूलाई महादेश, देश, काल, शिक्षामा प्रयोग, परिवार, प्रभाव र आकृतिका साथै अन्य विभिन्न आधारमा वर्गीकरण गरिन्छ । प्रस्तुत लेखमा यिनै वर्गीकरणहरूको आधारमा तामाङ भाषाको अवस्थिति र उपस्थितिको खोजी गरिने छ । विशेष गरी परिवार, प्रभाव र आकृतिको आधारमा तामाङ भाषाको स्थिति हेरिनेछ र अन्तमा अध्ययनको सारांश प्रस्तुत गरिनेछ ।

हालसम्मको प्राप्त अभिलेख हेर्दा यस भाषाका शब्दहरू सन् १८४७ को हज्सन पेपर “मूर्मीहरूको कुलाचार” मा हेर्न सकिन्छ । तामाङ भाषा पाइएको यो नै पहिलो अभिलेख हो । सन् १८४८ मा उनैले केही हिमाली भाषाहरूको तुलना गर्ने क्रममा तामाङ भाषाका शब्दहरू सङ्‌कलन गरेका थिए ।

तामाङ भाषा तामाङ जातिको मातृभाषा हो । यो भाषा मूलतः काठमाडौं उपत्यका वरिपरिका हिमाली तथा पहाडी भूभागमा अर्थात् बागमती प्रदेशमा बोलिन्छ । अन्य प्रदेशमा पनि यस भाषाका वक्ता पाइन्छ । नेपालमा करिब चौध लाख तामाङ वक्ता छन् । नेपालबाहिर भारत (दार्जिलिङ, सिक्किम, आसम, नागालैन्ड) भूटान र बर्मामा पनि यो भाषा स्थानीय भाषाको रूपमा बोलिन्छ । नेपालका गैर-तामाङले पनि यो भाषा दोस्रो भाषाको रूपमा बोल्दछ ।

(१) संसारमा ७ महादेश छन् । महादेशको आधारमा अमेरिकी भाषाहरू, युरोपीय भाषाहरू, अफ्रिकी भाषाहरू आदि भन्ने प्रचलन छ । तामाङ भाषा एशिया महादेशमा बोलिने हुनाले यो एशियाली भाषा हो ।

(२) विश्वका १९५ देश छन् (यीमध्ये दुइ देश संयुक्त राष्ट्रसंघको सदस्य छैन) । प्रायः एक देशमा एकभन्दा धेरै भाषा बोलिन्छ । देशको आधारमा भारतीय भाषाहरू, चिनीयाँ भाषाहरू, रसियाली भाषाहरू भन्ने चलन पनि छ । नेपालमा बोलिने १२३ भाषामध्ये तामाङ पनि एक हो । यसर्थ तामाङ भाषा नेपाल मूलका नेपालीय भाषा हो ।


(३) ऐतिहासिक कालखण्डको आधारमा हेर्दा तामाङ भाषा आधुनिक भाषामा पर्दछ । यसको प्राक्-ऐतिहासिक, प्राचीन वा मध्यकालीन रूपको हालसम्म अध्ययन अनुसन्धान हुनसकेको छैन । हालसम्मको प्राप्त अभिलेख हेर्दा यस भाषाका शब्दहरू सन् १८४७ को हज्सन पेपर “मूर्मीहरूको कुलाचार” मा हेर्न सकिन्छ । तामाङ भाषा पाइएको यो नै पहिलो अभिलेख हो । सन् १८४८ मा उनैले केही हिमाली भाषाहरूको तुलना गर्ने क्रममा तामाङ भाषाका शब्दहरू सङ्‌कलन गरेका थिए । जर्ज ए. ग्रियर्सनले सन् १९०९ मा भारतीय भाषाहरूको सर्वेक्षण गर्ने क्रममा तामाङ भाषाको पनि सर्वेक्षण गरेका थिए । उनीहरू पछिका बेलायती लेखकहरूले आ-आफ्ना कृतिहरूमा तामाङ भाषाको बारेमा उल्लेख गरेका छन् ।

(४) शिक्षामा मातृभाषा (बालबालिकाले जानेका पहिलो भाषा) का साथै दोस्रो भाषा (परिवेश र सरकारी कामकाजको भाषा), विदेशी भाषा (उच्च शिक्षा र अनुसन्धानको भाषा) र शास्त्रीय भाषा (ज्ञानले युक्त प्राचीन भाषा) को पठनपाठन हुन्छ । तामाङ भाषा तामाङ बालबालिकाको मातृभाषा हो र यो पहिलो भाषा पनि हो । नेपाल र भारतको सिक्किम राज्यका विद्यालयहरूमा यो भाषा मातृभाषाको रूपमा पठनपाठन हुने गरेको छ । शिक्षणको माध्यम भाषाको रूपमा पनि यस भाषामा पठनपाठन हुने गरेको छ । तामाङ भाषा दोस्रो भाषाको रूपमा बोल्नेहरूको सङ्‌ख्या पनि उल्लेखनीय छ ।

