फेष्टिभ टुरिजमको सम्भावना बोकेको नुवाकोटको लाखेनाच

काठमाडाैं

नेपालमा परम्परा र संस्कृतिको महत्व आफ्नै किसिमको रहेकोछ । नेवार समुदायमा अत्यन्तै उल्लासमय वातावरणमा मनाइने पर्वहरूमध्य लाखेनाच र गाईजात्रा नेपालकै एक महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदानै होे । लाखेनाँच लामा-लामा जगल्टा फिँजिएको र दाह्रा निस्किएकोे दैत्यको स्वरूपको रातो डरलाग्दो मुकुट, कालिकाको वस्त्रसहित कम्मरमा घङ्घला/घुङ्घरु लगाएर परम्परागत धाःबाजा र भुस्याःको तालमा नाचिने एक किसिमको मुकुट/मुकुण्डो नाच हो । लाखेको शाव्दिक अर्थ दानब, राक्षस वा दैत्य मात्र होईन फाटेको कपडा लगाउनु, पागलपना देखाउनु, मानिसहरूलाई हँसाउनु पनि हो ।

मौलिक परम्परा र संस्कृति लोप हुँदै गईरहेको वर्तमान यथास्थितिमा नुवाकोटको लाखेनाचलाई पर्यटकीय उपजको रूपमा विकास गर्न सके एकातिर हाम्रो परम्परा, कला र सस्कृतिलाई चीरकाल पर्यन्त लैजान सकिन्छ ।

परापूर्वकालमा घण्टाकर्ण नामको राक्षसले मानिसहरूलाई दुःख दिने गरेकोले घण्टाकर्ण चतुर्दशीको दिनमा उक्त राक्षसको पुत्ला दहन गरी नदीमा फालेपछि आफ्नो पति वियोगमा छटपटीएकी राक्षस पत्नी, लाखे बनेर नाच्ने गरेको र यसले पनि घण्टाकर्ण राक्षसले जस्तै मानिसहरूलाई सताउन थालेपछि राक्षसको पत्नी अर्थात् लाखेलाई पनि भगवान श्रीकृष्णले वध गरी मानवलाई राक्षसी प्रवृत्तिबाट मुक्त राखेको थियो भन्ने भनाई रहेकोछ । भगवान् कृष्णले कंशलाई मारेको सम्झनामा पनि लाखेनाच नाच्ने परम्परा छ । राक्षसको प्रतीकको रुपमा मानेर यसलाई नचाईनचाई मारिने भएकाले लाखेलाई कंशको रुपमा पनि हेरिन्छ । कृष्णलाई मार्न कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर लाखे नचाउने गरिन्छ भन्ने जनश्रुति पनि छ । घण्टाकर्णको पूजा गरी सुरु हुने लाखेनाच कृष्णाष्टमीको रातमा लाखेकोे शीर छेदन गरीको कृष्णको रथमा ल्याएर झुण्डयाए पछि लाखे नाचको विधिवतरूपमा अन्त हुन्छ ।

लाखेनाचको उदगम थलो कहाँ हो भन्ने सवालमा बिभिन्न खालको कथनहरू रहेको पाईन्छ । उपत्यकामा यो नाच भित्रिनुअघि कतिपय विद्घानहरुले सिम्रौनगढबाट प्रारम्भ भएको भन्ने उल्लेख गरेका छन् भने कतिपयले मध्यकाल अघिनै नुवाकोटबाट प्रारम्भ भएको भन्ने पनि उल्लेख गरेका छन् । तथापी कहिले र कहाँेबाट प्रारम्भ भएको भन्ने कुनै ठोस प्रमाण भने भेटिएको छैन ।

नाच्ने कला, कौशलता र शैलीको हिशाबले नुवाकोटको लाखेनाचलाई मुलुकमै अब्बल दर्जाको मानिन्छ । यहाँको लाखेनाचमा किंवदन्ती अनुसारकै सत्यता र झझल्कोहरू पाइन्छ । यो नाच जनैपूर्णिमा र गाईजात्राको दिन दिनभर र बाँकी दिन बेलुकामात्र प्रस्तु गरिन्छ । नाचमा लाखेसँगै झ्यालिंचा (जसलाई भक्कु भनिन्छ) पनि निस्कने परम्परा छ । दर्शकहरुलाई मनोरन्जन दिलाउन यसरी निस्कने झ्यालिन्चाले लाखेलाई बिभिन्न तरिकाले जिस्काउने, कायल पार्ने गर्छन् । लाखेले पनि झ्यालिन्चालाई सकेसम्म खेदी रहन्छन् । नुवाकोटमा लाखेको दुइवटा ढलौटका दुई थान सक्कली मुकुटहरू छन् । एकै पटक दुइजनाले बाँसुरीको मिठो धुन, ढलकी र झ्यालीको उही ताल, उही लचकता र उही शैली हदैसम्म डुबेर नाच्छन् र दर्शकलाई भरपुर मनोरन्जन दिलाउछन् । नर्तकहरू लाखेनाचुन्जेल यसरी नाचिदिन्छन् कि उनीहरूको आफ्नो शरिरको चाल पनि प्रत्येक पल बाजाकै तालमा चलिरहेको हुन्छ र दर्शकहरूलाई पनि बाजाकै ताल र लचकतामा तानिरहेका हुन्छन् । यहाँको बाजाका तिन थरी भिन्दभिन्दै तालहरुमा नृत्य प्रस्तुत गर्नु कम चुनौतिपूर्ण छैन । तथापी आजका पिढीले आफ्ना अग्रजहरूकै जस्तो कला प्रस्तुत गरेर पुर्खाको बिँडो थामीरहेका छन्, आफ्नो कला, सस्कृति र परम्परालाई अक्षुष्ण राखेकाछन् र सिङ्गो नुवाकोटको विशिष्ट पहिचानको सामथ्र्य राख्न सफल भएकाछन् ।