(५) भाषालाई अक्षर संरचनाको दृष्टिले पनि हेरिन्छ । यस दृष्टिबाट तामाङ एक अक्षेरीय भाषा हो । एकाक्षेरीय भाषामा प्रत्येक अक्षरको अर्थ लाग्दछ । जस्तै; क्रास्या (क्रा- कपाल, स्या- मासु अर्थात् गिदी), चाङ्‌छार (चाङ- बुहारी, छार- नयाँ अर्थात् बेहुली), मेफ्रा (मे- आगो, ब्रा- पिठो अर्थात् खरानी) आदि । भोट-बर्मेली परिवारका सबै भाषाहरूमा यस्तो विशेषता पाइन्छ । नेपाली भाषाको ‘बेहुली’ शब्द तिन आक्षरीय शब्द (बे-हु-ली) हो र यस शब्दमा रहेका प्रत्येक अक्षरको अर्थ लाग्दैन । यसरी नै ‘गिदी’ (गि-दी) वा ‘खरानी’ (ख-रा-नी)मा रहेको अक्षरले पनि अर्थ दिदैन ।

(६) वाक्यविज्ञानको दृष्टिले तामाङ भाषा ‘कर्ता-कर्म-क्रिया’ परिवारमा पर्दछ अर्थात् कर्ता पछि कर्म र अन्त्यमा क्रिया आउँछ । एसियाली भाषाहरूमा क्रिया अन्तमा आउँछ, जस्तै; पासाङ दिम निजि (पासाङ घर गयो), रासे छे चाजि (बाख्राले घाँस खायो) आदि । अङ्‌ग्रेजी भाषा भारोपेली परिवारको भाषा भए पनि क्रिया बिचमा आउँछ, जस्तै; पासाङ् गोज् होम् (कर्ता-क्रिया-कर्म) ।

(७) भाषामा परेको प्रभावको आधारमा पनि भाषालाई हेरिन्छ । तामाङ भाषाको भूक्षेत्र हिमालको दक्षिणी काखदेखि चुरेको दक्षिणी फेदसम्म फैलिएको छ । यो भोट-बर्मेली र भारोपेली भाषाहरूको संगम स्थल हो । हिमाली भेकतिर तिब्बती समूहका शेर्पा, ह्योल्मो आदि भाषाहरू बोलिन्छन् भने तराईमा आर्य समूहका मैथिली, भोजपुरी, अवधी, उर्दु आदि भाषा बोलिन्छन् । खस-नेपाली भाषा पश्चिमतिरबाट र राई-लिम्बु मूलका सर्वनामिक भाषाहरू यस क्षेत्रमा जोडिएका छन् । स्थानिक समिपताले पनि एक भाषाको अर्को भाषासँग आपसी लेनदेन हुन्छ । तामाङ समुदायले केही शताब्दी अगाडिदेखि तिब्बती बौद्धधर्म अङ्‌गालेकोले धार्मिक क्षेत्रमा तिब्बती (प्राचीन र आधुनिक) भाषाको र सरकारी कामकाज, शिक्षा, सञ्चार, रोजगारी आदि क्षेत्रमा नेपाली भाषाको अत्याधिक प्रभाव पर्नुका साथै दबाव पनि बढ्दै छ । ध्वनि र शब्द-रचनामा मात्र होइन, वाक्य गठन र अभिव्यक्ति शैलीमा पनि प्रवाह बढदै छ ।

(८) भाषावैज्ञानिकहरूले मानव परिवारमा जस्तै गरी भाषामा पाइने ध्वनिको समानता, रूप-रचनाको समानता, वाक्य र अर्थको समानता वा सहजात सम्वन्धको आधारमा भाषाको परिवार निर्धारण गरिन्छ । वर्गीकरणमा रूप-रचनाको समानता सर्वाधिक महत्त्वको हुन्छ र विश्वासनीयता पनि । भाषाको व‌ंशको आधारमा विश्वभरिका भाषालाई एक सयभन्दा धेरै परिवारमा वर्गीकरण गरेका छन् । नेपालमा मूलतः चार परिवारका भाषा बोलिन्छन्- भोट-बर्मेली, भारोपेली, द्रविडेली र आग्नेली (कुसुन्डा भाषाको परिवार निश्चित भइसकेको छैन) । तामाङ चीनि-भोट महापरिवारभित्रको भोट-बर्मेली उपमहापरिवारको भाषा हो । नेपालमा मगर, गुरूङ, थामी, हायु, जिरेल, लिम्बु, धिमाल लगायतका ७० भन्दा धेरै भाषाहरू यसै परिवारमा पर्दछन् । यस परिवारका अधिकांश भाषाहरू हिमाली तथा पहाडी भूभागमा बोलिन्छन् । भोट-बर्मेली परिवारका भाषाहरूमा ‘ङ’ ध्वनिको प्रधानता पाइन्छ । यसैगरी यी भाषाहरूमा व्याकरणगत लैंगीय भेद पाइँदैन ।

भाषा वैज्ञानिकहरूले तामाङ, गुरुङ, थकाली, मनाङ्बा, नार, फु र छन्त्याल गरी यी ७ भाषालाई तामाङ समूहमा राखेका छन् ।

(९) आकृतिको आधारमा भाषालाई अयोगात्मक, योगात्मक-उन्मुख र योगात्मक भाषामा वर्गीकरण गर्न सकिन्छ । यो वर्गीकरण वाक्यमा शब्दको स्थान र शब्दको सम्बन्ध‍‍-तत्वमा आधारित हुन्छ अर्थात् वाक्यमा शब्दक्रम र शब्दमा आधार-तत्व र सम्बन्ध-तत्व हेरिन्छ ।

अयोगात्मक (non-agglutinating) भाषा स्थान-प्रधान हुन्छ अर्थात् वाक्यमा शब्दको क्रम महत्वपूर्ण हुन्छ । शब्दमा कुनै प्रकारको सर्ग जोडिएको हुँदैन । कर्ताको स्थानमा आउने शब्दले काम गर्छ । अर्को, एउटै शब्द स्थानको आधारमा नाम, विशेषण, क्रिया र क्रिया विशेषण पनि हुनसक्छ, जस्तै; छोबासे छोबा स्या चासी छोबा मुला) (मोटेले मोटो मासु खाएर मोटाएको छ) आदि । यहाँ छोबा शब्द नाम, विशेषण र क्रियाको रूपमा प्रयोग भएको छ । अयोगात्मक भाषाका शब्द क्रमका साथै तान र निपातले पनि अर्थतत्व र सम्वन्धतत्व निर्धारण गर्दछ ।

योगात्मक-उन्मुख (agglutinating inclined) भाषा प्रत्यय-प्रधान हुन्छ । यस प्रकारको भाषाको शब्दमा नेपाली, हिन्दी भाषामा जस्तो आन्तरिक परिवर्तन हुँदैन, जस्तै; ङाला (म-को = मैले), थे-ला (उ-को = उसको), कोलाला (शिशु-को = शैशव) आदि । आधार-तत्व र सम्वन्ध-तत्व (सर्ग) प्रष्ट देखिन्छ । प्रत्यय-प्रधान भाषामा दुवै तत्व (अर्थ र सम्वन्ध) प्रष्ट हुन्छ । सम्वन्ध-तत्व (सर्ग) मूलतः शब्दको पछाडि आउँछ, जस्तै; चा-जि, डेट्-चि, जा-जुगु) आदि । केही शब्दमा अगाडि (-निउ) र मध्य (चा--पिनो) पनि सर्ग आउँन सक्छ ।

योगात्मक (agglutinating) भाषा प्रायः विभक्ति-प्रधान हुन्छ । वाक्यमा शब्द जहाँ राखे पनि अर्थमा परिवर्तन हुँदैन । “मैले रूखमा हेरें” वाक्यमा रहेका शब्दलाई जहाँ राखे पनि अर्थमा परिवर्तन हुँदैन, जस्तै; “मैले हेरें रूखमा”, “रूखमा मैले हेरें”, “रूखमा हेरें मैले” “हेरें मैले रूखमा” “हेरें रूखमा मैले” । “द क्याट चेजेज र्‌याट” वाक्यमा क्याटको स्थानमा र्‌याट राख्ने बित्तिकै अर्थमा परिवर्तन आउँछ । त्यस्तै मैले, रूखमा, हेरें शब्दमा आधार-तत्वमा हुने परिवर्तन पनि हेरिन्छ (प्रत्यय -ले जोडिदा ‘म’मा परिवर्तन आएको छ- ‘मै’) ।