नुवाकोटमा लाखेनाच सिकेका नयाँ कलाकारहरुले सिद्धी प्राप्तिका लागि नाट्टेश्री सामु लाखे नाच प्रस्तुत गर्नु पर्ने परम्परा छ । कृष्ण जन्माष्टमिको ३ दिन अघि नाट्टेश्रीको मन्दिरमा बोका को वली समेत दिएर पूजा अर्चना गरी र भोजको आयोजना समेत गरिन्छ । उमेर अनुसारको पुराना र नयाँ कलाकारहरू वरियताक्रम मिलाएर राखिने भोजमा आँखा, कान, जिब्रो र नाँक (जसलाइ नेवारी भाषामा सिखुः भनिन्छ) जस्ता अङ्गहरू रोलक्रम अनुसार खुवाइन्छ । सोहि अवसरमा काप्न चाहने नर्तकहरूकालागि तान्त्रिक बिद्या भएका गुरूद्वारा मन्त्र फुकिएको सिखुः र रक्सीको सगुनको पनि व्यवस्था पनि गरिएको हुन्छ । जो–जस्ले फुकेकोे सिःखु खान्छन्, उनीहरूको शरिर जरूर काप्छन् । यसलाई उनीहरूका शरीरमा सरस्वती चढेको पनि भनिन्छ । यसरी काप्नु वा देउता चढ्नलाई नाट्टेश्रीको शक्तिलेगर्दा भन्ने जनविश्वास छ । प्रत्येक वर्ष उनीहरुमा लाखे नाँचको बाजा बजेको सुन्ने बित्तिकै पनि स्वाभाविक रूपमा शरिरमा कम्पन आउँछ र नाँच प्रस्तुत गर्नु अघि कम्तिमा एक पटक काप्नै पर्ने हुन्छ । नुवाकोटको लाखे नाँचको प्रमुख विशेषता नै नाच प्रस्तुत गर्दा गर्दै नाच्दै काप्नु हो । लाखेनाच्दा यसरी काम्ने परम्परा नेपालमा नुवाकोट बाहेक अरु ठाउँहरूमा भेटिन्न ।

छिमेकी राष्ट्र भुटानमा यस्तै सास्कृतिक पर्व अवलोकन गर्न विदेशी पर्यटकहरू एक वर्ष अघि देखि नै भ्रमण तालिका बनाएर बसेका हुन्छन् । जब कि नेपालमा भुटानमा भन्दा कैयौँ गुणा बढी पर्यटकहरूको आगमन हुन्छ । तर हामीले आफैँसित भएको लाखेनाच र यस्ता सांस्कृतिक सम्पदाहरूलाई पर्यटकीय उपजको रूपमा विकास गर्न सकिरहेका छैनौँ । लाखेनाचजस्तो सांस्कृतिक सम्पदाले पनि नेपालको पर्यटकीय महत्वलाई जरुर उजागर गर्दछ । यस्तो अमूर्त सम्पदालाई हामीले प्रचारप्रसार एवम् संरक्षण गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य दुवै खाले पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । नुवाकोटको लाखेनाचमा जुन विशेषता छ, त्यसले नेपालको आन्तरिक एवम् बाह्य दुवै खाले पर्यटनलाई सस्कृतिसित जोड्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ ।

मौलिक परम्परा र संस्कृति लोप हुँदै गईरहेको वर्तमान यथास्थितिमा नुवाकोटको लाखेनाचलाई पर्यटकीय उपजको रूपमा विकास गर्न सके एकातिर हाम्रो परम्परा, कला र सस्कृतिलाई चीरकाल पर्यन्त लैजान सकिन्छ । अर्को तर्फ ग्रामीण पर्यटन प्रवद्र्वनको अभियानलाई नै मुर्तरूप दिन सकिन्छ । त्यसैले नुवाकोटका स्थानीय बासिन्दाहरु समेतको सहभागीतामा, नुवाकोट सम्पदा संरक्षण मन्च, नगरपालिका तथा जिविस–नुवाकोट, नेपाल टुरिजम बोर्ड र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बीच उपलब्धिमुलक सहकार्य हुन जरुरी छ । यसो गर्न सके भर्खर–भर्खर मात्र आतिथ्यको ढोका उघार्न सुरु गरेका नुवाकोटका स्थानीय बासिन्दाहरूले यथार्थमा पर्यटन व्यवसायको महसुस गर्न र प्रत्यक्ष लाभ उठाउन सक्छन् ।

थप यो पनि

तपाईको प्रतिक्रिया