तामाङ भाषा चिनीयाँ जस्तै अयोगात्मक भाषा हो तर यसले आफ्नो मूल रूप गुमाउँदै छ र योगात्मक भाषाका गुणहरू भित्र्याउँदैछ । हाल तामाङ भाषा प्रत्यय-प्रधान भाषाको रूपमा विकास भएको छ तर संस्कृत, हिन्दी वा नेपाली जस्तो इन्फ्लेक्टिङ (विभक्ति प्रधान) भाषा भने होइन । (विभक्ति-प्रधान भाषामा आधार पदमा पनि परिवर्तन आउँछ, जस्तै; नीतिको ‘नैतिक’ हुन्छ र ‘इक’ प्रत्यय लाग्नका साथै आधार पदमा रहेको ‘नी’ मा पनि विकार आएको छ) ।

आकृतिविज्ञानको वर्गीकरण हेर्दा तामाङ अयोगात्मक भाषा रहेन र न त योगात्मक भाषा नै बनिसकेको छ । यो योगात्मक-उन्मुख अर्थात् प्रत्यय-प्रधान भाषाको रूपमा विकास भएको छ । यो योगात्मकताको सरलतम् संरचना हो । यस्तै स्थिति गुरूङ, थकाली आदि तामाङ समुहका भाषाहरूमा देख्न सकिन्छ ।

(१०) यसका साथै तामाङ समूहका भाषाहरूमा तान (टोन) पाइन्छ । शब्दको उच्चारणका उतारचढाव हुँदा अर्थमा पनि परिवर्तन हुन्छ । यो लैंगिकताविहिन भाषा पनि हो । भारपेली परिवारका हिन्दी, डोटेली, नेपाली आदि भाषामा जस्तो तामाङ समुहका भाषाहरूमा ब्याकरणीय लिङ्‌ग पाइँदैन (आमा-बुबा, भाले-पोथी आदि प्राकृतिक लैङ्‌ग भने पाइन्छन्) । यी विशेषताका साथै तामाङ ‘असार्वनामिक भाषा’ मा पर्दछ । लिम्बु, राई समुहका भाषाहरूमा जस्तो क्रियामा सर्वनाम टाँसिने सार्वनामिकरण (प्रोमिनालाइजेसन) तामाङ भाषामा पाइँदैन ।

सारांशमा भन्नुपर्दा तामाङ भाषा तामाङ जातिको मातृभाषा हो । यो एशियाली भाषाका साथै नेपालीय भाषा पनि हो । भोट-बर्मेली परिवारको यो भाषा आधुनिक भाषामा पर्दछ र यहाँ तिब्बती र नेपाली भाषाको प्रभाव अत्याधिक परेको छ । यो एकाक्षेरीय भाषा हो र योगात्मक-उन्मुख छ । यस भाषामा तान पाइन्छ तर लैंगिकता र सार्वनामिकता जस्ता विशेषताहरू पाइँदैनन् । तामाङ भाषामा ‘क्रिया’पद बाक्यको अन्तमा आउँछ ।

तामाङ भाषाको ब्याकरण र शब्दकोश सम्पादन गर्न, शब्द निर्माण वा लेख्य रूप वा लेखन शैली स्थापित गर्न यी मूलभूत विशेषताहरूमा ध्यान दिन आवश्यक छ, विशेषगरी आकृतिमूलक संरचनामा । नेपालका भारोपेली परिवारमा मैथिली, भोजपुरी, अवधी, थारू, माझी, दनुवार, डोट्याली आदि भाषाहरूलाई प्राविधिक शब्दको खाँचो पर्दा नेपाली, हिन्दी-उर्दु वा संस्कृत जस्ता भाषाहरूबाट सहजै शब्द सापटी लिन सक्छन् । यसैगरी तिब्बती परिवारका शेर्पा, ह्योल्मो, डोल्पो, सिङ्‌सावा आदि भाषाहरूलाई तिब्बती भाषाबाट सोझै शब्द सापटी लिन सक्छन् । तर लिम्बु, लेप्चा, धिमाल, राई समुहका भाषाहरू (बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, लोहोरूङ आदि), तामाङ समुहका भाषाहरू (तामाङ, गुरुङ, थकाली, मनाङ्वा, नार-फु, छन्त्याल), थामी, चेपाङ, मगर आदि नेपाल मूलका रैथाने भाषाहरूलाई यो सहजता र सुविधा प्राप्त छैन । भनौं समाउने हाँगा छैन । यसर्थ उनीहरूलाई आ-आफ्नो भाषाको शब्द-निर्माणको क्रममा धेरै पापड पेल्नु पर्ने हुन्छ ।

प्रस्तुत लेखको अध्ययनबाट भाषाको विभिन्न वर्गीकरणमा तामाङ भाषाको उपस्थिति, उन्मूखता र यस भाषाले व्यहोरेको प्रभाव र दबाबबारे पाठकहरूको आधारभूत जिज्ञास मेटियो होला भन्ने मलाई लागेको छ।

amrityojnat@yahoo.com

यो पनि

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका